‘रिटिङ रिटिङ बऽऽज्यो बिनायो !
खुऽऽल्यो साहित्य संसारको दैलो !
जदौ स्रोता ! म दहाल यज्ञनिधि बोलविधि संयोजनमा छु ।
प्रविधि संयोजनमा हुनुहुन्छ …’
दुई दसकसम्म रेडियो नेपालबाट प्रसार हुने ‘साहित्य संसार’ कार्यक्रम यसरी नै सुरु गर्ने यज्ञनिधि दहालको निधन भएको वर्ष दिन । आज साउन १५ गते । हेपिएका वर्गले प्रयोग गर्ने भनेर परिचय गराइएको शब्द ‘जदौ’ लाई सम्मान दिने अभियन्तालाई गुमाएको दिन । साहित्यलाई सामाजिक, राजनीतिक अनि सांस्कृतिक आन्दोलनको हतियारका रूपमा चोटिलो प्रहार गर्ने योद्धाले रोगसँग हारेको दिन ।
उहाँलाई सम्झनुपर्दा खोटाङ जिल्लाको खाल्ले पुग्नै पर्ने हुन्छ । त्यहाँको सीमेपाटो चहार्नुपर्छ । सातवटा सुर्कामा बाढिएका पैतृक सम्पतिका रूपमा रहेका बारीका पाटा नियाल्नुपर्छ । घरमाथि उहाँकै बारीमा रहेका पाँचवटा कलकल बगिरहने धारामा नुहाउँनै पर्छ । त्यसपछि मात्र एकाकार हुन थप सजिलो हुन्छ– उहाँको जीवनका प्रारम्भिक दिनसँग ।
वर्षका १२ मध्ये एक महिना पनि सुविस्ताले बस्न नपाई मेहनत गर्दासमेत खान नपुग्ने त्यो जहान । सदाचारी, उपकारी, मृदुभाषी अनि नीतिवान् हुँदाको परिणामस्वरूप हेपिनु परेका उहाँका हजुरबा, बा, आमा अनि उहाँकै कथा पनि कसरी उतार्ने शब्दमा ?
अभावले थिलथिलो पारेको गृहस्थी । दाह्राकिटेर मनमार्नुपरेका रहर । औधी चाहना हुँदाहुँदै पनि पढ्नबाट अलग बस्नुपरेका वाध्यता । उपचार गर्न नसकेर उमेरमै धर्ती छाड्नुको विकल्प नरहेको यथार्थ । साहित्यकार दहाललाई चिनाउने विशेषण हुन् यी ।
धार्मिक, आस्तिक अनि सनातनी घर–परिवेश । यति हुँदाहुँदै पनि ‘कर्मकाण्डी’ नहुनु है भन्ने ‘पितृ–वचन’ । गोठाला, खेत–मेलापात गर्दाका लोकभाका अनि ठेट बोलीले भिजेको मन । भानिज दाई रामप्रसाद न्यौपानेले धुलौटोमा सिकाइदिनुभएका सावाँ–अक्षरको ज्ञान । रुद्रीका मन्त्र, चण्डीका श्लोक पाठ गर्न सक्ने क्षमता । २०२६ सालतिर बा तारानाथले दिनुभएको साढे सत्र रुपियाँ । शिक्षाको उज्यालो खोज्दै बिरामी बालाई छाडेर धरान झर्दाका उहाँका पुँजी थिए ।
उहाँसँगै त्यस क्षेत्रकै मानिसले नुनदेखि सुनसम्म किन्नका लागि पुग्नु पर्ने धरान । आउन–जान गर्दा आठदेखि दस दिन हिड्नु पथ्र्यो । त्यसपटक भने उहाँ किनमेलका लागि नभई शिक्षा कमाउन पुग्नुभयो । अनि बिसौनी भयो चन्द्र साङ्ग वेद विद्यालय । धर्म कमाउने उद्देश्यले तहबिल्दार चन्द्रप्रसाद आचार्यले स्थापना गरेको विद्यालय ।
किशोर अवस्था अर्थात १६ बर्से उमेरमा उहाँ धरान पुग्नुभयो । त्यहाँ भेटिनुभयो प्राचार्यका रूपमा रहनुभएका ‘देशीगुरु’ । अनि निकटताका साथै अभिभावकत्व मिल्यो गुरु गोपीकृष्ण गौतमको । ‘विद्यालय–उमेर’ पार गरिसक्नुपर्ने उमेरमा उहाँ भने कक्षा ६ मा भर्ना हुनुभयो ।
बिहान ४ बजे अघि नै उठ्नु पर्ने । नुहाएर विद्यालय परिसरमै रहेको सर्वेश्वर महादेवको मन्दिर (मण्डप) मा सन्ध्याबन्धन गर्नुपर्ने । अनि शान्तिपाठसहित एक आवृत्ति रुद्री पाठ सकेर गर्नुपर्ने होम । यति गरेर पढ्न चाहने १८ जनालाई खाना र बस्नका लागि व्यवस्था थियो त्यहाँ । तिनैमध्ये उहाँ पनि पर्नुभयो ।
आज्ञाकारी छात्रका रूपमा सुरु भयो शिक्षा आर्जनको क्रम । २०२९–३० सालतिरको कुरा हो– धरानमा हिन्दु धर्मसम्बन्धी बृहत् भेला भयो । संस्कृतको विद्यार्थी, उमेरमा पनि पाको भएका नाताले उहाँले स्वयंसेवीका रूपमा खटिनुप¥यो । यस क्रममा काठमाडौँबाट धरान पुग्नुभएका योगी नरहरिनाथ, आचार्य खेमराज केशवशरणलगायतका विद्वानको आँखामा पर्नुभयो ।
विक्रम संवत २०२९ सालमा पूर्वमध्यमा (प्रवेशिका) परीक्षा सकियो । धरानमै त्यसभन्दा माथिको पढाइ हुन्थ्यो– पीण्डेश्वर संस्कृत महाविद्यालयमा । किन हो कुन्नि, उहाँले त्यो रोज्नुभएन । त्यसपछि पुग्नेभनेको काठमाडौँमा रहेको बाल्मिकी संस्कृत महाविद्यायल अथवा भारतको वनारस नै हुन्थ्यो ।
वेद विद्यालयमा खानपिनका साथै आचरणसम्बन्धी नियम कडारूपमा अपनाइन्थ्यो । लगाउने कुरामा पनि कडाइ थियो । कमिज–सुरुवाल वा कमिज–धोति वा दौरा–सुरुवालभन्दा अरू लुगा लगाउन बन्देज थियो । टोपी लगाउनै पथ्र्यो । मुसुराको दाल, टमाटरसम्म पनि खान हुँदैनथ्यो । लसुन–प्याजका त कुरै हुँदैनथिए ।
खाना खाँदा लुगा फेर्नै पथ्र्यो । भान्साघरमा बसेर खानुभन्दा अगाडि थालमा पस्किएको खानालाई नमस्कार गरेर ‘ॐ नाभ्या आसीदन्तरीक्ष…’ भन्ने वेदका मन्त्र पाठ गरेर अपसानी हाल्नुपर्ने हुन्थ्यो ।
पीण्डेश्वर महाविद्यालयमा पनि १०८ जना विद्यार्थीलाई खाना र बस्नको व्यवस्था थियो । यहाँका विद्यार्थीमा राजनीतिक सचेतना अलि बढी थियो । साहित्य, संस्कृति, सामाजिक एवं खेलकुदका क्षेत्रमा उनीहरू अगाडि थिए । दहालले एकपटक भन्नुभएको सम्झना हुन्छ– चिटिक्क परेका लुगा लगाउँछन्, जुनसुकै कुरामा पनि अगाडि सर्छन्, अग्रगामी छन् ।
यति हुँदाहुँदै पनि वेद विद्यालयमा जस्तो वातावरण नदेखेर नै हुनुपर्छ उहाँले पीण्डेश्वर रोज्न नसकेको । विकल्पका रूपमा रहेको भारत जान आँट आएनक्यारे । हिन्दी भाषाको ज्ञान नहुनु पनि कारण हुनसक्छ । सहपाठी अनि ‘मीत’ गोपाल अधिकारीलाई साथ लिएर उहाँ हिड्नुभयो– भारतको बाटोहुँदै वीरगञ्जबाट काठमाडौँका लागि ।
बाल्मिकी संस्कृत महाविद्यालयमा अध्यापन गराउनुहुने केशवशरणका कारणले पढ्न र बस्न त पाउनुभयो उहाँहरूले । त्यसका लागि केही समय लाग्यो । यसबीचको समय भने उहाँहरूका लागि ज्यादै कठोर रह्यो ।
खाना नखाएको तेस्रो वा चौथो दिन अकस्मात सेनामा कार्यरत भानिज दाजु देवीप्रसाद कोइरालासँग दहालको भेट भयो । मावली भाइ भोकै रहेको थाहा पाएर उहाँले खुवाएको ‘मःमः’ उहाँहरूका लागि ‘देवी–प्रसाद’ भन्दा कम नरहेको सुनाउनुहुन्थ्यो ।
दहाल यज्ञनिधि भनेर आफ्नो परिचय गराउन रुचाउने उहाँलाई सम्झने क्रममा गीतकार राजेन्द्र रिजालका यी शब्द सार्थक पाइन्छन्–
‘…समयले मानिसलाई कहाँ कहाँ पु¥याउँछ
कहिले हसाँउछ कहिले रुवाउँछ
आँसु र हाँसोको सङ्गम पनि गराउँछ ।’
गीतकार रिजालका शब्दले दिने अर्थ जसरी नै समयले दहाललाई कहाँ कहाँ पु¥यायो कहाँ कहाँ ? ‘वेदपाठी’, सनातनी आचरणमा भोक र अभावले निर्मम प्रहार ग¥यो । सिकायो बाच्ने कला । अनि देखायो सांसारिक व्यवहारका लागि तय गर्नु पर्ने गोरेटो ।
बाल्मिकी क्याम्पसमा उत्तरमध्यमा (आईएसरह) को पढाइ सुरु भयो । बस्न र खान चाहिँ तीनधारा रानीपोखरी पाठशाला (यसलाई पाकशाला पनि भनेको पाइन्छ) को छात्रावास मिल्यो । ‘भाइहत्या’ को मानसिक ‘डर–ढाक्न’ राणाहरूले यो छात्रावास स्थापना गरेको इतिहास पाइन्छ ।
तीनधारा छात्रावास नेपालको इतिहासमा धेरै किसिमले सम्झनयोग्य छ । राजनीतिकरूपमा ‘जयतु–संस्कृतम्’ आन्दोलन यहीँबाट सुरु भएको हो । जहानीया राणा शासनविरुद्धको आन्दोलनमा यहाँका विद्यार्थीको योगदान उल्लेख्य छ । संस्कृत भाषा पढ्ने भएकाले संस्कृतका साथै नेपाली भाषा अनि साहित्यको विकासमा यहाँका विद्यार्थीको लगानी ठूलै छ ।
यस छात्रावासको वातावरणले यज्ञनिधि दहालमा आमूल परिवर्तन गरेको देखिन्छ । छात्रावासमा दैनिक, साप्ताहिक, मासिकका साथै बेलाबेलामा हुने साहित्यिक कार्यक्रमले उहाँमा साहित्यतिर लाग्न प्रेरणा दियो ।
राजनीतिक रूपमा नेपाली काँग्रेसका सिद्धान्त उहाँले मन पराउनुभयो । त्यसका नेता बीपी कोइराला उहाँका सबैभन्दा आदर्श व्यक्तित्व हुनुभयो । त्यसपछि उहाँको जीवनले विद्रोहको बाटो लियो भन्दा फरक पर्ने देखिँदैन ।
साहित्यमा उहाँ ‘अराजक’ हुन थाल्नुभयो । महाकवि लक्ष्मीप्रसाद देवकोटा उहाँका सबैभन्दा प्रिय अनि आदरणीय रहनुभयो । यसो हुनुमा देवकोटाको गरीब, पीडित, कमजोर वर्गप्रतिको पक्षधरता कारक रह्यो ।
दहालका कविता, निबन्धमा महाकविको त्यही पक्षधरताको प्रभाव पाइन्छ । उहाँको शब्द संयोजनले यस्तै देखाउँछ । उहाँले भन्नुभएको छ– ‘नर अस्मितामा गरिबी दर्दनाक अभिशाप हो ।’
साहित्यको कविता विधामा उहाँको सौन्दर्य भनेको क्रान्तिकारी, परिवर्तनकामी पाइन्छ । आत्मरतिमात्र साहित्य सिर्जनाको उद्देश्य हुनुहुँदैन भन्ने पक्षमा उभिएका पाइनुहुन्छ उहाँ । त्यसैले त उहाँ भन्नुहुन्छ–
‘राष्ट्रका जनता भोकभोकै मरिरहेको हेर्न नपरोस् ।
खिएका जातिमा नेपाली नपरे हुन्थ्यो ।
गरीब र धनीको वर्गीय सङ्ग्राम कहिल्यै हुन पाएन ।
गरीबका पक्षमा न्याय आएको हेर्ने इच्छामा…’
जनै चुडिए अर्को नफेरेसम्म बोल्न नहुने मान्यताका दहाल ‘धार्मिकीरहित समाजवाद मेरो आह्वान हो’ भन्ने हुनुभयो । ‘फाँसीवादको राजनीति कतै रहनुहुन्न’ भन्ने घोषणा गर्ने हुनुभयो । ‘निःसर्त सरल मानव मेरा सत्पात्र हुन्’ भन्न थाल्नुभयो ।
उहाँले रेडियो नेपालबाटै प्रसार हुने ‘हाम्रो संस्कृति, हम्रो परम्परा’ र ‘समाजको मझेरीमा साहित्य’ कार्यक्रम पनि केही समय चलाउनुभयोे । ती कार्यक्रमलाई पनि नेपाली श्रोतामाझ निकै लोकप्रिय थिए ।
उहाँको पहिलो स्मृति दिवस पारेर सम्झना गर्दा उहाँकै शब्दमा– ‘आजलाई समयले नेटो काट्न लाग्यो’ । अब ‘मैजारो’ गर्ने बेला आयो । ‘गाई हिमाल गैगो, छिनछिने माया हे ! छुटने भैगो’ । ‘आजलाई यति नै भयो । बिसाएँ ल ! जदौ !