वास्तवमा म–हामी यस्तो समय र परिवेसमा उभिएका छौं, जहाँ कुनै दुई आने बुद्धिजीविको भनाइलाई पनि ‘हजुरको सोच सोह्रै आना ठिक’ भनेर मान्दिए झैं गरेर टाउको नहल्लाउने हो भने अर्थको अनर्थ लाग्न सक्छ । अन्यथा आफ्नै मनमा उद्धेलित भावना पोख्नु भनेको राष्ट्रद्रोही भनाउनु हो वा व्यवस्था विरोधी कहलाउनु । आजकाल त लेख्दा पनि ‘साइबर क्राइम’ को खतरा बढ्दो छ ।
आज ! हो, आजै ! गणतन्त्रको १२ औं जन्म दिन । एउटा इतिहास मरेको अनि अर्को टुसाएको १२ वर्ष भएछ । सयौं लासको थुम्कोमा अडिएको यो ‘गणतन्त्र ! उपलब्धिमा पनि महान उपलब्धि हो । त्यसैले हरेक दिन यहाँ यो उपलब्धि गुम्ने खतराजन्य गतिविधि मात्र गनिन्छ, जनता तर्साइन्छ । तर, साधारणभन्दा साधारण जनता भएर सोच्ने हो भने कहाँ गएको छ र राजतन्त्र? अनि कहाँ आएको छ र गणतन्त्र ?
सुदुरका दुखमा कुनै कमी आएको छ ? बन्दुकका सट्टा हातमा कलम आएका छन् ? अनि बारुदको बदलामा दुई छाक मिठो खाने सपनामा परिवर्तन आएको छ ? नाङ्गा पैतालाहरु आज पनि नाङ्गै छन् । आज काम नगरे भरे भोकै सुत्नु पर्ने सन्त्रासले भरिएको जीवनमा कुनै परिवर्तन आएको छ ? अहँ ! छैन । न दावी गरे झैं रोजगारी बढेका छन्, नत अरबको तातो बालुवामा कञ्चट सेकाउनेहरुको जीवनस्तरमा ‘वाह ! भन्ने गरी परिवर्तन आएको छ ।
बरु उज्यालो संसार बसाउने रहरमा लाहुर भासिएकाहरुको शव आउने क्रम दिनदिनै बढ्दो छ । बरु, हिजो राज्य र विद्रोहीको नाममा गोली–बारुदका शिकार बन्नबाट जोगिएका आज शहिद बन्न नपाएकोमा खिन्न होलान् । शहिदका नाममा राज्यले बाँडेको भीखबाट कमसेकम चुहिएको ताप्के त फेर्न सकिन्थ्यो कि भन्ने सोचमा मग्न भएर थाप्लोमा हात लगाउनेको कमी पनि छैन, आज यही मुलुकमा । अनि के के दिपावली गर्नु ?
हामी जनताले जसोतसो कटाएका यो १२ वर्ष फेरि बमको आवाज सुन्न होइन । भोको पोट सुत्न त कदापि होइन । हामीले सपनाको सजाएको नेपाल कदापि यस्तो थिएन । अब पनि यो कुरो नबु्झे, यो मुलुकका शासकले कहिल्यै जनताको सपनाको कदर गर्न सक्छन् भनेर पत्याउनु बेकार हुनेछ । बस्, हामीलाई चाहिएको छ, भोकले नबटारिएको पेटका आन्द्रा अनि मिठो निन्द्रा । जहाँ अरबको तातो बालुवाको अवशेष नहोस्, हरिया डलरको गन्ध नहोस् । बस् होस् त, आफ्नै खेतमा लहलहराएको हरिया बालीका दाना । निराशै निराशाले भरिएको वर्तमानलाई आशावादी बनाउन सक्नु अहिलेको सरकारको पहिलो उपलब्धी हो । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा स्थायी सरकार छ । जनतामा आशाहरु थुप्रै पलाएका छन् तर यथार्थमा कसरी परिणत हुन्छन् कुर्नु नै एकमात्र विकल्प हो । यी आशाहरु निराशामा नबदलिउँन । प्रधानमन्त्री ओलीलाई जनआकाङ्क्षा पुरा गर्ने वलियो तागत मिलोस्, गणतन्त्रको यही शुभकामना !
रुप फेरियो होला तर, राजा फेरिएका छैनन् । शासकको चरित्र फेरिएको छैन । अनि कसरी आउला गणतन्त्र ? हिजो एउटा राजा थेग्न गाह्रो थियो, आज त राजाहरुका बथान छन् । हुलका हुल राजा छन् । अनि कसरी थेग्ने हामीले यस्ता राजाहरुलाई, जसले राज्यको ढुकुटीमा मुसाले झैं दुलो मात्र पारिरहेका छन । जनताको मनमस्तिष्कमा करेन्ट मात्र लागीरहेछ । वास्तवमा हिजो जस्तै आज पनि जनता आफ्नै दुखको बिलौनामा छन् । शासक आफ्नो समृद्धिको चाहनामा मात्रै । मुलुकको गरिबी त जहाँ थियो, बरु दुई पाइला पछाडि धकेलिएको छ, अगाडि बढ्न सकेको छैन । जता हे¥यो लथालिङ्ग बाहेक केही छैन । गाउँ होस् वा शहर हरेक बस्ती चिहान झैं बनेका छन् । शहरिया धुलो र धुँवाले मरिरहेका छन्, गाउँले भोकमरी र मर्न नपर्ने रोगले ।
न आर्थिक रुपमा नत शिक्षाको नाममा कुनै छेउटुप्पोबाट मुलुक समृद्धितर्फ हिड्न सकेको छैन । शहरतिर औंला देखाएर गणतन्त्रको उपलब्धि र हिसाब देखाउन त शासक र शासन असफल छ भने गाउँतिर औंला सोझाउने आँट बिरलै गर्न सकिएला ? ‘स्काभेटर ड्राइभर’को इन्जिनियरिङमा बनेका बाटाहरु देखाएर विकासको राग अलाप्ने भए त कुरै बेग्लै । मन फेरि पनि उद्धेलित त भइहाल्छ । छाउप्रथालाई उन्मुलन गर्न नसक्ने तर झाडापखालाबाट मरेका लास गन्न भने सक्ने सरकारी तन्त्रलाई हामीले टाउकोमा सजाएर हिड्नु परेको छ । कति बिचरा रहेछौं हामी ?
कहिले काहीँ लाग्छ, यो १२ वर्षमा हरेक नेताहरुको अपरिपक्व कदमसँगै जनता पनि हार्दै गइरहेका छन् । यो अवधिमा जति सपना देखाइयो, त्यसको केही हिस्सा मात्र पनि पुरा भएको भए साँच्चै नेता वा दलप्रति विश्वास गर्ने वातावरण बन्थ्यो । आज त त्यो वातावरण पनि बन्न सकिरहेको छैन । यति मात्र होइन भोलि कसैले मुलुकलाई समृद्ध बनाउला कि भन्ने उचित विकल्पमा पनि एक्यवद्धता छैन । अहिले देखिएका वैकल्पिक राजनैतिक शक्तिमा पनि देश बनाउन सक्ने क्षमता देखिएका छैनन् । भोलि कुनै दिन चुनाव हुँदा हामीले यिनीहरुलाई मत हाल्नु पर्छ । मन नै दिक्क हुन्छ ।
अचम्म मान्नु पर्दैन् ! सरकारले केही गरेन भनेर रोदन गर्ने जनता नै हुन् । त्यसमा कुनै ‘स्याल हुँइया ! गर्नु आवश्यक पनि छैन । त्यसलाई सम्बोधन गर्नसक्ने हैसियत राख्नसक्ने नै अन्ततः राजनेता बन्छन् । नत्र केवल इतिहासका ‘लाचार पात्र’ । अनि त्यस्ता नेताहरु जनताको आँखामा कहिल्यै प्यारा बनेर मर्दैनन् पनि । होला राज्यले दिने अन्तिम सलामीले नै उनीहरुले बाँचेका र जनतालाई बाँच्न बाध्य पारेका झूठो जीवनको उच्च मूल्याङ्कन हुनेछ ।
वैचारिकरुपमा जति सहमति वा असहमति जनाएपनि भारतमा नरेन्द्र मोदी राजनेता बन्न सकेका छन्, बोलेकै भरमा । अनि त्यही बोलीलाई यथार्थमा परिणत गराउन गरेका कोसिस कै भरमा । हामीले जरैदेखि उखेल्न खोजे पनि फाल्न नसकेको राष्ट्रवाद र हिन्दुधर्म कै कारण छिमेकको राजनीति चलायमान छ । अब त्यहाँ मन्दिरमा अगरबत्ती नबाल्ने कोही पनि नेता बन्न सक्दैन भन्ने मान्यता स्थापित भएको छ । प्रधानमन्त्री त बन्नै सक्दैनन् । त्यसैले कहिल्यै मन्दिर नछिरेका नेताहरु पनि अहिले मन्दिर धाइरहेका छन्, आफ्ना प्यारा ‘न्युज क्रु’ हरुसँगै । तर हामीले डलरको आडमा त्यही धर्मलाई यसरी लात्ती हान्यौ कि त्यसले न कुनै उपलब्धि नै दिलायो, नत जनताको रित्तो भाँडा र पेट भर्न नै सक्यो । बरु विभेद र विसंगतिका अनेकौं श्रृङ्खलाहरु हरेक दिन लेखिन थालेका छन् । धर्मका नाममा ठगिनेहरुको सूची बढ्दो छ । तर, जसले बुझ्नुपर्ने हो उनीहरु नै आँखा चिम्लिएर बसेका छन् । यही रह्यो हाम्रो १२ वर्षे पठ्ठो गणतन्त्रको दुरुस्त हुलिया ।
अहिले पनि हाम्रा राजनीतिक दलहरुलाई जनताको आक्रोसको होइन, कुनै अदृश्य शक्तिबाट हुनसक्ने चलखेलको भय छ । यो १२ वर्ष व्यर्थमा गुमायौं भन्ने चिन्ता होइन, अर्को १२ वर्ष कसरी राजनीति वित्छ भन्ने चिन्ताले सताउँछ, हरेक रात । निमुखा जनताको मुखमा कसरी माड लगाउने, मुलुकको कुनाकुनामा कसरी विकास पु¥याउने भन्ने मात्र होइन, आफ्नो भण्डार कसरी भर्ने भन्ने चिन्ता सल्बलाइरहेको देख्न चाहन्छन्, यहाँ हरेक जनता आफ्ना नेताको मुहारमा ।
भुकम्पले छियाछिया पारेको मनका घाउहरु निको नहुँदै फेरि ठाउँ–ठाउँमा गोली र बारुद पड्कन थालिसकेका छन् । सरकार त्यसलाई सामान्य ठानिरहेछ । सरकार आतंककारीले पड्काए भन्छन् । हो, विरोधको शैली बिल्कुलै गलत र निन्दनीय थियो तर यसलाई सम्वोधन गर्न सरकार रणनैतिक बन्नु पर्छ । त्यसो नहुने हो भने भोलि प्रतिपक्षमा बस्ने र आफ्नै दलभित्र विरोधका आवाज निकाल्नेलाई पनि अनागरिक भन्न कोही नसुरिएला भनेर कसरी विश्वास गर्ने ? अझ त्यही अनागरिक ‘हर्कत’ गरेरै सत्तासीन बनेकाहरुको मुखबाट यस्तो शब्द निस्कनु झन् दुखद हो । विरोध साम्य पार्ने अनेकौं उपाय हुनसक्लान् तर, मुलुकले हिजोका दिनमा व्यहोरेका भयावय अवस्थालाई दोहरिन नदिन वार्ताको टेबलमा बस्दैमा कुनै नेता सानो र कमजोर बन्दैन भन्ने पनि बुझ्नु आवश्यक छ । चाहे त्यो सत्तासीन होस् वा विरोधी ।
हामी जनताले जसोतसो कटाएका यो १२ वर्ष फेरि बमको आवाज सुन्न होइन । भोको पोट सुत्न त कदापि होइन । हामीले सपनाको सजाएको नेपाल कदापि यस्तो थिएन । अब पनि यो कुरो नबु्झे, यो मुलुकका शासकले कहिल्यै जनताको सपनाको कदर गर्न सक्छन् भनेर पत्याउनु बेकार हुनेछ । बस्, हामीलाई चाहिएको छ, भोकले नबटारिएको पेटका आन्द्रा अनि मिठो निन्द्रा । जहाँ अरबको तातो बालुवाको अवशेष नहोस्, हरिया डलरको गन्ध नहोस् । बस् होस् त, आफ्नै खेतमा लहलहराएको हरिया बालीका दाना । निराशै निराशाले भरिएको वर्तमानलाई आशावादी बनाउन सक्नु अहिलेको सरकारको पहिलो उपलब्धी हो । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा स्थायी सरकार छ । जनतामा आशाहरु थुप्रै पलाएका छन् तर यथार्थमा कसरी परिणत हुन्छन् कुर्नु नै एकमात्र विकल्प हो । यी आशाहरु निराशामा नबदलिउँन । प्रधानमन्त्री ओलीलाई जनआकाङ्क्षा पुरा गर्ने वलियो तागत मिलोस्, गणतन्त्रको यही शुभकामना !