रित्तो सहर

कविता

तिमी हुँदा पो
यो सहर खुल्छ रहेछ
तिमी हुँदा पो
यो सहर फूल्छ रहेछ

जब मालश्री धुन बज्न थाल्छ
तिमी जेब्रा झोला घिसार्दै-घिसार्दै
बसपार्कतर्फ लाग्छौ
तिमीसँगै  सहर पछि लाग्छ
थाहा छैन,
तिमीसँगै यो मन किन कुदिजान्छ
तिमीसँगै यी अाँखा किन झुण्डिजान्छन् ?

तिमीले जेब्रा झोला किन्नु
र मालश्री धुन बज्नु एकै बखत पर्छ
हरेक साल बज्ने यो मङ्गल धुनले
मेरो मुटु, कलेजो रेटी जान्छ
हरेक साल तिम्रो जेब्रा झोलाले
मलाई रित्तो बनाई जान्छ

थाहा छैन,
तिमीले जेब्रा झोलामा
क-कसका लागि खुशीका पोकाहरू लग्यौ?
क-कसका लागि रहरका झुप्पाहरू लग्यौ?
या सहरले बनाइदिएको पुरानो घाउ
सहरको मान्छेले पुर्याएको नयाँ पुरानो चोट
सहरका ठूलाबडाले दिएको ताजा अाँसुका पोका
या नसप्रिएका तिम्रा सपनाका
बिरुवाहरू फर्काई लग्यौ ?

तर हरेक साल
जब मङ्गल धुन बज्न थाल्छ
तिमी जेब्रा झोला घिसार्दै-घिसार्दै
बसपार्कतर्फ लाग्छौ
तिमीसँगै सहर पछि लाग्छ
थाहा छैन,
तिमीसँगै यो मन किन कुदिजान्छ ?
तिमीसँगै यी अाँखा किन झुण्डिजान्छन् ?

Facebook Comments
Comments (0)
Add Comment