घर-खेत आफ्नो भएन, सडकले दियो आश्रय

जीवन सङि्गनीले छोडेपछि बक्री परे गीतारामका जीवनरेखा

काठमाडौँ । जीवनका परिभाषा फरक–फरक छन् । सबैले आफ्नै अनुभव र परिवेशमा जीवनको परिभाषा भोगेका छन् । सबै कुरा अनुकूल हुँदा जीवन फूलको थुँङ्गा जस्तै हलुका बनिदिन्छ, चिल्लो राजमार्गमा सललल्ल चिप्लिने आरामदायी सवारीसाधन बनिदिन्छ । तर जब प्रतिकूलताका तरङ्ग उत्पन्न हुन थाल्छन्, तब जीवन उर्लिँदो नदीका लहरको विपरीत बहन कोशिस गरिरहेको डुङ्गा बन्न पुग्छ, पैतालामा जाकिएको भकारे– काँडाको शूल बन्न पुग्छ ।

गीताराम पाण्डेको अनुभवजन्य परिभाषामा जीवन – माथि भनिएको दोस्रो परिस्थिति जस्तो बनेको छ, जहाँ जत्रोसुकै ठूलो आँधी चले पनि जीवनको दियो निभ्न नदिन हर प्रयत्न र सङ्घर्ष गरिरहनुपर्छ ।

५८ वर्षीय गीतारामको जीवन पनि एक वर्षअघिसम्म ठीकठाक थियो । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नंबर ५, डाँडाथोकमा खोस्रेर खान पुर्ख्यौली भूमि थियो । गोठमा हल गोरु थिए । जेनतेन दुहुनोको पनि जोगाड थियो । खोरमा खसी–बाख्रा थिए । जीवनको यात्रामा साथ दिन जीवन सङ्गिनी थिइन् । समयक्रमसँगै जीवनलाई हराभरा बनाएका थिए, तीन छोरा र एक छोरीले । स्वावलम्वी पाण्डे परिवारको जीवनयात्रा स्वाभिमानका साथ चलिरहेकै थियो ।

तर जीवन सधैँ सीँधा रेखामा कहाँ हिड्छ र ! गीतारामको जीवनका रेखामा पनि बक्रोक्ति आयो । परिवारले माइलो छोरो गुमायो । त्यसपछि पनि गीतारामले हरेश खाएनन् । किनकि उनलाई मन बुझाउन श्रीमती र अरु छोराछोरी छँदै थिए ।

 तर फेरि जीवनले कोल्टे फेर्दा भने गीतारामलाई पाँच पुस्तादेखिको आफ्नो पुख्र्यौली घर नै बिरानो लाग्यो । पानीको पँधेरो, देउराली, भन्ज्याङ, खेत, खलिहान, बारी, सबै बिराना लागे । यो बज्रपात थियो, जीवन सङ्गिनीले संसार र गीतारामको साथ सधैँका लागि छोडेर गएको अवस्था । यो बज्रपात सहन उनलाई गा¥हो भयो । उनी विरक्तिए, भौतारिए । मन बुझाउने र मन अड्याउने ठाउँ पाएनन् ।

गीतारामको बोली गाउँले पाराको मीठो छ । उनले बुझेको जीवनको परिभाषा– जस्तो पर्छ, त्यस्तै टर्छ । सर्पले भ्यागुताको खुट्टाबाट निल्न थाल्दै गर्दा भेटेसम्म मुखमा आएको झिँगो निल्न भ्यागुतो पनि पछि पर्दैन । आखिर जीवनको सार यही हो ।

अब जीवन कथाले अर्कै मोड लियो । जेठो छोरा–बुहारीलाई थातथलो छोडेर उनी काठमाडौँ आए । काठमाडौँ कहाँ कमलो छ र ! चाम्रो परिवेश र समाजमा कमलो मन फिट हुन सजिलो हुने कुरा भएन । अनि निर्णय लिए– जे सकिन्छ, त्यही गर्ने तर गाउँ नजाने ।

‘गाउँ बसेको भए खोस्रेर खान त पुग्थ्यो, तर मनै भ्रान्ति भयो, बस्नै मन लागेन, गीतारामले नाङ्ले पसल पछाडि उभिँदै भने, ‘यत्तिका मान्छे बाँचेका छन् भने म किन बाँच्दिन होला भन्ने लागेर यतै बस्ने आँट गरेँ ।’

काठमाडौँ, बिजुलीबजारस्थित धोबीखोलाको नयाँ बनेको पुल नजिकै सडक किनारमा सानो नाङ्ग्लो पसल रुँघ्दै गरेको अवस्थामा भेटिन्छन् गीताराम पाण्डे । यौटा डब्बामाथि फिँजाएको सानो नाङ्ग्लोमा केही थान विस्कुटका प्याकेट छन् । केही थान चाउचाउ । दुई थान बट्टामा एउटामा दालमोठ, अर्कामा केही चकलेट र तिनै बेचेर आएको खुद्रा कमाइ । अम्मलीका लागि चुरोट, खुट्का र खैनी । बस्, यत्ति हो गीतारामको सिरीखुरी ।

घर–सम्पत्ति छोडेर यस्तो पसल गर्नुपर्दा गीतारामलाई मनमा खिन्नता भएको छ कि ?

‘छैन हजुर, छैन । चोरेर पो खानु भएन । माग्न हात उठ्दैनन् । काम गरेर खान के लाज मान्नू ।’ प्रश्न झर्न नपाउँदै गीतारामको उत्तर थियो ।

अनि पसलमा कति खट्नुपर्छ ?

‘पानी नपरे ८–९ बजेतिर आइपुग्छु, बेलुका ६–७ बजेसम्म बस्छु । पानी प¥यो भने चाहिँ पसल भाँडिदिन्छ ।’ गीतारामको उत्तर ।

गीतारामको बोली गाउँले पाराको मीठो छ । उनले बुझेको जीवनको परिभाषा– जस्तो पर्छ, त्यस्तै टर्छ । सर्पले भ्यागुताको खुट्टाबाट निल्न थाल्दै गर्दा भेटेसम्म मुखमा आएको झिँगो निल्न भ्यागुतो पनि पछि पर्दैन । आखिर जीवनको सार यही हो । एक्लै धर्तीमा आएको मान्छे जीवनका अधिकांश समय एक्लै बाँच्छ र एक्लै यात्रा टुंग्याउँछ । यात्राका क्रममा चौतारामा भोटिएका, केही समय सँगै हिँडेका साथी यात्रामै छोडिन्छन् । यो शास्वत सत्यलाई कतिले सहज रूपमा लिन्छन् त कतिले कठिनाइसाथ भोग्छन् ।

गीतारामलाई पनि थाहा भइसकेको छ । यात्रा एक्लै अगाडि बढिरहेको छ र बढ्नेवाला छ । अब रोइकराइ गरे पनि आफैँ दुःखी हुने मात्रै हो । त्यसैले हँसिलो पाराले कठोर नियतिपूर्ण जीवनलाई पचाउन खोज्दैछन् ।

जिज्ञासा सकिएका थिएनन् । अर्को प्रश्न तेर्सियो– यति सानो नाङ्ग्लोको कारोबार कतिको होला त ?

‘हजार (रूपैँयाँ) आसपासको सामान हो यो, उनले मुस्काउँदै भने, ‘राम्रो व्यापार भयो भने दिनमा एक–डेढ सयसम्म बस्छ ।’

अनि त्यतिले कतिको खानू, डेराभाडा कति तिर्नू, फेरि बेच्ने सामान केले ल्याउनू ? मेरो अर्को जिज्ञासा थियो ।

प्रश्नको उत्तर आउनुपूर्व एकै निमेषमा गीतारामलाई शिरदेखि पाउसम्म मेरा आँखाले नियाले । शिरमा निधार खुला छोडेर लगाएको खुम्च्याइलो ढाकाको टोपी । निलो हाइनेकमाथि ईस्तिरी नदेखेको सेतो–सेतो, घुर्मैलो–घुर्मैलो लामा बाहुलावाल धर्के सर्ट । सर्टमाथि बैजनी रङ्को खुला छोडेको पुरानो इस्टकोट । निलो ठूटे सुरुवाल । गोडामा काला हवाई चप्पल । दुई–तीन दिन यता खौरन छोडेका सेता ठूटे दा¥ही र जुँघाका रेखी । विस्मात् र ढल्कँदो उमेर जनाउन आएका चाउरीलाई स्वागत गरिरहेको लाम्चो अनुहार । मध्यम काँठको दुब्लो शरीर । परिस्थितिजन्य यथार्थलाई आत्मसात गरेको भावदशा जनाउने सुलभ अनुहार ।

‘हैन हजुर, मलाई पसल र घरको भाडा तिर्नु पर्दैन । छोरी यतै बसेर पढ्दैछिन् । उनलाई खान पुग्ने र डेराभाडा जेनतेन उनैले कमाउँछिन् । मलाई खान र पकेट खर्च निकाले मेरो काठमाडौँको बसाई धानिहाल्छु नि !’ गीतारामले जीवन बँचाइको सरल फर्मूला निकाले ।

कसरी पुग्छ त ? पूरक जिज्ञासा ।

‘सत्तरी, असी रूपैँयाँको एक किलो चामलले मलाई दुई दिन पुगिहाल्छ । चालीस–पचास रूपैँयाँको तरकारीले छाक टार्छु ।’

अलिक कठिन देखिएन त हिसाब ? फेरि प्रश्न ।

‘के गर्नु हजुर, नपुगेको तन्काएर पु¥याउनुपर्छ नि । त्यस्तै परे दिउँसो खाजै खान्नँ ।’

‘आखिर जीवन जसरी पनि त चलाउनुपर्दो रहेछ !’ गीताराम पाण्डेका यिनै भनाइभित्र कतै मेरो उत्तर पनि छिपेको हुनुपर्छ भन्ठान्दै म पनि बस पक्रिएर हिँडेँ आफ्नै जीवन धकेल्न ।

अनि पानी परेको दिन त व्यापार हुन्न होला ?

‘त्यतिबेला तानतुन, हिजोअस्तिको खोतलखातल पारेर चलाउँछु । सबै भने जस्तो कहाँ हुन्छ र ! सहन आएका हामी, सहनुप¥यो नि !’

यहाँनिर आएर भने गीतारामको हिसाबको फर्मूले धागो चुँडियो ।

धोबीखोलाको नयाँ बनेको पुलले बबरमहलपट्टिको सडक किनारमा एउटा कुइनेटो बनाइदिएको छ । त्यही कुइनेटोलाई उनले व्यापारको आश्रय बनाएका छन् ।

गीताराम काठमाडौँ आएको धेर भएको छैन । दुई महिना भयो । छोराहरू आफ्नै संसारमा छन् । छोरी र नाङ्ग्लो नयाँ जीवनको सहारा बनेका छन् ।

नाङ्ग्ले पसल राख्नुका पडाडि पनि गीतारामको आफ्नै सानो उपकथा छ । बुद्धनगरको छोरीको डेराबाट निस्केर दिनैपिच्छे बिजुलीबजार पुल छेउ पुग्दा रहेछन् । त्यहाँ खटिएका ट्राफिक प्रहरीलाई तङ गर्दा रहेछन् ।

‘आफ्नो अवस्था उनीहरूलाई बताएर चौकीदारको ड्युटी खोजिदेओ भनिरहेँ । तिनलाई पनि दिक्क लाग्यो होला । ट्राफिक पुलिसले मलाई भने, बाजे जस्तो पनि ड्युटी गर्नुपर्ने हुन्छ, सक्छौ त ? मैले भनेँ, सक्छु ।’

तर गीताराम पाण्डेका कुरा ट्राफिक प्रहरीले पत्याएनन् । भनेछन्– बाजे, चौकीदारी गर्न गाह्रो हुन्छ । अनि सल्लाह दिएछन्– त्यही कुइनेटोमा सानो नाङ्ग्ले पसल खोल्ने ।

‘कसैले केही भन्लान्, उठाइदेलान्, बाधा आउला कि ?’ गीतारामले डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई सोधेछन् ।

‘ढुक्कले पसल राख बूढा बा, कसैले केही गरे हामी छौँ’, प्रहरीले तसल्ली दिएछन् । त्यसपछि उनको पसल सुरु भयो । तर महानगर प्रहरी बेग्लै हुन्छ भन्ने गीतारामलाई थाहा थिएन । नभन्दै महानगर प्रहरीले उनको नाङ्ग्लामा लात मारेर सामान छिन्नभिन्न पारिदिएछ ।

‘यहाँ किन पसल राखिस् ? कसले अनुमति दियो ?’ महानगर प्रहरी कड्केछ ।

गीतारामले यथार्थ बताएछन्– ‘ट्राफिक प्रहरीले मेरो दुःख देखेर यहाँ पसल राख्नू भनेको ।’ दुईमध्येका एक ट्राफिक प्रहरीले महानगर प्रहरीलाई भनेछन् – मेरा काका हुन्, दुःख परेर आएका भएर मैले नै यहाँ फोहोर नगरी नाङ्ग्ले पसल थाप्नू भनेको ।’ ती ट्राफिक प्रहरी गीतारामका कोही पर्दैनथे ।

दुबैखाले प्रहरीको वर्ग मिल्यो । कुरा मिल्यो । महानगर प्रहरीले पनि भनिदिएछन् – बाजे, ढुक्कले व्यापार गर । फोहोर चाहिँ नगर्नू नि !

अब गीताराम पानी पर्दा पनि व्यापार गर्न मिल्ने गरी सानो ओतको व्यवस्था गर्न खोज्दैछन् ।

गीतारामसँग कुरा गर्दागर्दै सामान किन्न एक जना युवक आइपुगे । उनले किन्ने सामानप्रति मेरो पनि चासो रह्यो । मलाई युवाको रोजाइमा के पर्दोरहेछ भनेर जान्ने इच्छा जाग्यो । उनले चुरोट किने । मनमा लाग्यो, यो युवकको जीवन यही चुरोटको धुवाँले खान्छ । तर त्यही धुवाँ गीतारामका लागि अक्सिजन बन्छ । जीवनको रेखा कसरी र कहाँ–कहाँ जोडिन्छ !

‘आखिर जीवन जसरी पनि त चलाउनुपर्दो रहेछ !’ गीताराम पाण्डेका यिनै भनाइभित्र कतै मेरो उत्तर पनि छिपेको हुनुपर्छ भन्ठान्दै म पनि बस पक्रिएर हिँडेँ आफ्नै जीवन धकेल्न ।

 

 

Facebook Comments
Comments (0)
Add Comment