नेपालमा कार्टूनकलाको इतिहास

पुस्तक समीक्षा

नेपाली पत्रकारिता जगत् र प्राध्यापन क्षेत्रमा कुन्दन अर्याल सुपरिचित नाम हो । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा विद्यावारिधि गर्ने पहिलो कीर्तिमान बनाएका डा. कुन्दन अर्याल निकै लामो समयदेखि मिडिया अनुसन्धानमा रुचि राख्ने गर्नुहुन्थ्यो । त्यसैको परिणामस्वरूप उहाँको शोधमूलक कृति ‘नेपालमा कार्टूनकलाको इतिहास’ प्रकाशित भएको छ । नेपाल ललितकला प्रज्ञा–पतिष्ठानले प्रकाशन गरेको यो पुस्तकले शीर्षक अनुसार नै नेपालमा कार्टूनकलाको सुरुवात, यसको विकास र वर्तमान अवस्थाबारे विविध आयाम समेटेको छ । नेपाली आमसञ्चार जगत्मा विशेषगरी पत्रपत्रिकामा कार्टून छापिन थालेको २०१४ सालको संयुक्त प्रयासदेखिका यसका नालीबेली पुस्तकले समेटेको छ ।


पुस्तकको नामः नेपालमा कार्टूनकलाको इतिहास

लेखक/अनुसन्धाताः डा. कुन्दन अर्याल

प्रकाशकः नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, काठमाडौँ

प्रकाशन मितिः २०७५ असार

बिधाः पत्रकारिता/कला

भाषाः नेपाली

पृष्ठः १९४+१८

मूल्यः ३५०।-


मार्सल माक्लुहानको चिसो र तातो मिडियाबाट उठान भएको यो पुस्तकले लो डिफिनिसनको कार्टूनमा छिरेर नेपाली राजनीतिक इतिहाससँगै आरोह– अवरोह झेल्दै अगाडि बढेको कार्टून बिधाको क्रमबद्ध विकासलाई केन्द्रविन्दुमा राखेको छ । कार्टूनको परिभाषा, नेपाली कार्टून विकासको प्रारम्भिक काल, माध्यमिक काल र आधुनिक कालसम्मका पक्षहरूको विस्तारपूर्वक अभिलेख मात्र नउतारी मसिनो गरी केलाउने काम समेत गरेको छ ।

लेखक/अनुसन्धाताले लेखकीयमा आफूले सानैदेखि कार्टूनप्रति अभिरुचि राख्ने गरेको र ‘करीब दुई दशकभन्दा लामो समयदेखि अनुगमन गर्दै जाने क्रममा यो पुस्तकको खाका तयार भएको’ जानकारी आफ्ना पाठकलाई दिएबाट यो पुस्तकको पृष्ठभूमिको लहरो लामो भएको जोकसैले बुझ्न सकिन्छ ।

उहाँले बुधबार जस्तो राजनीतिक विश्लेषणयुक्त साप्ताहिक पत्रिकाको सम्पादक समेत भएर हाँक्नुभयो । रेडियो नेपालमा घटना र विचार जस्तो राजनीतिक विश्लेषणयुक्त रेडियो कार्यक्रम सञ्चालन गर्नुभयो । हिमाल खबर पत्रिका जस्तो लोकप्रिय म्यागेजिनको सम्पादकको जिम्मेवारी बहन गर्नुभयो । त्यसै क्रममा हुनुपर्छ, उहाँले कार्टूनको शक्तिलाई गहिरिएर बुझ्ने र मर्म छाम्ने मौका पाउनुभयो । जुन कुरा समाचारमा वा लेख, सम्पादकीयमा भन्न सकिँदैनथ्यो, त्यो कार्टूनले मजाले भन्न सकिन्थ्यो । पञ्चायतकालको उत्तराद्र्धसम्ममा पत्रकारितालाई आत्मसात गरिसकेका डा. कुन्दन अर्यालले पत्रकारिताका साथै राजनीतिक उतार चढावलाई पनि नजिकैबाट नियालेका कारण नै हुनुपर्छ, पुस्तकमा नेपाली कार्टूनको मात्रै इतिहास समेटिएको छैन, कुनै कार्टूनविशेष कुनै पत्रिकामा छापिनुका पछाडिको तत्कालीन राजनीतिक पृष्ठभूमि र कारण समेत सटिक ढङ्गले विश्लेषण गर्न पुस्तक सक्षम भएको छ ।

यस सन्दर्भमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभागका प्रमुख प्रा. चिरञ्जीवी खनालका यसै पुस्तकमा समेटिएका शब्दहरू यहाँ उधृत गर्न सान्दर्भिक हुन्छन्ः ‘‘कार्टून जस्तो पत्रकारिताको एउटा सशक्त बिधाका विषयमा नेपाली सन्दर्भ, परिवेश र भाषामा लेखिएका पाठ्यसामग्रीको अभाव छ । यस विभागका सदस्य डा. कुन्दन अर्यालले यही परिप्रेक्ष्यमा नेपाली अखबारमा कार्टाूनको सुरुवात, विकास र परिष्कारका सन्बन्धमा जान्न चाहनेहरूप्रति न्याय गर्नुभएको छ । पुस्तकमा विभिन्न कालखण्डमा नेपाली मिडियामा प्रकाशित कार्टूनको गहन विश्लेषण गरिएको छ ।’’

विख्यात समकालीन नेपाली कार्टूनिष्ट रविन शायमीको भनाइमा ‘…यो पुस्तक निरङ्कूशता विरूद्ध नेपाली कार्टूनिष्टहरूले देखाएको निर्भिकताको गौरवमय परम्परा स्मरण गराउने उत्कृष्ट दस्तावेज हो ।’

वरिष्ठ कलाकार/दृष्टान्तचित्रकार अशोकमान सिंले ‘यो पुस्तक व्यङ्ग्यचित्रकार, पत्रकार अनि सम्पूर्ण कलाकारहरूका लागि एउटा महत्वपूर्ण उपहार भएको’ टिप्पणी गर्दै अगाडि लेख्नुभएको छ, ‘‘…ऐतिहासिक कार्टून र ती कार्टूनका बारेमा गरिएको विश्लेषणले पुस्तकलाई सङ्ग्रहणीय बनाएको छ ।’

साहित्यकार शार्दूल भट्टराईका शब्दमा, ‘‘…डा. अर्यालले यस पुस्तकमा आफ्नो अनुसन्धानात्मक क्षमता मात्र प्रस्तुत गरेका छैनन्, आफ्नो प्राज्ञिक विशेषतालाई समेत मुखरित गरेका छने । यो पुस्तक लेखकको थप उपलब्धि मात्र होइन, नेपाली कार्टून–कलाको अध्ययन–अनुसन्धान र समीक्षाका दृष्टिले नेपाली पत्रकारिताकै महत्वपूर्ण उपलब्धि हो ।’’

यसै पुस्तक ‘नेपाली कार्टूनकलाको इतिहास’ बाट लिइएका उल्लिखित उद्धरणहरू नै पर्याप्त छन् पुस्तकको महत्ता बुझाउन । यो पुस्तक भन्छ, सामान्यतया कार्टूनिष्टहरूले पाँच प्रकारका कार्टून बनाउँछन्ः सम्पादकीय वा राजनीतिक, चित्रकथा वा प्यानल, ग्याग वा ठट्यौली वा आवधिक पत्रिकाका लामो समयसम्म असान्दर्भिक नहुने सामाजिक कार्टून । त्यस्तै सन्देश प्रवाहित गर्न बनाइने कार्टून वा विज्ञापनमुखी कार्टून, जीवन्त कथावस्तु, सहित श्रृङ्खलाबद्ध रूपमा बनाइने कार्टून पनि प्रचलनमा छन् ।’

लेखकले कार्टूनलाई एउटै विधामा गोलमाल नपारी भिन्नता छुट्याएर नेपाली पत्रपत्रिकामा छापिने समसामयिक कार्टूनलाई सम्पादकीय कार्टून भनेर नामाकरण समेत गर्नुभएको छ, जससँग असहमत हुनुपर्ने कारण देखिँदैन ।

विश्वमा कार्टूनको खोजी गर्दै लेखक/अनुसन्धाता डा. अर्याल पन्ध्रौँ शताब्दीका प्रख्यात इटालेली चित्रकार लियोनार्दो दा भिन्ची र ‘क्यारिकुतुरे’ सम्म पुग्नुभएको छ । दक्षिण एशियामा भने नेपालभन्दा सवा सय वर्ष पहिले पत्रकारिता भित्रेको भारतमा १८५० देखि कार्टून छापिन थालेको चर्चापछि उहाँ नेपाली कार्टूनको खोजीमा छिर्नुहुन्छ र राणाकालको चरम दमनकालसम्म पुग्नुहुन्छ । प्रा. रामकुमार पाँडेलाई उधृत गर्दै पुस्तकमा लेखिएको छ, ‘‘जनतामाझ व्याप्त राणा शासन विरूद्धको असन्तोषको अभिव्यक्तिका रूपमा राजधानीको भद्रकाली, महाँकाल, रानीपोखरी वा हालको रत्नपार्क क्षेत्रमा झट्ट हेर्दा छाडा लाग्ने पोष्टरहरू टाँसिएका थिए । ती व्यङ्ग्यचित्रहरू कसले बनायो होला भन्ने सोधीखोजीका क्रममा त्यसबखतका परिचित कलाकार चन्द्रमान मास्के टड्कारै राणाको आँखामा परे ।’’

१९९७ सालमा राती कालीमाटीस्थित निवासबाट राणाले मास्केलाई पक्राउ गरेको प्रसङ्गका साथ पुस्तकले नेपाली कार्टूनको उद्गम खोज्ने पाठकलाई महत्वपूर्ण जानकारी दिएको छ । त्यो के भने, १९९५ सालतिर उनै चन्द्रमान मास्केले पेन्सिल स्केचबाट कोरेको कार्टून श्रीमतीले अब सर्वस्व सहित हुने हल्ला सुनेपछि कपडामा पोको पारेर लुकाएकी रहिछन् । जतनसाथ राखेको त्यो कार्टूनमा श्री ५ र श्री ३ का श्रीपेचको प्रसङ्गलाई उजाग् गरिएको छ । राणा विरोधी सो कार्टूनमा श्री ३ (राणा) को श्रीपेचलाई हात्तीको सूँढले पानीको फोहरा (आन्दोलन/जनचेतना) बाट उडाइदिएको र श्री ५ को श्रीपेच सिंह (जनता) ले संरक्षण दिएको देखाइएको छ । यसमा पशुलाई मात्रै प्रयोग गरिएको छ । कुकुरलाई राणा शासकको रूपमा चित्रित गरिएको छ । यो पुस्तकले त्यो ऐतिहासिक कार्टून पनि समेटेको छ । यो कार्टून २०५७ साउन ३२ गते नेपाल समाचारपत्रमा पहिलोपल्ट छापिएको थियो ।  (माथि हेर्नुस् कार्टून)

यसैगरी वि.सं. २००७ पछि  संविधान सभाको चुनाव कि संसद्को चुनाव भनी सात वर्षदेखि रुमल्लिरहेको त्यसबेलाको नेपाली राजनीतिमा बक्र रेखा कोर्दै राजा महेन्द्रले संसद्को चुनावको घोषणा गरेपछि डा. के. आई. सिंहको पार्टी संयुक्त प्रजा पार्टी निकटको पत्रिका संयुक्त जनप्रयासमा २०१४ साउन ५ मा प्रकाशित कार्टूनलाई पहिलो नेपाली कार्टूनका रूपमा पुस्तकले खुट्याउँदै सो कार्टून समेटेको छ । (हेर्नुस् कार्टून)

त्यसो त पुस्तकले नेपालको राजनीतिक आरोह अवरोहका मुख्य मुख्य मोडहरू, २०१७, २०३६, २०४५/४६, हुँदै पछिल्लो.पल्टको शाही कू र लोकतान्त्रिक कालका समसामयिक र प्रतिनिधिमूलक कार्टूनको वर्णन र विश्लेषण मात्रै हैन, विश्लेषण समेत गरेको छ । प्राग्आरम्भिक कालका नेपाली कार्टूनिष्ट चन्द्रमान मास्के, प्रारम्भिक कालका गोबद्र्धन बिक्रम शाह, शशी बिक्रम शाह, नरेश कौशिक, शिवहरसिंह पागल हुँदै माध्यमिक कालमा रामकुमार पाँडे, दुर्गा बराल, बराथा, खोकना, टेकबीर मुखिया हुँदै वर्तमान कालका सशक्त हस्तीहरू राजेश केसी, रविन शायमि लगायतका कार्टूनिष्टसम्म र काठको ब्लकबाट जिंक ब्लक हुँदै रङ्गीन कार्टूनसम्मको बृत्तान्त पुस्तकले समेटेको छ । पेन्सिल रेखा चित्रदेखि अहिलेका रङ्गीन र परिष्कृत कार्टून र तिनका प्रवृत्तिलाई पुस्तकले समेटेको छ । यो पुस्तकले अधिकांश पाठकलाई नेपाली राजनीतिका आरोहअवरोहका साक्षी त्यस्ता कार्टूनसँग साक्षात्कार गराउँछ, जुन भोग्नेका लागि सम्झना ताजा भए आउँछ भने नभोग्नेले सचित्र देख्न पाउँछ । जस्तै, २०३६ सालमा दुर्गा बरालले बनाएको पञ्चायत अस्पतालको बेडमा पुगेको कार्टून, जनमतपछि गधालाई नुहाएर बनाइएको सुधारिएको पञ्चायती व्यवस्था २०५० को दशकको सु्रुदेखि भित्रेको पजेरो विकृति, राजा ज्ञानेन्द्रको उदय र अवसान लगायतका कार्टून र यिनको पृष्ठभ्रूमि पाठकले यो पुस्तकमा देख्न पाउने छन् ।

पुस्तकले कार्टूनको परिभाषाका साथै यसका मानक पनि तय गरेको छ । पुस्तक तथ्यपूर्ण ऐतिहासिक पृष्ठभूमिले भरिएको छ । केन्द्रीय पत्रकारिता विभागमा प्राध्यापनरत लेखक/अनुसन्धाता आफैँ विद्यावारिधि हासिल प्राज्ञिक व्यक्तित्व भएकाले हुनुपर्छ, पुस्तकले सुरुदेखि अन्त्यसम्म अनुसन्धान/लेखन शैलीलाई अनुशरण गरेको छ । यसले उपयुक्त उद्धरणमा कन्जुस्याइँ गरेको छैन । यस अर्थमा पुस्तक ओजपूर्ण, विश्वसनीय, पठनीय र सङ्ग्रहणीय छ । नेपाल टेलिभिजनको अध्यक्षको जिम्मेवारी बहन गरिसकेका लेखक/अध्येता हाल प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रूपमा समेत कार्यरत हुनुहुन्छ । यस अर्अथमा विश्वविद्यालयदेखि मिडिया हाउस हुँदै नेपाल सरकारकाे समेत जिम्मेवारपूर्ण स्थानमा रहँदा अनुभव, अवलोकन र अनुगमनबाट आर्जन गरेको ज्ञानबाट सिर्जित कृति पाठकका लागि मत्हवपूर्ण हुन जानु स्वाभाविकै हो ।

पुस्तकको डिजाइन र छपाइमा सुधार गर्ने ठाउँ छ भने यस्तो महत्वपूर्ण तथ्यले भरिएको पुस्तकमा जुन कार्टूनको वर्णन गरिएको हो, त्यो कार्टून त्यही पृष्ठ वा त्यसकै आसपासको पृष्ठमा राख्न पाएको भए पुस्तक अझै प्रभावकारी हुने थियो । आउँदो संस्करणका लागि यो अपेक्षा गर्न सकिन्छ । साथै, केही स्थानमा कथ्य विवरण दोहोरिन पुगेका छन् । यिनलाई काँटछाँट गरिएको भए पुस्तक अझै गहन बन्न पु्ग्थ्यो भने पाठकलाई झनै सजिलो हुने थियो ।  पुस्तकको मूल्य विषयवस्तुको गाम्भीर्य हेरी सामान्य नै मान्नुपर्छ ।

 

 

Facebook Comments
banner
Comments (0)
Add Comment