जुन भाषामा धेरै शब्द हुन्छन् त्यो भाषा धनी हुन्छ । यस अर्थमा संस्कृत भाषा ज्यादै धनी छ । संस्कृतमा एउटै वस्तुलाई बुझाउने अनेक शब्द छन् । उदाहरणका लागि लक्ष्मीका छ वटा नाम छन्- लक्ष्मी, पद्मालय, पद्मा, कमला, श्री, हरिप्रिया ।
कुन राष्ट्र कति सम्पन्न छ भन्ने कुराको निर्धारण त्यस राष्ट्रको साहित्य, कला, संस्कृति कति समृद्ध छ भन्ने आधारमा हुनेगर्छ । साहित्य समृद्ध हुन त्यस भाषामा धेरैभन्दा धेरै शब्द हुनुपर्छ । त्यसैले पनि साहित्य र शब्दकोशबीच अटुट सम्बन्ध रहन्छ । भनिएको पनि छ- कोष (धन) विनाको राजा वा राज्य र कोश (शब्दभण्डार) विनाको विद्वान् निरर्थक हुन्छन् ।
अमरकोश वा नामलिङ्गानुशासन
अमरकोश संस्कृत भाषाका पर्यायवाची शब्दहरूको सङ्ग्रह हो । अमरसिंह भन्ने व्यक्ति (उनलाई नेपाली हुन् पनि भनिएको पाइन्छ) ले यो ग्रन्थ रचना गरेका हुन् । त्यसैले पनि यस ग्रन्थको नाम उनकै नामबाट राखिएको हो भन्ने मान्यता पाइन्छ ।
लेखकले यसलाई नामलिङ्गानुशासन पनि भनेका छन् । तीन वटा काण्डमा रहेकाले कतिपयले यसलाई त्रिकाण्ड वा त्रिकाण्डी अमरकोश पनि भनेको पाइन्छ ।
केहीले विशेष वर्ग भनेर दिइएको खण्डलाई पनि काण्डकै रूपमा लिइने गरेको पाइन्छ । यसरी हेर्दा यसमा चार वटा काण्ड छन् भन्न पनि सकिन्छ ।
अंग्रेजी भाषामा यस्तो सङ्ग्रहलाई थेसारस भनिन्छ ।
संस्कृत भाषामा धेरैखाले कोश ग्रन्थ लेखिएका छन् । कोशका उद्देश्यमध्ये कविहरूलाई काव्यलेखनमा सहयोग गर्नु पनि हो ।
मूलरूपमा कोशका दुई प्रकार छन्- समान-अर्थ कोश र अनेक-अर्थ कोश । कुनै चिज-वस्तु बुझाउन प्रयोग हुने (पर्याय) शब्दहरूको सङ्ग्रह समान-अर्थ कोश (अंग्रेजीमा यसलाई थेसारस भनिन्छ) हो भने एउटै शब्दबाट धेरै अर्थ लाग्ने शब्दहरू (जस्तैः नेपाली बृहत् शब्दकोश) को संग्रह अनेक-अर्थ वा नाना-अर्थ कोश हो ।
यसरी हेर्दा अमरकोश समानार्थी वा समानान्तर कोश हो । यसमा शब्दोंका साथै लिङ्ग र वचनको पनि निर्देश गरिएको छ ।
अनुष्टुप छन्दमा रहेको यस कृतिमा सबैभन्दा पहिले एक श्लोकमा मङ्गलाचरण रहेको छ । अर्को एउटा श्लोकमा प्रस्तावनाका रूपमा कृतिको परिचय दिइएको छ । त्यसपछि परिभाषाका रूपमा तीन वटा श्लोकमा कृतिमा समेटिएका नाम, तिनको लिङ् र वचन छुट्याउन प्रयोग गरिएको विधिका बारेमा जानकारी दिइएको छ ।
यसका तीनमध्ये पहिलो काण्डलाई स्वर काण्ड भनिएको छ । यसमा १० वटा वर्ग छन् । ती यसप्रकार छन्- १. स्वर्ग वर्ग, २. व्योम (आकाश) वर्ग, ३. दिक् (दिशा) वर्ग, ४. काल (समय) वर्ग, ५. धी (बुद्घि) वर्ग, ६. शब्दादि (शब्द) वर्ग, ७. नाट्य वर्ग, ८. पातालभोगि वर्ग, ९. नरक वर्ग र १०. वारि (समुद्र) वर्ग ।
दोस्रो काण्डलाई भूम्यादि (भूमि आदि) काण्ड भनिएको छ । यसमा पनि १० वटै वर्ग छन् । ती यसप्रकार छन्- १. भूमि वर्ग, २. पुर (शहर, गाउँ) वर्ग, ३. शैल (पर्वत) वर्ग, ४. वन-औषधि वर्ग, ५. सिंहादि (सिंह आदि जनावर) वर्ग, ६. मनुष्य वर्ग, ७. ब्रह्म वर्ग, ८. क्षत्रिय वर्ग, ९. वैश्य वर्ग र १०. शूद्र वर्ग ।
तेस्रो काण्डलाई सामान्यादि काण्ड भनिएको छ । यसमा पाँच वटा वर्ग छन् । ती यसप्रकार छन्- १. विशेष्यनिघ्न वर्ग, २. सङ्कीर्ण वर्ग, ३. नानार्थ वर्ग, ४. अव्यय वर्ग र ५. लिङ्गादिसङ्ग्रह वर्ग ।
यसरी अमरकोशमा २५ वटा वर्ग र १५ सय वटा अनुष्टुप छन्दका श्लोक छन् । दस हजार वटा नाम भएको यस कृतिका रचनाकार अमरसिंहले कतिपय शब्दलाई यसमा नसमेटेको कुरा पनि स्वीकारेका छन् ।