मेलम्ची बिमारी भएर चटपटाउनै सकिन । जान्ने सुन्ने धामीझाँक्री लगाएर झारफुक गर्दा ‘भ्वाङ परेको छ’ भने । ए बाबा ! रोग चाहिने किटान गर्दिनुहोस् भन्दा पनि स्वदेशी विदेशी छास्मिसे, रातोदिन डुली हिड्ने मसानले पारेको भ्वाङ हुनाले यसलाई चिरिप्प-झ्वाम्झ रोगभन्दा उपयुक्त हुन्छ भन्ने जवाफ पाइयो । मेलम्ची २५ वर्ष भो थलिएकी । जन्मिदै विरामी भएर जन्मी । अहिले झन् जिर्ण बनी सकेकी छ । पहिला वैंसमा कस्तो रसिली, पोटिली, भरभराउँदी, मान्छेको मन लोभ्याउने थिई । अहिले हाम्रो गाउँले भाषामा हन्तकाले मसान र शहरीया भाषामा चिरिप्प झ्वाम्झ भन्ने भूत लागेर पो त ! यिनै मेलम्चीले शहराँ कति जनाको कत्राकत्रा भब्य महल बनाई दिइन, प्राडो पजेरो किनी दिइन, कतिलाई डाक्टर डाक्टरनी बनाईन् । धेरैलाई मोजमस्तीमा अहिले पनि पाली रहेकी छन् ।
अझ पनि धेरैले मदौरो ठिक पार्ने निहुँमा कुम्ल्याउँदै छन् । काठमाडौंमा बस्नेहरू मेलम्ची आउदै छे अरे’ भनेर गफ दिन्छन् । ढ्याउ गरेर डकार्दै ‘मेलम्ची दशैं अगाडि नै आउँछे’ भन्नेहरू को हो ? अनि किन त्यस्ताको विश्वास गरेको ? यस्ता कुरा नपत्याउदा राम्रो हुन्थ्यो । तर धेरैले पत्याउने गरेका छन् । कतिले सुम्सुम्याएर भ्याए, कतिपयले फकाएर चप्काए, थुप्रैले म छु चट्टै पार्छु भन्दै गमर्क्याए, निकै जनाले काउकुती लगाएर पनि उछिट्याए ।
जान्नेहर्ले भन्न थालेका छन् (मेलम्ची गलित, थकित, बदनाम, निन्याउरी, दुब्ली, खिनौटे, लुछिएकी, रगत चुसिएकी, नङ्ग्रा र दाह्रा धसेर कुरुप बनाइएकी भए पनि जीवित रहने छिन् भने भविष्यमा यिनले धेरैको सेवा गर्ने छिन् । मैले ज्योतिषीलाई पनि देखाएँ । उनले चाहिँ ठिकै भने कि क्या हो ? अब आठ अरबमा होइन १६ अरबमा मेलम्ची निको हुन्छे । दुई वर्षमा होइन चार वर्ष लाग्छ, भनेर चिना टिप्पणी हेरेर बताए ।
यस्तै बेलामा ठुले बाहुन कि साँइली श्रीमती आएर प्वाक्क बोलिन- अब केको मेलम्ची र सेलम्चीको चिना हेर्नु परो ? १६ र १७ अरबको कुरो के भोर ! त्यो नाथे । खर्च भए अनुसार निको हुन्छ भनेर म ग्यारेन्टी गर्छु । अब मेलम्ची जुरुक्क उठ्छे र गुटुङटुङ कुदेर आम्छे । मह काढ्नेले हात चाटेकोमा रिसाउनु हुँदैन । कि कसो ज्योतिषी बाजे ?
कुरो त ठिकै हो साँइली नानी तर उपचार खर्च चाहिँ चाइनेजो बाहुनले जाँड धोके जस्तो एकै सड्को घुड्क्याउनु भएन नि ! यस्तो जटिल रोग लागेको बिरामीलाई कोमामा पठाएर औषधी र सलाइनपानी जति आफैले लुड्याएपछि भुत्राको निको हुन्छ बिरामी ।
कहिले काहीं त विरक्त लागेर आउछ । सरकार उस्तै छ । केको दुई तिहाइको सरकार ! ताल हेर्दा त एक तिहाइको पनि होइन जस्तो लाग्छ । औषधी र सलाइनपानी समेत चिरिप्प पार्नेहर्लाई कक्रिने गरि किन ठिंगुरा ठोक्न सक्दैन ? कि ‘मिलिजुली चटनी, चुप लाग्ने तँ पनि चुप लाग्ने म पनि’ हो ?
सरकार भित्र बसेर मेलम्चीको उपचार गर्ने बहानामा सिरक ओढेर धोक्न पाइन्छ ? लाज सरम छैन, मेलम्ची नआएपछि सरकार लजाउनु पर्दैन ? ‘दशैं अगाडि मेलम्ची निको हुन्छे र गुटुङटुङ दौडिएर आम्छे” भन्नेहरू अहिले किन बोल्दैनन् ! मैले यति कहें । आफूलाई कस्तो रुनु मुन लागेर आम्छ । अब तपाईंहर्को बोल्ने पालो । जै नेपाल ।