चन्द्रनाथ काकाको मनमा दुई-चार दिनदेखि त्यति शान्ती छैन। छोरो सोमनाथले गाउँ छाडेको पनि बर्षौँ भयो।
“आमा चाहिँ हुँदासम्म त कैले-कैले छोरोले फुन गर्थ्यो …… बुढीमाउसँगै यो घरको सत सप्पै हरायो।”
(सोमनाथकी आमा देहवसान भएपछि यसरी नै दिनदिनै पिंढीमा बसेर चन्द्रकाका फत्फताउँथे।)
***
“…पाहुना-पासाले समेत पत्याउन छाडे ……यसो आँखा समेत तन्काउँदैनन् भन्या यता……. !”
एक्लो जीवन अनि छोराको न्यास्रोले पनि होला, एकदिन भाले बास्न भन्दा पनि पहिले यात्रा तय गरेछन् बुढाले, राजधानी तर्फ । छोराछोरी जति बाठा भए’नि केगर्नु ? काठमाडौँ भन्ने शहरको नाम मात्रै सुनेको हो चन्द्रकाकाले, यो भन्दापहिले । दिनभरीको हिँडाइ पछि हाइवेबाट एउटा ट्रक चाहिँ भेटेछन्। साँझ छिप्पिइ सकेपछि झार्दियो रे चालकले, कलङ्की चोकमा।
सोमनाथ चाबेलमा बस्छ भन्ने चाहिँ काकालाई थाहा रहेछ। तैपनि रात छिप्पिदै गा’छ, कसरी पत्तोलगाउनु चाबेल? आफुजस्तै भर्खरै राजधानी उक्लेका मान्छेको हुलका बीचमा दुई-तिन्टा पोको बोकेका काकाको पुषे-जाडो समेत ह्वात्तै तात्न थालेछ। यसरी यिनको होश-हवास उडेजस्तो भान पाएर नजिकैबाट एउटा मकै पोल्ने ठिटो बोल्छ:
“ए, बा.…… कहाँ पुग्ने हो?”
“चाबेल, बाबु। छोरो भेट्न आ’को गाउँबाट ।”
“अब ढिला भैसक्यो। आजलाई चाबेल जाने गाडी पाइन्न। म पनि चाबेल बस्थेँ। घरपेटीले भाडा बढाको-बढाइ गरे पछि – धेरै भा’छैन- यता कलङ्की सरेको। आखिर सडकमा मकै पोल्ने मान्छेलाई के चाबेल – के कलङ्की?……… ए साँची- फोननम्बर छ त बा, छोराको?”
“बाबु, भोक र थकाइ दुवै एकैचोटी लाग्या छ। सात-आठ वर्ष जति पहिलेदेखि पट्याएर राखेको कागत हो यो। काम आउँने र’च यस्तो बेला। लिउ यो फुन-लम्मर। भगवान साक्षात्कार भएजस्तो भो बाबु, तिम्लाई भेट्दा। हाम्रै सोमनाथलाई नै भेटे जस्तो भै’गो नि मलाइ अब ।”
“सोमनाथ? सोमनाथ त धेरै सुनेको नाम हो मैले।”
(मनमनै सोच्दै ठिटोले आफैले खोल्यो कागत… घोरिएर हेर्यो नम्बर पनि …पहिले ठ्याक्कै त्यही नम्बरबाट आउँथ्यो बेला-बेला ठिटोलाई घरभाडाको ताकेता – “खोइ केटा, पैसो? महिना शुरुहुने बेला भो’त” भनेर ।)
ठिटो एकछिन त अक्मकायो – झल्याँस्स बिउँझे जसरी काकाको मुखमा हेर्यो … आफ्नो पुरानो घरपेटीको चेहरा सम्झ्यो…
***
“बा, धेरै थाक्नुभा’ रच। आज यहीँ मेरो कोठामा बस्नुस्। यदि हजुरलाई अप्ठेरो हुन्न भने यही नबिकेर बाँकी रहेको मकै बाँडेर खाम्ला। अनि भोलि बिहानै म हजुरलाई सोमनाथ साहुको महलमै पुर्याईदिम्ला।”