चाख्लास् म काठमाडु आएपछि

फुटानी
म हान्निएर, गुटुङटुङ कुद्दै काठमाडौं आउँदै छु । त्यहाँ हाम्रो उहरुले खत्तम गरे छ । होइन् …के खालको मान्छे बस्छ हँ त्यहाँ ? नाथे जग्गा जमिनको कुरो पनि मिलाउन सक्तैन ! ल्वाँठै र’छ । कैले ललिता निवास भन्याँ छ, कहिले खुलामञ्च भन्याँ छ ! यिनार्ले नरमकरम मिलाउन जानेकै रैन’छ । जनकपुरमा जानकी मन्दिरको सयौं बिगाहा जग्गा नरमकरम मिलार हामीले चिलिम फर्कायौं । कसैले थाहा पनि पाएन् विवाद पनि भएन त ! यता लुम्बिनीको जग्गा पनि कसैलाई छिसिक्क सुइँकोसम्म नदिई सार्लाकसुर्लुक मिलाइयो । हैन मैले नबुझेको कुरो ! काठमाडौंमै चाहिँ किन यस्तो विवाद हुन्छ हँ ! पर्खी … अलि दिन पर्खी त म आउँदै छु । म आई पुगौं मात्रै ककस्लाई के गर्नुपर्छ मैले जान्याँछु ।
म आउँदै छु, दाह्रा किटेर आउदै छु । त्याँ बसेर तिमार्ले केही गर्न सकेनौ । लाछीहरू ! अम्ममम् विवाद पनि सानू होइन । हैन हाउ… त्याँ मान्छे बस्छ कि अर्थोक हँ ? मैले आज भन्दा २० वर्ष अघि नै भृकुटीमण्डपमा घर बनाउन नदे भनेको थें । अहिले सुन्दै छु घरै घर छ रे । त्यस्का बुद्धिको भाँडाँ विर्को लागेको । खुट्टा राख्ने ठाउँ देख्यो कि घर बनाईहाल्नु पर्ने ! मान्नुपर्छ के हाम्रो केटाहर्को दिमाख !
हाम्रो आन्तारे पो अस्ति काठमाडौंबाट आएर सुनाउँदै थ्योे बागमती, विष्णुमति, ईच्छुमती सप्पै सप्पैलाई पाता कसेर चौखु¥यार लडाको छरे । खोला जति घर बनाउनेले मिची गए छ भन्दै थ्यो । हैन खोला चाहिँ अबो शिवजीको जटाबाट बगे जस्तो त्यस्को खप्परबाट बग्छ ।
खोलाहरू सलल बगोस, बगर होस्, खुला चौर र केटाकेटी खेल्ने पार्क होस, फराकिला अपाङ्ग मैत्री सडकहरू हउन् । पर्यटकहरूलाई आकर्षित गर्ने मठ, मन्दिर, स्तुपा चैते, प्राकृतिक भू–बनोट छदैछ । यसलाई अझ आकर्षक र लोभ लाग्दो बनाउनतिर नलागेर जग्गा र जमिनको किचलो, मुद्दा र मामिलाको झमेला, एक आपसमा हिलो छेपाछेप ! कहीँ नभा जात्रा हाँडी गाउँमा । पर्खि म आउँदै छु ।
अर्को मुद्दा उठेको छ रे एनसेल कि फ्यानसेलले कर तिरेन भनेर । लिए पो तिर्छ ! सरकारले कर नतिर्नेलाई एक मिनेटमा पाता कसेर जेल हाल्न सक्छ । खै कुरो बुझेको ! फेरि त्यो उजाती छ नि केरे अदालत ! हौ त्यो फेरि के भाको ? अघिल्लो दिन “तुरुन्त कर असुल उपर गर्नु” भनो अरे, पछिल्लो दिन त उसैले पो “करको लागि करकर नगर्नु“ भन्यो भनेर हाम्रो आन्तारे पो भन्दै थ्यो । म आउँदैछु, यही विरोधाभास मेट्न आउँदैछु ।
ललिता कि फलिता निवास जग्गा काण्डमा मेरो एउटा जिज्ञासा छ । २०४७ सालमा किसुनजी प्रधानमन्त्री भए पछि सुवर्ण शमशेरको बालुवाटारमा रहेको जग्गा फिर्ता दिने निर्णय भएको हो । त्यस बेला किसुनजीले मसँग भन्नू भएको थियो –हेर्नुस् गफाष्टकजी ! सुवर्ण शमशेरलाई सर्वश्व हरण गरेर निर्वासित गरिएको हो । प्रजातन्त्र आए पछि त्यो प्रजातान्त्रिक योद्धाको सम्पत्ति फिर्ता गर्नु हाम्रो कर्तव्य हो । यो कुरा किसुनजीले मलाई भन्नुभएको हो । तर, त्यस पछि उहाँले कुनकुन सम्पति फिर्ता गर्नु भो थाहा भएन । थाहा नभको कुरो था थ्यो भन्दिन म त । इतिहास बङग्याँउन पनि हुदैन ।
सुवर्ण शमशेर प्रजातन्त्रको लडाइँको अग्र मोर्चामा थिए । उनमा सम्पती प्रति त्यति आशक्ति पनि थिएन । मुलुक भित्र बस्न नसकेर भारत निर्वासित भएकादेखि जेलमा परेका काङ्ग्रेस जनलाई समेत सुवर्ण शमशेरले थोरबहुत आर्थिक सहयोग गरेको धेरैलाई थाहा छ । किसुनजीको क्याविनेटले फराकिलो मन राखेर केही सम्पत्ति फिर्ता गरो होला । यसमा विवाद गरिरहनु पर्ने कारणै छैन । सरकारले निर्णय गरेर कानुनको मर्म नकुल्ची फिर्ता लिनुपर्छ ।
अबो त्यो खुला मञ्चको चुरो कुरो जो छ सोका विषयमा मेरो लिखत यस्तो छ ः श्री विद्यासुन्दर कामरेड ! स्काभेटरलाई पछि पछि लगाउने, दलबलसहित खुला मञ्चमा प्रकट हुने, त्यहाँ निर्माण भएका संरचना भत्काउने फ्याँकी दिने । ताहाँ उप्रान्त बसपार्क चलाउन दिएको समयावधि पनि गुज्री सकेको भन्ने कुरा हाम्रो आन्तारेले भनेको छ । यदि हो भने बसपार्क पनि तहाँबाट हटाउने ।
अन्य लोकाचारका कुरा नगरेकै राम्रो । किन भने त्यस्ता उस्ता कुरा हाम्रो आन्तारेको बुढीले पनि पत्याउँदैन । तिमारू मेर उपमेर झगडा गरि राख ! तर, मेरो किलियरकट कुरो सुन् तहाँको जग्गा जमिनहरू छिटो निखनी हाल । तेत्रो राजधानी शर्को मेर भ’र क्यान झोक्राइ बस्छस् ! हँ ! म छु । फिट्टिक्कै डराउनु पर्दैन । म छु के म छु । अम्ममम त्यताको कुरो सम्झ्यो कि मेरो त जिउ पनि अररो भ’र रिस उठ्छ गाँठे । हैन हाउ … गर्न पनि के भाँडी गरेको ! हुनी रिस उठेको छैन । चाखलास् म काठमाडौं आए पछि । नचाहिने काम गर्नेलाई काचाककुचुक पारेर फ्याँक्न सकिन भने मेरो नाम गफाष्टक नै होइन । लौजा … जे पर्ला पर्ला भनी दिएँ ।
यो लिखित गरेर सक्नै लाग्दा आन्तारे भन्दै थ्यो –लु खुलामञ्च चाहिँ भत्काउन थाल्यो होइ …भनेर । अबो आन्त पनि अवैधानिक निर्माण गरेका संरचना छन् भने बाडाङ बुडुङ पार । डराउनु पर्दैन म छु क्या म छु आउँदैछु ।
Facebook Comments
Comments (0)
Add Comment