थरी दाइ काठमाडौँतिर काम गर्छन्। त्यसैले गाउँको घरमा बस्ने भनेको गौँथली भाउजु र साने मात्रै हो ।
(मसिनो स्वरमा गुन्गुनाउन थालेकी भाउजु आज अलि बढी नै च्याँठ्ठीईन्।)
“आफ्नो बेलामा पढ्न पाइएन। त्यसैले घर-धन्दा र डोको-नाम्लोले कहिल्यै छाडेन। हैन हौ, यो सानेलाई पढ्, पढ् भन्दै कत्ति कराउनु? म त दिक्क भैसकेँभन्याँ । छाड्दे, पर्या’छैन अचार बनाउन, छोरामान्छेले ।”
भाउजु थप्दै गईन् –
“ऊ जिम्म्वाल‘बाका नातिहरु जहिले पनि फस्ट् हुन्छन् रे । अनि त उनीहरुका खलकै ठुला मान्छे बनेका छन् नि l”
***
“बने, बने – खुब ठुला बने। अनि उनका घरमा काम गर्ने कान्छी नि? आफ्ना जतिलाई बोर्डिङ्मा पठाएर त्यो हामीसँगै सरकारी स्कूलमा पढ्ने कल्पनालाई समेत सप्पै काम थोपार्छन् रे । त्यो कल्पना छ नि, जिम्म्वालको घरमा काम गर्न बस्ने दिदीकी छोरी – हो, उनी स्कूलमा हमेशा आधा घण्टा ढिला आइपुग्छिन् ।”
(यसैगरी आफ्नी आमालाई मनको कुरो प्रस्ट्याउँदै थियो, साने।)
थपक्क आइपुगे यसैबेला थरी दाइ ।
*****
“हैन के को गन्थन हो, आमा छोराको?”
***
“ए, बाबा आइपुग्नु‘भो !”
(यसरी खबरै नगरी टुप्लुक्क पिताजी घर आइपुग्नु भएको देखेर साने धेरै खुशी भयो।)
“केही हैन बाबा, यस्सो आमालाई अचार बनाउन सघाउन लागेको l”
साने आफ्नो कुरो राख्दै गयो।
“अनि छ नि आमा, कल्पनाले भन्या, उसकी मम्मी त्यो घरमा काम गर्ने मान्छे रे। त्यहाँ टिक्नलाई साह्रै दु:ख छ रे। त्यसैले कल्पनालाई सँधै जसो आफ्नी मम्मीको काम सघाउँन मनपर्छ रे । यसो गर्दा धेरै नयाँ कुरा पनि सिकिन्छ रे । उसैको कुरा सुनेर मैले पनि तपाइँलाई काम सघाउन थालेको हो । चाल पाउनु भो? अनि बाबाले पनि त मिट्ठो अचार बनाउनु हुन्छ नि ! मैले आफ्नो स्कूलको काम सिध्ध्याएरै फुर्सदमा तपाइँलाई सहयोग गरेको हो। ए साँची, हाम्रो हेडसरले पनि भन्नुभा‘थ्यो, चौबिसै घण्टा किताब समातेर बस्ने विद्यार्थी होस् अथवा नानाथरी गफ चुटेर समय, तलब र भत्ता पचाउने ठुला मान्छेहरु भन्दा परिवार र समाजमा एक-अर्कालाई सहयोग गर्न समेत समय निकाल्न सक्ने मान्छे धेरै असलहुन्छन् रे ।”
***
(आफ्नो बाह्रबर्षे सानेको यस्तो बात सुनेर थरी दाइले कुरोको बिट मारे।)
“हो नि, धेरैलाई छुट्याउन गाह्रो भा‘को ठुला मान्छे र असल मान्छेको फरक हाम्रो सानेले पो सजिलै बुझेछ।
लौ, खोल अब यो बिस्कुटको पाकेट।”
*** भवतु सब्ब मङ्गलम् ***