हाम्रो नेपाली कांग्रेस पनि बेला बेला बौरिन्छ । धेरैले भन्दै थिए नेपाली काग्रेस मरिसक्यो ! केको मथ्र्यो, अस्ति बुधवार विहानको कुरा हो नेपाली काँग्रेस त जुरुक्क उठेर वृक्षारोपण पो गर्दै रछ । मलाई अतिसय गजब लाग्यो । खुशीले बुरुक्क उफ्रिएँ । गएँ हानिएर ।
‘गुड मोर्डिङ नेपाली काँग्रेस’ भन्दै छेउमा पुगेर मैले पनि सोधी हालेँ – होइन यो के गरेको ?
आँखा तर्दै मलाई हेरेर उसले पनि जवाफ फर्कायो – जय नेपाल ! देखिनौ वृक्षा रोपण गरेको ।
हो त साच्चै वृक्ष नभई नेपाली काँग्रेस बाच्न सक्छ त ! सक्तैन । मैले नेपाली काँग्रेसलाई केही भन्न सकिन । जतासुकै हरियाली, जताततै रुख, विरुवा, वर पर, यत्र तत्र, सर्वत्र, वरत्र, परत्र । आहा ! कति सुन्दर नेपाली काँग्रेस, कति सुन्दर नेपाल ! कल्पना गर्दै म पुलकित भएँ । आँखाको नानी बगाउने गरी खुशीले रुन मन लाग्यो । तर, नेपाली काँग्रेसले देख्ला र ‘हाम्रो यत्रो खुशीमा पनि रुने ’ भनेर हप्काउला भन्ने डरले केही भनिन, रुन पनि सकिन ।
‘के घोरिएको आउ वृक्षा रोपण गर’ भनेर काँग्रेसले बोलाए । म पनि पर्ख है कोठेबारीबाट विरुवा लिएर आउँछु भन्दै पसे नजिकैको आफ्नो कोठेबारीमा’ भुन्टी वारीमा करेला टिप्दै रछे सोधी हाली – के लिन आको ?
‘विरुवा लिन आको नि । आज नेपाली काँग्रेस फर्किएछ । वृक्षारोपण गर्दै छ । यही ढेडे खोर्सानीको विरुवा लगेर रोपिदिन्छु ।’
पर्दैन पर्दैन । तिमीलाई थाहा छैन २०४८ सालदेखि २०५१ सालसम्म चारवटा नेपाल भरिने गरी नेपाली काँग्रेसले विरुवा रोपेको थियो । त्यसले गर्दा बहुमतको सरकार आपसमा यदु वंशीय झगडा गरेर ढल्यो । तिनै विरुवाहरु यदु वंशी नास गर्ने हतियार बने । मध्यावधी चुनाव गरे । सर्वनाक हार भयो । सूर्यको तापले विरुवा त सिरुवा बनायो । त्यसबेलाको घटना र विचार भन्ने रेडियो नेपालको कार्यक्रम सुन्ने सबैलाई थाहा छ । नेपाली काँग्रेसलाई दुईवटा कुरा फाप्दैन ।
एउटा वृक्षरोपण, अर्को पार्टी प्रवेश । त्यस बखत दुई तीन करोड त पार्टी प्रवेश नै गरे होलान । तर मध्यावधी चुनावमा नेपाली काँग्रेसलाई उत्तानो टाङ लगाई दिए । त्यसैले विरुवा लानु पर्दैन । सक्छ भने अब नेपाली काँग्रेसले झ्याम्म परेको रुख नै रोप्नु पर्छ ।
भुन्टीको कुरा पनि मनासिव नै हो । तर, पार्टीले नै भनेपछि केही न केहीको विरुवा त रोप्ने पर्छ । ‘होइन भुन्टी त्यसो भए सुस्ताएको काँग्रेस उफ्रिने खालको एउटा विरुवा त रोप्नै पर्छ । बरु भन के को विरुवा रोपौं ?
‘त्यसो भए जंगलमा गएर काउसोको बिरुवा ल्याएर रोपी देउ ।’
मान्नु पर्छ यार ! आइडिया चै मेरी भुन्टीसँग पनि बनमारा झार जत्तिकै प्रचुर मात्रामा छ नि हौ !
भुन्टी आइडिया दिएर ढिडो पकाउन भान्सातिर लागि । म भने गुटुङटुङ हानिएँ जंगलतिर । यसपाला काउसो रोप्छु । सारै मुर्झायो हाम्रो काँग्रेस । अल्छि उस्तै भयो । उनार्ले अरु १० वर्ष सत्ता चलाउन पाए भने र काँग्रेसको यही गति हो भने त उही जै नेपाल ।