जलवायु परिवर्तन अब प्राविधिक मात्रै नभएर यो राजनीतिक, सांस्कृतिक र सामाजिक विषय समेत बनेको छ । जलवायु परिवर्तन थुप्रै प्रलयकारी चुनौति लिएर हाम्रा अगाडि आइपुगेको पछिल्लो समस्या हो । यसको समाधानका लागि प्राविधिक ज्ञानमा मात्र सीमित हुने हो भने यो मानव समाजका लागि महंगो सावित हुनेछ । तसर्थ आइसेट–नेपाल र परिसंवाद डट कम मिलेर समाजका विविध विधासंग सम्बन्धित व्यक्तित्वहरुसंग जलवायु चिन्तनको नियमित श्रृङ्खला सुरु गरेका छौँ । आजको यस श्रृङखलामा हामी जवलायु परिवर्तन र मानव स्वास्थ्यबीच गम्भीर चिन्तन गर्दैछौं । चिन्तनका लागि आज हामीसंग डा. सरोज धिताल हुनुहुन्छ । काठमाडौं मोडल अस्पतालका संस्थापक डा. धिताल न्याम्सका प्राध्यापक हुनुहुन्छ । जलवायु चिन्तन श्रृङ्खलाको मन्थन–नेतृत्व जलवायुविद् अजय दीक्षितले गर्नुहुन्छ ।
प्रस्तुत छ– शल्यचिकित्सक तथा प्राध्यापक डा. सरोज धिताल र जलवायुविद् अजय दीक्षितबीच भएको जलवायु चिन्तनको दोस्रो श्रृङ्खला ।
अजय दीक्षितः डाक्टरसाप तपाई स्वास्थ्यकर्मी मात्रै नभएर समाज परिवर्तनमा समेत लामो समय लाग्नुभएको छ, विकास अवधारणादेखि जीवन पद्धतिसम्मका बिषयहरूमा दार्शनिक दखल राख्नु हुन्छ । ती सबै कोणहरूबाट र मूलतः एउटा चिकित्सकको नजरबाट हेर्दा जलवायु परिवर्तनलाई कसरी बुझ्नुपर्ला ?
डा. सरोज धितालः जलवायु परिवर्तनको विषयलाई अरु सबै कुराबाट छुट्याएर एउटा स्वतन्त्र घटना वा प्रवृत्ति भन्न मिल्दैन । जलवायु परिवर्तन किन हुंदैछ, कस्ता असर, कसरी, निदान कसरी गर्ने जस्ता विषयहरूलाई हेर्नु आवश्यक छ । सामान्यतया जलवायु परिवर्तनले मान्छेलाई पार्ने प्रभाव र मान्छेका क्रियाकलापले जलवायु परिवर्तनलाई पार्ने प्रभावकोबारेमा मात्रै केन्द्रित हुने गरिन्छ । यो स्वाभाविक हो तर त्यतिमात्रैले पुग्दैन ।
मान्छे आफ्नैं बारेमा आफ्नै प्रजातिकाबारेमा मात्रै केन्द्रित हुने गरेको छ । अझ साँघुरो भएरभन्दा हजारौँ वर्षदेखि आफ्नै कबिला, समुदायकाबारेमा आत्मरत छ, विभिन्न धार्मिक, जातीय, भाषिक, भौगोलिक आदि समूहको हिसाबले हेर्ने हाम्रो बानी रहँदै आएकोछ । तर जलवायु परिवर्तनले ल्याउने संकटबाट बच्न अव मान्छेले आफ्नैे बारेमा मात्रै सोचेर नपुग्ने स्थिति बनिसकेको छ । “आफ्ना बारे सोचे पुगिहाल्यो नि” मात्र भनिरहने हो भने हामी निमिट्यान्न हुने स्थितिमा पुग्न बेर छैन । जलवायु परिवर्तनलाई बृहत्तर आयाममा बुझ्ने र निदानको प्रयत्न नगरी हुँदैन । विश्वका केही ठूला मूलुकका नेतृत्वका भनाई सुन्दा सीमित र तात्कालिक स्वार्थमा मात्र लिप्त भएको लाग्छ ।
अजय दीक्षितः मानव स्वास्थ्य र जलवायु परिवर्तनबीच सम्बन्ध कस्तो छ ?
डा. धितालः मानव स्वास्थ्यभन्दा पनि पहिले जीवनकै कुरा आयो, जीवन रक्षाकै कुरा आयो । मानिसको सुस्वास्थ्यभन्दा माथि पुगेर मान्छेको अस्तित्व नै कहिलेसम्म रहन्छ भन्ने प्रश्न आइसक्यो । जलवायु परिवर्तन कार्वन डाइअक्साईडको अत्यधिक उत्सर्जनले हो । फलस्वरुप मानिस बाँच्न निर्भर भएको वनस्पति, ब्याक्टेरिया, भाइरस, विभिन्न पशुपक्षी लगायत धेरै प्राणीहरूको जीवनमा, जीवनचक्र, अस्तित्वमा प्रभाव पर्न थालेको छ ।
मान्छेको विकास क्रममा अचम्म देखिन्छ । प्राणीको विकास क्रममाो प्रारम्भिक एक कोशीय अवस्थाबाट मानव नामको स्तनपायी प्राणीको स्तरसम्म आइपुग्दा विकासक्रममा जति माथि बढ्यो त्यति नै बढी मूल्य तिर्र्दै आएको छ । त्यो मूल्य भनेको उसले आत्मनिर्भरता गुमाउँदै जानु हो । स्वतन्त्र रुपमा विचरण गर्ने विभिन्न प्राणीहरू, जो अझै घरपालुवा भइसकेका छैनन्, उनीहरू जति आत्मनिर्भर छन, त्यति पनि मान्छे छैन । बौद्धिकताका कारण मान्छे अरु प्राणीहरूलाई उपयोग गर्न सक्षम छ, अरु प्राणीहरूलाई आफ्नो अधिनमा ल्याउन सकेको छ । यस हिसावले मान्छे सर्वशक्तिमान जस्तो देखिए पनि अस्तित्वका लागि मान्छे अन्य प्राणीहरूमा निर्भर छ । आफैले सृजना गरेका यन्त्र र साधनमा निर्भर छ । जस्तो खानपीनकै निम्ति अन्न, सागपात नहुने हो भने मान्छेको अस्तित्व सम्भव छैन । जसको मासु खाएर बाँचिरहेको छ, ती नहुने हो भने मान्छेको अर्कै स्थिति हुँदो हो । खानका लागि, वासस्थान बनाउनका लागि, हरेक विषयमा मान्छे पृथ्वीेका अन्य प्राणीमा निर्भर छ । ज्यावल, साधन, यन्त्र, वाहन आदि बिना ऊ केही गर्न सक्दैन । र उसको यो निर्भरताले झनझन जलवायु परिवर्तन गराई रहेको छ । तापक्रम बढ्नेक्रम नरोक्ने हो भने उसले असर भोग्नै पर्छ । हिमनदीहरू पग्लिरहेका छन्, समुद्र सतह बढी रहेको छ, ठूला, साना जनावर र जीवहरू निमिट्यान्न भइरहेका छन् ।
अजय दीक्षितः तापक्रम बढ्दा मान्छेमा कति जोखिम बढ्छ ? मान्छेको शरीर विज्ञानको हिसाबले अनुकूलन क्षमता चाहिँ कस्तो छ ?
डा. धितालः अनुकूलन क्षमता ज्यादै भएको प्राणी हो मान्छे । नत्र एकदमै गर्मी मुलुकका मान्छे एकदमै जाडो मुलुकमा गएर बस्ने, प्रगति गर्ने, आफ्नो बौद्धिकतालाई अझ निखार्ने भन्ने कुरा सम्भव हुँदैनथ्यो । त्यसै गरेर एकदमै जाडो मुलुकका मान्छेहरू गर्मी मुलुकमा पुग्दा भुतुभुतु मर्ने थिए होलान् । अथवा उनीहरू त्यसरी बाँच्न सक्दैन थिए होला । मान्छेको एउटा विशेषता भनेको के हो भने ऊ एकदमै फरक खालको भौगोलिक स्थितिमा पनि बाँच्न सक्छ । उसले आफूलाई बस्न लायक बनाउन सक्छ । तर एडप्टिबिलिटिको एउटा निश्चित सीमा हुन्छ । चाहिने जति पानी भएन भने मान्छेले के गर्ने ? जलवायु परिवर्तनले पानीको स्रोतलाई नकारात्मक प्रभाव पर्दै गरेको विषय विभिन्न सन्दर्भमा प्रश्न उठ्न थालेको छ । जमिनमुनिका, नुन कम भएको पानीमा, समुद्रको पीँध मुनिका पानीमा समेत दोहन गर्न मान्छेको आँखा पुग्न थालिसकेको छ । हामी पुरै जलविहीन नारकीय स्थितिमा सायद पुग्दैनौं होला, तर के चाहिँ पक्का हो भने खोजेको बेलामा पानी सहजरुपमा प्राप्त नहुने स्थितिमा त हामी पुगी नै सक्याँै । स्थिति झन् जटिल र विकराल बन्दैछ ।
अजय दीक्षितः पहाडी भेगहरूमा मूलहरू सुकेका घटनाहरू प्रशस्त छन् । यो दर बढी पनि रहेको छ । यस्तो अवस्थामा रोगब्याधि र सफासुग्घर राख्ने कुरा र जलवायु परिवर्तनबीच कुनै सम्बन्ध छ कि छैन ? रोगब्याधिलाई कसरी प्रभाव पर्छ ?
डा. धितालः चारवर्ष अगाडि भुइँचालोले एकातिरका मुहान सुकेका छन् भने अर्कोतिर मुहान फुटेका छन् । जमिनमुनिको कुल पानीको मात्रामा कस्तो असर परेको छ भन्नेबारे मलाई जानकारी छैन । मूलहरू सुकेका घटनाहरूबारे भूगर्भविद् र जलवैज्ञानिकहरू बढी जानकार हुनुपर्छ । तर खोजेको बेला सफा पानी कति सहजताका साथ पाइन्छ वा पाइँदैन भन्ने प्रसङ्ग स्वास्थ्यसित जोडिन्छ । सफा पानी भएन भने हामी झन कठिन स्थितितिर पुग्दैछौँ ।
एउटा दृष्टान्त प्रस्तुत गरौं । मान्छेले दही जमाउँदा दूधमा ल्याक्टोब्यासिलस हुर्रर बढेर आउँछ, अनि एउटा यस्तो स्थितिमा पुग्छ जतिखेर ल्याक्टोब्यासिलस बढ्ने क्रममा निस्किएको एसिडले गर्दाखेरि ऊ आफै बाँच्न सक्दैन । हामी भन्छौँ कलिलो दही खानु धेरै अमिलो नखानु । जति पाक्यो उति मजा हुनुपर्ने हो, तर हामीले खोजेको प्रोबायोटिक – ल्याक्टोब्यासिलस र त्यससँगै हुर्किएका अन्य उपयोगी जीवाणु – आफैले सिर्जना गरेको एसिड धेरै भए बाँच्न सक्दैनन्् । अहिले हामी मान्छे पनि त्यही ल्याक्टोब्यासिलस सरह भइरहेका छौँ । हामी बढ्यौँ, जनसंख्या बढ्यो । अहिले मानिसले छपक्क ढाकिसक्यो संसारलाई । कुनैपनि प्राणीको लागि संख्या बढ्नु भनेको उसको विजय त हो । दहीमा हुर्किरहेको ल्याक्टोब्यासिलसले उसैले सिर्जना गरेको एसिडका कारणले एकदिन ऊ हुर्किन नसक्ने र मर्ने स्थिति आउँछ, हाम्रो पनि हालत त्यस्तै होला ? तर हामी त्यति लामो समयपछि के हुन्छ सोच्न चाहदैनौ । हाम्रो वास्ताको कुरा पनि होइन । तर के हाम्रो बेवास्ताले हामी आफैँ सिद्धिँदै त छैनाँै ?
अव्यवस्थित शहरीकरणले प्रदूषण बढिरहेको छ । निकृष्ट र साँघुरो व्यक्तिगत स्वार्थ लिएर जथाभावी शहरीकरणको नाममा जे पायो त्यही गर्दा अझ खराबी भैराखेको छ । लेखक हरारी भन्छन्, ७० हजार वर्ष अगाडि मान्छेको संज्ञानात्मक क्रान्ति (कोग्निटिभ रिभोल्युसन) भयो, मान्छेले सामुहिक रुपमा सोच्न, सामुहिक रुपमा कथाहरू कथ्न अनि योजनाहरू बनाउन सफल भयो । त्यसपछि मान्छेको विकासको क्रमले हामी यहाँसम्म आइपुगेका छौँ । त्यही संज्ञानात्मक क्रान्तिका कारण बौद्धिकताले मानिस आफैँले सिर्जना गरेका कठिनाइहरूसँग जुझ्न अहिलेसम्म सफल भइरहेको छ । तर यसको सीमा हुन्छ । हामी सीमा नाघ्ने स्थितिमा पुग्दैछौँ । हाम्रो औसत आयु बढिरहेको छ । तर जुन मूल्यमा हाम्रो औसत आयु बढिरहेको छ, त्यो अत्यन्त महङ्गो छ । हाम्रो जीवनको गुणवत्ता घटिरहेको छ । त्यसैले मैले सुरुमै भने सरह जलवायु परिवर्तनलाई एउटा स्वतन्त्र घटनाप्रवृत्तिका रुपमा मात्रै हेरेर हुँदै हुँदैन । यो पृथ्वीमा भइरहेका धेरै घटना र प्रवृत्तिसँग जोडिएको छ । मानवीय कृयाकलापका कारण हो ।
अजय दीक्षितः स्वास्थ्यलाई चेतनाले प्रभाव पार्छ ?
डा. धितालः उपचारात्मकबाट अब प्रतिरोधात्मक र प्रवद्र्धनात्मक किसिमका स्वास्थ्य गतिविधिमा ध्यान दिनुपर्ने आवश्यकता छ । स्वास्थ्यबारे यान्त्रिक अवधारणाबाट मुक्ति अर्को महत्वपूर्ण आवश्यकता होे । पश्चिमा औद्योगिक क्रान्ति पछि लगातार, अहिलेसम्म पनि, मानव शरीरलाई एउटा यन्त्रका रुपमा मात्र हेर्ने सोच हाबी भयो । भर्खरै भर्खरैमात्रै “मान्छे यान्त्रिक मात्रै त होइन है” भन्ने बौद्धिक छलफल सुरु भएका छन् तर अझै पनि मानवस्वास्थ्यका बारेमा यान्त्रिक सोच हाबीे छ । हरेक सत्रका पोष्टग्र्याजुयट विद्यार्थीहरूलाई सुरुमै मैले भन्ने गरेको छु – “तिमीहरू एकदमै राम्रो सर्जन बन्छौ भन्ने कुरामा मलाई अलिकति पनि शंका छैन । तिमीहरू सिपका हिसाबले, ज्ञानका हिसाबले अब्बल छौ, पक्का छ । तर एउटा कुरा चाहिँ तिमीहरूले सम्झिदियौ भने म तिमीहरूप्रति कृतज्ञ हुने छु – “बिरामीहरू बिग्रिएका मेशिन होइनन्, तिमीहरू बिग्रिएको मेशिनलाई ठीक पार्ने कालिगडमात्रै होइनौ । यतिमात्रै बुझिदियौ भने मात्र पुग्छ ।” तर यो कुुरा बारम्बार भनिरहनुपर्छ, बारम्बार ।
मान्छेको चेतनाको बारेमा हुनुपर्ने जति अनुसन्धान भएको छैन । अहिले भर्खरै मात्रै केही केही हुनथालेको छ । तिनीहरूले अचम्मको नतिजा देखाउन थालिसकेका छन् । “टुनामुना” जस्तो कुरा हैन । सही किसिमले विधि सिकेर लामो समयसम्म ध्यान गर्ने मानिसहरूको फङ्सनल एम्आर्आई र ध्यान नगरेका मानिसहरूको फङ्सनल एम्आर्आईमा देखिएको भिन्नता एकदमै अचम्मलाग्दो छ । धेरै अवधि बाँकि छैन भनेर भनेका अन्तिम अवस्थाका बिरामीहरू जो बढी सकारात्मक छन्, जो जीन्दगीप्रति कृतज्ञ छन्, जो रमाएका छन्, रमाउन सक्छन्, जो अरुलाई प्रेम गर्न सक्छन्, जसको गनगन गुनासो कम छ, तिनीहरू कि त सोचेको समयभन्दा धेरै बाँचेका छन् कि उनीहरूको मृत्यु सजिलो भएको छ । मानवीय चेतनाका कतिपय पक्षहरूको बारेमा हामीले निकै अध्ययन गर्न बाँकी छ ।
मानवीय चेतनाकोे गहिराइमा हामीे पसेकै छैनौँ । खाली स्थूलरुपमा हाम्रा लागि बस्तुगत बनेको, जे कुरालाई देख्न, छुन सक्छौँ तौलन सक्छौ नाप्न सक्छौँ यो एकदमै भौतिक कुराहरूमात्रै वास्तविक हुन्, त्यो बाहेक केही पनि छैन भन्ने कुरा हामीले सोचिरहेका छौँ । त्यसमा अब सोच्ने बेला भयो । मानवीय चेतनाका विभिन्न तहका बारेमा विचार गर्ने बेला भयो । हामीले वातावरणमा कस्तो खालको प्रभाव पारिरहेका छौँ, हावापानीमा हाम्रा कारणले के कस्तो प्रभाव परिरहेको छ भन्ने जस्तो विषयलाई पनि बुझ्नु हो ।
अजय दीक्षितः काठमाण्डौमा हामी सबै गर्मी बढ्यो भनिरहेका छौं । धेरैको महशुस पनि यस्तै छ । बढ्दो तापक्रम र आद्रताले हाम्रो स्वास्थ्यमा केही प्रभाव पार्छ ?
डा. धितालः मानिसका शरीरमा पनि आक्रमण गर्न सक्ने कतिपय हानिकारक ब्याक्टेरियाहरू, ढुसी (फङ्गस) लाई गर्मी र आद्र वातावरणमा हुर्कन सजिलो हुन्छ, ती पनि बढ्न सक्ने भए । यो भनेको शरीर बाहिरको कुरा भयो । मान्छे स्वयं पनि त वर्षौँ वर्षदेखि चैतमा यस्तो होला, जेठमा यस्तो होला, साउनमा यस्तो होला भनेर मान्छे मानसिक रुपमा तयार भइरहेको हुन्छ । अचानक अकल्पनीय हिसाबले त्यो ठाउँमा मौसम परिवर्तन भइदिँदा शरीरले सामना गर्न गा¥हे हुनेछ । तर हाम्रो सार्वजनिक स्वास्थ्य सेवा त्यो स्थितिसित जुध्न तयार छैन ।
अजय दीक्षितः प्रदूषणका कारणले गर्दा काठमाडौँ उपत्यकावासीको औसत आयु चार वर्षसम्म घट्ने आकलनहरू सार्वजनिक भएका छन् । अहिलेको हाम्रो स्वास्थ्य सेवा यी चुनौतिहरू सामना गर्न कत्तिको सक्षम छ ?
डा. धितालः हामी रोग लागिसकेपछि के गर्ने भन्ने बारेमामात्रै सोच्ने गर्छौं । कुराकानी गर्दा, योजना बनाउँदा, लेख लेख्दा, अथवा अनुसन्धान गर्दा हामीेले प्रवद्र्धनात्मक, प्रतिरोधात्मक र उपचारात्मक कुरा गर्ने गरेको भए तापनि सामान्यतया रोग लागिसकेपछि मात्र अब के गर्ने भन्ने कुराहरूमा बढी ध्यान जान्छ । उपचारात्मकभन्दा प्रतिरोधात्मक र प्रवद्र्धनात्मक कार्यमा बढी जोड दिनुपर्ने अवस्थामा चाहिँ हामी पुगिनै सकेका छौँ । समग्रता आवश्यक छ । हाम्रा सार्वजनिक स्वास्थ्य सेवा फितलो छ, हेरौं न काठमाडौंमा डेंगू बढेको छ तर हामीले रोक्न सकेका छैनौ । सरकारका मन्त्री नै भन्दैछन् सरकारले मात्रै डेंगू रोक्न सक्दैन ।
अजय दीक्षितः अस्पतालमा आएका बिरामीहरू पहिलेभन्दा अस्वाभाविक किसिमले बढेका छन् र ती बाहिरको वातावरणमा आएको परिवर्तनका कारण हुन ?
डा. धितालः नाटकीय ढंगले चाहिँ आएको छैन अहिलेसम्म । दुईवटा कारणले गर्दा होला यो । एउटा काठमाडाँैमा अहिले ह्वात्तै यति धेरै अस्पताल बढेका छन् ३० वर्ष अगाडिको जस्तो बिरामीहरू जाने ठाउँ सीमित छैन । छरिएका कारणले गर्दा पनि सम्भवतः नदेखिएको होला । तर के पनि भन्न सकिन्छ भने जनसंख्या जति अनुपातमा बढेको छ, त्यो भन्दा बढी अनुपातमा अस्पतालको संख्या बढेको देखिन्छ । सबै अस्पतालमा बिरामी उत्तिकै छन् । असाध्यै ब्यवस्थित किसिमको वैज्ञानिक अनुसन्धान नभइकन यस विषयको निक्ल्र्योमा पुग्न सकिँदैन । नत्र स्थूल अवलोकनमा आधारित गफ मात्रै हुन्छ । अर्को तर्क यो पनि हुनसक्छ – मान्छे पहिलेभन्दा रोगको बारेमा बढी सम्वेदनशील भए, सचेत भएका छन् । पहिले अलिअलि पेट दुखे ठीकै छ, पेट नदुखे के दुख्छ भनेर बसिदिन्थे, अहिले चाहिँ बढी सम्वेदनशील भएका छन् । ढुक्क भएर भन्न सकिन्छ जलवायु परिवर्तन र उच्च वायुमण्डलीय तापक्रम बढेका कारण मानिस आफैले झन् नोक्सानी व्यहोरिरहेको छ । निदान नगरे झन नोक्सानी व्यहोरने छ ।
अजय दीक्षितः अस्वभाविक रुपमा पहिले भन्दा भिन्न रोगहरू केही महशुस गर्नुभएको छ ?
अजय दीक्षितः तपाईले महत्वपूर्ण विषय उठाउनु भयो, तर जलवायु सबैले गफ मात्रै गर्ने विषयभन्दा माथि गएको छैन, मान्छेको अस्तित्वको प्रश्न हो भने, कसरी यो चुनौतिलाई ब्यापक बनाउने, ताकी समाघानका बाटासुरु होस ?
डा. धितालः यसको निम्ति कुनै छोटो बाटो भइदिए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक भए पनि त्यस्तो छोटो बाटो छैन । विविधताका बीच समानता र फरक प्राथमिकताका बीच साझा हीतका सवाल खोज्ने कला, साहस र विवेक मानिसले विकास गर्नै पर्छ । मानिस मानिसका बीचको सम्बन्धमा मात्र हैन, अन्य प्राणीसँगको सम्बन्धमा पनि यो आवश्यक छ । र यसका निम्ति अब कुनै न कुनै किसिमको प्रज्ञानात्मक क्रान्ति नभई हुँदैन । मलाई लाग्छ, मानव जाति लोप हुने बेला अझै आइसकेको छैन भने यस्तो क्रान्ति पक्कै हुनेछ । मानिस स्वयम्को आत्मगत यत्नले हुन्छ कि, प्रकृतिको वस्तुगत नियम र आवश्यकताका कारण अनुवांशिक परिवर्तन (म्युटेशन) को बाटोबाट हुन्छ कि, यी दुवैको योगबाट हुन्छ कि, अथवा प्रलय जस्तो लाग्ने ठूलै दुर्घना पछि मानिसको होस खुलेर मात्र हुन्छ, थाहा छैन । तर मानव जाति समाप्त नहुने हो भने यस्तो प्रज्ञान क्रान्ति अपरिहार्य छ । यसका निम्ति हामीले तत्काल थाल्नै पर्ने प्रयत्न हो- घृणाका सबै रुपलाई प्रेमले विस्थापित गर्ने सक्रिय सचेत र सम्भव भएसम्म संगठित प्रयत्नमा लाग्ने ।