उमेर ढल्किँदै जान थालेपछि फेरि एकपटक रुचिको बिषय पढेर त्यसबाटै नयाँ केही गर्न कोपनहेगन आएँ । २०१३ मा साइन्टोलोजी नामको अलिक कम नाम सुनिएको बिधामा पढ्न शुरु गर्दा केही मध्यम स्तरका युरोपेली मुलुकका युवा भेट हुन्थे । मनोविज्ञानका हिसाबले ठीक नेपाली जस्तै लाग्थे । अर्थात्, आफ्नो देश फर्किन नचाहने र फर्किए पनि केही बर्ष त्यहाँ बसेर पैसा र सीप बोकी थोरै फरक देखिने भएर मात्र फर्किन चाहने ।
पेद्रो नामको करिब ३५ बर्षको पुर्तगाली युवासँग एक दिन गफिने सन्दर्भ मिल्यो । ऊ एशियनसँग मिल्ने प्रकृतिको भएकाले मलाई सजिलो पनि भयो । कफीगफका लागि मैले बोलाएर गफिन थालेपछि उसले केही महिनामै आफू पुर्तगाल फर्किने सुनायो । नयाँ योजनाका बिषयमा उसले भन्यो–अब त्यहाँ गएर मलामी व्यवस्थापनको कम्पनी खोल्छु ।
उसले भनेको थियो– मेरो देशमा केही सीमित शहर बाहेक अन्यत्र युवा छैनन् । शहरमा मान्छे व्यस्त हुन्छन्, एकअर्काको मतलब गरेर साध्य हुँदैन । गाउँमा युवा लगभग छैनन् । यही समस्याका बीचमा उसले मुलुकमा मलामी व्यवस्थापन गर्ने एजेन्सीको सफलताको संभावना देख्यो । मैले उसको विश्लेषण र निर्णयमा विश्वभर गाउँका मान्छेले पाउने सीमित सुबिधा र नयाँ पुस्तामा पुँजीवादले बनाइदिएको सोच देखेँ । अर्थात्, युरोपका गाउँ पनि युवापुस्तालाई रोकेर राख्न सक्षम छैनन् । त्यससँगै अहिले विश्वभर भइरहेको विकासको मोडेलको अशर त छँदैछ । तर, व्यवस्था र सोच निर्णायक छ भन्ने मलाई लाग्छ ।
केही महिनाको डेनमार्क बसाइका क्रममा युरोपका मध्यमस्तरीय देशका मान्छे बढी भेट हुन्थे । युरोपकै पनि निकै पिछडिएका मान्छे सामान्यतया डेनमार्क जस्तो विश्वका हरेक सूचकांकमा अगाडि रहेको मुलुकमा आइ नै पुग्दैनन् । जति सुकै समानता र भातृत्वको नारा लगाए पनि युरोप भित्र पनि अनेक देश र उपदेश छन् । जातीय विभेदको नारा लाग्दैन तर अझै पनि रुमानियाको जनसंख्याको उल्लेखनीय हिस्सा ओगट्ने सिगानो जातिलाई लगभग धेरै कुरामा अघि बढ्न रोकिएको छ । यिनीहरुलाई युरोपका विकसित देशमा गएर काम गर्ने भिषा हामी एशियाली देशका बासिन्दालाई जस्तै कडा छ । अर्कोतिर यो लेखकको ५ बर्षे युरोप बसाइका आधारमा भन्नुपर्दा संसारमै उदाहरणीय आप्रवासी नीति भएको भन्न मिल्ने देश पनि यहाँ फेला पार्न सकिन्छ । बरु, त्यस्ता देशले अहिलेसम्म यस बिषयलाई भातृत्व वा मानवअधिकारसँग जोडेर सैद्धान्तिकीकरण गरेका छैनन् । मात्र भन्छन्–हामीलाई सस्तोमा काम गर्ने कामदार चाहिएको छ ।
पंक्तिकारका एक जना नेपाली साथी छन्–पुर्तगालको राजधानी लिस्वनमा । बिष्णु शर्मा नामका यी पूर्व पत्रकारसँग पंक्तिकारको यतैको आन्तरिक जहाजमा चिनजान भएको थियो । उनले करिब दुई बर्षअघि एउटा अनलाइनमा आफ्नो किराना पसल छेउकी एक बृद्धाबारे कथा लेखेका थिए । कथाको रुप दिइए पनि त्यो घटना सत्य थियो । फोन सम्पर्कमा मसँग उनले त्यस घटनाबारे भनेका थिए–एक जना सामान्य विदेशी महिलाले युरोपमा गरेको आत्महत्या नेपाली अनलाइनलाई समाचार बन्न सक्दैन । तर, बिषयले यति छोयो कि मैले कथा नलेखी सक्दै सकिनँ । उनको कथामा श्रीमान् मरेर बर्षौंदेखि एक्लै बसिरहेकी महिला जीवनदेखि उदास हुन्छिन् र आत्महत्या गर्छिन् । अमेरिका या बेलायतमा रहेका तिनका छोराछोरी बर्षौंदेखि घर आएका छैनन् । कहिलेकाहीँ तिनले गर्ने फोनका कलमा उनी माया पोखेर अघाउँदिनन् । सामान्य दिनमा त कुरै छाडौं, इस्टर, नयाँबर्ष र ख्रीष्टमसमा पनि उनले नाति,नातिना खेलाउन पाइनन् । एकान्त मेटाउन उनी बृद्धाश्रम पुगिन् । तर, त्यहाँको जीवन पनि उनलाई मन परेन । केही दिनपछि फर्किएर घर आइन् । केहीमा मन अडिएन र स्वैच्छिक मृत्यु रोजिन् ।
यहाँनेर यसो भन्न सकिन्छ, असाञ्जजस्ता केही दर्जन मात्र व्यक्ति सूचनाको त्यो हदसम्म नजिक भएर संगठित भएर काम गर्ने हो भने अहिलेको विश्वव्यवस्था नै सकिन्छ । यहाँनेर भनिहाल्नु पर्ने चाहीँ के हो भने उनीमाथि लागेका बलात्कारजस्ता बिषयको भोलि छानबिन पनि होला । तर, मूल काममा उनको क्षमताले विश्व हल्लिएको सत्य हो ।
यो घटना विष्णुजीले कथा बनाएर मलाई थिम सुनाएकै केही सातामा मैले नेपाली अनलाइनमा अर्को समाचार पढेँ । श्रीमान साथमा नभएकी महिलाले आफ्ना सन्तान पाल्न सकिनन् । राज्यबाट केही सुबिधा या सामाजिक सुरक्षा पाउनु हाम्रो मुलुकमा असम्भव हुन्छ । उनले चारैतिर अन्धकार देखिन् । त्यसको निदान अर्को अति दुस्साहसी निर्णयमा खोजिन् । पहिला छोराछोरी मारिन् अनि आत्महत्या गरिन् ।
यी दुई घटना अलग अलग हुन् । तर, अहिलेको विश्वका दुई धारका फरक फरक मान्यताका समाजका मान्छेका मुख्य दुई समस्या यहाँ उजागर भएका छन् ।
मुलुकको आर्थिक स्थितिअनुसार सामाजिक सुरक्षा निकै प्रशंसनीय मानिने पुर्तगाली बृद्धाले आत्महत्या गर्नुका पछाडि आजको मान्छेको महत्वाकांक्षा र पारिवारिक बिखण्डनको तनाव कारक थियो । नेपाली महिलाले आफ्ना मुटुका टुक्रालाई मारेर आत्महत्या गर्नुका पछाडि भने राज्ययन्त्रको नालायकी मुख्य जिम्मेवार देखिन्छ । जनतालाई सेवा–सुबिधा नदिने, शिक्षा र स्वास्थ्य महँगो बनाएर हुनेखानेको घेरामा त्यसलाई सीमित बनाउने राज्यको नीति उनको आत्महत्याका लागि जिम्मेवार मान्नुपर्छ ।
अब जाऔं संसारको मूल दुःखमा पर्ने सम्पत्तिको बितरणका केही आकडातिर । द गार्जियन नामको पत्रिकाले सन् २०१७ मा प्रकाशन गरेको एउटा आकडा अनुसार अमेरिकाका ८ जना सम्पन्न मान्छेसँग त्यहाँका करिब ५० प्रतिशत व्यक्तिसँग भएको जति नै सम्पत्ति छ । त्यस्तै द न्युयोर्क टाइम्सका अनुसार, अमेरिकाका धनी १ प्रतिशत मान्छेसँग धनी ९ प्रतिशतसँग रहेको बाहेक विश्वको सारा सम्पत्ति छ । अर्थात् ती १ प्रतिशत मान्छेसँगगरिबबाट गन्दै आउँदा पर्ने ९० प्रतिशत मान्छेसँग जति नै सम्पत्ति छ । हाम्रै छिमेकी देश भारतको आकडा पनि कम असमान छैन । एक बर्षअघि द हिन्दु पत्रिकाको एक रिपोर्टमा जनाइए अनुसार त्यहाँका १ प्रतिशत धनी मानिसले ७३ प्रतिशत मानिस बराबरको सम्पत्ति कब्जा गरेका छन् । ती धनी मानिसको समूहले सन् २०१८ मा प्रतिदिन २२ सय करोड भारतीय रुपैयाँ कमाएको आकडा इण्डिया टुडेले हालै प्रकाशन गरेको थियो ।
यस्ता तथ्यांक पढ्दा र केही ससाना घटनाक्रम हेर्दा भने विश्वभर निजी सम्पत्तिका बिषयमा बहश हुन थालेका छन् । युरोपका धेरै व्यक्ति निजी सम्पत्तिको बिषयमा फरक धारणा राख्दै लोक–कल्याणकारी राज्यको ग्यारेण्टी भए सम्पत्तिको बिषयमा आम धारणा फेरिने बहश गर्न थालेका छन् । लाग्छ, बर्तमान विश्वव्यवस्था कमजोर हुँदैछ र कुनै परिवर्तन पर्खिरहेको छ ।
यहाँनेर हामी नेपालीले स्मरण गर्नैपर्ने हालै चर्चामा आएका दुईवटा पात्र र सन्दर्भ पनि छन् । ती हुन्– छिमेकी मुलुक भारतीय युवा कन्हैया कुमार र अस्ट्रेलियन पत्रकार जुलियन असाञ्ज । विश्वकै सबैभन्दा ठूलो प्रजातन्त्र मानिने भारतको प्रजातन्त्र र यसको मोडेलिटी उनकै कारण बहशमा आएको छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछिका ७५ बर्षका प्रजातन्त्रका नाममा भएको अभ्यासको करेक्सनका लागि उठेको कन्हैयाको आवाज बिस्तारै त्यहाँको आम आवाज बन्न थालेको छ । पंक्तिकारका केही भारतीय सहकर्मीहरु, जो बिगतमा कम्युनिष्टको नाम नै सुन्न चाहँदैनथे तिनै उनको पक्षमा देखा परेका छन् । भन्छन्, जे भए पनि अब पुरानो शैली र बाटोले चल्दैन । लाग्छ, विश्व राजनीतिमा नै प्रभाव पार्न सक्नै भारतीय मोडेलको प्रजातन्त्र र स्वतन्त्रताको विकल्प आम जनता खोजिरहेका छन् । अर्कोतिर, जुलियन असाञ्जले विकिलिक्स्को माध्यमबाट विश्वव्यवस्था नै धरापमा पर्ने गरी अघिल्लो दशकका बिभिन्न बिषयका सूचना सार्वजनिक गरे । उनको बिषयमा विश्वभरका नेता, सरकार र राज्यबाट देखिएका प्रतिक्रियाले लाग्छ, उनी एक्लै सिंगो विश्वबिरुद्ध लड्न तयार छन् । यहाँनेर यसो भन्न सकिन्छ, असाञ्जजस्ता केही दर्जन मात्र व्यक्ति सूचनाको त्यो हदसम्म नजिक भएर संगठित भएर काम गर्ने हो भने अहिलेको विश्वव्यवस्था नै सकिन्छ । यहाँनेर भनिहाल्नु पर्ने चाहीँ के हो भने उनीमाथि लागेका बलात्कारजस्ता बिषयको भोलि छानबिन पनि होला । तर, मूल काममा उनको क्षमताले विश्व हल्लिएको सत्य हो ।
यी दुई सन्दर्भ मानव इतिहासमा उलटपुलट हुने घटना हैनन् । तर, त्यस्ता उदाहरण हुन् जसले बर्तमान विश्वको जगको स्तर यी घटनाले देखाउँछन् । विश्वभरका आम मान्छेको असन्तुष्टि र असहमतिपछि भन्न मन लाग्छ– यो व्यवस्था अब कति टिक्ला र खै ?
(पत्रकार तथा कवि गौतम हाल युरोपमा बस्छन्।)