हालसालै शैक्षिक तालिम केन्द्र धुलिखेलले आयोेजना गरेको कक्षा ९ देखि कक्षा १२ सम्म अंग्रेजी अध्यापन गरिरहनु भएका शिक्षक लक्षित दश दिने तालिममा झन्डै चार दिन प्रशिक्षकको भूमिका निर्वाह गर्ने मौका मिल्यो । तालिम प्रशिक्षकको भूमिकामा यो मेरो दोश्रो अनुभव थियो । अर्थात, खारिएको प्रशिक्षकको रुपमा म प्रस्तुत भइरहेको थिइन । अझ मेरा सबै शैक्षिक उपाधीहरु मानविकी संकायबाट मात्र भएकाले शिक्षाका सैद्घान्तिक र ब्यवहारिक पक्षको ज्ञानको कमी त हुनेनै भयो । यद्यपि, विश्वविद्यालय अध्यापनको झन्डै डेढ दशकको अनुभव साट्न पाइने लालचले मलाई उक्त भूमिका स्वीकार्न प्रेरित गरेको थियो । यो आलेखमा त्यही प्रशिक्षणको दौरान टिपोट गरिएका मध्ये एउटा विषयवस्तु केन्द्रित छ ः प्रशिक्षार्थीका चासोहरु । तालिमका विभिन्न आयाम मध्ये मूलतः तीनवटा विषयहरुमा प्रशिक्षार्थीहरुको चासो देखिन्थ्यो ।
पहिलो चासोको विषय थियो प्रशिक्षकको दक्षता । प्रशिक्षार्थीहरुले अधिकांश प्रशिक्षकको दक्षता सम्बन्धमा एकैरुपको धारणा बनाएको देखिन्थ्यो । प्रशिक्षक पनि हाम्रै ड्याङका मुला त हुन् । यो धारणा गहिरो सन्देश बोकेको र गहन रुपमा सोच्न बाध्य पार्ने विषय थियो मेरा लागि । किन कोही प्रशिक्षार्थी, अझ केही प्रशिक्षकको सन्दर्भमा त तालिम अगावै, सन्देहपूर्ण धारणा लिएर आउने अवस्था बनेको छ ? कारणहरु दुई वटा हुन सक्छन ः हाम्रा शिक्षकहरुमा उपहासपूर्ण सोचको प्रबलता धेरै छ वा तालिम केन्द्रहरुले पूर्ण दक्ष प्रशिक्षकहरु उपलब्ध गराइरहेका छैनन् । कारण जुनसुकै होस् दुइवटै परिस्थिति तालिमको लक्षित उपलब्धी प्राप्तीका बाधक हुन् । त्यसैले, यी दुबै अभधारणा माथि बैज्ञानिक अनुसन्धानको खाँचो छ ।
अर्को, तालिमको प्रमुख उपलब्धी बढुवाका लागि प्राप्त हुने पाँच अंक हो । संख्यात्मक रुपमा धेरै कम प्रशिक्षार्थीले व्यक्त गरेको भएपनि यो बिचार पक्कै सोचनीय रहेको छ । यस धारणाले कम्तिमा तीनवटा सार ब्यक्त गरेको मैले अनुभूति गरेंः हामीले दिने तालिमहरु फितला भएका छन्, या हाम्रा शिक्षकहरु व्यक्तिगत चिन्तामा मात्र मग्न भएका छन्, या शिक्षकहरुमा उपहासपूर्ण (cynical) सोचले जरा नै गाडेको छ । वैज्ञानिक अध्ययन पछिको निश्कर्ष जे आए पनि तालिमका सन्दर्भमा माथिका कुनै पनि संदेश सकारात्मक लक्षण होइनन ।
प्रशिक्षार्थीको रुचिको दोस्रो विषय थियो तालिमको उपलब्धी । यस सम्बन्धमा दुई प्रकारका बिचारहरु प्रधान देखिन्थे । पहिलो, तालिमको दौरान सिकेका ज्ञान र शिप कार्यात्मक र उपयोगितामूलक छन् । चाखलाग्दो कुरा के देखियो भने यस्तो मूल्यांकन गर्ने प्रशिक्षार्थीको संख्या पहिलो दिनको शत्रको अन्त्यमा निकै कम र तालिमको अन्त्यमा ज्यादै ठूलो थियो । यो संख्यात्मक फरक मेरा लागि चिन्तनको विषय थियोे किनकि मेरो दक्षता, पाठयोजना निर्माण, सिकाइका क्रियाकलाप लगायत अन्य प्राज्ञिक पक्षमा कुनै शत्रमा विसको उन्नाइस थिएन । प्रारम्भिक निस्कर्ष के निकालेको छु भने मेरो पहिलो शत्र बढी सैद्धान्तिक थियो । जानकारी गराइहालौं त्यस दिनको विषयवस्तु थियो– प्रभाबकारी कक्षा संचालन । एक घन्टा ३० मिनेटका तीन शत्रमा मैले दिन खोजिरहेको सन्देश थियो ः प्रभाबकारी कक्षा संचालनका लागि सम्बन्धित शिक्षकले पृष्ठभूमी चल (context variable), प्रकृया चल (process variable) र परिणाम चल (product variable) को अध्ययन गर्नु अनिवार्य छ । तालिमको दौरान केही प्रशिक्षार्थीले प्रष्ट रुपमा व्यक्त गर्नुभएका अनि केहीको शारीरिक साथै व्यवहारिक हाउभाउबाट बुझिएको सन्देशका आधारमा मेरो मानस पटलमा दुइवटा प्रश्नहरु जमिरहेका छन् ः तालिमका शत्रहरुमा सैद्धान्तिक ज्ञानको आवस्यकता छ कि छैन ? सैद्धान्तिक ज्ञान प्रदान गर्ने उत्तम प्रबिधि के के हुन् ? यी प्रश्नका उत्तरहरु सबै प्रशिक्षकले खोज्नै पर्छ जस्तो लाग्छ ।
अर्को, तालिमको प्रमुख उपलब्धी बढुवाका लागि प्राप्त हुने पाँच अंक हो । संख्यात्मक रुपमा धेरै कम प्रशिक्षार्थीले व्यक्त गरेको भएपनि यो बिचार पक्कै सोचनीय रहेको छ । यस धारणाले कम्तिमा तीनवटा सार ब्यक्त गरेको मैले अनुभूति गरेंः हामीले दिने तालिमहरु फितला भएका छन्, या हाम्रा शिक्षकहरु व्यक्तिगत चिन्तामा मात्र मग्न भएका छन्, या शिक्षकहरुमा उपहासपूर्ण (cynical) सोचले जरा नै गाडेको छ । वैज्ञानिक अध्ययन पछिको निश्कर्ष जे आए पनि तालिमका सन्दर्भमा माथिका कुनै पनि संदेश सकारात्मक लक्षण होइनन ।
तेश्रो चासोको विषय थियो तालिममा सहभागिताको दैनिक भत्ता । प्रष्ट रुपमा भन्दा उनीहरुको चासो अघिल्लो पटकको भन्दा घटेर आएको दैनिक भत्ताको बारेमा थियो । बृद्धि हुँदै जानुपर्ने कुरा किन घट्यो ? प्रश्न अस्वभाविक थिएन । वास्तवमै भन्दा आर्थिक प्रोत्साहन हाम्रो जस्तो बिकासोन्मुख मुलुकमा कुनै कार्य गराउन प्रयोग गरिने उत्पे्ररणाको शसक्त हतियार हो । हामीहरु अब्राहम मास्लोकै तहगत आवस्यकताको सिद्धान्त पढ्ने पढाउने वर्गलाई यो कुरा बुझ्न कठिन छ जस्तो लाग्दैन ।
समष्टिमा, मेरो विचारमा प्रशिक्षार्थीका तीनवटै चासोहरु गहन र महत्वपूर्ण छन् । तालिममा सहभागी शिक्षकहरु नै तालिमलाई अन्तिम लाभार्थी माझ पु–याउने बाहन हुन । पक्कै प्रश्न गरौं किन सिकेका सिपहरु कक्षाकोठामा पुग्दैनन् या पुगेपनि तीनको प्रभावकारीता देखिदैन तर नभूलौ शिक्षकहरुले तालिमका दौरान उठाउने चासोहरुको समाधानमा पनि हाम्रा प्रश्नहरुको आंशिक उत्तर मिल्न सक्ला कि ?