(हाम्रा मीत’बाले स्कूल गएर कहिल्यै पढ्न पाएनन् । तर उहाँका भोगाइहरु जहिले पनि ज्ञानवर्धक हुन्छन् । त्यसैले त जब यसो फुर्सद मिल्छ, कान्छो उतै हान्निन्छ ।)
उमेरले डाँडो काट्दै गरेकाले पनि होला, कान्छाको यसपटकको भेटमा मीत’बा त्यति फुर्तिला भने देखिएनन् । उसो त गाउँलेहरुले कान्छालाई बाटामै भनेका हुनः आजकल मीत’बा धेरैजसो पिँढीमै भेटिन्छन् अनि आफ्ना अनुभवहरु सबैलाई सुनाउँछन् भनेर ।
(हो, त्यस्तै भो यसपाली ।)
***
पिँढीको डिलमै चकटीमा बसेर विहानको घाम तापिरहेका मीत’बालाई कान्छोले प्रणाम गर्यो र सोध्योः
“सन्चै हुनुहुन्छ, मीतबा?”
“भाग्यमानी भएस, नानी । यस्तो बुढो भएर चाहिँ बाँच्न नपरे पनि हुन्थ्यो । अनि तिमी कहिले आयौ शहरबाट ?”
“आउँदै हो नि, मीत’बा । हिजो बेंशीसम्म आउँदैमा साँझ झिमिक्कै भएर थरी माइलाको कटेरोमा रात बिताइयो, अनि आज त भाले बास्नभन्दा पहिले नै बाटो तताएर सरासर आएको हो, यहीँ ।”
(कान्छोले आफ्नो सटिक जवाफ दियो । तसै उसले एउटा प्रश्न पनि तेर्स्यायो ।)
“छोराहरु खोइ त बा?
***
“जेठो छुट्टिइहाल्यो । माइलो मलेशियातिरै छ । साने पनि खोइ कताकता हिँडिरहन्छ । मलाई मात्रै के कर भनेर सँधै निउँ खोज्छ । बुढीमाउले बिदा लिएपछि यो घरको सह गै’गो नि, कान्छा ।
“ओहो, यो उमेरमा मीत’बाको मनमा यत्रो भुकम्प ? अनि चरिमायाँ दिदीको खबर के छ नि ?”
“आ‘उसले त आफ्नै सुर कसि’सकी नि । उतै नेपाल खाल्टोतिरकै एउटा केटोले टिप्यो रे पो, कान्छा ।
सृष्टी यस्तै छ बाबु (बाँदर, मान्छे, कोइली या काग,
जस्ले जस्तो संसार देख् त्यस्तै हुन्छ यिनको राग ।।
तैपनि आफ्नो सन्तानको चिन्ता चाहिँ हुन्छ । बाबुले भेट्यौ त, हाम्रो चरीलाई शहरतिर ?”
“अहँ, भेटेको छैन । मीत’बाको मनमा धेरैनै अशान्ती रहेछ । अलि दुख लाग्यो ।”
“त्यस्तो केही अप्ठेरो नमान, बाबु । मैले आफ्नो कर्तब्य राम्रोसंग गरेर टाउकोमै टेकाएर हुर्काइदेको हो सप्पैलाई । यो ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ भन्छन् । अब उनीहरुको आ–आफ्नो खुट्टा दह्रो भो । छोराछोरी नराम्रो भएर बिक्नै गाह्रो भा’भए झनै चिन्ता हुन्थ्यो । आफैं बलियो भएर बाटो खोज्दै हिँडेकाहरुसंग के चित्त दुखाउनु ? बरु, तिमीले सम्झेर आयौ । भेट भो । बेलाबेला यसरी नै सम्झँदै गर है, कान्छा !”
“भैहाल्छ नि, मीतबा ।
मेरो पनि त तपाइँभन्दा नजिक को नै छ र यो गाउँमा । हस् त, है? यहाँको स्वास्थ्य राम्रो रहोस् । अहिलेलाई म हिँडे ।”
***
यति भन्दै आफ्नो मन अलि गरुङ्गो नै बनाएर कान्छो बाटो लाग्यो ।
बाटैभरी उसको कानमा मीत’बाको मसिनो स्वर गुञ्जिइरह्योः
“लौ कान्छा, सबैको भलो होस् तिम्रो पनि मनले चिताएको पुगोस् ।”