ट्वाँके राष्ट्रियता

काठमाडौंमा तापक्रम बढ्दै गएको छ । अर्थात् गर्मी सुरु हुन थालिसकेको छ । जब सिके राउत विखण्डनको पगरी खोलेर मूलधारको राजनीतिमा छिरे तब काठमाण्डौमा गर्मी सुरु भयो । काठमाडौंका झारपात, सेउला पतिङ्गर, तथाकथित बौद्धिक झुन्ड, ट्वाँके, बेफ्वाँके लगायतको एउटा सानो बथान खलखली पसिना काढेर ठसठसी गनाउन थालेको छ । “के भयो मित्र ?” त्यस्तैमध्येको एउटा चिनेजानेको ट्वाँकेलाई मैले सोधेँ–”खलखली पसिना काढेर बसिरहेका छौ त” ? उसले जवाफ दियो – देखेनौं, सिके राउत आयो । सिके आउनु भनेको राष्ट्र समाप्त हुनु हो । मैले त ओली सरकार गठन हुँदा नै अब राष्ट्र रहँदैन भनेकै थिएँ । जस्तो भनेको त्यस्तै पुग्यो । यति भनेपछि मेरो ट्वाँके मित्र ट्वाल्ल परेर मलाई हेर्न थाल्यो । मैले पनि भनिदिएँ, “ए …! म त तिमी मौसमी गर्मीको पसिनाले भिजेछौ भनेको त राष्ट्र गुमेको चिन्ताले पो निथ्रुक्क भएका र`छौ । अब के गर्छौ ?” “अब के गर्नु , छिर्छु भट्टी र खान्छु ठर्रा” भन्दै ट्वाँके लाग्यो गल्लीतिर ।

म सोच्न थालेँ – यो मान्छे आफूलाई बुद्धिजीवी भन्छ, राष्ट्रवादी भएको दावी गर्छ । पत्रपत्रिकामा, अनलाइनमा लेख लेख्छ । मौका पायो भने टेलिभिजन, रेडियो र मञ्चमा पनि बोल्छ । सिके राउत पक्राउ पर्दा “पक्राउ गर्न पाइँदैन, वाक स्वतन्त्रता कुण्ठित भयो, मानवअधिकार हनन भयो, सिके राउतलाई रिहा गर” भनेर अदुवा जस्तो बटारिने यही थियो । अहिले फेरि ठ्याक्कै उल्टो कुरो गर्छ । प्रधानमन्त्री ओलीको त उछितो काड्छ । भारतले नेपालमाथि नाकाबन्दी लगाउँदा “भारतले नाकाबन्दी लगा`कै होइन” भनेर सिमानाको पुलमा दर्वान बनेर बसेको थियो । अहिले यो सिके राउत नामको लुतो सल्काउन कन्दनी कसेर लागेको छ । सक्ने भए यल्ले सगरमाथा जुरुक्क बोकेर लगेर विहार कटाइसक्थ्यो । उसको एउटा जमात छ जो राम्रो, नराम्रो जस्तोसुकै भए पनि आँखा चिम्लेर ओली सरकारको विरोधका लागि सधैं तयार रहन्छ । मानौं इनार्लाई कसैले भतुवा राखेको होस् । भतुवा नुनको सोझो त गर्छ नै, भातको पनि सोझो गर्छ ।

ओली प्रधानमन्त्री भएपछि केही लठबुङहरू बलिन्द्र धारा आँसु झारेर रोए । हस्पिटल गएको जजमान निको भएर घर फर्कदा उता पुरेत बिमारी भएको अवस्था भोगेका ट्वाँकेहरू “सिके” त्यान्द्रो समाउन पुगेका छन् । उनीहरूका लागि सिकेले आत्मसमर्पण गर्नु राष्ट्रिय विखण्डन हुनु हो । ११ बुँदेको “जनअभिमत” भन्ने शब्द काँधमा बोकेर प्रदर्शनीमा निस्केको ट्वाँके आफ्नो रोजिरोटी गुम्ने डरले पसिना पसिना भएको छ । मुद्दा नभएको झगडीया हुने सम्भावना नजिकै देखेपछि आत्तिएको यो तत्त्व यताउता गल्लीहरूमा कतै कतै अझै प्राप्त छन् ।

Facebook Comments
Comments (0)
Add Comment