निरन्तर संवाद्को खाँचो

विख्यात् बामपन्थी चिन्तक समीर अमिन ८७ वर्षको उमेरमा यसै साल बित्नुभयो । अमिनको सम्झना र सम्मान विषयमा नेपाल अध्ययन केन्द्रले २०७५ साल भाद्र १७ गते काठमाडौँमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो । त्यो कार्यक्रममा समीर अमिनको व्यक्तित्वमाथि, बामपन्थी चिन्तक तथा नेता घनश्याम भूषाल, राजनीतिशास्त्री हरि शर्मा, लेखक झलक सुवेदी र त्रिभुवन विश्वविद्यालय केन्द्रीय समाजशास्त्र विभागकी उपप्राध्यापक विद्या भट्टराईले समीर अमिनका योगदानमाथि गहन प्रस्तुति दिनुभएको थियो । त्यो कार्यक्रममा राजनीतिशास्त्री  एवं अध्येता  हरि शर्माले समीर अमिनमाथि राख्नुभएका विचारका प्रमुख अंशहरू आलेखका रूपमा यहाँ प्रस्तुत गरिएका छन्।

समीर अमिनको सन्दर्भको कुरा गर्दा कपाल फुलेका, ठूलो निधार भएका मानिस, जो नेपाल पनि आएका रहेछन् । मैले यहाँ देख्ने मौका भने पाइँन । अमेरिकाको एक विश्वविद्यालयमा भएको ‘इन्भाइरन्मेन्ट अफ पोपुलेसन साइन्स’ भन्ने विषयमा भएको कार्यक्रममा उनीसँग प्रत्यक्ष भेट भएको थियो । सन् १९९४ तिरको कुरा हो । धेरै ‘लेफ्ट’ र ‘राइटिष्ट’ विद्यार्थीहरूलाई उनले सम्बोधन गर्ने क्रममा परैबाट सुन्ने मौका पाएको थिएँ । त्यो कार्यक्रम राजनीतिकभन्दा पनि धेरै हिसावले प्राज्ञिक कार्यक्रम थियो । विद्याजीले भनिसक्नुभएको छ – तीनवटा ‘स्कूल अफ थट’ छन् परनिर्भरताको सिद्धान्तमा । तीनवटामध्ये समीर अमिन एउटा हुन् भन्दै हुनुहुन्थ्यो विद्याजी । एउटा चाहिँ परनिर्भरताको सिद्धान्तभित्रै फ्र्याङ्कदेखि लिएर ल्याटिन अमेरिकाको अनुभवबाट आएको, अर्को युरोपियन अनुभवबाट आएको ‘स्कूल अफ थट’ छ । यसले विश्व व्यवस्थामा अन्तरसम्बन्ध कसरी परिवर्तन गर्‍यो अनि यो चीनसँग कसरी जोडिँदै गयो । त्यसले कस्तो खालको अन्तरसम्बन्ध विश्वव्यावस्थामा विकास ग भन्ने हो ।

फ्र्याङ्कको मोडल चाहिँ बढी चाखलाग्दो छ । यद्यपि आजको कुरा गर्दा समीर अमिनले उनको सिद्धान्तको आलोचना गरेका छन् । त्यो के हो भन्दा हामी जस्ता धेरैजसो मुलुकहरूले स्वतन्त्रताको कल्पना नै नगरिसक्दा उपनिवेशवाद र साम्राज्यवादको अभ्यास ल्याटिन अमेरिकामा भइसकेको थियो । आजभन्दा करिब ३०० वर्षअघिको स्वतन्त्रता सम्बन्धी सङ्घर्षको ल्याटिन अमेरिकी अनुभव छ । हैटीको क्रान्ती सबैभन्दा पहिलो स्वतन्त्रतापूर्वक संविधान मस्यौदा गर्ने स्वतन्त्रतासम्बन्धी आन्दोलन हो । तथापि परनिर्भरताको पहिलो कोटीमा परेका मुलकहरू किन गरिब भएका छन् अथर्वा गरिब नभनाँै, किन फरक देखिएका छन् । त्यो समय र परिभाषा गरेभन्दा किन फरक छन् भन्न खोजेको हो ।

नेपाली समाजको विकासक्रमको सबैभन्दा ठूलो कुरा मुक्तिको कामनाको कुरामा कसरी संवाद गर्न सक्छौँ । विभिन्न क्षेत्र, वर्ग, समुदायमा विचार प्रवाह कसरी गर्छौँ । सबै एउटै मेसिनबाट काटिएका र एउटै मोडलमा भाँचिएका मानिस हामी छैनौँ । विचारको विविधता छ । भावनाको विविधता छ । यसलाई माक्र्सवादले कसरी प्रस्फुटित गर्न सक्छ ? यसमा चर्चा गरौँ ।

यहाँनेर अघि पनि धेरै कुरा आइसकेका छन् । विकासलाई कसरी हेर्ने ? जब हामीले विकासको कुरा गर्न थालेपछि प्रगति वा ‘प्रोगेस’ भन्ने शब्द नै हराएर गयो । यसले हाम्रो अर्थराजनीतिलाई मात्र होइन, समग्र सामाजिक चिन्तनलाई पनि प्रभावित गर्‍यो । अघि मैले कुरा गरेको – पहिला–पहिला जुन स्वतन्त्रताका आन्दोलनहरू चले, तिनलाई विकासको मोडलले हेर्न सक्दैनौँ । प्रगति र आइडियाको मोडलबाट हेर्‍यौँ भने हैटीको क्रान्ति पहिलो हो, जसले फ्रान्सभन्दा पहिला संविधान जारी गरेको थियो । विकास मोडेलका पक्षबाट हेर्नुभयो भने हैंटीमा हामीले समेत हैजा पुर्‍यायौँ भन्ने कुरा आएको छ । चेतनाका हिसाबले भन्ने हो भने हामीलाई पाठ सिकाउने खालको छ । यस कारण आजभोलि हामीले पढेर वा दीक्षित भएर जाने–बुझेको विकासको मोडलले हैंटीको विकास मोडलको अनुभवलाई व्यक्त गर्न सकिँदैन । त्यस कारण समीर अमिन पढ्दाखेरि कहाँबाट हेर्छौँ, आइडियालाई कसरी हेर्छौँ, संस्थालाई कसरी हेर्छौँ । आइडिया र संस्थाहरूको सम्बन्ध हुन्छ, संस्थाले कति आइडियालाई ग्रहण गर्छ, आइडिया अनुसार संस्थाहरू कति सक्षम बनेका छन् भन्ने कुरामा निर्भर गर्दछ । समीर अमिनलाई हेर्दाखेरि यसरी हेर्नुपर्छ किनभने आज यहाँ हामी उनलाई सम्झन जम्मा भएका छौँ । त्यसको प्राज्ञिक, सैद्धान्तिक विश्लेषण र ब्यवहारको कुरा पनि गरौँला । उनी पनि हामी जस्तै समयको उत्पादन पनि हुन् । ‘हामी आज यसो यहाँ हेर्दा अघिल्लो पुस्ताभन्दा २०३२ सालको विद्यार्थी आन्दोलन हुँदै २०३६, आसपासका पुस्ताका मानिसहरू धेरै छौँ जस्तो लाग्छ । हाम्रो त्यो समयको चेतना, त्यो बेलाको संस्थाप्रतिको बुझाइ, त्यो बेलाको अर्थशास्त्रको अवस्था, सामाजिक परिवेश, अन्तराष्ट्रिय सन्दर्भ हेर्नुपर्ने हुन्छ । समीर अमिनको समय चाहिँ के थियो भने अहिलेको जस्तो खुल्ला युरोप थिएन । तर संसारमा धेरै खुल्ला ठाउँ थियो । पासपोर्टको कुरा गर्‍यो भने उहाँ इजिप्टबाट युरोप पढ्न जाँदाखेरि त्यहाँ देशकोे सीमामा कडा व्यवस्था थियो होला त ? त्यसरी सोच्यो भने त्यति धेरै प्रतिबन्धै लगाउने अवस्था थिएन ।

अहिले जान्न र बुझ्नलाई हामीलाई सिकाएको विकासे मोडलले के भन्छ भने हार्डबर्ड, प्रिन्सर्टन कि अक्सफोर्ड पढ्नुपर्छ । हुन त उनले पनि सोर्वोन युनिभर्सिटीमा पढेका थिए । त्यहाँको संस्कृति, संस्कार र पृष्ठभूमिको सन्दर्भमा कि पढेर सिकिन्छ कि परेर सिकिन्छ भन्ने कुरालाई मान्नुपर्छ । समीर अमिनले पढेर सिक्ने सन्दर्भमा सामाजिक र राजनीतिक परिवेशको सन्दर्भ के थियो भने तेस्रो विश्वको सन्दर्भ नै थियो। उनमा आजीवन अध्ययन, चिन्तन मनन् र लेखन गर्ने सङ्घर्षशील जाँगर कहाँबाट आयो ? पेशामा अगाडि बढ्दै अथवा प्रगति गर्दै जाँदा यसलाई तपाई जसरीसुकै परिभाषित गर्नुस्, त्यसमा एउटा कुरा विर्सनु हुँदैन रहेछ, त्यो के हो भने म कहाँबाट र कुन पृष्ठभूमिबाट आएको हुँ ? व्यक्ति स्वंयको स्रोत के हो ? नेपालको सन्दर्भमा कुरा गर्ने हो भने हाम्राे स्रोत वनावटी देखिन्छ । जतिसुकै अहिले हामीले राष्ट्रवादलाई परिभाषित गर्दैछाैं, राष्ट्रवादको परिभाषा सांस्कृतिक परम्परावाद र सङ्कीर्ण मान्यतामा आधारित भएर आएको छ। उदारवादी ढाँचामा बन्नुपर्ने र आफैँलाई उदार बनाउँदै लैजानुपर्नेमा उल्टै हामी साँघुरिँदै गइरहेका छौँ । समिर अमिनको खोजी के थियो भने माक्र्सवाद भनेको वैज्ञानिक अध्ययनको विषय हो । समाजलाई कसरी हेर्ने ? समाजको उत्पति कसरी भएको हो ? त्यसैले सामिर अमिनले भनेका छन्, ऐतिहासिक भौतिकवाद  एउटा दृष्टिकोण हो – जसले म कहाँबाट आए ? मेरो परिवेश के हो ? मेरो समाज कता बढ्दैछ ? यस्ता चिन्ताहरू लिने कुरा हो । आजभोलि हामी यस्ता चिन्ता र परिचर्चा हुन छोडेको छौँ । यो किन छोडेको छौँ भन्दा हामी कता, कता निश्चिन्त भएका छौँ। किनभने हामीले प्रश्न गर्न छोडिसकेका छौँ। आजको सन्दर्भमा समिर अमिनलाई सम्झने किन हो भने जुन सांस्कृतिक परिवेशमामा आफूलाई विकास गर्दै लगे । सङ्घर्ष गर्दै गए । बाँच्नुको जीजिविषा के हो भने समाज परिवर्तन हो । आजसम्म (८५ वर्ष सम्म त लेख्दै थिए) निरन्तर लागिरहेको देखिन्छ । उनले जीवनमा धेरै कुरा देखे, सङ्घर्ष गरे । उनको यो एउटा जिज्ञासा थियो, खोजी थियो अथवा जीवन बाँच्नुको जीजिविषा समाज परिवर्तनको कामना  थियो । म कहाँबाट आएँ ? मैले समाजलाई कहाँ लैजाने ? कता, कता जतिसुकै भौतिकवादको कुरा गर्दा मान्छे स्वयंलाई हेर्दा अध्यात्मवादको कुरालाई पच्छयाउँछ । त्यहाँनेर हेगेललाई सम्झन्छु – ‘स्पिरिट उइथ डिटरमिनिज्म’, त्यो भाव, जोश, जाँगर कहाँबाट आउँछ ? त्यो सङ्घर्षको भाव र जोश कहाँबाट आउँछ ? राम्रो विश्वविद्यालयमा पढाएका थिए । फर्किएर गएर इजिप्टमा काम गरे । इजिप्टमा उनी हुँदा फ्रान्समा क्रान्तिको प्रतिक्रन्ति भयो । फर्किएर मालीमा गए । मालीको योजना आयोगमा काम गरे । हुँदाहुँदा परामर्शदाता समेत भएर काम गरेको देखिन्छ । काम खोज्दै गएको देखिन्छ । बाँच्नका लागि जेजे गरे पनि उनले चुरो प्रश्नलाई चाहिँ कहीँ पनि छोडेनन् । समिर अमिनबाट हामीले सिक्ने भनेको के हो भने हामीले हाम्रो राजनीतिक जीवन र सामाजिक जीवनलाई सार्थक बनाउने हो भने केले हामीलाई बल दिन्छ र प्रेरित गरिरहन्छ त ?

साथीहरूलाई यो कुरा पनि भनौँ, यहाँहरूको भन्दा मेरो राजनीतिक पृष्ठभूमि फरक होला । तर, प्रश्न हुन छोड्यो भने मानिसमा अन्योल र नैराशय विकास भएर जानेरहेछ । यस्तै हो, सबै गर्न सकिएन भन्ने हुने रहेछ । सबै मान्छे निरन्तर लागि रहन्छन् भन्ने पनि छैन । मानिसलाई थाक्ने पनि अधिकार छ । कताकता समाजमा हामी बढी कामना गर्छौँ कि यो मानिस सँगसँगै हिँडेको थियो । कतै सम्झौता गर्‍यो या के गर्‍यो भनेर हेर्छौ । एउटा कुरा के बुझनु पर्‍यो भने हाम्रो स्पिरिट वा आफ्नोपन र शाखलाई राम्रोसँग बचाउन सकेनौँ भने त्यो आफैँ हराएर जान्छ । समिर अमिन के रहेछन् भन्दा उनी थाकेनछन् । निरन्तर–निरन्तर विश्लेषणमा लागेछन् । यहाँ धेरै माक्र्सवादी स्कूलका साथीहरू हुनुहुन्छ । भौतिकवादको विश्लेषण गर्दा उनले अभ्यासको कुरा गरे त्यो धेरै महत्वपूर्ण कुरा थियो सिद्धान्त र व्यबहारको बारेमा । मलाई उनी बन्दुक बोकेर हिँडे जस्तो  लाग्दैन । यसको अर्थ एक्टीभिष्ट थिएनन भन्ने होइन। विचारका चाहिँ उनी ठूलो एक्टीभिष्ट रहेछन् । यो कार्यक्रममा आउने भएपछि मैले यसो खोजखाज गरे । म दिल्लीमा पढ्न बस्दा पनि मेरो त्यस्तै साथीहरूसँग सङ्गत थियो । कुरा सुन्दा पनि एकदमै सुनिन्थ्यो । साथीहरूलाइ भन्न खोजेको के हो भने उनको जीवनवाट सिक्ने के हो भने ‘स्पिरिट’ नै हो । अर्को कुरा के भने मेरो चासो भौतिकवादी विश्लेषण के हो त ? यथार्थमा मक्र्सवादको इतिहास के हो ? यसको विश्वव्यापी प्रयोग सम्भव छ कि छैन ? विद्याजीले पनि भन्नुभयो(हेर्नुस् विद्या भट्टराईको आलेख https://parisambad.com/2018/09/05/विकासको-आकर्षण-र-परनिर्भ/ सेन्टर भएको हुनाले जो शक्तिशाली छ, जहाँबाट आइडिया बने, विकास भयो अथवा औद्योगिकीकरण भयो, त्यसको उत्पादन प्रणालीले पेरिफेरीलाई प्रभाव पार्‍यो । किनभने क्रमबद्धतामा पेरिफेरी (आसपासको प्रभावित क्षेत्र) भन्दा सेन्टर (केन्द्र) पहिला थियो। त्यसले गर्दा हामी जहाँबाट प्रभावित भएका छौँ, हामी प्रकारान्तरले पेरिफिरीमा पर्‍यौं भन्ने कुरा नै हो । समिर अमिनको वारेमा विद्याजीबाट हामीले सुन्यौं। सेन्टरले मात्र प्रभावित गर्ने होइन, पेरिफेरीको गतिविधिले पनि सेन्टरको चरित्रलाई परिवर्तन गर्दै लैजानसक्छ। अन्यथा नलिनुहोला कता–कता माक्र्सवादको बैधानिकतालाई उनले चुनौती दिएका छन् । उनले माक्र्सवादको सरल रेखाकार र तहगत विकासको अवधारणालाई परिवर्तन गरी गोलाकार अवधारणाको परिकल्पना गरिरहेका हुन्छन् । रेखामा सेन्टर पहिले अनि पेरिफेरी पछि आउँछ, तर गोलाकारमा पहिले पेरिफेरि आउँछ, सेन्टर त भित्रपट्टि छ नि। सेन्टर भनेको नै गोलाकार अवधारणा हो। मलाई लाग्छ सेन्टर र पेरिफेरीको अवधारणाले कताकता माक्र्सवादी स्टेट र विकासको मोडलले माक्र्सवादलाई नै सीमित गर्‍यो । माक्र्सवादको सम्भावनालाई खुला गर्‍यो । नेपालमा समिर अमिनको दोस्रो पुस्ता कहाँबाट आयो भने जब सोसोलोजी डिपार्टमेण्ट बन्यो र सोसोलोजी पढाउन कोर्स डिजाइन गर्दा, पढाउँदा समाजलाई कसरी बुझने भन्ने क्रममा सन् १९७० को दशकको ‘क्राइसिस थियरी’ बाट आएको हो। भूमण्डलीकरण, स्थानीय उत्पादन र सम्बन्धलाई माक्र्सले भने अनुसार नै त्यहाँ सोसाइटी बन्यो, सोही अनुसर संस्था बन्यो । आइडिया त्यसले अगाडि सार्‍यो । पूँजीवाद र उपनिवेशवाद सँगसगै गयो । सँगसँगै साम्राज्यवाद आयो । त्यो पश्चिमबाट नै आयो । त्यसका पछिपछि हामीले पनि विकासको नाममा मोडलहरूलाई त्यतैत्यतै लैजान थाल्यौं । तर सत्य के हो भने हरेक समाज फरक छ । हरेक परिवेश फरक छ । म्याकडोलाण्डकै विविधताका कुरा गरौँ न । अमेरिकामा खाने र दिल्लीमा खाने म्याकडोनाल्डको स्वाद फरक छ । विश्वव्यापीकरणको अर्थात् बहुराष्ट्रिय कम्पनीहरूको एउटा मानक त पक्कै होला नि ? जुन ‘मे आई हेल्प यु’, एउटै भाषा बोल्छ । तर म्याकडोनाल्डको मसला फरक हुन थाल्यो । इन्डियनहरूलाई चटपटा चाहियो । म्याकडोनको चरित्र र स्वाद नै परिवर्तन गरिदियो । त्यो कसले ग¥यो भने लोकप्रिय स्वादले गर्‍यो । इन्डियामा ‘बिफ’ को म्याकडोनाल्ड पाइँदैन। तर म्याकडोनाल्डकाे मानकको कुरा गर्ने हो भने त्यो एउटा तहमा भएको तपाई पाउनुहुन्छ।

अब हाम्रो समयमा आउँदा विश्वव्यापीकरण यति धेरै विश्वव्यापीकरण भएको छ, तपार्इको कुनै बेलाको सर्वहारा कम्युनिष्टको पेरिसमा, फ्रान्समा अहिले फेशन सो हुन थालेको छ । फेशनलाई डिजाइन गर्ने माध्यम भएको छ । समिर अमिनको तीनवटा स्कुल अफ थट’ मा विश्वव्यापीकरकण र विश्वपुँजीवादले स्थानीयपनलाई पुनः आकार दिन्छ भन्छन् । मानिसको छनोट र रोजाइको कुरा हेर्नुभयो भने पूँजीवाद नाफामा त छ । तर उसले के गर्छ ? ऊ समायोजित भएर जान्छ । तपाईलाई जे चाहिन्छ, त्यो बनाउँछ । सेन्टर र पेरिफेरीमा अलि फरक छ । त्यो के भने, एक खालका मानिस के भनिरहेका छन् भने यसले निर्देश मात्र गर्छ, यसले शोषण मात्र गर्छ । हामी विस्थापित भएर जान्छौ । तर समिर अमिन के भन्छन् भने त्यस्तो अवस्थामा हामी विस्थापनमा होइन, प्रतिरोधमा जान्छौँ। मेरो विचारमा उहाँको ‘डिलिङ्किङ’ वा ‘रूल अफ ल’ को जुन तह छ, त्यसले के गर्छ भने छुट्याइदिन्छ अर्थात् अन्तरसम्बन्धलाई टुटाइदिन्छ ।

समीर अमिनबाट यस सन्दर्भमा हामीले सिक्ने के हो भन्दा, तपाईहरूले सच्चा कम्युनिष्ट कसरी बन्ने भनेर सिक्ने । मैले सिक्ने भनेको लेफ्ट कसरी बन्ने भन्ने हो । म लेफ्ट बन्न चाहन्छु । खासगरी मुक्तिकामी जनताको धारणालाई कसरी म प्रतिनिधित्व गर्नसक्छु इमान्दारीका साथ, भाषा प्रयोगका साथ, विचार प्रयोगका साथ, रणनीतिका साथ । तर यसमा अन्तिम निर्णय गर्ने अधिकार तपाईहरूमा छ । नेपाली समाज स्वायत्तताको पक्षमा छ, स्वतन्त्रताको पक्षमा छ समानताको पक्षमा छ । यो कसैको एकहोरो वादको पक्षमा छैन । त्यसै कारण विविधता हाम्रो वास्तविकता हो ।

अर्को, समिर अमिन पढ्दा र हामीलाई पनि महत्वपूर्ण हुने कुरा के हो भने एउटा चरणबाट अर्को चरणमा जाँदाखेरि जुन सङ्क्रमण हुन्छ, त्यो सङ्क्रमणमा चाहिँ के ले प्रभावित गर्छ त ? माक्र्सवादी विज्ञान र परम्परागत माक्र्सवादले जुन चरण आउँछ त्यसमा एजेन्सीको रूपमा पार्टी हुन्छ भन्छ। पार्टी बलियो हुने वितिकै संरचनाको कुरा चाहि गौण भएर जान्छ पनि भन्छ । एजेन्सी (पार्टी) र संरचनाको कुरा बढी महत्वपूर्ण छ । समिर अमिनले जे भनेका छन्, त्यसमा हामी खास छलफल पनि गर्दैनौँ । उनले भनेका छन्, समाज वा राष्ट्र एक चरणवाट अर्को चरणमा जाँदा कस्ता खालका ‘नेगोसियसन’ हरू हुन्छन्  त ? कस्ता खालका खाडल वा पर्खालहरू तयार हुन्छन्। उदारवादी दर्शनमा आधुनिकतामा पनि उत्तम आधुनिकताको मोर्डनलजमो कुरा गर्छ । माक्र्सवादमा यो कुरा हुँदैन । त्यसो भएको हुँदा सङ्क्रमणलाई बुझन सङ्क्रमणकाल प्रवेशका आधारहरू के हुन ? एक चरणबाट अर्को चरणमा जाँदा त्यसलाई बल पुर्‍याउने तत्त्व के हो ? त्यो तत्त्व पार्टी होइन । बरु, सामाजिक आन्दोलन र अभियानहरू हुन् । किनभने विविध र व्यापक छ, बहुल छ र त्यसबाट निस्कने प्रतिरोधका आवाजहरू पनि बहुल छन् । मलाई लाग्छ, समिर अमिन एक बहुलवादी विद्वान हुन् । समिर अमिनले विविधतालाई स्वीकारेका छन् । मेरो अध्ययनमा हामीले यहाँ सामाजिक आन्दोलनका विविध पक्षबारे धेरै कम छलफल गरेका छौँ । श्रमजीवी आन्दोलनको कुरा छ । पूँजीवादका कारण सामाजिक आन्दोलनको कुरा गरिएको छ । जस्तो, वातावरणको कुरा छ । परम्परागत माक्र्सवादले वातावरणीय आन्दोलनको कल्पनै गर्दैन । हाम्रो ठाउँमा आएर दलित आन्दोलन ‘प्रोएक्टिभ मुभमेण्ट’ हो कि  होइन ? यी यस्ता पहिचानका आन्दोलनलाई कसरी हेर्ने ? नेपालमा हामीलाई चुनौती यही भएको छ । बीचमा हामीले पहिचानका आन्दोलनहरूलाई बढी गौरवका विषय बनायौँ । अहिले सङ्कीर्ण सामाजिक मान्यता (कन्जरभेटिभ) यति बलियो भएको छ, पहिचानको आन्दोलनको नाम सुन्न पनि नसक्ने ठाउँमा हामी आइपुगेका छौँ। यसमा मेरो भनाइ के हो भने नेपालको माक्र्सवाद सङ्कटमा छ । समिर अमिन के भन्छन् भने आन्दोलनहरू बहुल हुन्छन् । हरेक व्यक्तिले बोल्न पाउँछ । त्यसो भएको हुँदा हामी साँघुरो समृद्धिको नारामा फसेका छौँ । समृद्धिको नारामा बहुलवादीहरूका आवाजहरू कसरी अँटाउन सक्छन् ? एक चरणबाट अर्को चरणमा जाँदा बहुलवादीहरूका अपेक्षाहरूलाई कसरी सम्बोधन गरिन्छ ? त्यसले फरक खालको विषयलाई सतहमा ल्याउने सम्भवना हुन्छ । मेरो विचारमा हामीले खोजेको मात्र सम्भावना हो भन्न थाल्यौँ भने हामी समिर अमिनभन्दा फरक र गलत बाटोमा गएका हुन्छौँ । सम्भावना धेरै छन् । सङ्क्रमण र सम्भावनाका कुरा गरौँ न । उदाहरणका लागि म यहाँवाट बाहिर जानुछ । म यहाँबाट कपन जान्छु । बाहिर निस्केपछि घनश्यमजीले भन्नुभयो, हरिजी कहाँ हुनुहुन्छ भन्दा कपन जान हिड्नु भएको छ । त्यहाँ जानका लागि थुप्रै बाटाहरू छन् । कुन वाटो जाने, छनोट मेरो हो । तर उहाँ लिडर भएको हुँदा ‘हरिजी, यता ट्राफिक छ, यताबाट जानुस् न भन्न सक्नुहुन्छ । बाहिर निस्केको मेरो मनै त हो । रत्नपार्क जान्छु, अनि गाडी चढेर जान्छु, बागबजारमा भीड छ भने के हुन्छ ? मान्छे भन्ने जातको जुन् स्वायत्तता छ, त्यसलाई आर्थिक स्वामित्वले कति नियन्त्रण गर्न सक्छ ? मलाई लाग्छ, सामाजिक आन्दोलनको ‘डिलिङ्क’ को कुरा पनि त्यही हो । हामीले समिर अमिन पढ्दा र माओवादको किताब लेख्दा, ओहो! यो त माओवादी भएछ भनेर कराउने गरेको पनि देखें। ‘माओइज्म्’ भन्ने सानो किताब पढ्दा मैले कहीँ पनि माओ पाइँन । उनले केमा चुनौती दिएका थिए भने गैरराजनीतिक समाज अथावा स्थानीय सङ्घर्षबाट चाइनिज क्रान्ति सम्भव भयो । यो माक्र्सवादको अर्को पाटो हो । त्यहाँ राज्यले सबै मानिसलाई औद्योगोकीकरणमा लैजान्छु भनेको भए माओले पर्खनुपर्ने नै थिएन। तर उनले के गरे भन्दाखेरि क्रान्तिका सम्भावनाहरूलाई स्थानीयकरण गरे । उनले पनि पढ्न चाहिँ सोभियत सङ्घ, माक्र्स र लेनिन नै पढेका हुन् । तर क्रान्तिको रणनीति के बनाए भन्दा स्थानीयपनको रणनीति बनाए । त्यसकारण क्रान्तिको सम्भावना जहाँ पनि हुन्छ । परिवर्तन सम्भव छ कि छैन, सम्भव छ यदि हाम्रो वैयक्तिक प्रश्न नगर्ने हो भने । तर स्वयत्ततालाई प्रश्न गर्‍यो भने यो बडा टेन्सनको विषय हुन्छ। यदि मैले आफूलाई प्रणालीको दास सम्झेर प्रणालीले मलाई बनाउँछ र उसले निर्देश गर्छ भन्ने सम्झेँ भने त मैले प्रणाली पर्खिनुपर्ने हुन्छ। त्यस्तो प्रणाली कसले बनाउँछ त ?

अब विश्व पूँजीवादको यो रूपमा आइरहेको सन्दर्भमा हामीलाई कुन प्रणालीले हामीलाई थिच्यो त ? मले देख्ने गरेको छु कम्युनिष्ट पार्टीका दस्तावेजहरूमा वर्षौँ लगाउनुभएको छ त्यसलाई व्याख्या गर्न । पार्टी विभाजनदेखि जुटाउने गरी जीवन बिताउनु भएको छ । जसरी यसका ३ वटा सिद्धान्त हुँदाहुँदै पनि ऐतिहासिक भौतिकवाद महत्वपूर्ण परिघटना हो भने जस्तै हामीहरूको वीचामा (कम्युनिष्टको विचामा होइन, लेफ्टको विचमा) खास समझदारी हुनपर्‍यो कि हाम्रा सामाजिक आवश्यकताहरू के हुन् र यिनलाई कसरी सम्बोधन गर्छौँ। एउटा कम्युनिष्ट घनश्यामजी हुनुहुन्छ (पढ्नुहोस् घनश्याम भूषालको आलेखः https://parisambad.com/2018/09/10/दलाल-पूँजीवादको-सन्त्रास/) उहाँको वास्तविक जिम्मेवारी के हो भने व्यक्तिमा भएको परिवर्तनको चाहानालाई अङ्कुरित गराउने काम उहाँको हो । महिलाको होस्, दलितको होस् । त्यो कम्युनिष्ट हुनुपर्छ भन्ने जरुरी छैन । म कसरी स्वायत्त हुन्छु भन्ने सबैको कल्पना हुन्छ । मैले जोगीको कुरा गरेको होइन । दासताबाट मुक्त हुने सबैको कामना हुन्छ । लिडर कम्युनिष्ट हुनसक्छ तर मुभमेण्ट लेफ्ट हुनुपर्छ । त्यसैले समिन अमिनले भनेका हुन्– ‘हरेक मानिसको जुन स्वतन्त्रताको चाहना छ, दसताबाट उन्मुक्तिको चाहना छ, समानताको चाहना छ, सच्चा कम्युनिष्टको काम के हो भने त्यसलाई अङ्कुरित गरौँ ।’ तर हामी विचारका नाममा बन्देज लगाउने काम गरिरहेका छौँ । आज पनि हामी एकोहोरो कुरा सुनिरहेका छाँै । मेरो जिज्ञासा भनेको हाम्रो कानमा रहेको कानेगुजीलाई कसरी खोल्न सक्छौँ ? त्यो खोलिदिनुपर्ने भएको छ । सबैभन्दा महत्वपूर्ण कुरा के भएको छ भने वर्तमान सन्दर्भमा बडेबडे कम्युनिष्ट साथीहरू सत्ता दम्भका कारण अन्धो र कानो हुनुभएको छ । आँखा देख्ने र कान सुन्ने बनाउनुपर्‍यो । म यो कुरा कुनै पार्टीको सदस्य छैन र भन्न सक्छु । यदि दम्भ आएको छ भने त्यो कहाँबाट आयो भन्दा कुर्सीबाट आएको हो । कुरा नै नसुन्ने समय छ । समिर अमिनवाट यस सन्दर्भमा हामीले सिक्ने के हो भन्दा, तपाईहरूले सच्चा कम्युनिष्ट कसरी बन्ने भनेर सिक्ने । मैले सिक्ने भनेको लेफ्ट कसरी बन्ने भन्ने हो । म लेफ्ट बन्न चाहन्छु । खासगरी मुक्तिकामी जनताको धारणालाई कसरी म प्रतिनिधित्व गर्नसक्छु इमान्दारीका साथ, भाषा प्रयोगका साथ, विचार प्रयोगका साथ, रणनीतिका साथ । तर यसमा अन्तिम निर्णय गर्ने अधिकार तपाईहरूमा छ । नेपाली समाज स्वायत्तताको पक्षमा छ, स्वतन्त्रताको पक्षमा छ समानताको पक्षमा छ । यो कसैको एकहोरो वादको पक्षमा छैन । त्यसै कारण विविधता हाम्रो वास्तविकता हो । त्यसलाई कसरी बढाउन सक्छौँ भन्ने बरेमा विश्लेषण गर्नु जरुरी छ । उत्तरमा को छ, दक्षिणमा को छ, दायाँ को छ, बायाँ को छ, हाम्रो स्वतन्त्राको इतिहास कस्तो छ, हेरौँ । कराएर मात्र स्वतन्त्र हुने हाइन रहेनछ । अहिले बडा भावनाको समय छ । मैले पनि चर्को कुरा गरेँ होला । यसको लागि माफी चाहन्छु । नेपाली समाजको विकासक्रमको सबैभन्दा ठूलो कुरा मुक्तिको कामनाको कुरामा कसरी संवाद गर्न सक्छौँ । विभिन्न क्षेत्र, वर्ग, समुदायमा विचार प्रवाह कसरी गर्छौँ । सबै एउटै मेसिनबाट काटिएका र एउटै मोडलमा भाँचिएका मानिस हामी छैनौँ । विचारको विविधता छ । भावनाको विविधता छ । यसलाई माक्र्सवादले कसरी प्रस्फुटित गर्न सक्छ ? यसमा चर्चा गरौँ ।

Facebook Comments
Comments (0)
Add Comment