नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण आउँदा केटाकेटी बिग्रन्छन भनेर टिभी बन्द गर्नु पर्ने भयो भनेर बोले । प्रतिपक्षी दलको प्रवक्ता युवा नेता र बौद्धिक व्यक्तिले किन यसो भने होलान् भन्ने जिज्ञासा उठ्नु स्वभाविक हो । प्रधानमन्त्रीले केही समय पहिले एउटा भाषणमा कठैवरा नेपाली काङ्ग्रेस भनेका थिए । सायद विश्वप्रकासले त्यही कठैवराको जवाफ दिएका होलान् । वास्तवमा अहिले नेपाली काङग्रेसलाई हृदय देखि नै मया गरेर भन्ने हो भने कठैवरा, विचरा र माया लाग्दो भन्ने अवस्था छ । यदि यस्तो अवस्था नहँुदो हो त नेपाली काङग्रेसका बौद्धिक नेता नरहरि आचार्यले पार्टी कार्यालय प्रांगण सानेपामा भावुक र द्रवित भएर कठै हाम्रो काङ्ग्रेस भन्ने थिएनन् । पक्कै पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काङग्रेसलाई कठैवरा शब्द मायाले भनेका होइनन् । तर के कुरा चाहिँ स्पष्ट हो भने बर्तमान अवस्थामा नेपाली काङग्रेस कठैवरा, विचरा, वरा बनेको छ । प्रजातान्त्रिक समुहका लेखहरु कृष्ण खनाल, श्रीकृष्ण अनिरुद्ध गौतमलगायतले कठैवरा, विचरा, वरा शव्दको प्रयोग काङग्रेसको लागि ठिकै भएको ठानेका छन् । उनीहरुले पत्रपत्रिका र मञ्चहरुमा समेत प्रधानमन्त्रीले त्यो शब्दको प्रयोग नेपाली काङग्रेस तंग्रियोस्, बौरिओस् र दौडिओस् भनेर प्रयोग गरेका होइनन् । लैनो पाडो जस्तो भाराङ र भुरुङ हिँडेको देखेर भनेका हुन । अहिले काङ्ग्रेस लक्ष हराएको गन्तव्यविहीन अवस्थाबाट गुज्रिरहेको देखेपछि विरोधीहरु स्वभाविक रुपमा खुसी भएका छन् भने काङग्रेसलाई माया गर्ने निरास बनेको अवस्था छ । यो अवस्था आउनमा विभिन्न कारण भए पनि मुख्य कारण काङ्ग्रेस नेतृत्वको अक्षमता नै हो ।
अहिले नेपाली काङ्ग्रेस प्रतिपक्ष दलको रुपमा छ । दुई तिहाईको सत्ता पक्षलाई ठिक ट्रयाकमा हिँड्न लगाउने जिम्मेवारी प्रतिपक्षकै हो तर नेपाली काङग्रेसले त्यो जिम्मेवारी पूरा गर्न समेत सकिरहेको पाइँदैन । प्रतिपक्षीविहिन सत्ता पक्ष निरंकुश हुन सक्ने तर्फ काङ्ग्रेस सचेत रहन सकेन । यो सरकार कम्युनिस्ट सरकार भएकोले सर्वसत्तावादी भयो वा निरंकुश भयो भन्दैमा कसैले पत्याउँदैन । त्यो नेपाली काङ्ग्रेसले सरकार माथि आरोपका लागि लगाएको मित्थ्या आरोप मात्र हो भनेर जनताले बुझेका छन् । यस्ता खालका आरोप लगाएकै भरमा र प्रधानमन्त्रीको कार्यक्रम आउँदा टिभि बन्द गर्दैमा प्रतिपक्षको भूमिका निर्वाह भएको ठानिनु हँुदैन । नेपाली काङ्ग्रेसले जनताका पक्षमा ठोस योजनाहरु ल्याउने र तत् अनुरुपको नारा तयार गर्नु पर्छ । अनि मात्र जनताको विश्वास प्राप्त गर्न सक्छ । अन्यथा नेपाली काङ्ग्रेस बुढो भएर थला परेको बाघको रुपमा चिनिन सक्छ । कुनै एउटा सामान्य घटनालाई बोकेर होइन राष्ट्रिय मुद्दाहरु बोकेर प्रतिपक्षले सदन र मञ्चहरुबाट आवाज उठाउनु पर्छ । जुन आवाजले जनता, सरकार, नेकपा र अन्य दलहरुलाई पनि सोच्न बाध्य बनाओस् । नेपाली काङ्ग्रेसलाई कामजोर बनाउँन खोजिदै छ अथवा नेपाली काङ्ग्रेसलाई कमजोर नठानियोस् भन्दैमा नेपाली काङ्ग्रेसले आफ्नो गुमेको प्रतिष्ठा र समर्थजन प्राप्त गर्न सक्तैन बरु राष्ट्र र जनताको पक्षमा काम गर्न थाल्यो भने गुमेको वर्चश्व प्राप्त गर्न सक्छ ।
यही वैशाख ९ गते झापाको दमकको कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले भने– निर्वाचनका बेला काङ्ग्रेसले काङ्ग्रेसलाई नै हराएको र अहिले पार्टी भित्र नै विवाद सिर्जना गरेर पार्टी कमजोर वनाउन खोजिएको छ । उनले नेकपा एमाले र माओवादी केन्द्र मिल्न सक्ने तर काङ्ग्रेस आफै भित्र मिल्न नसक्ने यस्तो पनि हुन्छ ? भन्ने प्रश्न गरे । वास्तविकता समापति देउवाले भने जस्तै हो । प्रधानमन्त्री ओलीले अथवा अन्य कसैले काङ्ग्रेसलाई कमजोर बनाउन हराउन वा गलाउन सक्दैन । काङ्ग्रेसलाई काङग्रेस भित्रकै रोगले थकित, गलित र कमजोर बनाएको छ । यसको उपचार काङग्रेसले आफै भित्र खोज्नु पर्ने हुन्छ । काङग्रेका प्रवक्ता शर्माले टिभी खोलेर हेर्दा प्रधानमन्त्री ओलीले कठैवरा काङग्रेस भनेको सुनेर टिभी नै बन्द गर्नु भन्दा सभापति देउवाको अब हामी आफैसँग लजाउनु पर्ने भयो भन्ने वाक्यांशतिर ध्यान दिन जरुरी छ ।
जसले जे भने पनि विगतमा नेपाली काङ्ग्रेसले सरकार चलाउँदाका काम कारबाही अनुकरण गर्न लायकका छैनन् । त्यसमा पनि वर्तमान सभापति देउवाको कार्यकालका काम कारबाहीको स्मरण गर्नसम्म पनि जनता चाहँदैनन् । २०४६ सालको जनआन्दोलनको सफलतापछि अधिकाशं समय नेपाली कांग्रेसले सरकार चलायो । २०४८ सालको चुनावमा नेपाली काङ्ग्रेसले बहुमतको सरकार गठन गर्ने म्यान्डेट पायो । तर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विश्वनाथ उपाध्यायसँग मिले आफ्नो एकमना सरकार ढालेर अस्थिरताको विऊ रोपे ।
नेपाली काङ्ग्रेस ऐतिहासिक पार्टी हो । यस प्रति आस्था राख्ने र जीवन समर्पित गर्ने नेता, कार्यकर्ता छन् । यस पार्टीले सत्ता परिवर्तनका लागि बेला बेला आवश्यकता अनुसार आन्दोलनको नेतृत्व गरेको हो । अहिले पनि जनताको एउटा पंक्ति नेपाली काङ्ग्रेसको समर्थनमा छ । तर सत्य तितो हुन्छ अहिले नेपाली काङ्ग्रेस तै तङग्री हाल्छ कि भनेर कठैवरा काङ्ग्रेस भन्नु पर्ने अवस्थामा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुन सन्दर्भमा कुन प्रयोजनका लागि काङ्ग्रेस माथि कठैवरा शब्द प्रयोग गरे त्यो बुझ्न धेरै पर जानै पर्दैन । पार्टी कार्यलय सानेपामा नहरहरि आचार्यले विचरा हामी काङ्ग्रेस भनेर मन खिन्न पार्नु पर्ने अवस्था कसरी आयो ।. नेपाली काङग्रेका नेता कार्यकताले यो चाहिं खोजी गर्दा भयो । काङग्रेस नेता विश्वप्रकाद शर्मा र गगन थापाले वर्तमान सरकार र प्रधानमन्त्री ओलीलाई ठुूलो आवाजमा ललकार्नु भन्दा आफ्नै नेताहरु बीचमा रहेको मनोमालिन्य साम्य पार्ने उपाय खोज्दा फाइदा पुग्न सक्छ । नेपाली जनता निकै परिपक्व र फराकिलो सोच राख्ने भइसकेका छन् । यदि यो सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन भने अर्को चुनावमा सर्वनाक हार व्यहोर्ने निश्चित छ । तर यही बेला प्रश्न उठ्छ, भोट कसलाई दिने ? बाघ जस्तो कांग्रेस विरालो बनेर आपसमा ङ्यार्र र ङुर्रर गरेर बसेको छ, नेकपाले भने जस्तो काम गर्न सकेन, अर्को भरपर्दो पार्टी जन्मिएकै छैन । यस्तो धमिलो बेलामा जसको दरिलो संगठन छ, जोसँग भरपर्दा नेता कार्यकर्ता छन्, नतिजा उसैको पोल्टामा जान्छ । नेपाली कांग्रेसभित्रको अन्तर कलह सामान्य खालको देखिँदैन । किन चाउरिस मरिच आफ्नै रागले भने जस्तै भएको छ काङ्ग्रेस । यदि अब पनि काङ्ग्रेसले आफूलाई अन्तर कलहबाट मुक्त गर्न सकेन भने कठैबरा मात्र होइन नेपाली जनताले विचरा काङ्ग्रेस भनेर सम्झिने छन् ।
नेपाली काङ्ग्रेसले जागरण अभियान चलाउँदै छ । संगठन सुदृढ बनाउन यस्ता अभियानहरुले सहयोग पु¥याउँछन् । तर, त्यस्ता अभियानहरुमा प्रतिउत्पादक हुने गरी एक अर्का माथि आरोप प्रत्यारोप गर्ने र यो सरकारको विरुद्धमा जुट्नु प¥यो भन्ने धारणा मात्र राख्ने हो भने त्यसको कुनै तुक रहने छैन । नेपाली कांग्रेसले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा यो यो काम गर्छ भनेर ठोस निर्णयसहित धारणा लिएर जाँदा सरकार पनि त्यसतर्फ सोच्न बाध्य हुनेछ ।
जसले जे भने पनि विगतमा नेपाली काङ्ग्रेसले सरकार चलाउँदाका काम कारबाही अनुकरण गर्न लायकका छैनन् । त्यसमा पनि वर्तमान सभापति देउवाको कार्यकालका काम कारबाहीको स्मरण गर्नसम्म पनि जनता चाहँदैनन् । २०४६ सालको जनआन्दोलनको सफलतापछि अधिकाशं समय नेपाली कांग्रेसले सरकार चलायो । २०४८ सालको चुनावमा नेपाली काङ्ग्रेसले बहुमतको सरकार गठन गर्ने म्यान्डेट पायो । तर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विश्वनाथ उपाध्यायसँग मिले आफ्नो एकमना सरकार ढालेर अस्थिरताको विऊ रोपे । यहीबेला रोपिएको विरुवा २३ वर्षभन्दा बढी विष वृक्षको रुपमा रह्यो । गत वर्षको चुनावपछि भने अस्थिर सरकारको पीडाबाट नेपाली जनता मुक्त भए । यही कारणले नेपाली काङ्ग्रेस समाप्त भयो भन्न खोजिएको होइन । तर, अस्थिर सरकारको स्थापना गर्ने, प्राडो, पजेरो विकृति भित्र्याउने, सांसद किनबेच गर्ने, सरकारी स्वामित्वमा रहेका विभिन्न संस्थाहरु कौडीको मूल्यमा व्यक्तिलाई दिने र प्रतिपक्षमा बस्नै नसक्ने मान्यता स्थापित गर्ने काङ्ग्रेस नै हो । यही खालका कार्यले काङ्ग्रेसलाई पछिल्तिर धकेल्ने काम गरेकै हो र अहिले पनि गरिरहेको छ ।
लुकाएर अथवा जिब्रो चपाएर बोलिरहनु पर्दैन । भारतले नाकाबन्दी लगायको वेला निलो कालो मुख लगाएर बस्यो काङ्ग्रेस, बोल्नै सकेन । संविधान घोषणा गर्ने बेला भयो, भारतीय प्रधानमन्त्रीका विशेष दूत संविधान घोषणा गर्न नदिन काठमाडौं आए । तत्कालीन प्रधानमन्त्री सुशिल कोइराला पछाडि हटिसकेका थिए, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले तानेर लतार्दै लगेर संविधान घोषणा गर्न लगाए । भारतसँग बोल्न डराएनन् । दास मनोवृत्तिका कायरहरु “भारतले नाकाबन्दी लगाएकै होइन” र “भारतले संविधान घोषणा गर्न कुनै अवरोध गरेकै थिएन” भन्न पुगे । जनताले प्रत्यक्ष देखेको र भोगेको कुरा नेपाली काङ्ग्रेसले नदेखेको र नभोगेको जस्तो गरी दियो । जनताले यसलाई मनमा लिइरहेका थिए । गत चुनावमा जनताले नेपाली काङ्ग्रेस माथि यसैको बदला लिएका हुन् । अरु केही होइन । यसलाई नेपाली काङ्ग्रेसले आफूहरुबाट कमी कमजोरी भएको स्वीकार गर्दै अब जनता र राष्ट्रका पक्षमा उभिने प्रण गर्नुपर्छ । अन्यथा जनताले गर्ने विश्वासका आधारहरु कमजोर हुने छन् । काङ्ग्रेसको अवस्था सुदृढ भएमा यो सरकारले नराम्रो काम गर्न खोज्यो भने रोक्न सक्छ । अव्यवहारिक ऐनहरु बन्न नदिन सक्छ । राष्ट्रहित र जनहित विपरित गर्न खोजिएका कार्य छन् भने त्यसप्रति औंला ठड्याउन सक्छ । अन्यथा काङ्ग्रेसीजनले प्रधानमन्त्रीको भाषण आउँदा कोठाको टिभी बन्द गरेर विस्तरामा पल्टेर खुई काड्नु बाहेक अरु विकल्प देखिँदैन ।