पर्सा जिल्लाको विर्तास्थित उतिबेलै बन्द भएर जीर्ण भइसकेको सलाई फ्याक्ट्रीको चौर र जहाँतही भेटिने सलाईको बट्टा बनाउन प्रयोग गरिने पोस्टकार्ड साइजका बलिया १२० ग्राम भन्दा बढी मोटाइको कागजको थाक पाइन्थ्यो । त्यही कागजमा मैले कोर्ने गरेका स्केचहरू तथा केही फेब्रिक रङ्गबाट तयार पारिएका मेरा चित्रकलाको प्रदर्शनी गर्ने जोहो मिलाइदियो स्थानीय स्तरमा महिला हिंसा तथा महिला अधिकारका क्षेत्रमा काम गर्दै आएको संस्था ’महिला जागृति’ ले । सलाईको बट्टा बनाउने कागजमा तयार हरेक स्केचहरूको मूल्य थियो ५० रुपैयाँ ।
यकिनका साथ त भन्न सक्दिनँ तर ४०-४५ वटा त्यस्ता स्केच तथा २ वटा मैले सेतो धोतीलाई प्लाईउडमा टाँसेर आफैले तयार पारेको क्यानभासमा कोरेका चित्रहरू बिक्री भएका थिए । मैले जीवनमा पहिलो पल्ट देखेको त्यतिधेरै एकमुष्ठ पैसा थियो त्यो । खुद्राखाद्री सबै गरी ३५ सय रुपैयाँ मेरो हातमा थियो । मेरो व्यावसायिक जीवन शुरु भएको थियो त्यो । नारायणी उपक्षेत्रीय अस्पतालमा साधारण जागिरे मेरी आमाकै महिनाको तलब पनि ३५ सय पुग नपुग थियो । छोरोले २ दिनको मिहिनेतमा गरेको उपलब्धिले कुन आमाको अनुहारमा खुशी नल्याउला!
बिराटनगरका पवन प्रकाश उप्रेतीले जतिबेला काठमाण्डौमा संघर्ष गर्ने निधो गर्नुभयो, त्यतिबेला नेपाली सञ्चारको नयाँ युग लेख्ने काम नेपाल वातावरण पत्रकार समूहले गर्दै थियो र रेडियो सगरमाथा दक्षिण एसियाकै प्रथम सामुदायिक रेडियो सञ्चालन भइसकेको केही महिनामात्र भएको थियो । रेडियोमा सुरूवाती समयदेखि रेडियोको एनालग कार्यप्रणालीलाई डिजिटल माध्यममा लानका लागि पवन प्रकाश उप्रेतीको योगदानका लागि नयाँ रेडियोका पुस्ताले सम्झिनेछन् । Marantz बाट MD, Cassette बाट CD र सफ्टवेयरसम्मको अध्ययन र सैकडौं रेडियो प्राविधिकहरूमा अडियो हार्डवेयर तथा सफ्टवेयरको दक्षता हस्तान्तरण महत्वपूर्ण रह्यो ।
हो, मैले ३५ सय २ दिनको चित्रकला प्रदर्शनीबाट कमाएको थिएँ तर आमाको हातमा मैले बुझाएको रकम ३ हजार मात्र थियो । मलाई क्वार्टरमा बमबहादुर अंकलले ठूलो स्वरमा बिहान बेलुकी बजाउने रेडियो किन्नु थियो, मेरो आफ्नै रेडियो जसमा मलाई लगभग कण्ठ भइसकेको ९२.९ मा बज्ने मनकामना एफएमको कल साईन सुन्नुथियो (मनकामना एफएम ९२.९) । रेडियो कार्यक्रम त रेडियो नेपालकै सुनिन्थ्यो उतिबेला स्व. पाण्डव सुनारको फोन इन र शनिबार अपरान्ह आउने रेडियो नाटक । तर ९२.९ मा चैं मलाई कल साईन मात्र सुन्नुथियो । मैले आमालाई रेडियो किन्छु भनेँ, आमाले हुन्छ भन्नुभयो ।
अब के चाहियो, आदर्शनगरमा गएर ३५० पर्ने चाइनिज रेडियो मैले किनेँ । अब म आफ्नो रेडियो बोकेरै साथीहरूसँग क्रिकेट खेल्न जान थालें । खुब धित मरुञ्जेल सुन्थेँ मनकामना एफएम । “मनकामनाको मध्यान्ह” भन्ने कार्यक्रमसम्म याद छ अरु तेतीसारो सुन्दिनथें । कार्यक्रममा अरुले फोनमार्फत् प्रस्तोतासँग गफ गरेको सुनेर खुब आनन्द लाग्थ्यो । बमबहादुर अंकलका तीन छोराहरू थिए– जेठा कृष्ण दाइ, माइला किशोर र किरण त साथी नै थिए । रेडियोप्रति मेरो मोह र विभिन्न वक्तृत्वकलाहरूमा मेरो सहभागिता देखेर त्यसबेला रेयूकाईले दिएको ७ दिने रेडियो प्रस्तोताको तालिमका लागि मलाई कृष्ण दाइले खुब हौस्याउनुभयो र मैले त्यो तालिम लिएँ पनि । रेडियोको संसारमा कृष्ण दाइले मलाई अञ्जानमै प्रवेश गराउनुभयो ।
विक्रम् सम्बत् २०५८ सालमा मध्य तराईकै पहिलो रेडियोको रूपमा वीरगञ्जमा रेडियो खुल्ने हल्ला सुन्न थालें । नभन्दै रेडियो प्रस्तोता तथा प्राविधिक तालिम भनेर पर्सा एफएम प्रा लि (रेडियो वीरगञ्ज ९९ मेगाहर्ज) ले सूचना जारी गर्यो । पहिलो चरणको तालिममा मभित्र सहभागी हुनसक्ने आँटै आउन सकेन । दोश्रो चरणमा भने साथीभाइको सल्लाहले मैले हिम्मत कसें र तालिम लिएँ । त्यसबेला अंकूश दैनिकबाट मैले चिनेका पत्रकार गोबिन्द देवकोटा (हाल महासचिव – अकोराब) लाई तालिम हलमैं भेटेँ र दाई कस्तो छ मेरो सम्भावना भनेर सोधें । राम्रो छ सन्तोष, भोलि एउटा समाचार स्याम्पलको रूपमा लेखेर ल्याऊ भन्नुभो । सोही अनुरूप मैले एउटा समाचार लेखेर वरिष्ठ पत्रकार शुदर्शनराज पाण्डेको तराई टुडे सन्ध्याकालिनमा छाप्न लगाएर त्यस्को एकप्रति बुझाएँ । मलाई मैले लेखेको त्यो समाचार तालिम हलमा वाचन गर्न लगाइयो । सबैले रुचाए मैले लेखेको र वाचन गरेको समाचारलाई ।
केही दिनपछि मूर्ली बगैंचास्थित रेडियोको गेटमा दोश्रो चरणबाट छानिएकाहरूको नामावलीको सबैभन्दा माथि मेरो नाम थियो, म छनौटमा परिसकेको थिएँ । रेडियो कर्मसँगको मेरो दैनिकी अब रेडियो कलाकै वरीपरि घुम्न थाल्यो । रेडियोमा बोल्नु त्यतिबेला कस्तो चुनौती थियो भने मलाई रेडियोले आधिकारिक रूपमा प्रस्तोताका लागि डाकेको ३ महिनापछि बल्ल मलाई अनएयर हुन दियो । त्यो अवधिमा झण्डै मैले ७-८ वटा कार्यक्रमको स्क्रिप्ट तथा १०० बढि टेस्ट रेकर्डिङ मात्र गरीसकेको थिएँ ।
आज मेरो आवाज अनएयर हुँदैथियो साँझ ६:३० बजे । कार्यक्रम थियो Cyber Sansaar ।
पवन प्रकाश उप्रेती र रेडियो प्रविधि
बिक्रम सम्वत् २०६० सालमा मल्टिमिडिया तथा म्यानेजर मिटका लागि काठमाण्डौस्थित संस्था इक्वेल एक्सेसले २ दिनका लागि पोखराको होटल फेवा प्रिन्सउमा डाके अनुरूप म जीवनको दोश्रो पोखरा यात्रामा थिएँ । इक्वेल एक्सेस भनिसकेपछि त्यस संस्थासँग जुटेको एउटा नामसँग परिचयका लागि म अत्यन्तै उत्साहित थिएँ । मेरो उत्साहले त्यो नाम कार्यक्रमस्थलमा खोजिरह्यो तर अपरान्हसम्म भेटिन । तर एउटा राम्रो कुरो के भने त्यसदिनको परिचय नै मैले रेडियो सगरमाथाको कार्यक्रम मिर्मिरे भाकामा मैले सुनेको व्यक्तित्व उपेन्द्र अर्याललाई भेटेँ, उहाँ इक्वेल एक्सेसको संस्थापक हुनुहुँदो रहेछ । साह्रै उर्जायुक्त भेट थियो त्यो । भेटमा उपेन्द्र सरले भनेको कुरा अझै ताजै लाग्छ, “हामीसंगै काम गर्नुपर्छ सन्तोष ! काठमाण्डौ आऊ” । सानो ठाउँमा सीमित उचाइ देखेको मजस्तो मान्छेले काठमाण्डौमा जागिर त के, एक हप्ता बस्ने कल्पना समेत गर्नसक्ने अवस्था थिएन ।
हामी गफिंदै थियौं नवविवाहित झै देखिने एक जोडी हामी गफ गर्दै गरेकोतर्फ आइपुगे । उपेन्द्र सरको कोही परिचित होलान् भनेर र त्यहाँबाट अन्तै लागें । भरे भेलाकक्षमा त उही जोडीबाट मेरै उमेरका लाग्ने एकजना वक्ताको रूपमा आईपुग्नु भो । इक्वेल एक्सेसको भावी योजना तथा काठमाण्डौबाट जिल्लामा रेडियो सामग्री पठाउने चुनौती र सम्भावनाका विषयमा उहाँले आफ्नो विचार राख्न आइपुग्नु भो । परिचयको क्रममा बल्ल थाहा भो वहाँ पवन प्रकाश उप्रेती हुनुहुँदो रहेछ । विवाह भएको केही दिन मात्र भएको भाउजुलाई संगै लिएर आउनुभएको रहेछ । दुवै बुढाबुढी अत्ति मिल्ने । जहाँ बाहिर गए पनि हरेक कार्यक्रममा मैले नियमित झै भाउजुलाई देख्थें । पवन प्रकाश उप्रेतीको नाम मैले नयाँ नयाँ अडियो एडिटिङ सफ्टवेयरको खतरा विज्ञको रूपमा सुनेको थिएँ । उहाँ त्यतिखेर देशका हरेक रेडियो प्राविधिकका लागि अडियो सम्पादन सफ्टवेयर Cool Edit को गुरु हुनुहुन्थ्यो । उहाँ रेडियो प्राविधिकका लागि कुनै स्टार भन्दा कम हुनुहुन्थेन ।
बिराटनगरका पवन प्रकाश उप्रेतीले जतिबेला काठ्माण्डौमा संघर्ष गर्ने निधो गर्नुभयो त्यतिबेला नेपाली संचारको नयाँ युग लेख्ने काम नेपाल वातावरण पत्रकार समूहले गर्दैथियो र रेडियो सगरमाथा दक्षिण एसियाकै प्रथम सामुदायिक रेडियो सञ्चालन भइसकेको केही वर्ष भएको थियो । रेडियोमा सुरूवाति समयदेखि रेडियोको एनालग कार्यप्रणालीलाई डिजिटल माध्यममा लानका लागि पवन प्रकाश उप्रेतीको योगदानका लागि नयाँ रेडियोका पुस्ताले सम्झिनेछन् । Marantz बाट MD, Cassette बाट CD र सफ्टवेयरसम्मको अध्ययन र सैकडौं रेडियो प्राविधिकहरूमा अडियो हार्डवेयर तथा सफ्टवेयरको दक्षता हस्तान्तरण महत्वपूर्ण रह्यो ।
पोखराको यस कार्यक्रममा उहाँबाट इक्वेल एक्सेसको भावी प्राविधिक योजना तथा नविन विषयहरूमा सुनिराख्दा ममात्र हैन त्यहाँ देशभरीबाट आउनुभएका सबै रेडियोका स्टेशन प्रमुखहरू, प्राविधिकहरू पवनजीको प्राविधिक दक्षताको कायल बनिसकेका थिए ।
जिन्दगीमा हामीले अनुमानै नगरेका विषयमा उहाँ धारा प्रवाह बोलिरहनुभएको थियो । दुर्गम हिमाली जिल्लामा SLC को रिजल्ट भएको पत्रिकाको पाना त सार्वजनिक भएको एक सातापछि पुग्ने ठाउँमा Sattelite Multimedia बाट एकैछिनमा देशभर जहाँकहीं पठाउन सम्भव भएको र काम प्रारम्भ भएको जानकारी गराउँदै हुनुहुन्थ्यो । मेरा लागि ती सब चमत्कारभन्दा पनि बढी नै थिए । म भेट्न चाहन्थें । व्यक्तिगत रूपमा जिल्लाको अनुभव र मैले पनि प्राप्त गरेका प्राविधिक उपलब्धिका कुरा शेयर गर्न चाहन्थें । संयोग कस्तो भने त्यसअघि नै उपेन्द्र सरले मैले HTML मा रेडियो जिङ्गल प्रशारण तथा दैनिक क्यूसिटको स्थापनबारे बनाएको सिस्टमबारे पवन सरलाई जानकारी गराइसक्नुभएको थियो ।
पवन सर चिया गफका बेला मैले तयार पारेको सिस्टमबारे बुझ्न थाल्नु भो । सन्तोषजी लौ न यसबारे हामी पनि इच्छुक छौं के गर्न सकिन्छ? शेयर गर्नुहोस् । म त एकछिन मसँग यो के भइरहेको हो बुझ्नै सकेको थिइन । जे होस् मलाई त्यो भेटले अात्मबल दिएको थियो रेडियोकर्ममा लागिरहन । वहाँ भोलिपल्टै काठ्माण्डौ फर्किनु भो । त्यसपछि हाम्रो धेरै वर्ष भेट भएन ।
विक्रम सम्बत् २०६७ मा मैले इक्वेल एक्सेसमा काम शुरु गरें र २०६८ मा USAID र CHEMONICS Nepal को पहलमा इक्वेल एक्सेसले रेडियो इतिहासकै ठूलो प्राविधिक अपडेटको घोषणा भयो । व्याववसायिक तथा सामुदायिक समेत गरी ३१८ वटा एफएम रेडियोहरू सञ्चालनमा थिए त्यसबेला । सबै रेडियोको Satellite Propagation Coverage Mapping हुनेभयो । त्यसअघि सन् २००८ मा पवन प्रकाश उप्रेतीकै प्राविधिक दक्षतामा केही रेडियोको कभरेज म्यापिङ भइसकेकेो थियो ।
मेरा लागि र पवन सरका लागि यो अवसर एउटा फरक अवसर थियो । मेरा हिसाबले पवन सरको निगरानीमा लगभग कभरेज म्यापिङको कामको विज्ञता र अध्ययनको अवसर र पवन सरको हिसाबले यसपटक वहाँ प्रत्यक्ष यो प्रोजेक्टमा नरहने सुरसार । त्यस्तै भयो पनि । वहाँले मलाई एफएम कभरेज म्यापिङ तथा मेरा अनन्य मित्र तथा इक्वेल एक्सेसका प्राविधक प्रमुख अनिल घिमिरेलाई ARC GIS का लागि आवश्यक तालिम सुरु गर्नुभयो । तर डाटा सङ्कलनका क्रममा पवन सरसँग पश्चिमका रेडियोहरूको भ्रमण तथा अध्ययनको मौका मिल्यो । हामीले पवन सरसँगको सिकाइलाई मूर्तरूप दिंदै ५ महिना लगाएर ३११ वटा रेडियोको कभरेज म्यापिङ निकाल्न सफल भयौं । त्यस प्रोजेक्टका क्रममा हामी एकअर्कासँग व्याववसायिक सहकार्य गर्न सकिने विषयमा नजिकिएका थियौं । नेपाली रेडियोको इतिहासमा रेडियोको प्रविधिगत उपलब्धिका हिसाबले यो परियोजना World Space Satellite जस्तो मल्टिमिडिया परियोजनापछिको दोश्रो ठूलो परियोजना हो ।
“सन्तोषजी, जागिर छाड्न सक्नुहुन्छ ? हो भने आउनुस संगै काम सुरु गरौं ।” मलाई पवन सरले भनेको यो प्रश्नमा निर्णय लिन कत्ति पनि समय लागेन । सुरु गरौं सर भने र विक्रम सम्वत् २०६९ मा मैले इक्वेल एक्सेसबाट विदा लिएँ र म, पवन सर र सरका आत्मिय साथीहरू मधु आचार्य, जितेन्द्र राउत तथा यता इक्वेल एक्सेसका ब्रभिम कुमार, अनिल घिमिरे तथा रुपेन्द्र कायस्थ सहितको Cool Tool Digital Media Pvt. Ltd. हामीले शुरु गर्यौं ।
रेडियोको सामग्री छनौटमा सिधै रेडियो सामग्री विक्रेताकहाँ जिल्लाका रेडियोका साथीहरू कत्ति पुग्थे थाहा भएन मलाई तर रेडियो अपडेट गर्नुअघि, रेडियोका कुनै पनि नयाँ सामान किन्नुअघि अथवा नयाँ रेडियो स्थापनाका लागि प्राविधिक सल्लाह मात्र पनि लिन आउने साथीहरूको जमात ठूलै थियो । अझ कतिपय रेडियोका साथीहरू त “रेडियोमा नयाँ प्रविधि के छ?” भनेर सोध्न आउनेहरू नै
प्रशस्त हुन्थे ।
देशमा सन् २००८ मा भएको रेडियोको पहिलो BAS Survey होस् या सोही वर्ष स्थानीय एफएम रेडियोको प्रशारण पहुँचबारे भएको प्रथम स्याटेलाइट नक्शांकनको काम, उज्यालो ९० नेटवर्कलाई स्याटेलाइट प्रविधिमा जोड्ने पहल या World Space Satellite जस्तो मल्टिमिडिया परियोजना नेपाली रेडियोको विकासमा उहाँले पुर्याउनुभएको योगदान महत्वपूर्ण छ । सन् २००७ देखि २०१५ सम्म अफ्रिकी मुलूक छाड तथा नाईजरका रेडियो अभियन्ता तथा रेडियोकर्मीहरूबीच पनि उहाँ लोकप्रिय हुनुहुन्थ्यो । इक्वेल एक्सेस इन्टरनेशनलको पहलमा वहाँले छाड तथा नाइजरङमा १५ भन्दा बढी रेडियोहरूको स्थापना तथा कभरेज म्यापिङ गर्नुभएको थियो ।
स्मरणीय रहोस्, देशमा पहिलो पल्ट पूर्णत: वैकल्पिक उर्जाबाट (सोलार र विण्ड इनर्जी)को हाइब्रिड सेटअप गरी बझाङको चैनपुरमा बिक्रम सम्बत २०७१ सालमा रेडियो साईपालको प्रशारण गर्नुभएको हो । छोटो तर प्रभावकारी उर्जायुक्त उमेर लिएर आउनुभएका रेडियो प्रविधिका नामुद हस्ती पवन प्रकाश उप्रेतीको बिक्रम सम्बत् २०७२ साल दशैंको बखत निधन भएको हो । उहाँ मरेर गए पनि देशको रेडियोको विकासका लागि उहाँको अध्ययन तथा योगदान अतुलनीय छ । हामी कैयन डाँडाकाँडासँगै यात्रा गरेको स्मरण र उहाँसँगको काम गर्दाको अनुभव मेरो व्यावसायीक जीवनको सबैभन्दा ठूलो उत्प्रेरणा बनेर बसेको छ ।
पवन सरको एउटा शिक्षा अर्थात् एफएमको कभरेज म्यापिङ तथा प्रशारण सर्भेको कामलाई हिजोआज निरन्तरता त दिन सकेको छैन तर भेटेरै कभरेज म्यापिङको अनुरोध गर्ने केन्द्रदेखि स्थानीय स्तरका रेडियोले अझै बेलाबेला सोधिखोजी गरिरहन्छन् । प्रशारण सुधारमा यसको भूमिका अत्यन्त ठूलो भएकाले सक्दो राम्रोसँग अन्तिम कभरेज रिपोर्ट अझै कहिलेकाहीं निकाल्दै आएको छु । अहिले बेग्लै पेशामा छु तर सञ्चारमैं छु, सञ्चार सामग्री तथा रेडियो प्रशारणको प्रविधिगत अध्ययन र योगदानका लागि बाँचुञ्जेल सेवा गरिरहनेछु । धन्यवाद !
Twitter: @skdevkota
Gmail: skdevkota@gmail.com