“नमस्कार है, मीत’बा” (सँधै झैँ स्वाभाविक थियो, मेरो अभिवादन)– आराम हुनुहुन्छ ?
(दोहोरो बाक्य फुट्दैन । पहिला खुब गफिन’थे सबैसंग (साह्रै फरासिला, पुर्णिमाको जूनजस्ता) आजकल त्यस्ता छैनन् यिनी । अहँ, चुपचाप छन् बुढामान्छे ।)
तैपनि, एकछिनको मौनता पछि मीत’बाले बिस्तारै आफ्नो मन खोले (आहा !)ः
“अहो, कान्छा पो? लौ बस ।
एक्लो जीवन बाँच्न साह्रै गाह्रो हुन थाल्यो, बाबु अब बुढेसकालमा । हुर्केको जेठो छोरो पनि यो माघे सक्रान्तिदेखि दुई वर्ष भयो, बाक्लो दाल खान थालेको । बिहे भएपछि जसका छोराले पनि बुहारीको कुरो सुन्न थाल्ने ! माइलो मलेशिया गा’को रिनमै चुर्लुम्म डुबिरा’छ । कान्छोलाई कति दुःखले पढ्न पठाइयो, बेकाम भएर अहिले एउटा ठेगानको कुरो गर्दैन ।
अर्काको घर जानी गाल्पारा छोरीहरुको के कुरो गर्नु? जेठी छोरी मंगली के के न हुन्छ भनेर लाहुरेलाई दिएको ! पाँच साल भयो आइडी लिएर ज्वाईंसंग हङ्गकङ्ग गा’को । एउटा चिट्ठी सम्म सम्झदैनन् । कान्छी छोरी, चरीलाई पढाएर खुब मायाँले हुर्काको हो । पोहोर दशैँमा घर आउँदा ’विदेश जानी खर्च खोज्देउ बा’ भन्या थिई । लामो–लामो बाटो तताउने कुरो मात्रै गर्दै थिई । खोइ, उसलाई कताबाट ल्याएर दिनी हो, बीस–बीस लाख ? म चुपो’बसेँ । त्यसपछि एकैचोटी शहरतिरकै केटोले भगायो रे भन्ने खबर आयो । काठमाडौँ पढेर अलि धेरै वुद्धि भिरेर घर आउली र ठुलै हाकिमनी बनेकी हेरुम्ला भनेको उ पनि आफ्नै सुर कसी ।”
*****
म सुन्दै बसेँ।
*****
“हेर कान्छा, गाउँमा बाली लाग्न छाड्यो । सप्पैको बारी बाँझै छ, कल्ले गर्ने खेती अब? कृषि प्रधान देश नेपाल भनेर त मार्पाकसम्म दिनदिनै त्यत्रो बाटो हिंडेर सात कक्षासम्म मैले पनि पढ्या हो नि ! पत्थर पगाल्ने गाउँका केटाहरु खुट्टो दह्रो भए’सी कि खाडीतिर कि इन्डिया चल्छन् ।”
८८८८८
(एक्लै आफ्नो–सुरमा गुनगुनाउँछन् मीतबा । मैले पनि यसपाली केही नबोली एकोहोरो उहाँको कुरो मात्रै सुनेँ । बिस्तारै बिदा मागेँ र बाटोमा मनमनै गमेँ)ः
उमेर छँदा जति ठूला कुरा गरे पनि मानिसलाई बुढेसकालमा चाहिने भनेकै छोराछोरीको सहारा, सामिप्यता र त्यसैले ल्याउने शान्ती रहेछ ।
*****