दश वर्षजति अघि बाग्लुङबाट काठमाडौँ आउदै थिएँ बसमा । दमौली कटेपछि बाटोको बीचमा सुतिरहेको कुकुरलाई हर्न नबजाइ बसले किच्दै अघि बढ्यो । कुकुरले एक पटक मात्र ऐया भन्यो, सायद मर्यो होला । चालकपछिको सिटमा थिएँ म । अनि उठेर भनेँ– गुरुजी के गरेको यार, त्यो जनावरको के दोष थियो र ? एक पटक हर्न बजाइदिएको भए त बाटो छोडिहाल्थ्यो नि ! मेरो कुरा नसकिँदै चालकले भने– छोड्दिनुस् सर कुकुरका लागि हर्न छैन यो बसमा । म छक्क परेँ । उनको मनको रुखोपन सहजै झल्किन्थ्यो त्यो भनाईमा । तर मेरो मन साह्रै रोयो ।
दुई दिनअघि नगरपालिकाले नै दिक्तेलमा डुलुवा कुकुरलाई कुटेर मार्दै कन्टेनरमा फालेको भिडियो हेर्दा त्यस्तै भयो । यता सडकका कुकुरलाई फलामको लठ्ठीले चुटेर मार्दैछन् र मरिसकेपछि कन्टेनरमा हाल्दैछन् । कति बालबालिका त्यो हेर्न नसकेर भागेका र कति त्यहीँ रोएका पनि त्यो भिडियोमा देखिन्छ । कति निठुर काम हो यो ? कुकुरको व्यवस्थापन गर्ने यही मात्र हो त तरिका ?
अर्काे हृदयविदारक तस्वीर भिरबाट खसालेर गाई मारेको देखियो सुर्खेतमा । यस्तो गौहत्या पनि गर्न सक्ने ?
मानिस कति क्रुर बन्दैछ ? के यस्तो काम जनावरले गर्न सक्छन् ? सक्दैनन् । अनि गाई देखाएर धर्मका नाममा राजनीति गर्ने नेपालगञ्जका मेयरकै संलग्नता यस्तो दुष्कर्ममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा देखिँदैछ । यस्तो आपराधिक कार्य गर्दा पनि यस्तामाथि हामीले औँला किन ठडाउन नसकेको होला ?
हामी कल्पना गरौँ न, यो धर्तीमा कुनै पनि जनावर नै नभएर मानिस मात्र भयो भने के होला ? मानिसलाई जनावर साथी चाहिँदैन ? चाहिन्छ त्यसैलाई नै जीवनचक्र भनिन्छ । यसो हो भने मानिसले जनावरलाई माया किन नगर्ने ? माया गर्ने मुटु मानिससँग मात्र होइन, जनावरसँग पनि छ । जनावर र यो सबै चराचर जगतलाई मानिसले माया गर्न सक्यो भने मात्र समाजमा सहिष्णुता र सद्भाव कायम रहन्छ । मानवीयता शब्दको अर्थ मानिसलाई मात्र होइन सबै प्राणीलाई दर्शाउनुपर्छ भन्ने हो । नत्र मानिस यो धर्तीकै सबैभन्दा क्रुर प्राणी ठहरिने छ ।