लत
आफू अनेकन सीमाहरू बिच बाँची
असिमित जीवन बाँच्न सिकाइरहेछु
वर्षौँदेखि
लाग्छ,
त्यसरी बाँच्न सिकिसकेकाहरू
फर्की फर्की हेरिरहेछन् मलाई
हाँस्दै, गिज्याउँदै
कसैले भनोस्–
मेरो माटोका सीमाहरू हट्दैनन् कहिल्यै
यो कुरा मान्न तयार छैन यो मूर्ख मन
किन किन
गलत म छु या फर्केर हाँस्नेहरू
देखोस् समयले,
मैले पर्खेको पुस्ताले
मलाई त लत बसिसक्यो
असङ्ख्य सीमाहरूबीच
असिमित रहन सिकाउने !
वास्विकता
बेँसीबाट लामो उकालो हिँडेर
अन्नको भारी दलिनमा राखेको मात्र छु
घरभित्र गाग्रीहरू खाली छन्
पँधेरो तल खोल्सामा छ
गाग्री बोकेर नहिँडी धर छैन
देख्नासाथ गाई बाख्रा कराउन थालेका छन्,
पँधेरोबाट फर्केपछि
हँसिया बोकेर कान्लातिर नदौडी धर छैन
अन्न र पानीले मात्र के हुन्छ र
आगो बाल्ने सिन्कोसम्म छैन भित्र
अँध्यारो हुनुभन्दा अघि नै
बन्चरो बोकेर जंगलतिर नगई धर छैन
धपेडीविना नचल्ने रै‘छ साथी
पसिना नबग्ने शरीरको भर छैन