केन्द्रीय तथ्याङ्क विभागले २०५८ सालमा लिएको राष्ट्रिय जनगणना अनुसार दुरा समुदायको जनसंख्या ५हजार एक सय ६९ मात्र रहेको छ । तर दुरा सेवा समाजद्वारा २०५४ सालमा प्रकाशित ‘दुरा जातिको आर्थिक तथा सामाजिक पक्षको एक अध्ययन’ नामक अध्ययन प्रतिवेदनले दुरा जातिको जनसंख्या ५ हजार छ सय ७६ रहेको तथ्य सार्वजनिक गरेको छ (दुरा सेवा समाजको ब्रोसर, सन् २००७) । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार दुरा जातिको जनसंख्या ५ हजार तीन सय ९४ रहेको छ ।
दुरा जातिको मुख्य बस्ती लमजुङ हो, जहाँ दुराहरूको कुल जनसंख्याको लगभग ७२ प्रतिशत बसोबास रहेको छ । लमजुङको खजेगाउँ, तुर्लुङकोट, भाँगु, मकैस्वाँरा, ठूलोस्वाँरा, कानेश्वाँरा, बासपानी, नेटा, कुन्छा, तान्द्राङ, बर्धान, हाँडीखोला, नास्के, लाङ्दी, पतरी, सिस्ठानी, सम्ले, सानोस्वाँरा, भदौरे, रामबजार, भोर्लेटार आदि गाउँहरुमा दुराहरुको बसोबास रहेको छ (दुरा सेवा समाजको ब्रोसर, सन् २००७) ।
यसैगरी दुरा जातिको दोस्रो ठूलो बस्ती तनहूँ हो, जहाँ दुराहरूको कुल जनसंख्याको मोटमोटी १६ प्रतिशत बसोबास गर्छन् । तनहूँको शिसाघाट, राम्चे, धरमपानी, सत्रसय, चिसापानी, तनहूँसुर, रामथुम्की, क्यामिन आदि गाउँहरूमा दुराहरुको बस्ती रहेको छ । दुरा समाजका अनुसार तनहूँ सदरमुकाम दमौली पनि दुराहरूको नयाँ बस्तीमध्ये एक हो ।
प्राप्त आँकडाअनुसार अहिले दुराहरु कास्की, चितवन, नवलपरासी, ओखलढुँगा, डोटी, काठमाडौं, ललितपुर, कैलाली, रौतहट, रामेछाप लगायत देशका १२ जिल्लामा छरिएर बसेका छन् । यसबाहेक देशका अन्य भागमा पनि दुरा बस्तीहरू अस्तित्वमा रहेको जानकारी प्राप्त भएका छन्, तर तिनको उचित खोज अनुसन्धान हुन सकेको छैन ।
विषय प्रवेश
संस्कृति व्यापक र गहन विषय हो । संस्कृतिको अर्थ हामीले सामान्य अर्थमा बुभ्mने गरेको नाँचगान तथा झाँकीभन्दा बृहत छ । त्यसैले संस्कृतिलाई परिभाषित गर्न पनि त्यति सजिलो छैन । संस्कृतिको परिभाषालाई लिएर मानवशास्त्रीहरूबीच पर्याप्त मदभेद छन् । तर पनि मानिसले सिकेका तमाम मानवीय व्यवहारलाई संस्कृति भनेर धेरैले परिभाषा दिएका छन् ।
समाजशास्त्री एडवार्ड वी टेलर (सन् १८३२–१९१७) ले सन् १८७१ मा प्रकाशित पुस्तक ‘प्रिमिटिभ कल्चर’ मा संस्कृतिलाई साङ्गोपाङ्गो रूपमा परिभाषित गरेका छन् । उनका अनुसार मानिसले समाजको सदस्यका नाताले आर्जन गर्ने ज्ञान, विश्वास, कला, कानुन, नैतिकता, प्रथा, सामथ्र्य र बानी–व्यहोराको समग्रता नै संस्कृति हो । उनले संस्कृतिलाई एउटा जटिल विषय ठानेका छन् ।
ज्ञान, अनुभव, मूल्य–मान्यता, मनोवृत्ति, धर्म, समयसम्बन्धी अवधारण, सामाजिक सम्बन्ध, व्रह्माण्डसम्बन्धी अवधारणा, व्यक्ति तथा समूहको स्वामित्वमा रहेको भौतिक वस्तु आदिको गठजोडलाई धेरैले संस्कृति मान्ने गरेका छन् ।
सभ्यताको लामो यात्रासँगै मानव संस्कृतिले सम्पदाको रूपधारण गरिसकेको छ । सांस्कृतिक सम्पदालाई मूर्त र अमूर्त गरी दुई भागमा वर्गीकरण गरिएको पाइन्छ । कुनै कुनै सन्दर्भमा यसलाई भौतिक र अभौतिक सम्पदा भनेर पनि विभाजन गरेको पाइन्छ ।
मूर्त सम्पदाले मानव सिर्जनाका भौतिक उत्पादनहरूलाई नै जनाउँछ, जुन एकपटक सिर्जना गरेपछि केही समयमात्र रहन्छ वा हस्तान्तरित हुँदैन । डिबी लिम्बूका अनुसार अमूर्त सांस्कृतिक सम्पदा तुलनात्मक रूपमा गतिशील हुन्छ र एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भइरहन्छ ।
मूर्त र अमूर्त संस्कृतिको एक सिक्काका दुई पाटाजस्तै हुन् । एउटाको अनुपस्थितिमा अर्कोको अस्तित्व असम्भवप्राय छ । अमूर्त सांस्कृतिक सम्पदाको संरक्षक र वहाक मानव मस्तिष्क र शरीर नै हु्न् ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले अमूर्त सांस्कृतिक सम्पदाका दायरा निर्धारण गरेका छन् । युनेस्कोका अनुसार मौखिक परम्परा तथा अभिव्यक्ति, अभिनय कला, सामाजिक व्यवहार, अनुष्ठान तथा चाडपर्वका उत्सव, प्रकृति तथा व्रह्माण्डसँग सम्बन्धित ज्ञान तथा व्यवहार र परम्परागत कलाकौशलहरू अमूर्त सांस्कृतिक सम्पदा अन्तर्गत पर्दछन् ।
दुरा समुदायमा विद्यमान अमूर्त सांस्कृतिक परम्पराहरू
दुरा जाति आफ्नै भाषा र संस्कृति भएको समुदाय हो । यति हुँदाहुँदै पनि दुरा समुदाय जनसांख्यिक एवम् भौगोलिक पैmलावटको हिसाबले नितान्त सानो समुदाय भएकाले यस समुदायमा विद्यमान सांस्कृतिक सम्पदाहरू अरू ठूला प्रभावशाली समुदायबाट कुनै न कुनै रूपमा प्रभावित भएका देखिन्छन् । यस दृष्टिले दुरा समुदायमा विद्यमान कतिपय सांस्कृतिक सम्पदाहरूको उदगमविन्दु दुरा समुदाय नै हो भन्न सकिने अवस्था छैन ।
दुरा समुदायमा प्रचलित सोरठी, सती घाँटु, कृष्ण चरित्र आदि जस्ता सांस्कृतिक सम्पदा गुरुङ तथा मगर समुदायमा पनि प्रचलित रहेकाले यिनीहरूलाई दुरा समुदायको मात्र सांस्कृतिक निधि भन्न सकिने अवस्था छैन ।
दुरा समुदायमा विद्यमान लोकविश्वास, रीतिरिवाज, चाडवाड, लोकगाथा, लोककथा, लोककथन, लोकधर्म, लोकमनोविज्ञान, लोकप्रहसन, लोककला, लोकसंगीत, लोकनाटक, लोकमन्त्र, लोकपद्य, श्रुतिपरम्परा, परम्परागत खेल, परम्परागत ओखतीमूलो तथा उपचार विधि एवम् परम्परागत ज्ञान–सीप समयको प्रवाहसँगै तीव्र गतिमा लोप हुने क्रममा छ ।
विश्वव्यापीकरण तथा पश्चिमा संस्कृतिको बढ्दो प्रभावबाट दुरा समुदाय पनि मुक्त हुने कुरै भएन । दुरा समुदायमा बचेखुचेका अमूर्त सांस्कृतिक सम्पदाको उचित संरक्षण, अभिलेखीकरण तथा विस्तार हुन नसक्दा निरन्तर क्षति व्यहोर्नुपर्ने अवस्था आइरहेको छ ।
धर्मः दुरा समुदाय हिन्दू, बौद्ध तथा बोन धर्मको प्रभाव देखिन्छ । यो समुदायले दशैंजस्ता हिन्दू धर्ममा आधारित चाडवाड मान्ने, बौद्ध धर्ममा आधारित कतिपय संस्कारलाई आत्मसात गर्ने तथा प्रकृतिपूजा गर्ने गरेको पाइन्छ । यस आधारमा यिनीहरूमा हिन्दू, बौद्ध तथा बोन धर्मको प्रभाव देखिन्छ ।
भाषाः जनसांख्यिक हिसाबले दुरा समुदाय लोपोन्मुख अवस्थामा रहेजस्तै मातृभाषाको दृष्टिले पनि यो समुदाय संकटापन्न अवस्थामा रहेको देखिन्छ । दुरा जातिको मातृभाषा प्रचलनमा रहेको पाइँदैन । यो भाषा भोट–बर्मेली भाषा परिवारको एक सदस्य मानिन्छ । दुरा समुदायमा अहिले नेपाली भाषा नै बोलीचालीको भाषा बनेको छ । यद्यपि नेपाली भाषा बोल्दा यदाकदा दुरा समुदायका मानिसका मुखबाट दुरा भाषाका शब्दहरू उच्चारण हुने गरेको पाइन्छ । जस्तै: गुमा (माइजू), माकुली (इन्द्रेणी), झना (तरुनी), कोर्जे (दस्तुर), मैखु (आमा), मुसी (सानिमा) आदि (दुरा यम बहादुर, २०७१ः १७४) ।
दुरा समुदायका आठ/नौ दशक नाघिसकेका बूढापाकाहरूले आफ्ना आमा–बाले आंशिक रूपमा दुरा भाषा बोल्ने गरेका र बाजे बज्यैले पूरापुर रूपमा दुरा भाषा बोल्ने गरेका जानकारी दिने गरेको पाइएको छ । यस हिसाबले करिब १५० वर्ष अघिसम्म दुरा भाषा दुरा समुदायमा बोलीचालीको भाषा थियो भन्ने अनुमान गर्न सकिन्छ ।
केशबहादुर दुराले संकलन गरेका दुरा भाषाका शब्दहरू तथा आफ्नै स्थलगत अध्ययनका आधारमा मुक्तिनाथ घिमिरे (जन्मः वि.सं. २००९) ले २०४९ सालमा ‘दुरा भाषाको व्याकरणात्मक स्वरूप’ शीर्षकमा शोधपत्र तयार पारेको भेटिन्छ । ‘दुरा सेवा समाज’ ले २०५७ सालमा ‘दुरा जातिको भाषा, परम्परा र संस्कृति’ नामक पुस्तक प्रकाशन ग¥यो । उक्त पुस्तकमा जातिको सांस्कृतिक पक्षका अतिरिक्त दुरा भाषाका केही शब्द र सामान्य वाक्यहरू समावेश गरिएका थिए । यसपछि ‘दुरा सेवा समाज’ ले २०५९ सालमा दुरा भाषाको ‘संक्षिप्त व्याकरण तथा शब्दावली’ शीर्षकको पुस्तक तयार ग¥यो, जुन अप्रकाशित कृतिको रूपमा रहेको छ ।
‘दुरा सेवा समाज’ ले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा २०६० सालमा ‘दुरा भाषाको शब्दकोश’ प्रकाशन ग¥यो । उक्त शब्दकोशमा करिब एक हजार ५०० शब्द र २७७ वाक्य रहेका छन् । दुरा भाषाका शब्दको अर्थ नेपाली भाषामा दिइएको भए पनि उक्त शब्दकोशमा अङ्ग्रेजीमा अर्थ दिइएको छैन ।
लोककला
ठाडो भाकाः दुरा भाका, कर्पुटारे भाका, लमजुङे भाका आदि नामले प्रचलित यो भाकाको अधिष्ठाता देउबहादुर दुरा (वि.सं. १९५२–१९९१ अनुमानित) मानिन्छन् । लमजुङ, गोर्खा, तनहूँ, कास्की तथा स्याङ्जामा प्रचलित यो भाका कुनै समयको साङ्गीतिक कण्ठहार मानिन्थ्यो । अहिले यो भाका गाउनेहरूको संख्या तीव्र गतिमा घट्दो छ । औंलामा गन्न सकिने व्यक्तिहरूले मात्र ठाडो भाका गीत गाउन सक्छन् । तत्कालीन समयमा देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङ (वि.सं. १९४७–२०३३) यो भाकाका कहलिएका गायक ठहरिएका थिए ।
उनीहरूभन्दा पछिका पेचेरे दुरा, मनिराम दुरा, दीर्घराज अधिकारी ‘भेँडीखर्के साहिँला’ (वि.सं. १९९०–२०७४), भक्तिमाया दुरा (वि.सं. १९८४–२०६९), सुनबहादुर दुरा आदि यस गीतमा ख्याति प्राप्त कलाकार थिए । उनीहरू अहिले यस दुनियाँमा छैनन् । वर्तमानमा नन्दमाया दुरा, बुद्धिमान दुरा, सीता दुरा, निरमाया दुरा आदिले ठाडो भाकाको विरासत थामिरहेका छन् ।
सोरठीः सामान्यतया यो नाच शरद ऋतुदेखि शुरु हुन्छ । हिउँद लागेको आभास दिलाउँछ । नाचमा सहभागी हुने मारुनीहरूले फरिया, मखमली चोली, मखमली मुजेत्रोमा सजिने गर्छन् भने फुर्सुङे (बिझमारे) सेतो फरिया, भोटो, आसकोट टोपी र साफामा सजिने गर्छन् ।
कृष्ण चरित्रः यो नाचको नाच्ने शैली र तरिका सोरठी नाचसँग मिल्दोजुल्दो हुन्छ । मुख्य फरक यसमा चार जना नाच्ने गर्दछन् । यसको लय ढिलो हुन्छ । श्रीकृष्ण तथा राधाको जीवनलीलामा आधारित यो नाच शरद ऋतुदेखि नै शुरु हुन्छ ।
सती घाँटुः सती घाँटु ग्रीष्मकालीन नृत्य हो । सती घाँटु अभिनयप्रधान लोककला हो, जसमा नृत्य, गीत र वाद्यवादनको संयोजन रहन्छ । सामान्यतया, वैशाख औंसीबाट शुरु भएर वैशाख पूर्णिमासम्म नाच्ने चलन छ । चण्डीपूर्णिमाको दिन यसलाई समापन गरिन्छ । सती घाँटु राजा परशुराम र रानी यम्फावतीको संघर्षपूर्ण जीवनगाथामा आधारित छ । यसमा रजस्वला नभएका दुई कन्याहरूलाई नचाइन्छ, जसमा एकजनाले राजाको र अर्कोले भूमिका निर्वाह गर्छन् ।
सती घाँटुको इतिहास ५ सय वर्षभन्दा पुरानो मानिन्छ तर यसको ऐतिहासिकतबारे कुनै ठोस प्रमाण भेटिँदैन ।
सामान्यता, दुरा समुदायमा प्रचलित सती घाँटु वैशाख कृष्ण औंशीमा शुरु गरेर वैशाख पूर्णिमामा सेलाइन्छ । शुभ साइत हेरेर घाँटु शुरु गर्ने र सेलाउने चलन रहेकोको घाँटुको आरम्भ र अन्त्य गर्ने कार्य केही दिन यताउति हुनसक्छ । तर (गिरी २०५७), (गुरुङ २०६६), (थापा २०३०), (विष्ट २०६४), आदिले गुरुङ समुदायमा प्रचलित सती घाँटु श्रीपञ्चमीदेखि शुरु भएर वैशाख पूर्णिमा अन्त्य हुने उल्लेख गरेका छन् (दुरा २०७०) । तर आजकल कहीँपनि सती घाँटु श्रीपञ्चमीदेखि शुरु भएको पाइँदैन ।
सती घाँटुको अतिरिक्त बाह्रमासे घाँटु पनि दुरा समुदाय प्रचलित छ । बाह्रबासे घाँटु वर्षैभरि नचाउन मिल्छ ।
चाडपर्व
दुरा समुदायले वैशाख पूर्णिमा, साउने संक्रान्ति, दशैं, तिहार,पुसे पन्ध्र (म्हैप्रु नकुमा) माघे संक्रान्ति, चैते दशैँ चाडपर्वहरू भव्यतापूर्वक मनाउँछन् ।
पूजाआज
दुरा समुदायले ऋतुअनुसार भूमिपूजा, उभोली÷उधौली, नार्खु पूजा, पितृ पूजा, कुलपूजा, सिकारी पूजा, वायुपूजा, शनिश्चरे पूजालगायतका विविध प्रकारका आध्यात्मिक शक्तिको पूजाअर्चना गरेको पाइन्छ ।
चालचलन
गाउँ बार्ने, चियाँ (कलेजो) हेरेर भविष्यवाणी गर्ने, गुरुबाउ मान्ने, रोदी बस्ने, रोदीआमा मान्ने, माइती राख्ने, रिसियाँ खाने, ख्वाइ खाने, सियो राख्ने (उपनाम राख्ने), लोबारे खाने, वायु बोलाउने, दशाग्रह हेर्नेलगायतका चालचलन विद्यमान छन् ।
प्रथा
सामूहिक जीवनशैलीको द्योतकको रूपमा हारगुहार, पर्म, झारालगायतका प्रथाहरू दुरा समुदायमा प्रचलित छन्, लोप हुने क्रममा छन् ।
नयाँ विकासक्रम
खजे दुरा स्मृति दिवसः समयको परिवर्तनसँगै दुरा समुदायमा विद्यमान अमूर्त सांस्कृतिक सम्पदामा केही नयाँ आयामहरू थपिएका छन् । हरेक वर्षको कात्तिक २३ गते खजे दुरा स्मृति दिवस मनाइन्छ । खजे दुराले नेपालमा शाहवंशीय राजसंस्थाको स्थापनामा महत्वपूर्ण भूमिका खेलेको इतिहासबाट खुल्दछ । संक्षेपमा भन्दा खजे दुरा तथा तत्कालीन हर्ताकर्ताहरूले यशोव्रह्म शाहलाई लमजुङको सिंदुरे ढुङ्गा भन्ने स्थानमा सिंदुरजात्रा गरी लमजुङको राजा थापेको इतिहास छ । यही सम्झनामा खजे दुरा स्मृति दिवस मनाइन्छ ।
समाजसेवी श्रीकान्त अधिकारीको नेतृत्वमा २०३३ सालदेखि नै खजे दुरा जयन्ती मनाउन थालिए पनि ‘दुरा सेवा समाज’ (दुसेस) ले २०५० को दशकमा यो दिवस मनाउन थालेको हो । शुरुमा यसलाई खजे जयन्ती भनियो । तर खजे दुरा जन्म तथा मृत्युबारे हालसम्म कुनै पनि अभिलेख नभेटिएकोले यसलाई खजे जयन्ती भन्नुभन्दा खजे दुरा स्मृति दिवस भन्न उपयुक्त हुने ठहर ‘दुरा सेवा समाज’ ले गरेकोले पछिल्लो समयमा यसलाई खजे दुरा स्मृति दिवस भन्न थालिएको हो ।
वार्षिकोत्सवः दुरा समुदायको छाता संगठन स्थापना गर्ने प्रयास २०२८ सालेदखि नै शुरु भए पनि यसले २०५१ साल वैशाख २ गतेमात्र मूर्त रूप पायो । लामो समयको चिन्ता र चासोपछि दुरा समुदायको छाता संगठन स्थापना भएकोमा तत्कालीन समयमा दुरा समुदायका शुभचिन्तक तथा बुद्धिजीवीहरूले खुसी व्यक्त गरेका थिए । यही खुसीयालीमा प्रत्येक वर्षमा बडादशैंको पूर्णिमाका दिन ऐतिहासिक स्थल सिंदुरे ढुङ्गामा भेला भई ‘दुरा सेवा समाज’ को वार्षिकोत्सव मनाउने परम्परा शुरु भएको थियो ।
पछि ‘दुरा सेवा समाज’ स्थापना भएको दिन अर्थात् प्रत्येक वर्षको वैशाख २ गते दुसेसको वार्षिकोत्सव मनाउन थालियो, त्यो पनि घुम्ती वार्षिकोत्सव । यस अनुरूप हरेक वर्षको वैशाख २ गते दुरा समुदायको बसोबास रहेका ठाउँहरूमा पालैपालो वार्षिकोत्सव मनाउने गरिन्छ ।
उपसंहार
दुरा समुदायमा बचेखुचेका अमूर्त सांस्कृतिक सम्पदाहरू अन्य समुदायका सांस्कृतिक सम्पदाजस्तै निरन्तर लोप हुने क्रममा छ । दुरा समुदायमा विद्यमान सांस्कृतिक सम्पदाबारे सामान्य खोज–अनुसन्धान र सामान्यस्तरका अभिलेखनको प्रयास भए पनि व्यापकस्तरमा खोजअनुसन्धान र अभिलेखन हुन सकेका छैनन् । जनस्तरमा भएका यस्ता प्रयास पर्याप्त छैनन् । राज्यले नै यस्ता सांस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनको दिशामा उचित ध्यान नदिने हो भने यिनीहरू समयको गर्भमा विलिन हुने निश्चित छ ।
सन्दर्भ सामग्री
दुरा सेवा समाज : एक चिनारी (ब्रोसर) । (सन् २००७) । काठमाडौं: दुरा सेवा समाज ।
दुरा, यमबहादुर । (२०७१) । दुरा भाषाको संक्षिप्त अध्ययन । (२०७१) । सम्पदा १ (१) । काठमाडौं : भाषा तथा लोकसाहित्य मञ्च, नेपाल ।
दुरा, यमबहादुर । (२०७०) । दुरा समुदायमा प्रचलित घाँटु । शोधमाला ७ (२) । काठमाडौं : मगर अध्ययन केन्द्र ।
लिम्बू आङ्बुङ, डीबी । (२०७१) । लिम्बू जातिको अर्मूत सांस्कृतिक सम्पदा संरक्षण । तान्छोप्पा २० (३) । ललितपुर : किरात याक्थुम चुम्लुङ ।
What is Culture? (n.d.). Retrieved on August 2, 2015, fromhttp://anthro.palomar.edu/culture/culture_1.htm
What is Intangible Cultural Heritage? (n.d.). Retrieved on August 2, 2015, formUNESCO, http://www.unesco.org/services/documentation/archives/multimedia/?id_page=13&PHPSESSID=cdf1c1b605ebc498950fa399d2ed8658