मनमोहक स्वयम्भूका मन छुने कलाकार

 स्वयम्भू घुम्दै गर्दा पुराना कलाकृति र बुद्धका मूर्तिले मन नछुने कुरै भएन । स्वयम्भूका चार आँखा । मनमोहक गजुर । आकर्षक गुम्बज । सँगै रहेका अरु चैत्य र मन्दिर । बुद्धका मूर्ति । यी सबैले जोसुकैका मन तानिरहन्छन् । त्यसमाथि चारैतिरबाट देखिने काठमाडौँ उपत्यका सहरको दृश्य । साँच्चिकै रमाइलो छ स्वयम्भू । तलबाट सिँढी चढेर डाँडो पुगेपछि थाकेका गोडामा समेत फूर्ति आएको अनुभव हुन्छ । अझ स्वयम्भू चैत्यका शिलहरू घुमाउँदै घररर्रको आवाजसँगै वरिपरि परिक्रमा गर्दा शान्ति नपाउने को होला र ? मानिसहरू स्वयम्भूमा आफू अनुसारकै कुरा खोज्दै यताउता घुमिरहेका हुन्छन् । कसैलाई केको धन्दा, कसैलाई केको धन्दा । कोही दूरबिन हेर्दै काठमाडौँ नियाल्दै गर्छन् त कोही बुद्धसँग तस्बिर खिचाउँछन् । काठमाडौँको दृश्य क्यामरामा उतार्न पनि तँछाडमछाड भइरहेकै हुन्छ ।

 

 तर कलाप्रेमीहरूका लागि भने उत्तरतिरको एउटा पसलले बाहिरैदेखि तान्न थालिहाल्छ । त्यहाँ बसेका कतिपय क्यूरियो पसले र अन्य बिक्रेताहरूभन्दा भिन्न स्वभावका एक पसल मालिक भेटिन्छन् । यिनलाई बाहिरको भीँडको कुनै मतलब छैन । भीँडका सबै मान्छे आफ्ना ग्राहक हैनन् भन्ने यिनलाई थाहा छ । उनको पसलको महत्व बुझ्नेहरू खोजेरै आउँछन् । स्वयम्भू मात्रै घुम्ने त्यता छिर्दैनन् ।

वरिपरि भित्तामा प्रकृतिसँग साक्षात्कार गराउने तस्बिर झुण्डिएका छन् । भुईंमा पनि असरल्ल छन् उनै तस्बिर । कोठाको एकापट्टिको पूरै भित्ता ढाकिनेदेखि पोष्टर आकारसम्मका तस्बिरमा प्रकृति जुरुक्क उठेर मान्छेसँग बोलिरहेको छ – ‘म पोखराको फेवाताल, म माछापुच्छ्रे हिमाल, म सगरमाथा, म भक्तपुर, म अन्नपूर्ण क्षेत्र… । छैनौँ त मनमोहक?’

उनी भने बेपर्वाह आफ्नै संसारमा मग्न भेटिन्छन् । यिनका हातका औंलाहरू रङ् र क्यानभासमा चलिरहेका छन् । वरिपरि भित्तामा प्रकृतिसँग साक्षात्कार गराउने तस्बिर झुण्डिएका छन् । भुईंमा पनि असरल्ल छन् उनै तस्बिर । कोठाको एकापट्टिको पूरै भित्ता ढाकिनेदेखि पोष्टर आकारसम्मका तस्बिरमा प्रकृति जुरुक्क उठेर मान्छेसँग बोलिरहेको छ – ‘म पोखराको फेवाताल, म माछापुच्छ्रे हिमाल, म सगरमाथा, म भक्तपुर, म अन्नपूर्ण क्षेत्र… । छैनौँ त मनमोहक?’

कलाको संवाद नबुझ्नेहरू बाहिरी संसार नियालेर फर्किन्छन् । कलाको परख गर्न जान्नेहरू चाहिँ तिनै तस्बिरसँगै प्रकृतिको काखमा लुट्पुटिन थाल्छन् । तर कलाका यस्ता पारखी स्वयम्भूको भीँडमा कमै मात्र हुन्छ्न् ।

बाहिरैदेखि आकर्षक चित्रहरू नियाल्दै पङ्क्तिकार पसलभित्र पुग्दा पसले समेत बनेका सिद्धहस्त शिल्पी ट्रेकिङको तस्बिर बनाउन व्यस्त थिए । उनको छोटो परिचय यस्तो छ – नाम विनोदकुमार बलामी । चित्रमा लेख्ने नाम बि.के. बलामी । सयौँ तस्बिर क्यानभासमा उतारिसकेका छन् । बीस वर्षदेखिको कामै यही हो । गहिरो भाव बोकेको हँसिलो अनुहार । ललितकला क्याम्पसमा केही समय पढेर कलाकार कालिदास श्रेष्ठ र हरेराम जोजोलाई गुरु थापेका । चित्रकलामा सानैदेखिको शोख थियो भनेर भन्नै परेन ।

कलाकार बलामीले मौलिक नेपाली जनजीवन र प्रकृतिलाई नै आफ्नो पौरख र परिचय बनाएका छन् । उनका चित्रमा नेपाली भेटिन्छ्न अनि नेपाली माटो र प्रकृतिको सुवास । बलामीको चित्रकारिता राजमार्गको गाडीकै गतिमा अघि बढेको छ । चित्र धेरै बनाइएको छ तर गनिसाध्य छैन । भन्छ्न, ‘म महिनामा ४० देखि ५० वटा चित्र बनाउँछु । कहिलेकाहीँ त त्योभन्दा पनि बढी । तर सँधै यत्ति नै भन्ने टुङ्गो चाहिँ हुन्न ।’

भक्तपुर, खोकनाका गल्लीहरू र बुङ्मती चित्रमा उत्रेका छन् । पोखराको फेवाताल र माछापुच्छ्रे हिमाल, अन्नपूर्ण ट्रेकिङ् क्षेत्र, सगरमाथा, आमाडब्लम आदि दृश्य छोड्ने कुरै भएन । अझ लालीगुराँसको मनमोहकपन र भरिया, चौँरी र खच्चर उनका चित्रका थप विशेषता हुन् । शान्तिका अग्रदूत गौतम बुद्धलाई त समेटनै प¥यो ।

पर्यटक बढी जाने स्वयम्भूलाई नै आफ्नो चित्रकारिताको थलो बनाएका छन् । पर्यटकले कस्तो चित्र बढी मन पराउँछन्, उनलाई थाहा छ । विदेशीहरू नेपाली गाउँ र नेपाली मौलिक जनजीवन मन पराउँछन् । नेपाली प्राकृतिक छटा र हिमालहरू मन पराउँछन् । उनको अनुभव हो यो । भक्तपुर, खोकनाका गल्लीहरू र बुङ्मती चित्रमा उत्रेका छन् । पोखराको फेवाताल र माछापुच्छ्रे हिमाल, अन्नपूर्ण ट्रेकिङ् क्षेत्र, सगरमाथा, आमाडब्लम आदि दृश्य छोड्ने कुरै भएन । अझ लालीगुराँसको मनमोहकपन र भरिया, चौँरी र खच्चर उनका चित्रका थप विशेषता हुन् । शान्तिका अग्रदूत गौतम बुद्धलाई त समेटनै प¥यो ।

३५ वर्षीय बि.के बलामीले आफ्ना कृति स्वयम्भू, नेपाल आर्ट काउन्सिल लगायत विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका छन् । प्रकृति जस्तै मीठो रङ यिनको कलाकारिताको विशेषता हो । भखरै मात्रै बुद्ध जयन्तीको अवसर पारेर यी कलाकारले लुम्बिनीमा आफ्नो चित्रकारिता प्रदर्शन गरे । यिनका कैयन चित्र युरोप र अमेरिका पुगिसकेका छन् । त्यहाँका प्रदर्शनीहरूमा पनि चित्रले यिनको प्रतिनिधित्व गरेका छन् । उनी आफैँ भने त्यता पुगेका छैनन् । भन्छन्, ‘अब चाँडै युरोपमा प्रदर्शनी गर्ने योजना तय भएको छ ।’

तस्बिरको भव्यता हेर्दा तिनको मोल पत्याउन गा¥हो हुन्छ । कलाकारिताको मूल्यको तुलनामा यी त्यति धेरै महँगा लाग्दैनन् । बलामी भन्छन्, ‘धेरै महँगो मूल्य राखेर के गर्नु, नेपालीले पनि किन्न सकून् भन्ने मेरो सोचाइ हो ।’ उनका तस्बिर दुई हजार रुपैँयाँदेखि आउन थाल्छन् । विदेशीले भने ५०० अमेरिकी डलर (अहिले ४८ हजार रुपैँयाँ) सम्म मूल्य दिएका छन् ।  बलामी भन्छन्, ‘पहिले विदेशीले मात्रै किन्ने चित्र अहिले नेपाली पनि उत्तिकै किन्छन् । मेरा ग्राहक विदेशीसँगै स्वदेशी पनि निकै बढी छन् ।’

अन्त्यमा यत्ति नै भनेर यो आलेख टुङ्ग्याउँ, २०–२५ हजार रुपैँया जति गोजीमा लिएर जाने हो भने कोठाको एउटा भित्तो झण्डै ढाकिने खालको चित्र उठाउन सकिन्छ ।  

 

(ghamarajluitel.wordpress.com)

Facebook Comments
bannerLuitel
Comments (0)
Add Comment