अतिथि सत्कार 

लघुकथा

पाहुनासंग पैसा लिने खासै चलन नभएको धादिङ्ग जिल्लाको उत्तरी क्षेत्रमा पर्ने तिप्लिङ्गदेखि पुरा चार दिन हिँडेर नागरिकता बनाउन सदरमुकाम आइपुगेका हाम्रा मीत बा धदिङ्गबेसी देख्ने बित्तिकै खुब दङ्ग परेछन् । क–के, के–के–– सबै चीज नौलो ।

“बास त बस्नै पर्यो – बिरानो ठाउँ” (बा’ले मनमनै सोचे ।)

“लौ, यता यता –– बास खोज्या हो, दाइ ? हामी पनि उतै माथितिरैको मान्छे हो––  लेखतिरका मान्छे सबै ह्याँइँ बस्चन, आ’बेलामा ।”

“बास पाइन्छ र, बज्यै ?”

“किन नपाउनु, कति जना छौ र ?”

“एक्लै हो मो त, नागरिकता बनाउन आ’को ।”

“ए लौ बस–बस (अनि खाना चाहिँ खाइ’हाल, बरु ।”

“होस् –– ”

***

(घरका एक्लो पाहुना रहेछन्, हाम्रा मीत्बा आज । उकालो ओरालो हिँडाइले भोकाएका ‘..     त्यसैले’ नि होला, बुढा मान्छेले थपिथपि खानपिन गरेछन् ।)

“लिउ, कोठाको चाबी, यहीँ माथि छ कोठा (भर्याङ्गको छेउकै हो है? पुरै तल्ला तिमी एक्लै हो, आज” (फत्फताइन् साहुनी, आफ्नै सुरमा ।)

(थाकेको ज्यान त्यहाँ माथि पनि विकाशे भोजन । सुत्ने’नै भए नि, मज्जाले हाम्रा मीत्बा ।)

भोलिपल्ट नौ बजेतिर यस्सो आँखा खोल्दै, अनि निस्किन पर्यो सिडिओ अफिसतिर भनेर के सोच्दै थिए, आफैंले ढोका खोल्दै एक्कासी साहुजी देखापरे ।

***

“ए दाइ, तिमी हैन हिजो बेलुकादेखि यहाँ बसेको ?”

“ आनी मो नभोएर को हुन्छ त ? मो त भुसुक्कै भएछ भात खाएपछि । बज्यैले आसाध्यै संग गुन लगायो । नत्र मोलाई नचिनेको ठाममा कोसले मायाँ गर्छ, यसोरी ?”

“लौ लौ, ठिक छ, अब उठ । ल तिम्रो हिसाब पनि ल्याईद्या’छु । जम्मा छब्बीस सय पैसट्ठी भएछ, हाम्रो ‘लेखाली होटेल’मा हिजोदेखि तिमीले खाएको बसेको सप्पै ।”

“ए.‘ कति रे कति ? छब्बीस सय पाइसट्ठी‘. कासरी हुन्छ त्यत्रो ? त्यही दुइटा आलुको तिउन, राक्सी पनि हाम्रो गाउँको जस्तो मिठो होइन । अनि मैले आरु के खाएछ र ? अँ भात चैँ चामलकै थ्यो होइ !”

***

“ल ल, धेरै कुरा नगरी खुरुक्क पैसा तिरेर आफ्नो बाटो लाग ‘. नत्र !”

***

Facebook Comments
Comments (0)
Add Comment