देशको वर्तमान अवस्थामा टावर पर्सनालिटी भनेको केपी ओलीकै हो । केपी ओली अर्थात् देशको सवैभन्दा ठूलो पार्टी नेकपाको अध्यक्ष, देशको वर्तमान प्रधानमन्त्री । प्रधानमन्त्री पनि अष्ट्रेलियाको जस्तो पोलिटव्युरो वा स्थायी कमिटीले जतिबेला निर्णय गरेर हटाउन सक्ने खालको होइन । पार्टी अध्यक्षको पद पनि त्यस्तै । उनी देशलाई नाकावन्दीको आपत् आइपरेका बेला जनताको भावना वमोजिम दृढताको अभिभावकीय भूभिकामा अग्रणी देखिए । विगतमा उनले गरेका संघर्षको बलियो जग त छँदै नै थियो । त्यही कारण अहिले प्रधानमन्त्रीत्वको कार्यकालको अवसर जुटेकाले उनी पनि त्यो अवसरको भरपूर उपयोग गर्न लागी परेका छन् । साथै आम मानिसले पनि उनीमाथिको विश्वासको परीक्षा गरिरहेका छन् । तर आम मानिसका अपेक्षा र उनको योग्यता अर्थात् उनका सबल र दुर्बल पक्षका कारण यो परीक्षा उनले कुन श्रेणीमा पास गर्छन् होला भन्ने अनुमान हामीले लगाउने बेला भइसकेको त छैन तर चनाखो भएर हेर्ने वेला भने शुरु भएको छ ।
उनका सबल पक्षतिर ध्यान पु¥याउँदा उनको पाइला टेक्ने ठाउँ भनेको उनको पार्टी नै हो । पार्टीभित्र अहिलेसम्म उनकै बहुमत छ । महाधिवेशनले उनलाई बहुमतले अध्यक्ष चुनेको थियो । त्यसैले पार्टीका वैठकहरुमा अहिले पनि पद्धतिका जस्ता कुरालाई लिएर उनीमाथि घनघोर प्रहार त हुने गरेका छन् तर परिणाममा केपीले जे जस्तो चाहेको हो त्यस्तै हुँदै आएको छ । हो, अध्यक्ष ओलीका अनुयायीहरुमा जुझारुपन भन्दा पनि अन्धभक्त प्रवृत्ति देखिने गरेको कुरामा बढी नै टिप्पणी गरिन्छ । केपीमाथि आफ्ना अनुयायी नभएका एमालेका कार्यकर्ताप्रति अर्कै पार्टीका कार्यकर्ताको जस्तो व्यवहार गर्छन् भन्ने आम आरोप छ । केपी पक्षका पनि अर्को पक्षप्रति त्यस्तै गुनासाहरु सुनिन्छन् । तर यसबाट के पनि बुझ्नुपर्छ भने कुसमयमा पार्टी धराशायी हुनमा यस्तै विग्रहको ठूलो भूमिका हुन्छ । अव पार्टीको आगामी महाधिवेशनमा केपीको ठाउँमा पुग्न लालायित केही नेताहरु नेकपामा समाहित हुन आएको माओवादीको सहयोग लिने रणनीतिमा लागेका छन् भने केपी पनि यस कुरामा उत्तिकै सजग देखिएका छन् ।
यसो भनेर ओलीका दुर्बल पक्ष छैनन् भन्न खोजेको चाँहि होइन । ओली कुनै क्रान्ति जितेर आएका नेता होइनन् त्यसैले उनी जेपनि निर्णय गर्न सक्ने हैसियत आर्जन गरुन । उनी सक्षम हुन् तर उनका प्रसस्त सीमा छन् । ती सीमा विगतको रानीतिक विरासतले निर्माण गरेको छ, उनले अपनाएको राजनीतिक पद्धतिले बनाएको छ, अन्तर्राष्ट्रिय परिस्थितिले घेरा कोरेको सीमा छ र केही उनका व्यक्तिगत स्वभावले पनि बनाएका छन् ।
प्रधानमन्त्री केपी ओलीको अर्को सबल पक्ष भनेको उनको आफ्नो राजनीतिक कार्यनीतिमा राख्ने गरेको दृढ अडान हो । उनको यो प्रवृत्तिलाई कसैले पूर्बाग्रही पनि भनेका छन् भने कतिपयले यस्तो अडानलाई सफल नेताको राजनीतिक चरित्रका रुपमा लिएका छन् । उनले लिएका केही राजनीतिक अडान साँच्चै चट्टानजस्ता पनि देखिएका छन् । उनका पछिल्ला दुइवटा अडान साँच्चै नै उपयोगी परिवर्तनकारी देखिएका छन्, ती हुन् माओवादी र तिनका नेता पुष्पकमल दाहालप्रतिको निर्मम सैद्धान्तिक प्रहार र उनीहरुलाई झुकाएर आफुसँग गराएको विलय साथै भारतसँगको मनोवैज्ञानिक प्रतिकार । यी दुवै घटनाले उनलाई यतिवेला नेपालकै टावर पर्सनालिटी बनाएको छ ।
संविधानसभाको निर्वाचनका बेलासम्म पनि अत्यन्त कडा प्रतिस्पर्धी रहेका प्रचण्ड र ओली आज एउटै पार्टीका अध्यक्ष भएर हिडेको देख्दा धेरैलाई आश्चर्य लागेको छ भने कतिपयलाई पचेको पनि छैन । तर यथार्थमा हेर्ने हो भने ओलीको अडानका अगाडि प्रचण्डको केही चलेन । यसो हुनुमा प्रचण्ड र माओवादीका कमजोरी तथा बाध्यता पनि होलान् तर अन्ततः जीत त ओलीकै भएको मान्नु पर्छ । ओलीको सौभाग्य बलियो भएकै मान्नुपर्दछ कि यसै बेला प्रतिपक्षी कांग्रेसको नेतृत्व भालुभुत्ते चरित्रका शेरबहादुर देउवाको हातमा परेको छ जोसँग मसल त प्रसस्त छ तर जनतालाई चटाउने कुनै मसला छैन । उल्टो आईजी काण्ड, महाअभियोग काण्डजस्ता घटना घटाएर ओलीलाई वरदान नै दिलाए । त्यसैले कहिले डा. गोविन्द केसी त कहिले निर्मला पन्त र कहिले वाइड बडीका कुरा उछाले । तर ओलीका विरुद्ध कांग्रेस र विदेशीहरुले एैंझेरुका रुपमा टाँसिदिएका हाँगाविँगाले ओलीलाई कतै हल्लाउन सकेका छैनन् । संसदमा ओलीले मजाले दुईतिहाइको तागत देखाउन पनि पाइरहेकै छन् । यसै आन्तरिक सक्षमताको कारणले ओली अझै नेपाली जनतालाई एकपछि अर्को घोषणा सुनाउदै जान सफल भएका छन् । कहिले सामाजिक सुरक्षा योजना कहिले बीमा र कहिले बैंक खाताका कुरा गरेर । आफुलाई महान विश्लेषक ठान्नेहरु र ओलीका केही समकालीनहरु उनका दिनहरु आजै गए भोलि नै गए भनेर जनतालाई सुनाई पनि रहेका छन् तर ओली त भोलि पनि फेरि ओली नै भएर निस्किने निश्चित जस्तै देखिन्छ ।
यसो भनेर ओलीका दुर्बल पक्ष छैनन् भन्न खोजेको चाँहि होइन । ओली कुनै क्रान्ति जितेर आएका नेता होइनन् त्यसैले उनी जेपनि निर्णय गर्न सक्ने हैसियत आर्जन गरुन । उनी सक्षम हुन् तर उनका प्रसस्त सीमा छन् । ती सीमा विगतको रानीतिक विरासतले निर्माण गरेको छ, उनले अपनाएको राजनीतिक पद्धतिले बनाएको छ, अन्तर्राष्ट्रिय परिस्थितिले घेरा कोरेको सीमा छ र केही उनका व्यक्तिगत स्वभावले पनि बनाएका छन् । उनी पार्टीका शक्तिशाली अध्यक्ष त हुन् अनि पार्टीभित्रको असहमत नेतृत्व र कार्यकर्ता पंक्तिलाई पनि सँगै लिएर हिड्न पर्ने स्वभाविक अवस्था छ । उनको स्वभाव र उनको पक्षधर संरचना विमतिलाई मैत्रीभावका साथ लिएर हिड्न सफल हुन सकिरहेको भने देखिदैन ।
सरकारको नेताको रुपमा पनि प्रधानमन्त्री ओलीका केही कमजोरी छन् । आलोचकहरुले बारम्बार बताइरहेकै छन् कि उनी जनताको हित हुने कामको घोषणा त सजिलै गर्छन् तर त्यसको कार्यान्वयन गर्ने इमान्दारी उनको संयन्त्रमा छैन । यसका साथै उनका अगाडि विश्व बैंकले सीमा तेस्र्याउँछ, ईयूले, भारतले, चीनले सीमा तेस्र्याइदिएका छन् । स्वयं उनको प्रशासनयन्त्रले उनलाई धेरैपटक सीमाभित्र खुम्च्याई सकेको छ । तर, उनी आफू सीमा भित्र छु भन्न सक्दैनन् र प्रधानमन्त्रीले त्यो गोप्यता भङ्ग गर्न पनि भएन ।
वर्तमान प्रशासनयन्त्र विकास रकमको ठूलो हिस्सा खर्च गर्नसक्ने अवस्थामा समेत पुगेन । प्रशासनयन्त्रको वेइमानी र असक्षमताले गर्दा अझ भनौ राजनीतिक नेतृत्वले विकासको बाटोलाई स्पष्ट मार्गदर्शन दिन नसक्दा प्रधानमन्त्री ओलीले पाँच वर्षका लागि देखेका सपना अधूरै रहने हुन कि भन्ने आशंका बढेको छ । जनताका अपेक्षाका कुरा छोडौं, मेलम्ची खाने पानी योजनाको गतिरोधका कुरा छोडौं, यातायात सेवामा देखिएका अराजकता र अव्यवस्थाका कुरा छोडौं, वैदेशिक रोजगारीको क्षेत्रमा हुने ठगीधन्दा र लुटका कुरा छोडौं, अर्थ मन्त्रालय स्वयम्ले वाचा गरेका पुल पुलेसा, बाटा घाटाका काममा पनि लक्षित प्रगति हासिल हुन नसकेको वर्तमान अवस्थामा यसको मुख्य कारण खोजेर निराकरणका प्रभावकारी कदम चाल्नु ओली सरकारको पहिलो जिम्मेवारी बनेको छ । नत्र उत्पादनका योजनाबाट विमुख भएर वितरणमुखी ठूलठूला योजनाको घोषणातिर लागेको आरोप आगामी बजेटमा यस सरकारले झेल्नु पर्ने छ । देशमा उत्पादनशील क्षेत्रमा अझै दीर्धकालीन लगानी आउन सकेको छैन, प्रतिकुल ऐन कानून र विधानको हाउगुजी देखाएर तलदेखि माथिसम्मका कमिसनखोरहरुले गर्दा वर्तमान प्रतिस्पर्धात्मक अर्थतन्त्र निरुत्साहित छ । यस्तै अर्थतन्त्रको विकासको क्रममा वर्गहरुबीच असमानता हुने खतरातर्फ पनि ध्यान दिनु जरुरी हुन्छ । यस्तो वेलामा देशको विकास गर्न आधुनिक प्रविधि र उत्पादकत्व बृद्धिका लागि पनि सरकारले बाटो खुला गर्न सक्नु पर्छ । यसो गर्न सकेमा मात्र प्रधानमन्त्री ओलीको टावर पर्सनालिटी सधैंका लागि कायम रहनेछ ।