काठमाडौँ । सामुदाियक क्याम्पस मदन भण्डारी मेमोरियल कलेजले आफ्नो १८ औँ वार्षिकोत्सवको उपलक्ष्यमा शनिबार भक्तपुरको दधिकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नंबर ४, गाम्चास्थित दधिकोट स्वास्थ्य केन्द्रमा भएको सो स्वास्थ्य शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानको केन्द्रीय अस्पताल, तिलगङ्गाबाट तीन र भक्तपुर शाखाबाट आएका चार गरी सात जना आँखा विशेषज्ञले तीन सय चार स्थानीय वासिन्दाका आँखा निःशुल्क परीक्षण गरेका थिए । यसैगरी, समाज डेन्टल हस्पिटल, नयाँवानेश्वरको तर्फबाट आएका आठ जना दन्त विशेषज्ञले दुई सय नौ जना स्थानीय वासिन्दाका दाँत परीक्षण गरेका थिए ।
स्वास्थ्य शिविरको उद्घाटन सूर्यविनायक नगरपालिका वडा नंबर ४ का वडा अध्यक्ष उत्तम थापाले गर्नुभभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख डम्बर बहादुर हमालले उत्कृष्ट र गुणस्तरीय शिक्षाका लागि समर्पित सो कलेजले विगत वर्षहरूमा पनि समुदायसँग सहकार्य गरी विभिन्न सामाजिक सेवामूलक कार्य गर्दै आएको स्मरण गर्नुभयो । उहाँले सो स्वास्थ्य परीक्षणमा संलग्न स्थानीय वासिन्दाको दाँत र आँखाको थप उपचार समाज डेन्टल हस्पिटल र तिलगङ्गा आँखा प्रतिष्ठानले निःशुल्क गर्ने समझदारी भएको पनि जानकारी दिनुभयो ।
आँखा र दाँत परीक्षण गराउन भक्तपुरका विभिन्न स्थानदेखि स्थानीय वासिन्दाहरू स्वास्थ्य शिविरमा आएका थिए । स्वास्थ्य परीक्षण गराउनेमा बालबालिकादेखि ज्येेेेष्ठ नागरिकहरूसम्म थिए ।
मदन भण्डारी मेमोरियल कलेजले यसको स्थापनाकालदेखि नै विभिन्न सामाजिक र वातावरणीय चेतनामूलक कार्य सञ्चालन गर्दै आएको छ । कलेजले आफ्नो वार्षिकोत्सवको अवसर पारेर पोहोर पनि निःशुल्क दन्त शिविर र आँखा शिविर सञ्चालन गरेको थियो । जननेता नेपालरत्न मदन भण्डारीको जन्मदिन पारी यो कलेजले हरेक वर्ष असार १४ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ । सो दिन नै कलेजले मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार समेत प्रदान गर्ने गरेको छ ।