जन्मदिनको शुभ–कामना

लघुकथा

“हैन, खोइ त्यो कान्छी, भन्या? अझै उठिन जस्तो छ ।….

ए बुढीमाउ, पाँच बजिसक्यो । आज जेठो छोरोको जन्मदिन हो । यसो पुजा–आजा सकेर उसलाई अम्रीकातिर फोन गर्न पनि पर्नी ।”

आफ्नो छोरो बिरुलाई भेट्न काठमाडौँ पुगेको भोलिपल्टै घरपेटी बुढा यसरी गुनगुनाएको मीत’बाले सुने र मनमनै सोचेः

“को रैछे यो कान्छी, कुन्नि?“

एउटै सिरकमा गुट्मुटिएर सुतेको बिरु पनि यसो चल्यो, जिउ तन्कायो र बोल्योः

“आ‘. बा’पनि ! किन यति चाँडै उठ्नु’भा?

बाहिर निकै जाडो छ, सुत्नुस् ।“
–––––––––––––––––––––––––

“कति गनगन हो बुढा, बिहान–बिहानै !…हँ?”
(घरपेटी बज्यैको टाठो स्वर बिरुको कानमै पर्यो ।)

********

(बाजेको भन्दा पनि बज्यैको आवाजले घरकी कान्छीलाई पनि पिरोलेछ क्यारे ।)
“उठेँ बाजे उठेँ, म उठेँ । अब छिट्टै नुहाएर पुजाको भाँडा ठीक गर्छु, अनि नास्ता बनाउन थाल्छु ।”

“लौ, राम्रो । जे होस्, भगवानले हाम्लाई दिएका चाहिँ हुन् है, यो बुढेसकालको सहारा । नत्र कसले गथ्र्यो हाम्रो हेरचाह यो बेलामा । ल ल कान्छी, छिटो गर् ।”

बाजेको कुरो कान्छीले राम्ररी सुनी ।

********

“कुरो त हो नि, बाजे । तर के गर्नु, गाउँमा आफ्ना बा–आमाको आकाश–मुनी बास छ । यो घरमा काम गरेको पनि छ महिनाभन्दा बढी भैसक्यो । यता सँधै आफ्नै छोरो, बुहारी, नाती, नातिनी, अस्टलीया, अम्रिका र क्यानडाको गफ मात्रै छ । यसो मेरो पनि पाकेको तलब पाएको भए एउटो बाक्लो पलास्टीको पाल र अलिकति लुगा किनेर गाउँ पठाइदिम्ला भनेर हिजो बज्यैसंग कुरो राखेको ( ‘अझै एक–दुइ महिना कुर्’ पो भन्नुभो । खै, म त अब अर्कै काम खोज्न पर्ला जस्तो छ ।”

********
“हेर, हेर यो नकचरी, बिहान बिहानै यसरी बाजेसंग बात मारेकी । आज झन् ठुलो–बाबुको बर्थडे । राम्रो राम्रो बोलेर मीठो मीठो सुन्न पर्ने दिन !”

“हस् बज्यै हस्, आफ्नो श्रमको ज्याला बेलैमा पाएको भए म किन यसरी बोल्थेँ होला र? जे होस्, पुजाको सामाग्री ठीक बनाइदिएको छु । म अब बाटो लाग्छु । मीठो–पीठो जे खाए पनि हामी दुखीले आखिर ज्यानै पाल्ने हो ।

हजुरको जेठो–छोरोलाई मेरो तर्फबाट पनि ह्याप्पी बर्थडे सुनाइदिनु होला ।”
********

Facebook Comments
Comments (0)
Add Comment