कालिदासको अद्वितीय रचना अभिज्ञान शाकुन्तलम्

अमर कृति

“जान्छिन् आज शकुन्तला घर भनी उठ्तो छ चिन्ता अति,

प्रीतीका मनमा प्रवाह वहँदा रोकिन्न आँसु रति ।

हामीझैँ वनवासिको पनि भयो यो गत् भने यो घडी,

बस्छन् धैर्य गरी गृहस्थ कसरी छोरी बिदाई गरी ।।”

शकुन्तला आज घर (पति दुष्यन्तको दरबार) जाने कुराले ज्यादै चिन्तित बनाएको छ । छुट्टिनु पर्ने भन्ने कुराले साथीहरू (वनका लहरा, विरुवा, चराचुरुङ्गी, हरिण मृगलाई पनि शकुन्तलाका साथीका रूपमा प्रस्तुत गरिएको छ) काे  मन पोलेर बगेका आँसु रोकिएका छैनन् । हामी जस्ता वनमा बस्ने तपस्वीको त यो अवस्था भयो भने जन्मदिएर हुर्काएकी छोरीको बिदाइपछि गृहस्थीहरू कसरी धैर्य गरेर बस्दाहुन् ?

कालिदासद्वारा रचित त्यही कविता (संस्कृतमा) यस्तो छ–

“यास्यत्यद्य शकुन्तलेति हृदयं संस्पृष्टमुत्कण्ठया

कण्ठः स्तम्भितवाष्पवृत्तिकलुषश्चिन्ताजडंदर्शनम् ।

वैक्लव्यं मम तावदीदृशमिदं स्नेहादरण्योकसः

पीड्यन्ते गृहिणः कथं न तनयाविश्लेषदुःखैनवैः ।।”

शम्भुप्रसाद ढुङ्गेलको यो कविता नेपालीभाषीमाझ ज्यादै लोकप्रिय छ । संस्कृत भाषाका महाकवि कालिदासको अद्वितीय रचना अभिज्ञान शाकुन्तलम् बाट छायानुवाद गरिएको यस कविताका शब्द, सन्देशका साथै लय (छन्द) ले एकान्तमा बसेको बेला होस् वा विवाह उत्सवमा, नेपालीभाषीको मन तान्ने गर्छ ।

अभिज्ञान शाकुन्तलम् पूर्वीय पौराणिक कथालाई आधार लिएर लेखिएको नाटक हो । विश्वामित्रको तपस्या भङ्ग गर्नका निम्ति इन्द्रद्वारा स्वर्गबाट पठाइएकी मेनका अप्सराबाट जन्मेकी विश्वामित्रकी पुत्री (मेनकाले स्वर्ग फर्कँदा बालिकालाई एकान्त जङ्गलमा छोडेको र शकुन्त (पक्षी) हरूले तिनको रक्षा गरेकाले शकुन्तला नाम रहेको भनिन्छ– नेपाली बृहत् शब्दकोश) लाई प्रमुख पात्र बनाएर यो नाटक लेखिएको छ ।

कालिदासले रचना गरेको अभिज्ञान शाकुन्तलम् आफैँमा उत्कृष्ट छ । त्यसमा पनि नाटकको चौथो अङ्क ज्यादै आकर्षक छ । माथिको कविता त्यही चौथो अङ्कको हो । यस कवितालाई त नाटकको प्राणकै रूपमा लिइन्छ । यस नाटकका बारेमा पाइने टिप्पणी पनि यस्तो छ (संस्कृत भाषामा)–

“काव्येषु नाटकं रम्यं तत्र रम्या शकुन्तला ।

तत्रापि चतुर्थोअङ्कस्तत्र श्लोक चतुष्ट्यम् ।।”

काव्यहरूमा नाटक रमाइलो वा सुन्दर विधा हो । नाटकहरूमा पनि (अभिज्ञान) शाकुन्तलम् सबैभन्दा सुन्दर वा उत्कृष्ट छ । शाकुन्तल नाटकको पनि चौथो अङ्क र त्यसमा रहेको चौथो श्लोक अर्थात माथि उल्लेख गरिएको ‘जान्छिन् आज शकुन्तला… …गरी’ त धेरै नै सुन्दर हुनुका साथै मर्मश्पर्शी छ ।

नाटकलाई काव्यहरूमा सुन्दर (रमाइलो वा मनपराइने) विधा मानिन्छ । श्रव्य (सुन्न पाइने) तथा दृश्य (हेर्न) समेत पाइने विशेषता भएका कारणले पनि यो विधा मनपराइनेमा परेको हुनुपर्छ । आफूवरिपरिको समाजका, आफूले जानेसुनेका व्यक्ति वा पात्रका विषयमा बोलिचालीका भाषामा लेखिने भएकाले पनि यसलाई रुचाइने गरेको हो ।

कथा अनुसारको कृत्रिम परिवेश (रङ्गमञ्च) बनाएर अभिनयका साथ मञ्चन गरेर निरक्षर भावक (पाठक, दर्शक, श्रोता) ले समेत बुझ्न, त्यसबाट आनन्द लिनसक्ने भएकाले पनि हो यो विधालाई उत्कृष्ट मानिएको ।

अंग्रेजी, जर्मनेलीलगायतका अन्य अनेकन भाषामा समेत यस नाटकको अनुवाद भएको छ ।

अभिज्ञान शाकुन्तलम्

काव्यहरूमा जसरी नाटक विधालाई सुन्दर मानिन्छ त्यसैगरी संस्कृत भाषामा लेखिएको अभिज्ञान शाकुन्तलम् नाटकलाई काव्यहरूमध्ये पनि उत्कृष्ट मानिन्छ । यसो हुनुमा त्यसका लेखक संस्कृत भाषाका महाकवि कालिदासको विभिन्न अलङ्कारका साथै रसयुक्त सुन्दर, सरल अनि मधुर भाषामा प्रस्तुत गरिने सन्देशलाई लिइन्छ ।

कालिदासका बारेमा अनेकन भनाइ पाइन्छन् । त्यस्ता भनाइमा शुरुमा उनी ‘मुर्ख थिए’ भनिएको पनि छ । पछि कालीको सेवा गरेर ज्ञान आर्जन गरेकाले उनले आफूलाई कालिदास (कालीको सेवक वा उपासक) भनेका हुन् पनि भनिन्छ ।

उनको जन्म र रचनाकालका बारेमा पनि एकमत पाइँदैन । धेरैले उनी विक्रमादित्यको दरबारका नवरत्नमध्येका एक थिए भनेका छन्

मालविकाग्निमित्रम् नामक नाटक कालिदासको पहिलो रचना हो । यस नाटकमा आफ्नोे सहयोगीकी छोरीको चित्रमा मोहित राजा अग्निमित्रको प्रसङ्ग छ ।

“आत्मालाई प्रभाव पार्ने, तृप्त बनाउने र शान्ति दिने सामग्री, जुन युवा अवस्थामा फूल, प्रौढ अवस्थामा फल वा स्वर्ग र मर्त्यलोकलाई एउटै ठाउमा कहाँ पाइन्छ भनेर कसैले सोधेमा मेरो मुखबाट सहसा निस्कने नाम हो– ‘शाकुन्तलम्’, महान् कवि कालिदासको अमर–कृति ।”

अभिज्ञान शाकुन्तलम् पूर्वीय पौराणिक कथालाई आधार लिएर लेखिएको नाटक हो । विश्वामित्रको तपस्या भङ्ग गर्नका निम्ति इन्द्रद्वारा स्वर्गबाट पठाइएकी मेनका अप्सराबाट जन्मेकी विश्वामित्रकी पुत्री (मेनकाले स्वर्ग फर्कँदा बालिकालाई एकान्त जङ्गलमा छोडेको र शकुन्त (पक्षी) हरूले तिनको रक्षा गरेकाले शकुन्तला नाम रहेको भनिन्छ– नेपाली बृहत् शब्दकोश) लाई प्रमुख पात्र बनाएर यो नाटक लेखिएको छ ।

वनमा छाडिएकी उनलाई भेटेर कण्व ऋषिले आफ्नो आश्रममा पालनपोषण गर्छन् । वनमा रहेको आश्रममा हुर्कँदै गर्दा राजा दुष्यन्त वनमा शिकार खेल्न आउँदा उनलाई देखेर मोहित हुन्छन् । गन्धर्व विवाह गरेर विवाहको चिनोको रूपमा आफ्नो नाम लेखिएको औँठी दिएर ‘पछि लिन आउने’ वाचासँगै दरबार फर्किन्छन् ।

यसबीचमा राजाको ध्यानमा एकोहोरिएकी शकुन्तलाले आश्रममा दुर्वासा ऋषि आएको थाहा पाउँदिनन् । आफ्नो अपमान गरेको ठानेर दुर्वासाले उनलाई ‘जसको ध्यानमा तिमी यति मग्न छ्यौ, त्यसले तिमीलाई बिर्सने छ’ भन्ने श्राप दिन्छन् । अनेक विन्ती गर्दा उनले त्यो श्रापलाई ‘उसले चिनोको रूपमा दिएको सामान देखेमा सम्झने छ’ भनिदिन्छन् ।

ऋषि कण्वलाई शकुन्तला गर्भवती भएको थाहा हुन्छ । सन्तानको रूपमा छोरोको जन्म हुन्छ । भरत नाम राखिएको बालक शिशु अवस्थामै पनि ज्यादै पराक्रमी रहेको वर्णन नाटकमा पाइन्छ । नेपालसहितको हिमालय पर्वतदेखि दक्षिणमा पर्ने क्षेत्रलाई उनैका नामबाट ‘भारतवर्ष’ नाम दिइएको हो ।

दुष्यन्तको गर्भ भएकाले ऋषि कण्वले आफ्ना शिष्यका साथ शकुन्तला र उनको सन्तानलाई राजाकहाँ पठाउँछन् । बाटामा पर्ने खोलामा पानी खान लाग्दा शकुन्तलाले त्यो औँठी हराउँछिन् । त्यसै भएकाले दरबारमा पुगेर आफूलाई चिनाउन खोज्दा राजाले उनलाई चिन्न सक्दैनन् ।

त्यतिबेलै एउटा माझीले आफूले मारेको माछाको पेटमा राजाको औँठी पाएको भनेर त्यहीँ ल्याइपुर्याउँछ । त्यो देखेपछि राजाले सबै कुरा सम्झेर उनलाई स्वीकार्छन् । पौराणिक ग्रन्थमा पाइने यही कथामा भने आकाशवाणीबाट दुष्यन्तले शकुन्तलालाई चिनेको उल्लेख पाइन्छ ।

नाटकको यो कथालाई अगाडि बढाउने क्रममा कालिदासले प्रकृतिको ज्यादै सुन्दर वर्णन गरेका छन् । वर्णन गर्ने क्रममा उनले प्रयोग गरेको उपमा अलङ्कार अद्वितीय रहेको काव्यशास्त्रीहरूले स्वीकारेका छन् । कतिपयले त मौलिक नहुँदा नहुँदै पनि यस नाटकलाई मौलिक मानेको पाइन्छ ।

कालिदासका अन्य केही प्रसिद्ध कृति–

महाकाव्य– ‘रघुवंशम्’ र ‘कुमारसम्भवम्’

खण्डकाव्य– ‘मेघदूतम्’ र ‘ऋतुसंहार’

नाटक– ‘मालविकाग्निमित्रम्’ ‘विक्रमोर्वशीयम्’ र अभिज्ञान शाकुन्तलम्’ ।

जर्मनेली कवि जे. डब्लु. गोइथे (गेटे) ले यस नाटकका बारेमा गरेको टिप्पणी यस्तो छ (नेपाली भाषामा अनुदितरूपमा)–

“आत्मालाई प्रभाव पार्ने, तृप्त बनाउने र शान्ति दिने सामग्री, जुन युवा अवस्थामा फूल, प्रौढ अवस्थामा फल वा स्वर्ग र मर्त्यलोकलाई एउटै ठाउमा कहाँ पाइन्छ भनेर कसैले सोधेमा मेरो मुखबाट सहसा निस्कने नाम हो– ‘शाकुन्तलम्’, महान् कवि कालिदासको अमर–कृति ।”

Facebook Comments
Dhatri
Comments (0)
Add Comment