म त ‘डाइरेक्ट’ प्रधानमन्त्री बन्ने भएँ !

फुटानी

दुई सातासम्म बडो रमाइलो भयो । यो अनकन्टार ठाउँमा पनि फेसबुके र युट्यूवेले भयंकर मनोरञ्जन दिए । लेख्न र बोल्न पनि कस्तो मजाले सकेको ! आमामा …….! हौ अनि त्यस्तो भाँडि बोलेपछि पनि मान्छेकै बीचमा उनारु त लाजै नमानी ठाँटसँग हिडी पो राछ । पल्लो भेडी गोठको चण्डे पनि भन्दै थियो – हाम्रो शेरबहादुर दाइ पनि झुट बोल्दा रान । कम्युनिष्ट सरकार आयो भने रुन पनि पाइँदैन भनेर । यहाँ त अश्लिल बोल्न, लेख्न, भन्न, रुन, हाँस्न सपै पाइराछन् त ।

मेरी डोल्मा पनि भन्दै थिई – हैन यो फेसबुक र युट्यूवलाई त मुढेहरुले बाहुनीहरुले खेल्ने रत्तेली जस्तो बनाएछन् भनेर । भेडी गोठालो भएपनि म पनि बुद्धिमान पो छु त । मैले चाहिँ अर्कै साेंचे – अब सामाजिक सञ्जाललाई सरकारले कस्तो दृष्टिले हेर्ला र के निर्णय गर्ला नि भनेर । मेरो पनि मनको डाहा उर्लिएर खहरे खोला जस्तो भा छ । त्यस्तै अर्थात् उनार्ले जस्तै लेख्न, बोल्न र भाषण गर्न जान्ने भैदिएको भए सहाराँ गएर नेताहर्लाई तोरीको फूल देख्ने गरी भन्ने थिएँ । के गर्नु आफू उपल्लो डोल्पाको भेडी गोठमा छु ।

मनपरी बोल्ने, लेख्ने र विभिन्न चित्र बनाएर विचित्र गर्ने १०।२० जनालाई त मामा घरमा बोलाएर छाला उप्किने गरी स्वागत गरे अरे भन्ने खवर आको छ । खै उनार्को र मेरो मिटर मिलेर नहुने हो क्यारे ! उता विदेशमा बसेर नेपाली समाजले नपचाउने शब्दहरु प्रयोग गर्ने सर, सर्नीहर्लाई पनि नेपालकै मामाघरमा झिकाएर स्वागत गर्ने अरे भन्ने अपुष्ट समाचार पो सुने । मेरो मन अत्यान्तै छटपटाएको छ । के गरौं र कसो गरौं भएको छ । त्यो फलानालाई नङ्ग्याए जस्तो, सालिकरामको खबर बङग्याए जस्तो, खहरेले समुद्रलाई ललकारे जस्तो, यो मेरो मुन पनि पाखण्डको हुलमा पस्ला जस्तो पो छ । खै के भाको भाको !

रिसले मेरो पारो पल्लोपटि पुगेको छ । अहिलेसम्म केपी ओली, प्रचण्ड, देउवाहर्ले कुर्सी छाडेका छैनन् । होइन मैले नबुझेको कुरो जनताले जिताएर पठाए भन्दैमा हुन्छ ? तुरुन्त कुर्सी छोड्नु पर्छ । मचैं सधैं भेडा चरार यो अनकन्टार नागीमा बस्नु ! रिसले शरीर थरथर कामेको छ मेरो । अरु केही दिन यस्तै पारा हो भने म केही न केही चर्तिकला त गर्छु गर्छु ।

हामीलाई पनि थाहा छ । केही लागेन भने अन्तिममा आफूले आफ्नै खप्परमा चिर्पटले …….! अबको चुनाप मात्र आओस् त ! काठमाण्डौं आएर आफ्नो बाक्सामा मत पत्र नै गुन्द्रक खाँदे जस्तो खाँद्न सकिन भने मेरो नाम गफाष्टक नै होइन, लौजा ! हामी भनेका ३ करोडका ढुकढुकी हौं । के सोचेको छ ? भोट पो तिमारुसँग छ, तीन करोड जनता त हामीसँग छन् । तिर्मालाई यो पनि भनीरहनु पर्छ ? तुरुन्त कुर्सी छोडेर मलाई फुन गर्नु म आर बस्छु ।

बुकी फुलको नमिठो गन्ध । वाक्क लाग्दो हिमालको हिँउ । दिक्क लाग्दो भेडाको भ्याँ भ्याँ । उराँठ लाग्दो गरी फैलिएको उभडखावड लेकाली नागीहरु । एकै छिनमा उडेर आउने भुँइ कुइरो छ यहाँ ? जान्छु काठमाण्डौं । त्यही नेता भएर बबाल मच्चाउँछु । मलाई चिनेकै छैन तिमार्ले ।

आपपप………! मेरा पछाडि कति छन् कति ! अब डोकाले छोपेर छोपिने वाला छैन । गोविन्द केसी दाइ, सुरेन्द्र केसी दाइ, रविदाई भएको काठमाण्डौ पुगेपछि गफाष्टक दाइ कसो नबनौला !

‘ए……..डोल्मा ! लु म काठमाण्डौ जाने भएँ । यति के भनेको थिएँ मेरी डोल्मा त रणचण्डी बन्दै बुरुक्क उफ्रिएर – यो भेडाहरु सपै लिएर जा ! यहाँ हुँडार खेद्ने र भेडा हर्ने मान्छे नपुगी राको बेलामा काठमाण्डौ जाने ? खुस्कियो कि क्या हो जुइनो ? हो त साँची “उताको भेडा अर्कै भेडा, यताका भेडा अर्कै भेडा, मन मात्र मेरो टेडामेडा, डाइरेक्ट प्रधानमन्त्रीको कुर्सीमा बस्ने मेरो परिकल्पना” । भेडाहर्ले तुषारो पात गरे । हत्यरीका डोल्मा तँ कुरो बुझ्दिनस् । प्रधानमन्त्री बन्ने कुरो खत्तम पारिस् । अब जस्सरी पनि आउनु परदानमन्त्री बन्नै पर्छ भनेका छन् । अब यत्रो भिडले भने पछि कस्सो नबनौंला त ! भागेर भए पनि जान्छु काठमान्डू ।

Facebook Comments
Comments (0)
Add Comment