सिरानघरे मुखियाबाको परिवार आफ्नो पुर्खयौली ठाउँबाट बसाइँ सरेको वर्षौँ भए पनि माइलो भने बेला–बेला फुर्सद मिलाएर आफू जन्मेको ठाउँमा गएर दुइ–चार दिन बस्ने गर्छ । हरेक पल्ट गाउँ जाँदा उसको बास हुने भनेको चाहिँ मसिने काकाको घरमा हो ।
सँधै झैँ यसपाली पनि बेशीबाट देउराली डाँडाको उकालो लाग्दै गर्दा थकाइले चुर भएको माइलो सकिनसकि तैपनि तन्किन्छ, माथितिरै । बल्लतल्ल मसिने काकाको घरमा पुग्दा साँझ झिमिक्क परेको हुन्छ ।
***
“को को हुनुहुन्छ, घरमा? सुतिसक्नु’भो कि क्या हो?”
(भित्रैबाट काकीको मसिनो आवाज आउँछ) आऽऽ
“कता सुत्नु नि अहिल्यै? खानपिन सकेर धन्ना गर्दैछौँ । को हो? भित्रै आउनुस् ।”
***
“म सिरानघरे माइलो ञ् ञ् ञ् शहरबाट सबेरै हिँडेपनि आउँदा आउँदै ढिला भो ।”
(माइलाको स्वर चिन्न काकालाई पटक्कै समय लागेन । अगेनामा आगो तापिरहेका बुढा जुरुक्कै उठेर बाहिर आए ।) आऽऽ
***
“ओहो, ल भाग्यमानी भएस, बाबु । अनि यसपाली पनि आमालाई ल्याउन मिलेन है? मुखिनी भाउजुसंग नभेटी मर्ने भैयो क्यारे ! आफैं जाउँ भने’नि फिटिक्कै चल्न नसक्ने भै’गएँ ।”
“खोइ, काका के भन्नु ? यति लामो बाटो छ । फेरि, उकालो आऽऽ ओरालो आऽऽ आमालाई ल्याउन मन त थियो तर आँटै आएन । फेरि उता घरमा भुराहरु हेर्ने भरपर्दो मान्छे पनि चाहियो नि ।”
***
“अनि तिम्री बुढी अझै विदेशतिरै हो र ? (काका जोस्सिए ।) आऽऽ खोइ पैसाले कहिले पुग्ने हो मान्छेलाइ पनि ? तिम्रा बा पनि त्यसरी नै एक दिन परिवारसंग आनन्द मनले घरमा नबसेर परपरै बिदा भए ।”
***
(माइलो अमिलो हुन्छ र आफ्नो कुरो राख्न थाल्छ ।)
“कुरो त हो नि काका । आजकल जताततै मान्छेको मुखमा विदेश झुन्ड्या’छ । उनी पनि उतै रमाइलो छ भन्छिन् । जति भने पनि के गर्नु । बम्बई होस् वा दुबई, विदेशी चहल पहल देखेपछि धेरैलाई आफ्नै बा–आमा होस् कि छोरा–छोरी ञ् ञ् ञ् कसैको पनि खासै चासो नहुने रहेछ ।”
(माइलाले मनकै कुरो खोल्यो ।)
***
(मासिने काका जुरुक्क उठे ।)
“ए बुढीमाउ, हाम्रो मात्रै खानपीन भएर भएन नि । भोक लाग्यो, माइलालाई । तिमीहरु कुरो गर्दै गर । म भित्र आगो जगाउन थालेँ ।”
(काका आफै भान्छा तयार गर्न तम्सिए ।)
उसैबेला काकीले केही कुरो थपिनः
आऽऽ । मलाई त मन पर्दैन बाबु । तिम्रा काकाले उमेर छँदा कत्ति लाहुर जाने कुरो गर्थे । एकचोटि कलकत्तासम्म गएर झन्डै एक वर्ष जति विलाए पनि । पहिलो छुट्टीमा घर आएपछि मैले ‘त्यसरी एक्लै जाने भए त हुँदै हुन्न’ भनेर कुरा पर्नै दिइनँ ।”
“हो नि काकी, आफ्नो घरको परिवार संगै बसेर मीठो मसिनो सन्तोषले खाँदै दुखसुख जे छ, त्यही बाँड्न पाउँदाको मज्जा अर्कै हुन्छ नि ।”
(आफ्नै मर्मभित्र मर्माहत भएको माइलोले ‘खुइइय’ गर्यो र आकाशतिर हेरेको हेर्यै भयो ।)
***
भवतु सब्ब मङ्गलम् ।