शुभारम्भ हुनुभन्दा करिब दुई महिनाअघिदेखि तयारीका खातिर दैनिकजसो यो चोकमा आउनु परिरहन्थ्यो र हरेक दिन बेलुकीपख केही पाका मानिसहरू छेवैमा रहेको डिआर कलरल्याबको अगाडि आउने, उभ्भिने, बस्ने र अलि बौद्धिक किसिमका तर्कसहित गफिएको देखिरहन्थेँ। यी पाका मानिसहरू यसभन्दा अझै सहज बस्ने र गफिने स्थान पाएको भए झनै खुशी हुने थिए होला, सकेछु भने केही त गर्नुपर्ला भन्ने तर्कना मनमा आइरहन्थ्यो।
मैले मेरो पसलको छेवैमा जमघट हुने पाका मानिसहरूलाई अब हजुरहरूको बसाइ अलि ब्यवस्थित बनाउनुपर्ला भनी जानकारी गराउँदा निकै खुशी प्रकट गर्नुहुन्थ्यो । मैले पनि राम्रो एउटा बेन्च बनाएर राखिदिएँ र खुशीखुशी त्यसमा बसेर गफिन थाल्नुभयो, उहाँहरूको अनुभवले खारिएका सुझबुझपूर्ण कुराकानी र प्रस्तुतिले म झन्झन् आकर्षित हुन थालेँ ।
यस चौतारीमा नियमित रुपमा आई घण्टा, दुई घण्टा बिताउनेहरूमा सर्वश्री भैरव रिसाल, झङ्क बाँस्कोटा, डा. हरिहरदेव पन्त, पद्मराज सुवेदी, मदनदास श्रेष्ठ, उमेश मैनाली, गोविन्द रेग्मी, शिवप्रसाद भट्टराई (ढाक्रे ट्रान्सपोर्ट) जङ्गबहादुर गन्धर्व, केदार न्यौपाने, गोपाल थापा, उत्तरबहादुर ऐर, रमानाथ जोशी, नारायण ओझा, माधव रेग्मी, पद्मकेशर मैनाली, बलराम सापकोटा, अच्यूतरमण अधिकारी, फणिन्द्र कार्की, अशोक ढकाल, मुकुन्द बाँस्कोटा, प्रा.डा. सिद्धि कोइराला, प्रा.डा. विजयकुमार रौनियार, प्रा.डा. माधव भट्टराई, सुशील कार्की, उत्सव ढकाल, ईश्वरी रिमाल, नारायण भट्टराई, कृष्णप्रसाद न्यौपाने, गोविन्द भट्टराई, बिनोद भट्टराई, केशव भट्टराई, माधव भट्टराई, जगत जोशी, दीर्घराज उपाध्याय, नरेन्द्र जङ्ग पिटर, देवशङ्कर पौडेल, खडक शाही, केडिबी राउत क्षेत्री, मनोज उप्रेती, रामनारायण देव, प्रेम थापा, तेजकुमार शर्मा, महेन्द्र राई, रघु मैनाली लगायत हुनुहुन्छ भने कहिलेकाहीं अभिरूचिपूर्वक छलफल चलाउनेहरूमा हरि न्यौपाने, विश्वकान्त मैनाली, डा. सुरेन्द्र केसी, तारिणिदत्त चटौत, शिवराज जोशी, साबित्री भूषाल, टड्क कँडेल, पुष्करनाथ लोहनी, नरेन्द्रराज प्रसाई, शिव अधिकारी, पुरु रिसाल, राधेश्याम लेकाली, प्रा.डा. माधव भट्टराई, अर्जुनप्रसाद मैनाली, दुर्गानाथ दाहाल, प्रकाशचन्द्र परियार, मनोजकुमार अधिकारी, जैन्द्र कार्की, बलराम बाँस्कोटा, गोपालप्रसाद थपलिया, हरिहर वाग्ले, लक्ष्मी उप्रेती, लक्ष्मी प्रसाई, दीर्घराज प्रसाई, डा लक्ष्मीराज पाठक, प्रदीप पौडेल, सिंहबहादुर श्रेष्ठ, हरिचरण साह, प्रदीप पुडासैनी, अर्जुन श्रेष्ठ, नरेन्द्र उपाध्याय, कृष्णराज जोशी, जगत नेपाल, कमल अधिकारी, सन्तोष श्रेष्ठ, लक्ष्मण भट्टराई, अर्जुन घिमिरे, हिक्मत कार्की, सूर्य थापा, किशोर कुमार गौतम, नरेन्द्र प्यासी, आयुष रिजाल, धिरज राई, मनराज नकर्मी, श्यामसुन्दर अधिकारी, अर्जुन घिमिरे, जीवन शर्मा, इन्द्र न्यौपाने, अशोक राई, ॐअकार गौचन, हरिप्रिया पाण्डे, महेन्द्रमान श्रेष्ठ, कृष्ण नगरकोटी, मदन खतिवडा, शुभमान श्रेष्ठ, गणेश श्रेष्ठ, लक्ष्मण खड्का आदि हुनुहुन्छ।
संसारका कतिपय मुलुकहरूमा जेष्ठ नागरिकका आवश्यकताहरूबारे गहिरो अध्ययन, अनुसन्धान गरी सोही मुताबिक व्यवस्थापन पनि हुने गरेको पाइन्छ । हामीकहाँ पनि सिद्धान्तत: जानकारहरूको कमी नहोला तर व्यावहारिक पक्ष अत्यन्तै फितलो नै छ । यसको एउटा उदाहरण यो चौतारी पनि हो। व्यस्त सडक किनारामा फुटपाथसँगै रहेको यस चौतारीमा वायु प्रदूषण, ध्वनि प्रदूषण, दुर्घटनाको सम्भावना, शौचालयको अभाव लगायत थुप्रै असुविधाहरू नभएका होइनन् तर विकल्प नै नभएपछि गर्ने के? जे जस्तो उपलब्धता छ, त्यसैमा रमाउने त हो नि!
मैले नामै किटान गरेका जेष्ठ नागरिकहरूमध्ये झन्डै आधा दर्जन त परलोक गैसक्नु भएको कुरा दुख:का साथ भन्नुपरेको छ। तीमध्ये अहिले सम्झनुपर्दा स्व. मामा सारङ्गी सम्राट जङ्गबहादुर गन्धर्व, माइक्रो फाइनान्सका पिता स्व. डा हरिहरदेव पन्त, पद्मराज सुवेदी, अधिवक्ता कृष्णप्रसाद न्यौपाने, समाजसेवी पद्मकेशर मैनाली, पुष्पनिधि दाहालहरू हुनुहुन्छ। दुई-चार जना चाहिँ अब यस चौतारीसम्म आउन समेत असमर्थ हुन थाल्नुभएको छ। पाका मानिसहरूसँगको साथका अनेकौँ फाइदाहरू हुन्छन् र छन्, तर बेफाइदा चाहिँ एउटै तर गम्भीर खालको हुँदोरहेछ त्यो के भने अचानक सदाको लागि यो संसारै छोडेर जाने । यद्यपि को पहिला र को पछि भन्ने कुरा यकिन हुँदैन, तै पनि मेरो अनुभव त्यस्तै रह्यो।
पाका मानिसहरूमध्ये केही अत्यन्त अध्ययनशील र जानकार हुनुहुन्छ भने केही अनुभवी, कसैसँग प्राग्ऐतिहासिक र ऐतिहासिक ज्ञान छ भने कुनैसँग भोगाइ छ।
भोगाइको आधारमा आफूले पाएको दीर्घजीवन आफनै लागि बोझ भएको र आफू आफ्नो जीवनदेखि असन्तुष्ट रहेको अनुभव कसैसँग छ भने कोही दीर्घजीवन आफूलाई वरदान भएको र झनै सक्रिय, सन्तुष्ट अनि सार्थक जीवन जिइरहेको सुनाउनुहुन्छ। कसैले बृद्ध अवस्थामा हेलाहोचो ब्यहोर्नु परेको छ भने कसैले पहिलेभन्दा धेरै माया, ममता र सम्मान पाइरहेको अनुभव छ। तर अधिकांशसँग एउटै पीडा के रहेछ भने छोराछोरी विदेश पलायन भएको र अकस्मात मृत्युवरण हुँदा २/४ दिन लाश राखेर मात्रै सत्गत गर्नुपर्ने पीडादायी अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको ठहर छ।
विगतको पोलाइबाट झण्डैझण्डै मुक्त रहनु भएकाहरूमध्ये यहाँ भैरव रिसालको उदाहरण लिन मन लाग्यो। रिसालज्यूका बारेमा मात्रै एक लाख शब्दमा वयान गर्न सक्ने अनुभव छ मसँग तर यहाँ एउटा सानो उदाहरण मात्रै पस्कन्छु; एउटा शृजनशील युवाहरूको सानो जमातले आयमूलक तर राष्ट्रिय भेषभूषा र संस्कृतिको जगेर्ना हुनेगरी थालनी गर्न लागेको प्रतिष्ठानको शुभ मुहुर्तमा भैरव रिसाल र म समेतलाई निमन्त्रणा प्राप्त भयो, समयमै हामी सँगसँगै पुग्यौँ । अन्य आमन्त्रितहरू पनि खचाखच भैसक्नुभएको थियो तर आयोजकहरूको केवल छट्पटी मात्रै देखिन्थ्यो। भैरव रिसालज्यूको समिपमै एकजना पूर्वमन्त्री पनि हुनुहुन्थ्यो। उहाँले आयोजकमध्येका एकजनालाई बोलाउँदै भन्नुभयो, ‘अब के बाँकी रह्यो?’ आयोजकको जवाफ थियो, ‘प्रमुख अतिथि मन्त्रीज्यूको प्रतिक्षामा छौँ ।’ तत्काल पूर्वमन्त्रीले भन्नुभयो “सुन्नुस्, यहाँनेर भैरव रिसाल दाइ हुनुहुन्छ, वर्तमान नेपालमा भैरव दाइको भन्दा अग्लो कद भएको स्वाभिमानी व्यक्ति अर्को कोही छैन र अब उहाँ आइसकेपछि कसैको प्रतिक्षा जरुरी हुँदैन, भैरव दाइलाई प्रमुख अतिथि मानेर कार्यक्रम शुरु गरौँ,” आयोजकले पनि दङ्ग पर्दै तत्काल कार्यक्रम शुरु गरे र भैरव रिसालले कलात्मक रिवन काटी समुद्घाटन गर्नुभयो।
त्यस्तै पूर्व गृहसचिव तथा वर्तमान लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको सादगी, सरलता, अध्यनशीलता, सरस प्रस्तुति र जतिसुकै उचाइमा उडान भरिरहे पनि धर्ति नविर्सने प्रवृत्ति उदाहरणका लागि काफी छन्। विगतमा लामो राष्ट्रसेवा पश्चात् पनि ग्लानी गर्नुपर्ने कर्म नगरेका कारणले उहाँमा देखिने आत्मविश्वास अनुकरणीय छ।
त्यस्तै विशिष्ट कलाकार नाट्यभूषण मदनदास श्रेष्ठको पाकेटबाट खसेको पर्स एजजना चाबहिलतिर बस्ने युवाले फेला पार्नुभएछ र पाँच दिनपछि टेलिफोन सम्पर्क गरी उहाँको निवासमा आई जस्ताको तस्तै (नगद र कागजपत्र सहित) बुझाउनुभएछ । यसबापत् म तपाईलाई के गरौँ भनी मदनदासले सोध्दा ‘केही पर्दैन, हजुरसँग एउटा सेल्फी लिन पाए पुग्छ’ भन्दै सेल्फी लिएर बिदा हुनुभएछ। यो उदाहरण पनि कर्मकै फल हो भन्ने मेरो ठम्याइ हो।
निष्कर्षः सर्वाधिकार सम्पन्न स्थानीय निकायका, गाउँटोलसम्म जनाधार भएका तर व्यस्त, पदाधिकारीहरूसँग अपेक्षा सहित ठूलो अर्थ र परिणाम निकाल्ने एउटा सानो सुझाव दिन मन लाग्यो- यदि तपाई हामीले पनि दीर्घजीवन पाउन सक्यौँ र त्यो बेला आफ्ना दौतेरीहरूसँग एकै क्षणका लागि भए पनि गफिन मन लाग्यो भने कम्तिमा एउटा टोलमा एउटै मात्र भए पनि यस्तो सर्वजनिक स्थान उपलब्ध होस् र त्यो स्थानको खोज गरी व्यवस्थापन गर्नेतर्फ आजैबाट तपाई-हामीमा प्रेरणा जाग्न सकोस् र सार्थक होस् । शुभकामना !