मानविकी शिक्षामा आएको सङ्कट टार्ने उपायहरू

मानविकी शिक्षा

मानविकी शिक्षाले राम्रो संचार कौशल, अद्भूत कल्पनाशीलता, बौध्दिकता, लचिलोपना विकास गर्ने हुँदा विश्वको कुनै पनि देशमा काम गर्न सकिन्छ। मानविकी इत्तरका मानिसहरूले पनि साहित्यिक पुस्तकहरू पढेर जीवन र दर्शनका बारेमा बुझेर आफ्नो विधामा अझ राम्रो गर्न सकिन्छ।

कुनै समय संसारका अरु क्षेत्रहरूमा जस्तै नेपालमा पनि मानविकी शिक्षाप्रति व्यापक आकर्षण र लगाव थियो । शिक्षकहरूको आदर-कदर हुन्थ्यो र कक्षाकोठा खचाखच हुन्थे तर विस्तारै बीसौ शताब्तीको अन्ते सँगै विज्ञानप्रविधिले त्यो ठाउ लिएको आभाष हुदैछ। रोन मिलर (१९९७) का अनुसार  मानविकीले गणनात्मक मन मात्र होइन हृदयलाई दयालु पार्दछ । यसको अर्थ केवल क्षमता विकास मात्र नभएर राम्रो चरित्रको खेती गर्ने पनि हो। यसले अन्य क्षमताहरूका अलवा जुनसुकै क्षेत्रमा कामयोग्य बनाउने अनौपचारिक कौशलहरूद्वारा प्रशिक्षित गरिन्छ  जसका कारण संसारलाई गहिरो लाभ दिन्छ। अर्कोतर्फ विज्ञान, प्रविधि, ईन्जिनियरिङ् र गणितका पढाइले लोभलाग्दो आर्थिक स्थिति हुनसक्छ तर जीवनको जिउने कला थाहा पाउन मानविकीको सहयोग लिएमा राम्रो बनाइदिन्छ।

मानविकीको पढाइले हामीलाई आफ्नै जीवनका महत्त्वपूर्ण कुरालाई विश्लेषण गर्न मद्दत गर्छ र यसको आधारमा अरूलाई सुखी जीवन बाँच्न र यस बारेमा राम्ररी विचार गर्न सक्षम बनाउछ। उनीहरूको समाधान अनुमान गर्ने दृष्टिकोणलाई सही-गलत के हो भन्ने कुरा हाम्रा विरासत र अतीतका आधारमा अरू मानिसहरूका जीवनशैलीसँग जोडेर बुझ्न सजिलो बनाउछ। मानविकीले हामीलाई थप सहनशील का साथै सहयोगी अलवा परिवार, समुदाय र देशप्रति प्रतिबध्द बनाएर चुनौतीहरूलाई सामना वा समाधान गर्न मद्दत गर्छ।

अहिले को उत्तर आधुनिक बजारहरूमा त झन मानविकीको अंतर्दृष्टि चाहिन्छ किनकि यसको अनुपस्थितिमा सामाजिक-आर्थिक प्रगति अधुरा र जटिल हुनसक्छन् । त्यसको अभावमा  प्राविधिकमा मात्र आधारित विकास परियोजनाहरू पर्याप्त बुझाइको कमीको कारण असफल भएका सयौ उदाहरणहरू छन्। त्यसैले ती  सम्बोधन गर्न पनि बुद्धिमानी र विवेकी मानिसहरूको जरुरत पर्छ र सामवेशी विकास तथा वितरणका लागि कौशलहरूको संयोजन गर्ने भनेका यस विधाका मानवस्रोतहरू नै हुन्।

क्याम्ब्रिज शब्दकोश (२०१८) का अनुसार मानविकी शिक्षा भनेको साहित्य, भाषा, इतिहास, दर्शन, मानवअधिकारहरू जस्ता विषयहरूको अध्ययन गर्नु हो। मानविकीमा पढिने कथाहरू, विचारहरू, र दर्शनहरूले हामीलाई जीवन र रहस्यमय संसारको गुह्य अर्थ बनाउन मदत गर्छ। मानविकीले हामीलाई कहिल्यै नभेटिएका मानिसहरू तथा उनीहरूका संस्कारसँग परिचय मात्र गराउँदैन बल्कि कहिल्यै भ्रमण नगरिएका ठाउँहरू र नविन विचारहरू बुझ्न पुलको काम गर्छ।

पूर्वमा ऋषिमुनिहरूले अनि पश्चिममा ग्रीक दार्शनिक प्लेटोको ढाँचानुसार विकसित गरिएको मानविकी सोह्रौ शताब्दीमा पहिलो पटक इटालीमा नामाकरण गरिएको यस विधा अन्तर्गत पहिले-पहिले व्याकरण, समालोचना र तर्कशात्र अध्ययन गरिन्थ्यो जुन महिलाका अलवा सर्बसाधारणका लागि पनि बन्देज गरिएको पाइन्छ।

आज मानविकीमा अन्य धेरै विशिष्टताहरू समावेश गरिएका छन्: मानवशास्त्र, शास्त्रीय अध्ययन, इतिहास, भूगोल, भाषा विज्ञान, कानून, राजनीति, साहित्य, कला, नाटक, नृत्य, दर्शन, धर्म र श्रव्य-दृश्य । यसैले, मानविकीमा साहित्यको मात्र अध्ययन गरिदैन बल्कि यसमा दर्जनौ विशिष्टता थपिएका छन्।

मानविकी शिक्षामा संकट

गणेस राई (२०७१) मा लेख्छन्, “कुनै बेला त्रिभुवन विश्वविद्यालयको सबैभन्दा लोकप्रिय मानविकी तथा सामाजिकशास्त्र संकाय यतिखेर गम्भीर संकटमा छ। पाठ्यक्रम समयानुकूल परिमार्जन र नयाँ निर्माण गर्न नसक्दा यो हाल भएको हो।मानविकीअन्तर्गत ३६ विषय पठनपाठन हुँदै आए पनि समयानुकूल बनाउन नसक्दा प्रमाणपत्र तह हटेको ७ वर्षमा यो संकायको लोकप्रियता गुम्दै गएको प्राध्यापकहरूको ठम्याइ छ”। यसको लोकप्रियता विश्वव्यापी रुपमा घटेको तथ्य तलको उदाहरणले पनि पुष्ट गर्छ । अनुसन्धानकर्ताहरूका अनुसार अमेरिका लगायत अरु देशहरूमा स्नातकोत्तरहरूका पहिलो महिनाको तलबमा मानविकीका को तुलनामा अरु विधाहरू जस्तै व्यवस्थापन र ईन्जिनियरिङ्का ले धेरै कमाउँछन्। हालैका दशकहरूमा अमेरिकाका धेरै राज्यहरूले मानविकी शिक्षाको लागि खर्चिने धनराशीमा कटौटी गरेको पाइएको छ। नेपालकै कलेज र महाविध्यालयहरूमा पनि मानविकी विद्यार्थीहरूको संख्यामा व्यापक कमी आएको छ।

“राजधानीमा सञ्चालित ४४ वटा उच्चमावि र कलेजमध्ये अधिकांशले कमर्स र साइन्स पढाउने गरेका छन् । यीमध्ये तीनवटा कलेजले मात्रै शिक्षा विषय पढाउने गरेका छन् । ४४ मध्ये २० वटा कलेज र उच्च माविमा मानविकी संकाय नै छैन” (अनलाइनखबर २०७१) ।

उदाहरणको लागि, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा पहिले-पहिले अंग्रेजी साहित्यको एउटा कक्षामा दुई सय भन्दा बढी विद्यार्थीहरू आउँथे अहिले निकै कमी छ। कहिकहि त विद्यार्थीहरूको भन्दा शिक्षकको संख्या बढी भएका समाचारहरू आउदै छन् । यो उदाहरण एक अपवाद होइन किनकि यसले व्यापक प्रवृत्तिलाई प्रतिनिधित्व गर्दछ। कुनै समयका उत्कृष्ट प्रोग्रामहरू मनोविज्ञान, इतिहास र राजनैतिक विज्ञान सहित धेरै अहिले अलोकप्रिय छन्।

संकटका कारणहरू र निदानहरू

विश्वविद्यालय भित्र फरक विधाहरू विच सहयोगको कमी एक प्रमुख कारण हो । विभिन्न विभागहरू एक अर्काका परिपुरकका रुपमा भन्दा पनि प्रतिस्पर्धाका रुपमा गठन र संचालन हुदै आएकाले अहिले संकट आएको छ। भोलि त्यस्तो संकट अरु विधामा नआउला भन्न सकिन्न। त्यसैले मदरसा, गुम्बा, आश्रमहरूमा प्रविधिको शिक्षा मिसाएको पाइदैन भने प्राविधिक शिक्षा दिने कलेजहरूमा पनि मानविकी शिक्षाको फ्युजन गरेको बिरलै पाइन्छ।

उचित सृजनशील पठनपाठनका कमीले गर्दा पनि मानविकी अनुत्पादक जस्तो भएको छ। जसकाकारण यस्ता विषय छान्ने विध्यार्थीहरूको प्राप्ताङ्क थोरै तर अवधि बढी लाग्ने गरेको छ।

मानविकी शिक्षा को पठनपाठनमा सरलताको कमी अर्को समस्या हो किनकि गुरु पुरोहितहरूले सरस र सरल भाषाको सट्टा जटिल र अफ्ठ्यारा शब्दावलीका प्रोग गर्दै घोकन्ते पध्दतिलाई प्रशय दिने गरिन्छ। मानविकी शिक्षामा इन्टरनेटको ज्ञान र प्रयोग को कमी टड्कारो देखिन्छ। विशेषगरी गुरुवर्गहरूले नै आनाकानी गरिदिदा नयाँ ज्ञान-विज्ञान का कुराहरू बाट टाढा टाढा भागे जस्तो भएको छ। व्यवसायिकताको कमी अर्को प्रमुख कारण हो मानविकी शिक्षाको अलोकप्रियता । पढेपछि कुनकुन क्षेत्र (कूटनीति, आमसंचार, शिक्षण, व्यबस्थापन) मा जाने अनि कस्तो खालको व्यवसाय गरेर जीन्दगीमा गुजारा गर्ने भन्ने सफा निर्देशन दिन चुकिएको छ।

मानविकी शिक्षामा आएका संकट टार्न विविन्न कदमहरू चाल्न सकिन्छ जस्तो कि अन्तरविभागीय सहकार्य, राम्रो संचार कौशल सहित समाजलाई ठोस देन गरेर निरंतर अस्तित्व का लागिपर्ने काम, सरल भाषा प्रयोग गरेर संष्लेषण तथा विष्लेषण गर्ने काम, प्रविधि र मल्टीमीडिया स्रोतहरू प्रयोग गरेर विभाग वा विश्वविद्यालयमा व्यापक शैक्षिक गतिविधिहरूका आयोजना गर्ने काम, उचित समग्र र विविध समाधानका प्रतिक्रिया र सकारात्मक व्यवहारहरू सार्वजनिक गर्ने काम, साहित्यिक समूह सिर्जना गरेर पढ्ने, लेख्ने, बोल्ने, सुन्ने जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू आयोजना गर्ने काम, चाहे कविता, छोटो कथा, वा रचना होस् विद्यार्थीहरूलाई उत्प्रेरित गर्न केही न केही सिर्जना गर्ने काम, आफ्नो पेशालाई माया गर्दै आफ्नो विषयमा विद्यार्थीहरूको रुचि राख्ने रखाउने काम, सबैलाई एकसाथ संगठित गर्ने कामको लागि पनि मानविकीका मानवस्रोतले नै पहल गर्नुपर्छ। अनि बुझाउन जरुरी छ जसरी डाक्टरको काम अरुले गर्न जान्दैन, त्यस्तै एउटा संगितकारको काम वा इतिहासकारको काम पनि अरु कसैले गर्न सक्दैनन्।

निष्कर्ष

यसकारण यो समय विज्ञान र मानविकीको बीचमा एक सार्थक एकीकरण सुरु गर्ने समय हो। जस्तो कि काठमाण्डौ विश्व विध्यालय शिक्षा स्कुलले शुरु गर्न लागेको एउटा डिग्रीमा त्यस्तो विशेषता थपेको छ। यो अन्तर र बहुअन्तर्नात्मकताको लागि काम गर्ने उचित समय हो। यो समय बाटो विराएका बाबु-छोरा फेरि भेटेर एकताबद्ध भएको जस्तै गर्नु हो। मानविकी शिक्षा पहिलेको जस्तै स्वरुपमा नआएपनि यसलाई नयाँ स्वरुपमा निरन्तरता दिनुपर्छ ।

Facebook Comments
Eak
Comments (0)
Add Comment