हल्लुड बौद्धिकवाद र पत्रकारिता 

फुटानी

जान्ने पत्रकारहर्ले केही दिन अघिसम्म मन्त्रिपरिषद् पुरै चेनफेन हुने भनेर लेखेको लेख्यै गर्नु भो । होला त नि भनेर कतिपय मन्त्रीलाई टेरपुच्छर लाइन । भरे हावा खुस्के ट्वाके पत्रकारले भामरी, उल्का थोपरेर लेख्या रैछ । मैले भने तिनै समाचारको विश्वास गरेर भासनसमेत ठोके । केको हुन्थ्यो । गाउँमा मुख देखाउन नहुने बनाए ।

पोर परार गोविन्द केसी सरलाई तीन करोड नेपालीका मोक्ष दाता, तारणहार, महा मानव, युवाहर्का ढुकढुकी, नेपालीको भविष्य निर्माता भनेर पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजन लगायतले खहरेमा आएको बाढी जसरी लेख्नु भयो । होला तानि भनेर गोठमा भेडा त्यसै अलपत्र छोडेर केसीको पछि दौडिएँ । केही समयपछि मिसन अर्कै थियो भनेर केसीका समर्थकहरू सबै फर्किए । म अरकच्च परें । यो पनि झुटै लेखेर मोरेछन् । मन मनमा सोचें अर्थोकै खार लेख्या हुनन । बिचरा, कठैबरा यस्ता पत्रकारको विश्वास गर्ने म कस्तो ?

त्यसपछि पनि हाम्रा खारिएका, तिखारिएका भावनामा नबग्ने, झुठो लेख्नै नजान्नेहर्ले अर्का एक केजाति लामिछाने भन्ने पत्रकारलाई महा मानव भन्दै तारणहारको रुपमा उभ्याएर सामाजिक सञ्जालमा प्राधिकार सम्पन्न ब्यक्तित्वका धनी बनाए । म हो हो भन्दै उतै दौडिएँ । अहिले आएर मलाई नै ओल्लो घाट न पल्लो तिर बनाए ।

म यसरी खेलौना बनेर अलमल्लिएको बेला उनै निजै हाम्रा, साँच्चैका पत्रकारहर्ले सुरेन्द्र केसीलाई काँधमा बोकेर नाक ठोकिने उकालोमा हैं हैं गरेर कन्दै लिएर आउँदैछन् । थुप्रै पत्रकारले त अब प्रधानमन्त्री ओलीले केसीलाई ठाउँ छाड्नुपर्छ पनि भने । मलाई के थाहा ! मैले पनि भनी दिएँ छाड्नु पर्छ भनेर ।

छाड्नुपर्छ भनेपछि छाड्नुपर्छ । होइन, केपी शर्मा ओलीलाई जनताले पत्याए भन्दैमा हुन्छ ! दुई तियाई अरे ! केको दुई तियाई ? हामी नौं तियाई भैसक्यौं । कसरी भन्नू होला ! हिसाप सजिलो छ– गोविन्द केसीको पक्षमा तीन करोड, लामिछानेको पक्षमा तीन करोड, सुरेन्द्रको पक्षमा तीन करोड । बुझ्नु भो हामी नेपाली नौं करोड त यता पट्टी छौं । पत्रकारहर्ले नै भनेको हिसाप गर्नु होस् त रिठ्ठो नबिराई ठ्याक्कै मिल्छ । समाचार र हिसापमा हाम्रो अनुमान पत्रकारहर्ले धित मर्ने गरी लेख्छ के !

समाचार पढ्नेहरू स्यान्टिफ्याँल्ट म चाहिँ ट्वाँ । काठमाडौंमा पत्रकारहर्को मोजमस्ती देखेर म यतै भुलिएँ । उहाँ डोल्पा भेडी गोठबाट मेरी डोल्माले फुन गरेर पाँङदुरे पत्रकारको कुरो सुनेर नबस्, छिटो भेडी गोठमा आइजो भनेर खुरुन्धार गरेकी छ । त्यो पो छ बाठी । भन्दै थिई– नेपालको सपै भन्दा धनी, आफ्नै सातवटा जेट प्लेन भएको केजाती भट्टराई, ९० लाख भेट्ने धरानकी उजाती बानियाँ, काठमाडौंकी दिलशोभालाई लखेटेको काण्ड लगायतका दमदार समाचार पत्रकारहर्ले नै लेखेको हो भन्ने विर्सिएको ? छिटो आऊ ।

ज्योतिषीलाई साइत हेराएर लाग्छु भेडी गोठ डोल्पातिर भन्दै थिएँ । हाम्रो त्यही मनचिन्ते, उभिन्डे पत्रकारले फ्याट अर्को समाचार भेटे छ । कसैले भेट्न नसकेको र अहिलेसम्म ठाउँ ठहर अनि गोत्रसमेत कुनै माइका लालले फेला पार्न नसकेको चोटिलो समाचार ब्रेक गरो । हेडलाईन थियोे– रक्षामन्त्री ईश्वर पोखरेलले पूर्व राजा ज्ञानेन्द्रलाई सुटुक्क भेटे । उपप्रधानमन्त्री तथा रक्षामन्त्री जस्तो ब्यक्तिले अफालिएको राजालाई किन भेट्यो ? भन्ने प्रश्न मनमा उर्लेर आयो । अनि भेडा हेर्न जानू भन्दा यस्तो बुलन्द समाचार लेख्ने महान, विद्वान र नभको कुरा पनि हो नै जस्तो गरेर लेख्न सक्ने सिलपट बुद्धि भएको पत्रकारलाई नभेटी कसरी जानू भनेर म त काठमाडौंमै बसें । तर, दुखको कुरो अहिलेसम्म मैले त्यस्ता महान हल्लुँडे, कल्पनाशील, विलक्षण बुद्धि र तिखो कलम भएका हस्ती पत्रकार भेट्न सकेकै छैन ।

ईश्वर पोखरेलले राजा अथवा मन्त्री जो भेटे पनि मलाई छु मतलब ! भेटे भेटुन, नभेटे नभेटुन मेरो सरोकारको विषय त्यो होइन । भेटेको होइन भन्ने कुरा दुनियाँलाई थाहा छ, यो पनि मेरो मतलबको उजाति हुदै होइन । मेरो खोजीको विषय हो– पत्रकारले हुदै नभएको कुरा कसरी भेट्छ भन्ने नै हो । यो जान्न पाए मेरी डोल्मालाई फुनमै भन्ने थिएँ– पियारी डोल्मा म पनि पत्रकारिता गरेर काठमाडौंमै बस्छु । मैले पत्रकार बन्ने फर्मुला मात्र होइन गुरु पनि भेटें भनेर । त्यो हिमाली भेगको अनकण्टार लेकको नागीमा भेडी गोठमा बस्नु कम गाह्रो छ । अममम् सम्झिदा पनि रिङटा लाग्छ । बरु कोठैमा बसेर यस्तै खोजी पत्रकारिता गर्छु । डोल्मालाई पनि भन्ने थिएँ– आउ यतै बसौं भनेर । हल्लुडँ बौद्धिक पत्रकारहर्ले मलाई सल्लाह दिए गुनैगुन सम्झिने थिएँ ।

Facebook Comments
Comments (0)
Add Comment