नेपाली समाजको आकार र प्रविधि सम्वन्धी ज्ञानको स्तरका नजरबाट हेर्दा विगत दुई दशकमा भएको स्वतन्त्र रेडियोहरूको विस्तार असम्भव, अकल्पनीय र अभूतपूर्व उपलब्धि हो । नेपालमा पुग नपुग छ सय रेडियोहरू हाल सञ्चालनमा छन् । झण्डै ८५ प्रतिशत नेपालीले सञ्चारमा स्वतन्त्र रेडियोको समानान्तर पहुँच पाएका छन् । सालाखाला दश हजार व्यक्तिहरू रेडियोमा प्रत्यक्ष संलग्न छन् । विशेषगरी युवा पुस्ता र ग्रामीण जनताका लागि वहसको भरपर्दो र नयाँ मञ्च उपलब्ध भएको छ । आवाजको विविधता हरेक मिनेट, हरेक घन्टा र हरेक दिन गुञ्जिरहेको छ । यी रेडियोहरूले छाडेका प्रभाव र सफलताका कथ्य प्रमाणहरू पनि दोहो¥याएर सुनाउँ–सुनाउँ लाग्ने रोचक छन्, घतलाग्दा र गर्व गर्न लायक छन् ।
समुदायको कुरा गर्ने तर बजारका स्वार्थसँग एकाकार हुने दुविधामा रेडियोहरू अल्झिएका छन । अधिकांश रेडियोहरू एउटै ढाँचामा चलेका छन, विविधता छैन, सिर्जनशीलताको अभाव छ, आदतका दास जस्ता लाग्छन् । मुद्दा यही हो– जबसम्म पुरानो ढर्राको सोचाइलाई भङ्ग गर्न सक्दैनौँ, तबसम्म रेडियोको भरपर्दो विकासको सम्भावनालाई व्यवहारमा उतार्न त परको कुरा, त्यो सम्भावना देख्न पनि सक्दैनौँ ।
नेपाली समाजले आत्मसात गरेको यो नयाँ संस्कारबारे मन्थन गर्न हालसालै एएसडीको सहयोगमा दि राईटिङ वर्कसपले अवसर जुरायो । रेडियोका अभियन्ता, एसोसिएसनका प्रतिनिधि, रेडियो कार्यक्रम उत्पादन गर्ने गृहहरूका प्रतिनिधि र रेडियोका बारेमा अनुसन्धान गरिरहेका विज्ञहरू एउटै टेवुलमा बसेर “रेडियोका दुई दशकः अब रेडियोको बाटो के?” भन्ने विषयमा खुलेर गहिरो मन्थन गरे । उनीहरूसँग विगतमा गरेका कार्यहरूप्रति गर्वभन्दा धेरै विगत र भविष्यबारे प्रश्नहरू थिए । उज्यालो रेडियोका अध्यक्ष तथा वरिष्ठ पत्रकार गोपाल गुरागाईसँग प्रश्न थियो– मिडियाको आयु तिनको विश्वसनीयतामा निर्भर गर्नेगर्छ, तर हामी रेडियोहरू विश्वसनीयता आर्जनमा कहाँनेर चुक्यौँ ? स्वतन्त्र रेडियोका अर्का कर्मठ पात्र मधु आचार्यसँग अर्को प्रश्न थियो– हामीले अनुसन्धानबाट प्राप्त तथ्य÷तथ्याङ्कहरूलाई रेडियो विकासका लागि किन प्रयोगमा ल्याउन सकेनौँ? व्रोडकाष्टिङ एसोसिएसन अफ नेपालकी महासचिव दुर्गा अधिकारीसँग पनि प्रश्न थियो– आम मानिसको आवश्यकता बुझेर हामीले कार्यक्रम किन उत्पादन गर्न सकेनौँ ? जागरणकर्मी उपेन्द्र अर्यालसँग प्रश्न थियो– सजिलै काठमाडौंमा उत्पादित सामग्री प्राप्त हुने भएपछि रेडियोहरूले किन स्थानीय कार्यक्रम उत्पादन गर्नुप¥यो त? सञ्चारविद् विनोद भट्टराईसँग प्रश्न थियो– रेडियोहरूले अहिलेसम्म किन श्रोता चिन्नुपर्ने आवश्यकता महसुस गर्न सकेनन्? सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडासँग प्रश्न थियो– यतिका अवधिमा पनि गतिशीलतालाई आत्मसात गर्नसक्ने रेडियो नीति किन जारी हुन सकेन? एन्टेना फाउन्डेसनका कार्यकारी निर्देशक विनय गुरागाईसँग प्रश्न थियो– हामी काठमाडौँका कार्यक्रम उत्पादन–गृहहरू फण्डिङ एजेन्सी का मिडिया साझेदार मात्र भयौँ कि वास्तवमै हामीले जनआकांक्षा अनुसारका रेडियो कार्यक्रम उत्पादन गर्ने कोसिस ग¥यौँ?
छलफलको अवधिभरि उनीहरू साँच्चै नै कुनै बनिबनाउ उत्तर दिन होइन, केही गतिला प्रश्नहरूको खोजीमा केन्द्रित भए । उनीहरूले यस्ता प्रश्न निकाल्ने कोसिस गरे, जसको व्यावहारिक उत्तर खोज्न अबको एक दशक कार्यक्षेत्रमा क्रियाशील हुन सकियोस् र रेडियो अभियानलाई सार्थक बनाउन सकियोस् । उनीहरूका यी प्रश्नभित्र केही समयदेखि रेडियोकर्मीमाझ अस्वाभाविक रूपमा पलाउन थालेको झूठो चेतनाको आडम्बरले रेडियोको अपरिहार्य अभियानलाई अर्थहीन बनाउने हो कि भन्ने सन्त्रास लुकेको थियो । उनीहरूको यो त्रास सामुन्नेमा उभिएको रेडियोको अन्योलग्रस्त भविष्यतर्फ लक्षित थियो ।
रेडियोकर्मी र अभियन्ताहरूले पटकपटक उठाएका प्रश्नहरूको सार प्रश्न हो– वीस वर्षभन्दा बढी थुप्रै रेडियो अभियन्ता र रेडियो सञ्चालकहरूका ओजपूर्ण र उत्कृष्ट प्रयत्नहरू हुँदाहुँदै पनि हामी स्वतन्त्र रेडियोको स्थायित्वका समस्याहरू समाधान गर्न किन अक्षम भयौँ? यी प्रश्नको उत्तर बेलैमा खोजेनौँ भने आगामी दिनका रेडियो उत्सवहरूमा रेडियोहरूको अकाल मृत्यूले हामीलाई सामूहिक शोकमा डुवाउने छ । तसर्थ आज उत्सवकै दिन यसबारेमा केही गम्भीर चासो लेऔँ ।
नेपालका स्वतन्त्र रेडियोहरू भावुक मनोवलको तागतमा टिकेका छन् – ‘हामी जनताका लागि काम गर्न खुलेका, त्यसैले बन्द हुनुहुँदैन, रेडियो वन्द भयो भने समाजका अगाडि कसरी मुख देखाउनू१’ आदि । यो भावुकताले संस्थालाई धेरै अगाडि लैजान सक्तैन । जसको परिणाम– एउटा संस्थाका रूपमा रेडियोहरूको औषत आयु पीडादायी छ, वाल मृत्यूदर बढ्न थालेको छ । अल्पायुमै मृत्युवरण गर्ने वा बाँचे पनि अङ्गभङ्ग भएर अपाङ्ग जीवन बाच्नुपर्ने बाध्यता छ ।
एउटा दृष्टान्तबाटै सन्दर्भ अगाडि बढाऔँ । हामी सबैले देखेका छौँ– बूढो पिपलको मूल जरा मक्काइसकेको हुन्छ तर उसका हाँगाबाट निस्किएका जराहरू जमिनमा पुगेर गाडिएका हुन्छन् र तिनै जराको तागतले पिपलको रूख बाँचेको हुन्छ । हाम्रा स्वतन्त्र रेडियोहरूको अवस्था पनि यस्तै छ । अलिकति फरक भनेको पिपल बूढो भएर मूल जरा मक्काएको थियो तर स्वतन्त्र रेडियोहरूको मूल जरा पलाउनै पाएन । सुरुदेखि नै स्वतन्त्र रेडियोहरूले विभिन्न स्वार्थ समूहहरू एनजीओ÷आइएनजीओ, राजनीतिक दल, व्यापारिक समूह जस्ता स्वार्थ समूहहरूको जराबाट प्राप्त पोषणकै भरमा जीवन निर्वाह सुरु गरे । त्यसैलाई उनीहरूले आफ्नो जीवन पद्धति ठाने । रेडियोहरूको प्राणवायु भनेकै यी स्वार्थ समूहहरूको सक्रियता र सहयोग हो । स्वार्थ समूहहरूको उद्देश्य र रुचिलाई नै आफ्नो जीवन–चक्र र संस्कृतिका रूपमा स्वीकार गरी रेडियोहरू फर्जी जीवन पद्धतिमा रमाएका छन् । रेडियोहरूले समूदायका आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्य र रुचिहरू विकास गरेका छैनन् । स्वार्थ समूहहरूका जराबाट प्राप्त पोषण नै उनीहरूको जीवन–आहार हो । यसरी हेर्दा रेडियोहरू ऐझेरू जस्ता लाग्दछन् ।
रेडियोहरूको आफ्नो जीवन पद्धति विकास भएको छैन । उनीहरूको आफ्नो नीति र रणनीति छैन, स्पष्ट प्रणाली र संरचना छैन । अलग्गै सिप र संस्कार छैन, जसले गर्दा उनीहरूका आफ्ना उत्पादन छैनन् । नेपालका अधिकांश रेडियोहरू काठमाडौँका रेडियो तथा फण्डिङ एजेन्सीको उद्देश्य, स्वार्थ र लगानीमा उत्पादन–गृहहरूले उत्पादन गरेका कार्यक्रमहरू पुनःप्रसारण गर्नुलाई आफ्नो जिम्मेवारी ठानेर मक्ख छन् । ‘रेडियो चलाउन गाह्रो भयो, सहयोग गर्नुहोस्’ भन्ने दरिद्री चेतनाको व्यापार चाहिँ रेडियोको आफ्नो उत्पादन हो झैँ लाग्छ ।
आर्थिक मामिलामा व्यापारिक रेडियोहरूको दृष्टिपथ अलि बढी छ, बजारका सूत्रहरूले रेडियोको पनि अर्थशास्त्रलाई परिभाषित गरेका छन् तर सामुदायिक रेडियोको अर्थशास्त्र स्पष्ट ढङ्गले परिभाषित छैन । यसरी उनीहरूको आर्थिक दृष्टिपथ एकदमै छोटो छ, जसले पटकपटक अन्योल र अनिश्चय सिर्जना गरेको छ । स्वयंसेवी संस्थाहरू चलाउने सामाजिक अर्थशास्त्रको पथ के हो भनी सामुदायिक रेडियोहरूले खोजी गर्न सकेको छैनन् । समुदायको कुरा गर्ने तर बजारका स्वार्थसँग एकाकार हुने दुविधामा रेडियोहरू अल्झिएका छन । अधिकांश रेडियोहरू एउटै ढाँचामा चलेका छन, विविधता छैन, सिर्जनशीलताको अभाव छ, आदतका दास जस्ता लाग्छन् । मुद्दा यही हो– जबसम्म पुरानो ढर्राको सोचाइलाई भङ्ग गर्न सक्दैनौँ, तबसम्म रेडियोको भरपर्दो विकासको सम्भावनालाई व्यवहारमा उतार्न त परको कुरा, त्यो सम्भावना देख्न पनि सक्दैनौँ ।
अहिलेको प्रतिस्पर्धी जमानामा कुनै पनि संस्थाको स्थायी र दिगो स्रोत भनेको प्रतिस्पर्धीहरूभन्दा पहिल्यै देख्ने र छिटो सिक्नसक्ने क्षमता हो । रेडियोको दिगो र भरपर्दो विकासका समस्याहरूको सूचीमा कतिपय बुँदा सामाजिक छन्, जस्तैः रेडियोको सञ्चालन विधि कमजोर छ, व्यवस्थापनमा तदर्थवाद हावी छ, अदूरदर्शिता, टालटुले परिपाटी, अरुलाई खुशी पार्न उद्यत निर्णय प्रक्रिया आदि छन् । कतिपय सहायक कारणहरू छन, जस्तैः अनुकूल कानुनी वातावरण छैन, प्रतिस्पर्धा दिनदिनै बढिरहेको छ, प्रविधिले सूचना प्रवाहका नयाँ र सहज मार्गहरू प्रशस्त गरेको छ आदि । यस्तो अवस्थामा रेडियोको गतिलाई रोमाञ्चक मोडमा पु¥याउने सरल र शक्तिशाली तत्त्व भनेका दक्षता र प्रणालीगत चेत हुन् । रेडियोहरूले दिगोपना हासिल गर्न अवलम्वन गरेका चलनचल्तीका समाधानहरू लक्षणमा आधारित छन्, त्यसैले स्थायित्वको समस्या समाधान गर्न विफल छन् । भनाइ नै छ– जङ्गल हेर्नु छ भने रूख मात्र हेरेर पुग्दैन ।
आज यो रेडियो उत्सवको उल्लासमय दिनमा म रेडियोकर्मीहरूलाई निरुत्साहित पार्न होइन, उनीहरूलाई जोश्याउन र केही हदसम्म उनीहरूको अहम् जगाउन एक अभियन्ताको रूपमा यतिका वर्षसम्म रेडियोहरूसँग सङ्गत गर्दा मैले हासिल गरेको खरो निचोडबाट यो लेख टुङ्ग्याउन चाहन्छु– जर्जर र रुग्णताको सामना गर्नु नपरेसम्म रेडियो व्यवस्थापक र रेडियोकर्मीहरूमा प्रणालीगत सोच र संस्थागत सवलीकरणको महत्त्वबारे रत्ति पनि समझ आउनेवाला देखिँदैन ।