वागमती नदीको जल प्रदूषण

विज्ञानको विकाससँगै हाम्रो जीवनमा पनि आमूल परिवर्तन भइरहेको छ । करिब २०० वर्षअगाडि भएको औद्योगिक क्रान्तिले गर्दा विभिन्न क्षेत्रहरूमा चमत्कारहरू देख्न पाइरहेका छौँ । तर, यस सँगसँगै हाम्रो वातावरणमा विभिन्न कारणबाट हुने प्रदूषणले गर्दा अर्कोतर्फ जीवन दुष्कर भइरहेको छ ।

प्रदूषण विभिन्न किसिमका हुन्छन् । जस्तैः वायु प्रद्रषण, जल प्रदूषण, भूमि प्रदूषण, ध्वनि प्रदूषण आदि । विभिन्न प्रदूषणमध्ये जल प्रदूषण एउटा घातक तथा हाम्रो जीवनसँग प्रत्यक्ष सरकार राख्ने विषय हो । जल प्रदूषण भन्नाले नदी, ताल, तलैया, पोखरी आदि जलीय क्षेत्रहरूमा मानवीय वा प्राकृतिक कारणवश, बाह्य तत्वहरू जलसँग मिसिएर मनुष्य, जीवजन्तु तथा वनस्पतिलाई प्रत्यक्ष वा अप्रत्यक्ष नकारात्मक असर पुग्ने अवस्था हो । र, यस्तो अवस्थामा उक्त जल प्रयोग गर्न अयोग्य समेत हुन जान्छ । हुन त जल प्रदूषणलाई दुई तवरले विभाजन गर्न सकिन्छ :

क. प्रत्यक्ष जल प्रदूषण (Point Sources Pollution) औद्योगिक, कलकारखाना वा घरायसी प्रयोजनबाट निस्केको दूषित पानी, रसायन वा फोहोर–मैला आदिलाई पाइप वा ढलको माध्यमद्वारा जलक्षेत्रमा सिँधै विसर्जन गरिन्छ । यो तवरको प्रदूषणबाट धेरैजसो सहरी क्षेत्रहरूबाट बग्ने नदीनालाहरू प्रभावित छन् । अहिलेको सहरी पर्यावरण व्यवस्थापनको मुख्य चुनौती नै यही हो ।

ख. प्रत्यक्ष जल प्रदूषण (Non-point Sources Pollution) वर्षाको पानीसँगै खेतबारीबाट माटो–ढुङ्गा, धुलो–मैलो, फोहोर आदि बगेर नदीनाला तथा पोखरीमा मिसिएर प्रदूषण हुन जान्छ । व्यवस्थापन पक्षलाई विचार गर्दा प्रत्यक्षभन्दा अप्रत्यक्ष तवरले हुने प्रदूषणलाई नियन्त्रण गर्न कठिन छ ।

जल प्रदूषण विभिन्न कारणबाट हुन सक्छ । यीमध्ये उद्योग तथा कलकारखानाबाट निस्कने हानिकारक फोहोर पानी, रसायन आदि सिँधै नदी, पोखरी तथा तालतलैयामा मिसाउने परिपाटी अति नै हानिकारक छ । नेपालमा धेरैजसो उद्योग तथा कलकारखानाहरूले फोहोर पानी तथा हानिकारक रसायनहरू सिँधै नदीमा मिसाउने गर्दछन् । जसले गर्दा नदीको पानी दूषित हुन जान्छ । यदि उचित नीति–नियम निर्माण राम्ररी कार्यान्वयन गरेमा यसलाई नियन्त्रण गर्न सकिन्छ । उद्योग तथा कलकारखानाहरूले पनि आफ्नो फोहोर पानी प्रशोधन गर्ने व्यवस्था गरेपछि मात्र नदीमा मिसाउने गरेमा यसलाई उचित तवरले न्यूनीकरण गर्र्न सकिन्छ । प्रायःजसो विकसित देशहरूले उद्योग तथा कलकारखानाबाट निस्कने प्रदूषित पानीलाई वैज्ञानिक प्रशोधन प्रणालीमार्फत् न्यूनीकरण गर्ने नीति र नियम लागू गरेको पाइन्छ । प्रायःजसो कारखानाबाट तातोपानी निष्काशन हुन सक्दछ । यसलाई तुरुन्तै जलक्षेत्रमा प्रवाह गर्नु हुँदैन। यसलाई पनि उचित तवरले प्रशोधन गर्नु जरुरी छ।
जलप्रदूषण हुने अर्को महत्वपूर्ण कारण भनेको घरायसी रूपमा प्रयोग भएको पानी र मलमूत्रलाई पाइपलाइनको माध्यमबाट जलक्षेत्रमा सिँधै मिसाउने परिपाटी। यसको ज्वलन्त उदाहरण भनेको वागमती नदीमा मिसिएको ढल र होटल तथा रेष्टुरेन्टहरूबाट फेवातालमा मिसिएको दूषित पानी हो।

केही हदसम्म शिवपुरी जलाधार क्षेत्र संरक्षित भए पनि अन्य जलाधार क्षेत्र अतिक्रमित भएका छन् । जसले गर्दा त्यस क्षेत्रको विकास हुन सकेको छैन भने अर्कातिर नदीको पानीको मात्रामा पनि कमी आएको छ । जलाधारको संरक्षण बिना नदीको प्रदूषण नियन्त्रण गर्नु भनेको दिवास्वप्न मात्र हो । नदीको छेउछाउमा हरियाली स्वरूप हुनुपर्नेमा वागमती तथा सहायक नदीहरूका छेउछेउमा बाक्लो बस्ती तथा अतिक्रमण गरी बसेका सुकुम्वासीहरू छन् । यिनीहरूको उपस्थितिमा जल प्रदूषण नियन्त्रण गर्न सकिन्न । प्रत्यक्ष जल प्रदूषण रोक्नका लागि करिब ३० किलोमिटर ढल निकासको पाइप बिछ्याउने लक्ष्य राखेता पनि फोहोर पानी प्रशोधन केन्द्रको रूपरेखा अझै तयार भएको छैन । अनि उत्तेजित नारायुक्त एक दिने सरसफाइ अभियान र विदेशी दातृसंस्थाबाट सञ्चालित आयोजनाबाट मात्र वागमती नदीको जल प्रदूषण नियन्त्रण गर्न सकिन्न ।

नदी तथा तालतलैयामा हुने जलप्रदूषण नियन्त्रणका लागि नीति नियम बनाएर भन्दा पनि जनसहभागिताबाट हुने नियन्त्रण प्रभावकारी हुनसक्छ । हुन त उचित ढल निकासको प्रबन्ध तथा फोहोर पानी व्यवस्थापन गर्न सके उत्तम हुन्छ ।
जल प्रदूषण नियन्त्रणका लागि नेपालको सन्दर्भमा मल–मूत्र विसर्जनको व्यवस्थापन चुनौतीको रूपमा रहेको छ । ग्रामीण तथा तराईका केही भेकमा अद्यापि खुला रूपमा दिसा–पिसाब गर्ने चलन छ । ती ठाउँहरूमा शौचालय बनेको भए पनि त्यसको प्रयोग कम मात्रामा भइरहेको छ । थोरै जनघनत्व भएको ठाउँमा खुला रूपमा हुने दिसा–पिसाबले त्यति असर नगरे पनि बाक्लो जनघनत्व भएको ठाउँमा यस्तो चलनले भयानक रूप लिनसक्छ । हुन त आजभोलि खुला दिसामुक्त क्षेत्र बनाउन विभिन्न कार्यक्रमहरू पनि विभिन्न तहबाट सञ्चालित छन् । प्रचार–प्रसार तीव्र छ । खुला दिसामुक्त अभियन्ताहरूले खुला रूपमा गरिने मलमूत्र त्यागले जल प्रदू्रषण हुने र त्यसले व्यक्तिगत जीवनमा पार्ने प्रभावबारे जानकारी दिन सकेको पाइँदैन ।
यी कारण बाहेक यातायात क्षेत्रमा प्रयोग हुने पेट्रोलियम पदार्थबाट हुने जल प्रदूषण, कृषि क्षेत्रमा अत्यधिक मात्रामा प्रयोग हुने रासायनिक मल तथा विषादिबाट हुने जल प्रदूषण, प्लाष्टिक आदिको प्रयोगबाट हुने प्रदूषणबारे खासै चर्चा भएको पाइँदैन । यसैगरी कृषि क्षेत्रमा अत्यधिक प्रयोग हुने फोसफोरस्, पोटासियम्, नाइट्रेट जस्ता रासायनिक पदार्थहरू जल क्षेत्रमा जम्मा भएर अन्य अर्गानिक पदार्थसँग सम्मिश्रण भई हरियो लेउले नदी तथा पोखरीलाई ढाक्न सक्छ । यो पनि जल प्रदूषणको एउटा स्वरूप हो ।

नेपालको नदीजन्य जल प्रदूषणको रूपमा वागमती नदीलाई उदाहरणका रूपमा लिने गरिन्छ । यसै समस्यालाई मध्यनजर गरी सन् २०१३ देखि वागमती सफाइ अभियान सञ्चालन भइरहेको छ । र, सरकारले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति पनि गठन गरेको छ । ठूलो लगानी, जनसहभागिता तथा चासोको विषय भए पनि सो समितिले सोचे अनुसारको प्रतिफल दिन सकेको छैन । चाहे अनुसार समितिले प्रगति हासिल गर्न नसक्नुको मूल कारक केही नीतिगत त्रुटि र व्यवस्थापन प्रणाली हो ।


वागमती नदी काठमाडाैँ उपत्यकाको सभ्यताको एउटा प्रतीक हुनुका साथै विशिष्ट सामाजिक तथा धार्मिक मान्यता पाएको नदी हो । काठमाडौँ उपत्यकाका धार्मिक, सांस्कृतिक तथा वातावरणीय पक्षमा वागमती नदीको विशेष स्थान छ । वागमती नदीले काठकाडौं र पाटनलाई विभाजन गरेको छ । यसका वरिपरि धेरै धार्मिक तगा सांस्कृतिक तीर्थस्थलहरू छन् । काठमाडौं उपत्यका कचौरा आकारको करिब ३० किलोमिटर लम्बाइ र १९ किलोमिटर चौडाइमा फैलिएको भूमि हो । वागमती नदी महाभारत पर्वत शृंखलाको शिवपुरी क्षेत्रबाट बगेर चोभारको गल्छेंडो हुँदै तराईको समतल भूमि पुगेको छ । वागद्वारदेखि चोभारसम्म नदीको लम्बाई ३५ किलोमिटर छ र वर्षाको समयमा नदीमा सरदर २७४ क्युसेक र सुक्खायाममा करिब १६ क्युसेक पानी बग्ने गर्दछ । वागमती नदीमा करिब ५७ वटा साना–ठूला खोलानाला मिसिन पुग्छन् । तीमध्ये विष्णुमती, धोबीखोला, मनहरा, नक्खुखोला, बल्खु, टुकुचा, गोदावरी, हनुमन्ते, साङ्ला, महादेव, कोड्कु आदि प्रमुख हुन् ।

हुन त वागमती नदीको प्रदूषणको दोष हालको अव्यवस्थित सहरीकरणलाई दिइन्छ । तर यसको मुख्य जड भनेको जुद्ध शमशेरले त्यस बेलाको सहरीकरणलाई व्यवस्थापन गर्नका निम्ति फोहोर पानी तथा ढलको विसर्जन सिँधै वागमती तथा यसका सहायक नदीमा गर्ने व्यवस्था गरेका थिए । हुन त त्यस समयको जनसंख्या तथा जनघनत्व थोरै भएकाले जल प्रदूषणको अवस्था न्यून थियो । तर अहिलेको करिब ४० लाखको जनसंख्या र अव्यवस्थित सहरीकरणको कारण यो अति नै विकरालको अवस्थामा रहेको छ । एउटा अध्ययनले के देखाएको छ भने चोभारस्थित वागमतीको पानीमा कुनै पनि जीव रहन सक्दैन र पानी यस तहसम्म विषाक्त छ, कसैले त्यो पानी पिएमा मृत्यु पनि हुन सक्छ । यसो हुनुको मुख्य कारण अनियन्त्रित सहरीकरण, त्यस्तै घरायसी फोहोर तथा मलमूत्रलाई सिँधै नदीमा मिसाउने परिपाटी पनि हो । हुन त यी समस्याहरूबाट धेरैजसो सहरी क्षेत्रबाट संसारका धेरै नदीहरू अछुतो छैनन् । उदाहरणका निम्ति, सन् १८४०–५० ताका लन्डनको थेम्स् नदी यति प्रदूषित थियो, यसका कारण सङ्क्रमित रोगबाट धेरै मानिसहरू मरेका थिए । सन् १८५० मा जङ्गबहादुरले आफ्नो बेलायत भ्रमणका बेला पनि थेम्स नदीको त्यो स्वरूप देखेका थिए । यस्तो अवस्थाको चित्रण गर्दै एउटा पत्रिकामा लेख छापिएको थियो, ‘हामी ब्रिटिशले संसारका कुनै कुनामा गएर साम्राज्य विस्तार गर्यौँ, भारतलाई आफ्नो नियन्त्रणमा राख्यौ, तर हामीले थेम्स् नदीलाई प्रदूषण हुनबाट रोक्न सकेनौँ ।’ यो समस्या समाधानका लागि सन् १८५८ मा ब्रिटिश संसद्ले ३० लाख पाउण्डको धनराशी निकासा गरयो र जोसेफ नामक सिभिल इन्जिनियरलाई जिम्मेवारी प्रदान  गरियो । इन्जिनियर जोसेफको नेतृत्वमा करिब १०० माइलभन्दा लामो नदीको भूमिगत ढल निकास प्रणालीको व्यवस्था गरी थेम्स् नदीलाई प्रदूषणबाट मुक्त गराएको थियो । हुन त वागमतीलाई सिँधै ढल मिसिने अवस्थालाई नियन्त्रण गर्न सकेमा केही हदसम्म जल प्रदूषण नियन्त्रण गर्न सकिन्थ्यो ।

हुन त नेपाल सरकारले वागमतीको प्रदूषण नियन्त्रण गर्न सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति गठन गरेको छ । यसको मुख्य उद्देश्य वागमती तथा यसका सहायक नदीनालामा सिँधै मिसिने दूषित पानीको विसर्जन हुने कार्यलाई नियन्त्रण गर्ने र नदीजन्य सम्यताको पुनःस्थापना गर्ने रहेको छ। यसका लागि नदीका छेउमा मूल पाइप लाइनको व्यवस्था गरी ढल निकासको व्यवस्था गरी फोहोर पानी प्रशोधन केन्द्रको स्थापना गर्ने र सँगसँगै नदीको किनारामा बाटो तथा हरियालीको व्यवस्था गरी जनचेतनाका कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ।
हुन त सरकारले एकीकृत जलस्रोत व्यवस्थाको सिद्धान्त अनुसार वागमती नदीको जल प्रदूषण नियन्त्रण गर्ने लक्ष्य राखेता पनि यसमा नीतिगत र कार्यान्वयन पक्षमा विरोधाभाष रहेको छ । कुनै पनि नदीको जल प्रदूषण नियन्त्रण गर्नु छ भने यसका जलाधार क्षेत्रहरूलाई संरक्षण गर्नु अति जरुरी हुन्छ । केही हदसम्म शिवपुरी जलाधार क्षेत्र संरक्षित भए पनि अन्य जलाधार क्षेत्र अतिक्रमित भएका छन् । जसले गर्दा त्यस क्षेत्रको विकास हुन सकेको छैन भने अर्कातिर नदीको पानीको मात्रामा पनि कमी आएको छ । जलाधारको संरक्षण बिना नदीको प्रदूषण नियन्त्रण गर्नु भनेको दिवास्वप्न मात्र हो । नदीको छेउछाउमा हरियाली स्वरूप हुनुपर्नेमा वागमती तथा सहायक नदीहरूका छेउछेउमा बाक्लो बस्ती तथा अतिक्रमण गरी बसेका सुकुम्वासीहरू छन् । यिनीहरूको उपस्थितिमा जल प्रदूषण नियन्त्रण गर्न सकिन्न । प्रत्यक्ष जल प्रदूषण रोक्नका लागि करिब ३० किलोमिटर ढल निकासको पाइप बिछ्याउने लक्ष्य राखेता पनि फोहोर पानी प्रशोधन केन्द्रको रूपरेखा अझै तयार भएको छैन । अनि उत्तेजित नारायुक्त एक दिने सरसफाइ अभियान र विदेशी दातृसंस्थाबाट सञ्चालित आयोजनाबाट मात्र वागमती नदीको जल प्रदूषण नियन्त्रण गर्न सकिन्न ।

यदि साँच्चै नै वागमती नदीलाई प्रदूषणमुक्त गराउनु छ भने एकीकृत भू–उपयोग नीतिलाई अगाडि सारेर सम्पूर्ण सरोकार निकाय जस्तः जलाधार संरक्षण समिति, फोहोर मैला व्यवस्थापन समिति, सहरी विकास समिति, वन व्यवस्थापन समिति, जल तथा ऊर्जा समिति आदिसँग समन्वय गरी दीर्घकालीन मूल कार्ययोजना तयार गर्नुपर्छ । यो योजना तयार गर्दा अन्य मुलुकमा अध्ययन भएका कार्यप्रणालीको पनि अध्ययन गर्नुपर्दछ । यस सम्बन्धमा मूलभूत समस्या भनेको लगानी तथा नागरिक सहभागिताको होइन, दह्रो इच्छाशक्ति तथा इमान्दारीसाथ कार्यान्वयन गर्ने अठोटको अभाव मात्र हो । सङ्कल्प र दृढ लक्ष्यका साथ कार्यान्वयन गर्ने हो भने वागमती नदीलाई प्रदूषणमुक्त गराउने कार्य असम्भव चाहिँ होइन ।

Facebook Comments
Comments (0)
Add Comment