काङ्ग्रेसमा जनै काण्ड

“ओ भाइ …, ओ … भाइ ! यो बाटो काँ जान्छ ?”

यो अनकण्टार ठाउँमा एकजना भाइलाई देखेपछि मैले खुशी हुँदै सोधेँ । “दिनभरि यहीँ हुन्छ, राति काँ जान्छ, थाहा छैन” भन्ने चोटिलो जवाफ दिएर भाइ अलप भए । म खिस्रिक्क परेँँ ।

ढुङ्गा खोज्दा देउता मिले जस्तो अर्का ब्यक्ति देखा परे । नम्रतापूर्वक सोधेँ “दाइ, तपाईंको घर कहाँ हो?” उनले पनि सरल जवाफ दिए “तातोपानी ।”

तातोपानीमै भए त खालात्खुलित खुइल्याइहाल्थ्यो नि भनौँ कि जस्तो लागेको थियो तर भनिनँ । किनकि मैले ठ्याक्कै खोजेकै ठाउँको मान्छे भेटेँ । मैले एकछिन बसौँँ न भनेपछि उनी मेरै छेउमा बसे ।

वास्तवमा म खोजपूर्ण समाचारका लागि स्कूप मार्न तातोपानी आएको थिएँ । मैले उनीबाट केही दिनअघि देउवा र पौडेल तातोपानीमा पौडी खेल्दा उनीहरुले “जनै लगाएका थिए” र “थिएनन्” भन्ने बबाल समाचार फुत्काउनु थियोे । सत्यतथ्य पत्ता लगाएर पत्रकारिताको महान् धर्म निर्वाह गर्दै भएङ्कर एङ्कर न्यूज जसरी पनि मैले लेख्नैपर्ने थियोे ।

काठमाडौँमा पौडेलले जनै लगाएकोमा र देउवाले नलगाएकोमा केही अनलाइन र सामाजिक सञ्जालमा व्यापक लेखिएको थियोे । तर, सत्यका नजिक, गहिराइसम्म पुगेर जनै काण्डको सारतत्त्व खैंचिएर कसैले लेख्न सकेन । त्यसैले रातारात उच्चस्तरीय बैठक बसेर म जस्तो जाज्वल्यमान उदाउँदो पत्रकारलाई यहाँ पठाइयो ।

यो जनै काण्ड सामान्य घटना हुँदै होइन । जनै नलगाउने देउवा ठीक कि लगाउने पौडेल ठीक । जनै लगाउने काङ्ग्रेस ठीक कि नलगाउने काङ्ग्रेस ठीक ! खोजी पत्रकारितालाई स्थपित गर्न र जनै काण्डको पर्दाफास गर्नकै लागि म तातोपानी हिँडेको । तर, तातोपानी नै आफ्नो छेउमा टुसुक्क बस्न आएपछि म जस्तो पत्रकार फिल्ड भिजिटमै किन जानू ? मलाई थाहा छँदैछ नि काङ्ग्रेस र जनैको परापूर्व कालदेखिको सम्बन्ध ।

कोइरालाहरूले जनै लगाएनन्, देउवाले त्यही देखे, बुझ्दै नबुझी सिको गर्न खोजे । काङ्ग्रेसलाई चिलिमच्वाँट बनाए । किसुनजी जनै लगाउँथे पौडेलले त्यही देखेर जनै लगाए । तर, नेपाली काङ्ग्रेसको दुर्भाग्य, पौडेलले जनै लगाए पनि उल्टो लगाए । काङ्ग्रेसलाई यिनले पनि धराशायी नै बनाए ।

मित्रहरू! जनै काण्डका बारेमा काठमाडौँमा मात्र हल्लिखल्ली भएको हो कि तातोपानीमा पनि हलचल भयो? मैले प्रत्यक्षदर्शी तातोपानीका दाइलाई सोधेँ । उनले पनि नेपाली पत्रकारले जस्तै कोठामै बसेर प्रत्यक्ष देखेका रहेछन् । मलाई झन् “के खोज्छौ पुरेत जजमान” भने जस्तो भयो ।

उनले भने, “त्यो दिन तातोपानीका महान् ज्योतिषि पनि त्यहाँ आएका थिए । उनले देउवा र पौडेललाई ‘शरीरको मैलो, मनको कलूषित भावना र पाप पखाल्न स्नान गर्न’ भने । उनीहरू दुवै नाङ्गेझार भए । ज्योतिषिले देउवालाई क्षेत्रीको छोरो भएर पनि जनै नलाएकोले काङ्ग्रेसको कलङ्क भन्दै तातोपानी नुहाए पनि फलिफाप नहुने बताए ।

पौडेलतिर हेर्दै गम्भीर भएर ज्योतिषिले भने “बाहुनको छोरो भएर पनि अपसभ्य भएर हिँड्दो रहेछ ।” यो पौडेलबाट पनि काङ्ग्रेस अघि बढ्दैन भनेर ज्योतिषि कड्किए । तातोपानीको यही घटनालाई काठमाडौँका केही सञ्चारमाध्यमले सनसनीपूर्ण खबर बनाएको पनि तातोपानीका दाइले बताए । छुट्टिने बेलामा उनले एक पुरिया चूर्ण दिँदै भने “यो लगेर पत्रकारहरूलाई खुवाउनू । थोरै भए पनि सत्य लेख्नुपर्छ, जनै लाउनु र नलाउनु समाचार होइन भन्ने ज्ञान पलाउँछ ।”

म त्यो पुरिया लिएर आउँदैछु । तर देउवा पोखरातिर छन् भने म अर्कोतिरबाट छड्किन्छु । किनभने पोखरामा देउवाले पत्रकारहरूको सातो लिए अरे । उनले भेटे भने यो पुरिया पनि खोसेर फलिदिन बेर लाउँदैनन् । लौ त, म छड्किएँ अर्कै बाटो । जय नेपाल!

Facebook Comments
Comments (0)
Add Comment