कुनै एउटा समय थियो – दिन रेडियोबाट सुरु हुन्थ्यो र रेडियोमै टुङ्गिन्थ्यो । रेडियो भन्दै सुत्ने र रेडियो भन्दै उठ्ने गरिन्थ्यो । राती ११ बजे घर पुगेर विहान ५:३० बजे आँखा मिच्दै रेडियोमा हाजिर । एकाबिहानै रेडियोमै नमस्कारबाट दिन सुरु गरेर रेडियोमै नमस्कारबाट अन्त्य हुन्थ्यो । दिनभरि फिचरका लागि अन्तर्वार्ता खोजिन्थ्यो र रातभरि घरमा लेखिन्थ्यो । यहाँनेर रेडियोलाई हुर्काउँदै आफैँ पनि हुर्केको हो भन्न मन लाग्यो । तर यी सबै कामका लागि बसभाडा चाहिँ घरमै मागिन्थ्यो लामो समयसम्म । यति हुँदा पनि गुनासो थिएन । किनकि त्यो रेडियोको स्वर्णीम युग थियो । रेडियोमा बोल्न पाएर मात्रै हैन, रेडियोमा बोल्न पाउनु सामान्य कुरा हो । तर बोल्नका लागि बिषयबस्तु तयार पार्नु मूल कुरा हो । सन्तुष्टि चैँ रेडियोमा बोल्न तयार पारेको सामग्रीले धेरै दिन्थे, दिन्छन् ।
त्यो त्यस्तो बेला थियो घरको खाँबामा झुण्ड्याइएको एउटा रहस्य बोकेको सानो भाँडोबाट मान्छेको आवाज आउने । कति किस्सा छन्, त्यो भाँडोभित्र बोलेको मान्छे हेर्न रेडियो फुटाएका हाम्रा हजुरआमा हजुरबाहरूका किस्सा । रेडियोमा बोल्ने मान्छे भेट्दा भगवान भेटेजस्तो हुने । अनि त्यही बेला थियो त्यो सिंहदरवारको ठूलो पर्खालबाट रेडियो बाहिर आएको बेला । अनि भएन त स्वर्णीम युग?
रेडियोमा बजाउन तपाईको आवाज लिन आएको भन्दा मानिसहरू छक्क परेर हेर्थे । अनि आफ्नै आवाजमा आफ्नो समस्या रेडियोमा सुनेपछिको उसको र अन्य श्रोताको प्रतिक्रियाले जोकोहीलाई त्योबेला रेडियोमा जोडिइरहन ऊर्जा दिन्थ्यो । यिनै प्रतिक्रियाले शायद् थकाइ, भोक अभाव सबै बिर्साइदिन्थे ।
रमाइलो कुरा के हो भने आई.ए. मा मेरो भर्ना गरिदिएर दाइले ल्यादिका बिषयहरूको सूचीको अन्तिममा जर्नालिज्म थियो । अङ्ग्रेजी, नेपाली, इकोनमिक त नयाँ थिएनन्, यो जर्नालिज्म भन्ने बिषय नितान्त नौलो थियो । यसका बारेमा सोधेको त हो तर कलेज गएर पढ्न थालेपछि थाहा हुन्छ भन्ने जवाफ पाइयो । यो जर्नालिज्म भनेको के हो भनेर साधेको दुई वर्षमा यो पेशामा लागियो इन्टर्नशीपका रुपमा । पढेको त के हो र ? धेरै गरेर सिकियो । एक वर्षजति एउटा दैनिक पत्रिकामा इन्टर्नका रुपमा काम गरेपछि जोडिएको रेडियो यात्रा लगभग १५ वर्ष रह्यो । जीवनको सवैभन्दा ऊर्जाशील समय रेडियोमै वित्यो ।
काम गर्दै सिक्दै, रेडियोको स्वर्णकालमा रेडियो अभियानमा जोडिन पाएकोमा गर्व छ । भलै त्यतिबेलाका दुःखको पाटो केलाउन बाँकी नै छ ।
चलिरहेको, पढिरहेको र बुझिएको पत्रकारिताभन्दा बिल्कुल भिन्न पत्रकारिताको अभ्यास रेडियो सगरमाथा थियो । नेताका भाषणको समाचार वा हेडलाइन हैन थानकोटमा धान काटेको वा बाग्मती प्रदुषित बनेको, यस्तै हेडलाइन बनाइन्थ्यो । बाटो हिँड्नेका आवाज हुन्थे, त्यसैले रेडियो सगरमाथा देशका अन्य सामुदायिक रेडियोको रोलमोडल भएको थियो । कतिसम्म भने कुनै समय बाहिर सामुदायिक रेडियो सन्चालन गर्ने योजना बनाएकाहरूका लागि यो रेडियो तीर्थस्थल थियो । मलाई याद छ, कतिले रेडियो सगरमाथाको समाचारकक्षको साइज समेत नापेर
लग्नुभएको छ ।
हामीकहाँ केन्द्रबाट बज्ने रेडियोका समाचार, पट्टयार लाग्दा नेताका भाषण र घण्टौं तिनैका अन्तर्वार्ताले स्रोतालाई झन निराश बनाएको छ । हामीले उठाउनुपर्ने बिषयबस्तुलाई चटक्कै बिर्सिएका छौं । अरुले उत्पादन गरिदिएका समाचार र कार्यक्रममा निर्भर भएका छौं । जसले स्थानीय जनशक्तिले आफ्नो क्षमता तिखार्न पाएका छैनन्, रेडिमेड कार्यक्रमका कारण सिर्जनशीलता मरेको छ, स्थानीयले अपनत्व लिएका छैनन् र विज्ञापनदाता वा सहकार्य गर्न इच्छुक स्थानीय संघसंस्थाहरूले पत्याएका छैनन् । यसकारण आर्थिक रूपमा आत्मनिर्भर हुन नसक्दा सामुदायिक रेडियोहरूमा चरम आर्थिक सङ्कट छ । दक्ष जनशक्तिको अभाव अत्यन्तै खट्किरहेको छ ।
यो त्यसै भएको थिएन । रेडियोले उठान गरेका बिषयबस्तु र यी विषयबस्तु पस्किने र प्रस्तुत गर्ने शैलीका कारण पनि यो रेडियो अरुका लागि रोलमोडल भएको हो । पछि धेरै रेडियो खुल्ने क्रममा यो शैली धेरै रेडियोले पछ्याएका छन् अहिलेसम्म पनि । तर अब यस्तो रेडियो फर्म्याट फेज आउट भयो । खेतबारी, वनपाखामा काम गर्न जाँदा रेडियोलाई रुखमा झुण्ड्याएर सुन्ने जमानाको फेज आउटसँगै रेडियो नेपाल होस वा एफएमहरूमा पुरातनबादी कार्यक्रम उत्पादन र प्रस्तुति गर्ने शैली पनि फेज आउट गर्ने बेला भयो । बजारमा रेडियो किन्न पाइन छाड्यो । अब हात हातमा स्मार्ट फोनमा र अब त एपमा सुन्ने जमाना आयो । सूचना पाउने प्रशस्त विकल्पहरूका कारण अहिले रेडियोको युग सकिएको हो कि भन्ने चिन्ता बढ्न थालेको छ । हुन त सूचना प्रविधि विकासको प्रत्येक चरणमा यस्ता खालका चुनौती नआएका हैनन् । जुन बेला रेडियाको युग सुरु भयो, त्यो बेला पनि अब पत्रपत्रिकाको युग सकियो भनिएकै हो । दैनिक पत्रिका आएपछि साप्ताहिकको युग सकियो पनि भनिएको हो । तर अहिलेसम्म ती सबैको अस्तित्व र महत्त्व आफ्नो ठाउँमा छदैछ । अहिले अनलाइन र सामाजिक सन्जाल यी सबैका चुनौति बनिरहेका छन् । जति नै चुनौति आए पनि यी सबैको महत्त्व आआफ्नो ठाउँमा छ यदि यी माध्यमले समय अनुसार आफ्ना बिषयबस्तु र प्रस्तुतिलाई पनि परिमार्जन गर्न सके भने ।
सवैभन्दा समस्यामा अहिले सामुदायिक रेडियोहरू छन् । खासगरि सामुदायिक रेडियोहरूको दिगोपन अत्यन्तै चुनौतिपूर्ण भएको छ । देशभरिका ३ सयभन्दा धेरै सामुदायिक रेडियो जसले आम नागरिकलाई सूचना के हो जानकारी दिए, आम नागरिकलाई आफ्नो अधिकारका बारेमा खै गर्न सिकाए, रेडियो प्रविधिलाई आमनागरिकमा सामान्यीकरण गराए र रेडियोमा ठूला मान्छे मात्रै बोल्न पाउँछन् भन्ने भ्रमलाई तोडी ती अत्यन्तै सामान्य नागरिक, आम किसान, महिला र हिंसा पीडितहरूका आवाज बने, उनीहरूको अहिलेको अवस्था अत्यन्तै नाजूक छ । न अघि बढ्न सक्ने न पछि फर्किन सक्ने अवस्थामा यिनीहरू छन् ।
यसो हुनुमा यसका कारण धेरै होलान् । नीतिगत कारण होलान् । तर सवैभन्दा महत्त्वपूर्ण कारण चाहिँ सामुदायिक रेडियोहरूमा काम गर्ने ऊर्जाशील जनशक्ति नहुन पनि हो । यस्तो हुनुको पनि कारण छ । धेरैजसो सामुदायिक रेडियोमा बिभिन्न प्रडक्सन हाउसहरूले उत्पादन गरेका र काठमाडौंमा स्याटेलाइटबाट बज्ने समाचार र समाचारमूलक कार्यक्रम बज्ने गर्छन् । बाहिरका सामुदायिक रेडियोको समय खपत् रेडिमेड कार्यक्रमहरूले भइरहेका छ । यसले गर्दा ती रेडियोमा धेरै जनशक्तिको आवश्यकता पनि परेन । जसले स्थानीय जनशक्ति र बिषयबस्तुलाई वेवास्ता गरेको छ । यसले बिषयस्तुमात्रै हैन, ती रेडियोमा सोझै आउन सक्ने विज्ञापन काठमाडौंबाट स्याटेलाइटमा भएका रेडियोहरूले पाइरहेका छन्, ती रेडियोमा सोझै जानसक्ने सहयोग यहाँका प्रडक्सन हाउसले पाइरहेका छन् । देशभरिका सामुदायिक र अन्य रेडियोसँगको नेटवर्किङ देखाएर काठमाडौंबाट देशभरि प्रसारण हुने रेडियोहरूले दाता कब्जा गरिरहेका छन् । जसले गर्दा ती रेडियोले पाउन सक्ने आर्थिक सहयोग नराम्रोसँग खुम्चिएको छ ।
बिषयबस्तुको कुरा
सामुदायिक रेडियोमा आउने बिषयबस्तु स्थानीय हुनुपर्छ भन्ने सामान्य सिद्धान्त हो । त्यसैले सामुदायिक रेडियोहरू प्राविधिक रूपमा पनि सानो क्षमतामा सञ्चालन हुन्छन् र वरिपरिका विषयवस्तुलाई प्राथमिकतामा राख्छन् । तर हामीकहाँ केन्द्रबाट बज्ने रेडियोका समाचार, पट्टयार लाग्दा नेताका भाषण र घण्टौं तिनैका अन्तर्वार्ताले स्रोतालाई झन निराश बनाएको छ । हामीले उठाउनुपर्ने बिषयबस्तुलाई चटक्कै बिर्सिएका छौं । अरुले उत्पादन गरिदिएका समाचार र कार्यक्रममा निर्भर भएका छौं । जसले स्थानीय जनशक्तिले आफ्नो क्षमता तिखार्न पाएका छैनन्, रेडिमेड कार्यक्रमका कारण सिर्जनशीलता मरेको छ, स्थानीयले अपनत्व लिएका छैनन् र विज्ञापनदाता वा सहकार्य गर्न इच्छुक स्थानीय संघसंस्थाहरूले पत्याएका छैनन् । यसकारण आर्थिक रूपमा आत्मनिर्भर हुन नसक्दा सामुदायिक रेडियोहरूमा चरम आर्थिक सङ्कट छ । दक्ष जनशक्तिको अभाव अत्यन्तै खट्किरहेको छ ।
अहिले देश सङ्घीयतामा गइसकेको छ । यसमा स्थानीय वा प्रदेश सरकारले स्थानीय सञ्चारमाध्यमलाई गर्नसक्ने नियन्त्रणको छुट्टै बहस होला तर सामुदायिक रेडियोहरूलाई प्रशस्त अवसर स्थानीयस्तरमै हुनसक्छ । केन्द्रका समाचार हैन, स्थानीय नागरिक समाजसँग मिलेर आफ्नो ठाउँको एउटा वा दुईवटा सामाजिक समस्यामा मात्रै केन्द्रित गरेर अभियान सन्चालन गर्ने हो भने स्थानीय रेडियोले समाजमा उल्लेख्य परिवर्तन ल्याउन सक्छन् । सुदूरपश्चिममा छाउपडी र बालविवाह बिरूद्ध मात्रै केन्द्रित भएर कार्यक्रमहरू उत्पादन गर्न सकिन्छ । तराईमा दाइजो र तथाकथित बोक्सीबिरुद्धको अभियान गर्न सकिन्छ । यसरी आफ्नै ठाउँको समस्यालाई अभियानका रूपमा अघि बढाएर थोरै मात्रै परिवर्तन ल्याउन सक्ने हो भने आर्थिक रूपमा सहयोग गर्नेहरू केन्द्रका रेडियोमा हैन, स्थानीय रेडियोमै आइपुग्छन् । यसका लागि अतिरिक्त धेरै मेहनत गर्नु पनि पर्दैन । दैनिक आफूले भोग्दै आएका समस्यालाई कार्यक्रम बनाउन तालिम लिन पनि पर्दैन । त्यसैले अब सामुदायिक रेडियोहरूले खिचडी कार्यक्रम उत्पादन प्रशारणभन्दा बिषय केन्द्रित गरेर आफ्नो लक्ष तोक्न सके अहिले भोगिरहेका समस्याबाट केही मात्रामा भए पनि मुक्ति पाउन सजिलो हुन्थ्यो कि ?