सानो छँदादेखि गाउँका मानिसहरू भारतका विभिन्न स्थानहरूमा तीर्थयात्रा गएको याद ताजै थियो । शायद् त्यस समय तीर्थयात्रा गर्नु, घुम्नु, घुमेर प्राप्त गरेको ज्ञानका साथै अनुभव सबैलाई सुनाउनु त्यति बेलाको समाजको आवश्यकता पनि थियो होला । किनभने त्यति बेला अहिलेको जस्तो मनोरन्जनका साधनहरू पनि कम नै थिए । यसै क्रममा लगभग तीन दशकअघिदेखि तीर्थयात्रा गरेर आउनेहरूले सुनाएका अनुभवहरू पनि मानसपटलमा ताजै थिए । जस्तै सुरतको तीनपाते बर जो कहिल्यै तीन वटा पात भन्दा बढेन । धुवेलामा रहेको छत्रसाल संग्रहालय जहाँ आफ्नो जिउ आफैले ठूलो, सानो र पुड्को देखिने ऐना, जामनगरको श्रीकृष्ण प्रणामी मन्दिर, पोरबन्दरमा महात्मा गान्धीको जन्मघर र दिल्लीको समाधिस्थल आदि ।
भोलिपल्ट बिहान चार घन्टाको यात्रापछि पन्नाको श्रीकृष्ण प्रणामी मन्दिर पुगियो । त्यहाँबाट छत्रपुरमा रहेको खजुरायो मन्दिर र छत्रसालको सङ्ग्रहालय अवलोकन गर्न लाग्यौँ । तीन घण्टाको यात्रा तय गरी खजुरायो मन्दिरको अवलोकन गर्न प्रवेशद्वारतर्फ लम्कदै थियौँ ।स्थानीय पथप्रदर्शकहरूले (गाईड) हामीलाई ‘राम्ररी घुमाइदिन्छौँ, तीन–चार घण्टा लाग्न सक्छ’ भनेर अनुरोध गरिरहेका थिए । एक वयस्क पथप्रदर्शकले मलाई नजिकै आएर उनीसँग भएको पथप्रदर्शक परिचयपत्र देखाउँदै नम्र लवजमा भने, ’म सरकारले तोकेको भन्दा बढी पैसा लिन्नँ, तपाईहरूलाई राम्ररी घुमाइदिन्छु, तपाईहरूले अरु कसैलाई लगे पनि त्यति नै पैसा तीर्नुपर्छ’ । त्यतिकैमा हामी प्रवेश शुल्क तिरेर मन्दिर परिसरभित्र प्रवेश गर्यौँ ।
‘धर्ममा पवित्र र अपवित्र दुबै चीज हुन्छन्, तर पवित्र चीज वा क्रियाकलापले व्यक्तिहरूलाई परिवारमा एकता कायम गर्दै समाजमा जीउन मद्धत गर्दछन्’
खजुरायो मन्दिरको अवलोकन गर्दा ढुङ्गाले बनाएको पाटनको कृष्ण मन्दिरको याद आयो । किनभने खजुरायो मन्दिर पनि विभिन्न कलात्मक रूपमा ढुङ्गाले कुँदेर बनाइएको रहेछ । त्यहाँका खजुरायो सहित अन्य मन्दिरहरू चन्देल बशंका हिन्दू राजाहरूले दशाँै शताब्दीमा बनाएका रहेछन । त्यसैले त्यहाँ हिन्दू मूल्य, मान्यता झल्किने खालका कलात्मक कृतिहरू ढुङ्गामा कँुदेको पाइयो । जसमा मानव जीवनका दैनिक क्रियाकलापहरूका साथै विशेषतः पुरुष, महिला, जनावर, चरा, योद्धा आदिका मूर्तिहरू थिए ।
त्यहाँवाट छत्रसाल सङ्ग्रहालय र सुरत सहर हेर्दै गुजरातको जामनगरस्थित श्रीकृष्ण प्रणामी मन्दिर पुग्न तीन दिन लाग्यो । यस मन्दिरलाई प्रणामी धर्मको उद्गमस्थलका साथै नवतनपुरी धाम भनेर पनि चिनिन्छ । जसको चर्चा लगभग ५ हजार वर्षअघिको ब्रज र रास (कृष्ण लिला) सँग जोडेर हेर्ने गरिन्छ । यस मन्दिरको स्थापना लगभग ४ सय वर्षअघि निजानन्द स्वामी श्री देवचन्द्रजी महाराजबाट भएको मानिन्छ ।
भोलिपल्ट महात्मा गान्धीको जन्मस्थल पोरवन्दर जानका लागि बिहानै झिसमिसमै ड्राइभरले आफ्नो इनोभा गाडीको हर्नवाट हामीलाई हतार लगाइरहेका थिए । गाडी चढेपछि ड्राइभरले आफ्नो सीटलाई नमन गरी शुभयात्राका लागि मनमनै कामना गरे, त्यसमा हामीले पनि सारमा साथ मिलायौँ । त्यहाँवाट केही समयको यात्रापछि हापामा गाडी रोकियो र ड्राइभरले चिया खाने जनाउ दिए । अझ उनले यात्रामा अगाडि यति मीठो चिया खान नपाइने भएकाले त्यहीँ चिया खानुपर्ने कुरामा जोड दिए । सुर्याेदय हुन लाग्दै थियो । हाम्रा पाइला विस्तारै चिया पसलतर्फ बढे । त्यहाँ चिया, विस्कुट र अन्य सामान राखेको देखिन्यो । चिया पसल राजमार्ग छेउमा जस्तापाताले छाएको थियो । मैले पनि पसलको नजिकै गएर हामी सबैलाई चिया बनाउन भनेँ । चिया पसलेले मलाई सानो डोरीको खटियामा बसेर चियाको प्रतिक्षा गर्न भने । हामी चिया खाने पर्खाइमा थियाँै त्यतिकैमा मेरा आँखा चिया पसलमा राखिएको सिसिटिभी क्यामरातर्फ सोझिए । ड्राइभरलाई सोधँे, ‘यति सामान्य पसलमा पनि किन सिसिक्यामरा ?’ उनले भने, ‘सर यहाँ दोकानवाट धेरै सामानहरू हराउँछन, त्यसैले यहाँका प्रायः चिया र सब्जी दोकानमा पनि सिसिक्यामरा लगाएका हुन्छन्’ ।
चियापानपछि हामी अगाडि बढ्यौँ । नयाँ बाटोको दुबैतिर हरियाली फाँटलाई छिचोल्दै हाम्रो गाडी यात्रालाई छोट्याउँदै थियो । बाटामा हावाबाट ठूलाठूला फिर्फिरेहरू (विन्डमिल) देखिन्थे । कुनैका पङ्खा जोरसँग चलेका देखिन्थे भने कुनैका विस्तारै । ठूलो क्षेत्रमा कपास र सूर्यमुखी फूलको व्यवसायिक खेती लगाएको देखिन्थ्यो । खेती लगाएको जमिन कहीँ समथर र कहीँ सासानो पहाडी थुम्को जस्तो देखिन्थ्यो ।
लाग्यो, मुस्ताङ्ग लगायत अन्य हिमाली क्षेत्रमा पनि यस्तै हावाबाट घुम्ने ठूला फिर्फिरेवाट विजुली निकाल्न सके राष्ट्र कति समृद्ध हुन्थ्यो होला ? अनि मनमा प्रश्न आयो, यसैगरी चुरे शृङ्खलाका पहाडमा पनि ठूल्ठूला फिर्फिरेबाट विजुली निकाल्न सकिन्छ कि सकिदँैन होला ? यदि सकिएमा, किसानलाई कति राहत हुन्थ्यो होला ? उस्तै भूबनोट र जीवनशैली भएको हाम्रो देशमा चाहिँ किन विकास हुन नसकेको होला ? गाडीमै विकास र सम्भावनाका वारेमा छलफल गर्दै अरब सागरको किनारैकिनार पोरबन्दरतर्फ लाग्यौ । त्यहाँ पुग्दा ’पूज्य महात्मा गान्धीजी का जन्मस्थल’ लेखिएको मुख्यद्वारवाट भित्र छिर्यौँ । गान्धीजीको जन्मस्थल र अन्य सबै जानकारीलाई व्यवस्थित रूपमा संरक्षण गरी सङ्ग्रहालयको रूप दिइएको रहेछ । लाग्यो, सकरात्मक सोच, आत्मविश्वास र सादा जीवनशैलीले पनि लक्ष्यमा पुग्न सकिने रहेछ । भोलिपल्ट द्वारिका, भेट द्वारिका, गोपी तलाउ र रुक्मिणी मन्दिरको दर्शनपछि दिल्लीतर्फ लाग्याँै ।
त्यसैगरी जमिनमाथि ठूलाठूला सिमेन्टका खम्वाहरूमाथि रेलको लिक बनाइएको रहेछ । जमिनमाथि रेल गुड्दो रहेछ । जमिनमा बनेका घर, मन्दिर र पुरै सहर मजाले अवलोकन गर्न पाइदो रहेछ । मेट्रो रेल प्रतिघन्टा ८० किलो मिटरको गतिमा चल्दो रहेछ । यसरी यात्रा गर्दा कोटेश्वरको जाम अनि गौशाला, चावहिल र जोरपाटीको धुलो र हिलोको याद आयो । लाग्यो, काठमाडांैमा पनि मेट्रोरेल चलेमा सडक जाम हट्नुका साथै प्रदूषण नियन्त्रणमा कति उपयोगी हुन्थ्यो होला ? देशको इन्धन र व्यक्तिको समयको पनि कति बचत हुन्थ्यो होला ? हामी कतिलाई निजी सवारी साधनको आवश्यकता पर्दैन थियो होला ?
भोलिपल्ट बिहानै ६ बजे सिलीगुडी आउन शक्तिनगरवाट प्लेटफर्मतर्फ लाग्दै थियाँै । झिसमिसै थियो । ड्राइभरले गाडीको लाइट बालेर कुदाउँँदा ठाउँठाउँमा चौकिदारले गाडी जाने दिशा देखाइरहेका थिए । बाटोमा दुबैतर्फ केही ठाउँमा कारहरू पार्किङ गरेर राखेका देखिन्थे । अनि, मैले ड्राइभरलाई सोधेँ, ‘किन यी कारहरू त्यतिकै बाटोमा राखेका होलान्, हराउँदैनन्? । उनले भने, ‘सर यहाँ भाडामा बस्नेहरूका पनि आफ्नै गाडी छन् । केहीले त दिनभरि अफिसमा काम गर्छन् अनि राती बाटैमा पार्किङ गरी राख्छन् । भोलिपल्ट अफिस जादाँ फेरि लिएर जान्छन् । लाग्यो, यो पनि ब्यस्त राजधानी सहरको वदलिँदो स्वरूप वा समस्या होला । किनभने दिल्ली यस्तो सहर रहेछ जहाँ हाम्रो देशको कुल जनसङख्याको आधाभन्दा बढी, लगमग एक करोड ७० लाख मानिसहरू बसोबास गर्दा रहेछन् भने सवारी साधनको सङ्ख्या मात्रै १ करोडभन्दा बढी नै रहेछ ।
समयमै रेलभित्र आफ्नो सीटमा बसिसकेका थियाँै । रेलमा दीपावली र छठ पूजाका लागि घर फर्कनेको लर्को थियो । केही यात्रुहरू वेटिङ टिकटका साथ उभिएरै यात्रा गरिरहेका थिए । रेल खचाखच भरिएको थियो । तापनि अधिकांश पूजाका लागि घर फर्कने भएर होला खुशी नै देखिन्थे । त्यति बेला कीर्तिपुरमा (त्रिवि) विद्यार्थी हुँदा वसको टिकट नपाएर मुढामै बसेर दशैमा झापा घर गएको याद आयो । यात्राभर रेलमा प्रायः युवायुवतीहरू मोबाइलवाटै जानकारी लिइरहेको भान हुन्यो । किनभने विभिन्न मोबाईल एप्सवाटै रेल चलिरहेको समय, रोकिने समय र ढिलो चलिरहेको समयको सम्पूर्ण जानकारी पाइँदोे रहेछ । हामी पनि त्यसमा अभ्यस्त भैसकेका थियाँै । लाग्यो, यात्रा पनि अव प्रविधिमैत्री बन्दै रहेछ । सँगसँगै रेलका स्टेसनहरूबाट प्रत्येक व्यक्तिले बिक्री गर्न ल्याउने चिया, विस्कुट, चटपटे, काँक्राले पनि यात्रालाई सहज बनाउँदै थियो । साथै, प्रत्यक्ष्य गीत सुन्दै र समथर जमिनका दृश्यहरू हेर्दै २६ घन्टा लामो रेलको यात्रामा सिलीगुडी आइपुगेको पत्तै भएन । साँझ पर्न लागेको थियो ।
(समाप्त)