प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको एक महिने जागरण अभियान समाप्त भएको छ । यो एक महिने जागरणले निकै कमजोर अवस्थाबाट गुज्रिरहेको नेपाली कांग्रेस कति तङ्ग्रियो होला ? शिथिल अवस्थामा रहेका केन्द्रदेखि टोलसम्मका नेता–कार्यकर्तामा कत्तिको गतिशीलता पैदा भयो होला ? जिज्ञासा लाग्नु स्वाभाविकै हो । कसैले मन पराए पनि नपराए पनि नेपाली कांग्रेससँग गौरवपूर्ण इतिहास छ । यसले नेपालमा व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि विर्सन मिल्दैन । साँच्चै सवल र सक्षम त्यो नेपाली कांग्रेस अहिले भने अत्यान्तै जिर्ण अवस्थामा पुगेको प्रतीत हुन्छ । यस्तो कसरी र किन भयो भन्ने विषय नेपाली कांग्रेसका नेता कार्यकर्ताले खोज्न जरुरी छ । एक महिने जागरण अभियानले मात्र मुर्झाएको नेपाली कांग्रेसमा ताजगी आउने अवस्था छैन । यसका नेता–कार्यकर्ता नै निरास छन् । यो निरास मानसिकताबाट उनीहरू मुक्त भएनन् भने नेपाली कांग्रेस अझ रसातलतिर धस्सिने सम्भावना देखिन्छ । यो प्रसंग नेपाली कांग्रेसको मायाले उठाएको होइन । पुरानो र ऐतिहासिक पार्टी सवल र सक्षम हुनुपर्छ भन्ने मान्यता राखेको मात्र हो ।
केही समयअघि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कठैबरा! नेपाली कांग्रेस’ भन्दा यसका नेता–कार्यकर्तालाई रिस उठेको थियो । कतिले त आक्रोशपूर्ण जवाफ पनि फर्काएका थिए । तर, वास्तविकता भने त्यस्तै छ । सानेपा पार्टी कार्यालयमा नेता नरहरि आचार्यले पत्रकारहरू सामु ‘बिचरा! हामी कांग्रेस’ भनेर आफूहरू निरीह बनेको अभिव्यक्ति दिए । उनको आशय पार्टी गतिवधि ठप्प भएको, दैनिक गर्नुपर्ने कामहरू पनि नभएको र कांग्रेस खिइँदै गएको भन्नेतर्फ थियो । एक महिने जागरण अभियानमा गएका केन्द्रीय नेतालाई पनि कार्यकताले उल्टै नेतृत्व नसुध्रिए जागरण अभियानको कुनै तुक नरहने जवाफ दिए । पार्टी सभापति शेरबहादुर देउवाले एउटा कार्यक्रममा भ्रष्टाचार उन्मूलन गर्न कांग्रेसले मात्र सक्छ भन्दा आफ्नै कार्यकर्ता गलल्ल हाँसे । यसो भइरहनुका पछाडिको कारण कांग्रेसले आफैँभित्र खोज्न जरुरी छ । अहिलेको अवस्थामा नेपाली कांग्रेस सबल र सक्षम हुनुपर्छ । किनभने सरकारलाई ठीक ट्र्याकमा हिँडाउन पनि प्रतिपक्ष दह्रो हुन आवश्यक छ ।
नेपाली कांग्रेसको पार्टी संगठन आठ तहको छ । टोलदेखि केन्द्रसम्म । तर, बिडम्वना के छ भने ती संरचनाहरू अस्तित्वमै देखिँदैनन् । कांग्रेसमा स्थानीय तहको निर्वाचन भई सक्नु पर्ने थियो । तर, भएन । भातृ संगठनहरू पनि छैन । कार्यकर्ता उत्पादन गर्ने थलोका रुपमा परिचित नेविसंघ, तरुण दल, लगायतको म्याद गुज्रिसकेको छ । केन्द्रीय नेता नवीन्द्रराज जोशीले एक पत्रकारसँग भनेका छन् – भ्रातृ संस्थाहरू वर्षौदेखि तदर्थवादमै छन् । पार्टीका तल्ला तहका सबै संरचनाको हविगत त्यस्तै छ । नेविसंघ विघटन भएको चार महिना भयो, तदर्थ समिति समेत बन्न सकेको छैन, यसले पार्टीको फ्याक्ट्री नै सुकेको छ, फ्याक्ट्री बन्द गरेपछि पार्टीको भविष्य कहाँ रहन्छ ? अर्का केन्द्रीय सदस्य शेखर कोइराला भन्छन् – ‘पार्टी कमजोर होस्, हामी कुर्सीमा बसिराखौं भन्ने भावनाले नेतृत्व तह अघि बढेको छ । अधिवेशनको सुरुवातको काम समेत भएको छैन । जागरण अभियानमा जाँदासमेत कार्यकर्ताहरू हामीलाई होइन, तपाईहरूलाई पहिला जागरण चाहिएको छ भन्छन् । विधान पालना भएन, पार्टी तदर्थवादमा चल्यो भन्छन् । अहिले त स्थानीय तहमा तदर्थवाद होइन, पार्टीका संरचना नै छैन भने पनि हुन्छ’ (कान्तिपुर २३ जेठ) ।
नेपाली कांग्रेसका नेताहरूले पनि निराश बन्दै अभिव्यक्ति दिइरहेको अवस्था छ भने कार्यकर्ताको मनस्थिति कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ । वास्तवमा कुनै पनि राष्ट्रिय पार्टी बिग्रनु, सकिनु र भत्किनु हुँदैन । यसले राष्ट्र र जनतालाई फाइदा गर्दैन । नेपाली कांग्रेसभित्र अरु पार्टीमा जस्तै नराम्रोसँग गुट फस्टाएको छ । यसका कार्यकर्ता भन्छन्- जबसम्म यी गुटहरू पार्टीको नेतृत्व तहमा हावी हुन्छन्, तबसम्म नेपाली कांग्रेस तङ्ग्रिदैन ।
जबसम्म कांग्रेस मुर्छान्न अवस्थाबाट बौरिँदैन, तबसम्म कसैमाथि तीर नचलाए हुन्छ । अहिलेको कांग्रेस किसुनजी, गणेशमान वा गिरिजाको कांग्रेस होइन । रस चुसेर फ्याँकेको उखुको खोस्टा जस्तो भएको छ कांग्रेस । रसिलो, भरिलो हुन्जेल रस चुस्नलाई झुमि्मने थरिथरीका हुन्छन्, रस सकिएपछि कसैले हेर्दैन ।
अर्को नबिग्रएसम्म आफू अगाडि बढ्न सकिँदैन भन्ने भावनाबाट ग्रस्त नेपाली कांग्रेसको नेतृत्व ‘आ…जेसुकै होस्’ भन्ने अवस्थामा पुगेको बुझिन्छ । स्थानीय तहको निर्वाचनपछि पनि कांग्रेसमा अलिअलि उत्साह वाँकी थियो । तर, त्यो धेरै टिकेन । संघीय संसदको निर्वाचनको नतिजापछि चहल–पहल उत्साह पनि स्खलित भयो । अहिले यसको एक सूत्रीय काम भनेको वर्तमान सरकारको विरोध गर्नु मात्र भएको छ । २०४६ साल पछि सबैभन्दा लामो समय सत्तामा बसेको कांग्रेस अब लामो समयसम्म सत्ता बाहिरै बस्नुपर्ने अवस्था पचाउन नसकेर छट्पटाएको छ । २०५१ सालपछि नौं–नौं महिनामा सरकार ढाल्ने र गठन गर्ने खेल गज्जबले फस्टाएको थियो । त्यो पनि अब बन्द भयो । जसले गर्दा कांग्रेसी नेताहरू तिलमिलाहटमा छन् । यो अवस्थामा कांग्रेसले आफूभित्रका गुटहरू ध्वस्त पार्दै एकतावद्ध भएर अगाडि बढ्नुपर्ने थियो । तर, सकेन । अहिले मुर्झाएको कांग्रेससँग जनतालाई आकर्षित गर्न सक्ने मुद्दा र नारा छैन । सरकारको विरोध गर्छ, तर, एक दुई दिन पनि नटिक्ने मुद्दा उचालेर । ओजनदार र राष्ट्रिय मुद्दा बन्न सक्ने विषय पनि नेपाली कांग्रेसले पाउन सकेको छैन । सारै झिनामसिना मुद्दाप्रति सरकार आकर्षित हुँदैन भन्ने कुरा कांग्रेसीजनले बुझ्नै सकेनन् ।
नेपाली कांग्रेसमा जे जति ऊर्जा छ, त्यो ऊर्जा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्नलाई खर्च भइरहेको छ । जब कि त्यो विरोध ‘झिङ्गाको सरापले डिंगा मर्दैन’ युक्तिसँग मेल खाइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा भन्छन् – ‘यो सरकार निरंकुश भयो, तानाशाह बन्दै छ । कम्युनिष्टहरू प्रजातान्त्रिक हुनै सक्दैनन् ।’ सभापतिको यो खालको कुरा सुनेर नेता प्रदीप गिरी खित्का छोडेर हाँस्छन् । यस्ता विनातुकका कुरा गर्नुभन्दा संगठन सुदृढीकरणका लागि पार्टीभित्र गहन छलफल चलाउँदा मुर्छान्न अवस्थाबाट कांग्रेसलाई थोरै भए पनि राहत मिल्छ होला । प्रधानमन्त्री ओलीलाई सराप्ने र आरोप लगाउन सक्ने अवस्थामा कांग्रेस छ जस्तो लाग्दैन । जबसम्म कांग्रेस मुर्छान्न अवस्थाबाट बौरिँदैन, तबसम्म कसैमाथि तीर नचलाए हुन्छ । अहिलेको कांग्रेस किसुनजी, गणेशमान वा गिरिजाको कांग्रेस होइन । रस चुसेर फ्याँकेको उखुको खोस्टा जस्तो भएको छ कांग्रेस । रसिलो, भरिलो हुन्जेल रस चुस्नलाई झुमि्मने थरिथरीका हुन्छन्, रस सकिएपछि कसैले हेर्दैन । रस हुन्थ्यो भने कांग्रेस छाड्ने लहर चल्ने थिएन । गोरखा, ताप्लेजुङ, डोल्पा वा वैतडीमा कांग्रेस छोड्नेहरू रस खोज्दै हिँडेका हुन् । पछि कांग्रेस रसिलो भरिलो भयो भने सबै त्यतै झुत्ति खेल्न आइपुग्छन् । तर, कांग्रेस तङ्ग्रिन्छ, रसिलो र भरिलो हुन्छ भने विश्वास क्षीण हुँदै गएको छ । यसले के देखाउँछ भने वर्तमान सरकार प्रतिपक्ष विहीन बन्दै गएको छ । यो अवस्था तोड्ने हो भने नेपाली कांग्रेस बौरिनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरापेर कांग्रेसको फलिफाप हुँदैन । साँच्चैका मुद्दा खोजेर उफ्रिए जनता आकर्षित हुन्थे कि ! नत्र उँभो लाग्ला जस्तो छैन ।