मर्यादित जीवनको आधार– सदाचार र संस्कार

 

संस्कारशब्द सम् उपसर्गपूर्व कृञ् धातुमा घञ् प्रत्यय लागेर बन्दछ । संस्कारशब्दको अर्थ परिष्कार, विमलीकरण, अलङ्करण आदि विभिन्न हुन्छन् ।

पौरस्त्य सनातन परम्परामा जीवनलाई समुन्नत र व्यवस्थित बनाउने अनेक संस्कार वैदिक शास्त्रमा प्रतिपादित छन् । गर्भाधानबाट प्रारम्भ हुने ती संस्कारहरू मृत्युपर्यन्त जारी रहन्छन् । ती यावत् संस्कारहरूको विधान वैदिक वाङ्मयले स्पष्ट गरेको छ ।

संसारमा सम्पूर्ण प्राणीहरू सुखको चाहना राख्दछन् र जीवनपछि पनि स्वर्गापवर्ग चाहन्छन्, तर पुण्यप्रभाव विना ऐहलौकिक र पारलौकिक सुखविशेषको प्राप्ति सम्भव हुँदैन । त्यो पुण्य विशेष भनेको धर्म हो र त्यो धर्म संस्कारहरूले सुसंस्कृत व्यक्ति सत्कर्मानुष्ठानद्वारा प्राप्त  गर्दछ । हाम्रो मन अनेक प्रकारका कुत्सित कर्मद्वारा मलिन बनेको छ र त्यसलाई निर्मल बनाउन सत्कर्म गर्नुपर्छ, त्यो सत्कर्म गर्न प्रेरणा दिने काम वेदले गर्दछ । वेदमा सामान्य धर्म र विशेष धर्मको उपदेश छ । सामान्य धर्म मानव मात्रले पालनीय हुन्छ भने विशेष धर्म सर्वग्राह्य    हुँदैन । जस्तै– सत्यं वद– साँचो बोल । धर्मं चर– धार्मिक आचरण गर । स्वाध्यायान्मा प्रमद– स्वाध्याय (ज्ञान आर्जन) गर्नबाट आलस्य नगर । सत्यान्न प्रमदितव्यम्– सत्य वचन (सत्कर्म) बाट कहिल्यै नचुक । धर्मान्न प्रमदितव्यम्– धर्मपालनाबाट नचुक । मातृदेवो भव– आमालाई देवरूप मान । पितृदेवो भव– पितालाई देवरूप मान । आचार्यदेवो भव– आचार्यलाई देवरूप मान । अतिथिदेवो भव– अतिथिलाई देवतुल्य मान । मातृवत् परदारेषु– अरुका पत्नीहरुलाई आमा समान मान । यस्ता सामान्य धर्मले मानवताको उजागर गर्दछ भने विशेष धर्मले पौरस्त्य सनातन–पद्धतिको महनीयता प्रकट गर्दछ ।

वेदप्रतिपादित कर्महरू सबैका लागि सधैँका लागि ग्राह्य पनि छैनन् । अधिकारी विशेषद्वारा अनुष्ठान गर्न पात्रताको आवश्यकता पर्दछ । त्यो पात्रताको आधान संस्कारले गर्दछ । यस्ता संस्कारद्वारा योग्यताको आधान भए पछि व्यक्ति व्यावहारिक र पारमार्थिक कार्यमा योग्य मानिन्छ । जसरी विभिन्न रङ्लाई उचित समावेश गर्दा चित्र सुन्दर, आकर्षक र वास्तविक बन्न पुग्दछ त्यस्तै वैदिक शास्त्रोपदिष्ट संस्कारद्वारा संस्कृत व्यक्तिमा सात्त्विकता, सुन्दरता, समता, आत्मबल, अन्तस्तेज जस्ता भाव प्रष्फुटित हुन्छन् । व्यक्ति सुखमय जीवनको मार्गमा अग्रसर हुन्छ । महर्षि अङ्गिराको अनुसार–

चित्रकर्म यथाऽनेकैरङ्गैरुन्मील्यते शनैः ।
ब्राह्मण्यमपि तद्वत् स्यात् संस्कारैर्विधिपूर्वकैः ।।

अर्थात् चित्रकला सुन्दर हुन धेरै प्रकारका रङ्हरूको आवश्यकता भए झैँ सच्चरित्र निर्माण पनि धेरै संस्कारहरूद्वारा मात्र हुन्छ । संस्कारको सफलता भनेको चित्तशुद्धिद्वारा आध्यात्मिक उन्नति नै हो ।

पौरस्त्य जीवन–दर्शनमा संस्कारको महिमा सर्वोपरि छ । संस्कार केवल काल्पनिक महल होइन यो त जीवनलाई दिव्यतातर्फ लैजान यथार्थको जगमा उभिएको भव्य विमान हो । यहाँबाट आदर्शहरू छचल्किन्छन् र उत्तम गुणहरू मानवदेहमा एकीकरण भई शील र सदाचारका रूपमा परिणत हुन्छन्, सुसंस्कृत जीवनलाई दिव्यता र भव्यता प्रदान गर्दै अपुनर्भवदर्शनम् (फेरी जन्मनु नपर्ने) को लक्ष्यमा पुर्याउँछन् । मनीषीहरूले पवित्र एवं सात्त्विक आचार–पद्धतिलाई धर्मको मूल मानेका छन् । श्रुतिस्मृति मूलक सदाचारले नै मानवजीवनलाई अभ्युदयको मार्गमा  लैजान्छ । आचारहीन व्यक्तिलाई स्वयं वेदले पनि पवित्र बनाउन सक्दैन । आचारहीनं न पुनन्ति वेदा …… ।। (दे.भा. ११.२.१)

यस्तो संवेदनशील समयमा आफ्ना सन्ततिलाई सही शिक्षा–दीक्षा र संस्कार दिन नसक्दा वा नचाहँदा केवल एउटा सन्तति होइन समग्र समाज नै अपाङ्ग बन्दछ । सभ्य र समुन्नत समाजको अभियन्ता तपःपूत महामना ऋषि महर्षिहरूले मनुष्य जीवनको अनुपम रहस्य बुझेर नै जन्मदेखि मृत्यु पर्यन्तका संस्कारको प्रयोग गर्न दृढताका साथ उपदेश गरे । कायिक संस्कार र मानसिक संस्कारको गहीरो सम्बन्ध रहेकोले यी संस्कारको मनोविज्ञानसँग समेत घनिष्ठ सम्बन्ध छ । त्यसैले त सदाचारी र गुणी व्यक्तिको संगतलाई जीवनको सार भनिएको छ ।

सदाचार र विचारबाट नै सुसंस्कारको निर्माण हुन्छ । अतः संस्कार जीवन–नियामक सूक्ष्म र प्रभावशाली तत्त्व हो ।

संस्कृति, सभ्यता र आदर्शको जग सुसंस्कार हो । पाश्चात्त्य उपभोग–प्रधान सभ्यताले हाम्रो आदर्शमय संस्कृति, संस्कार र सभ्यतालाई कुरूप बनाएको छ । भोगविलास नै आफ्नो परम प्रयोजन मान्ने समाजमा सुसंस्कार सिकाउने शिक्षा र सदाचारयुक्त घरपरिवार लुप्तप्राय छ ।

साथीभाई, घरपरिवार, आफन्त र सङ्गत संस्कार विहीन हुँदै गएकाले हाम्रो आगामी पुस्ता पशुवत् बन्दैछ । आदर्श जीवन–पद्धतिका धनी हामी केही समयमा नै अकिञ्चन बन्न अग्रसर छौं । सनातन संस्कारलाई त्याग्दै गइरहेको आजको हाम्रो समाज विभाजित नै भइसक्यो । हाम्रा सामाजिक सम्बन्धहरू, मूल्य मान्यताहरू र कर्तव्यहरू पुस्तकका पानामा मात्र सीमित हुँदैछन् । वृद्धाश्रमका संख्या दिनानुदिन बढ्दै छन् र हाम्रा आदर्श आचार–विचार र जीवनपद्धति अन्धपरम्पराको शिकार बन्दैछ । भोगलाई प्रश्रय दिने दिनचर्याले अकल्पनीय हिंसाका घटनाहरू बढाएको छ । दया र क्षमा मानवताका आभूषण हुन् तर यो आभूषण परित्यक्त हुँदै गइरहेका छन् । सभ्य समाजको आधार ‘वैवाहिक सम्बन्ध’ दोबाटोको चौतारी भएको छ । अभिभावकहरू आफ्ना संततिको निर्लज्ज कुसंगत प्रति समेत मौन छन् । दिनानुदिन बढ्दै गएको संवेदनाहीन आचार विचारले मौलिकताको धरोहर सभ्यता थिचिरहेको छ । हाम्रो वैदिक सनातन संस्कार र जीवनपद्धतिले कदापि असत्य र अनाचारलाई प्रश्रय दिँदैन । यही शाश्वत् जीवनपद्धतिलाई उपेक्षा गर्नु नै आजको समाजको ठूलो भूल हो ।

बालकको प्रथम पाठशाला घर–परिवार हो र बुवा–आमा पहिलो गुरु । बालकको लालनपालन, चरित्र–निर्माण, नैतिक–आचरण र उसको शिक्षा दीक्षा सबै बुवा आमाकै हातमा हुन्छ । आफ्ना परिवारका वयोवृद्ध, ज्ञानवृद्ध एवं सामान्य संगी, छिमेकीको पनि आचरण–व्यवहार प्रत्यक्ष–अप्रत्यक्ष देखेर, सुनेर बालकले तदनुरूप ग्रहण गर्दछ र यिनै यावत् विषयहरू उसको कोमल बुद्धिमा भावी जीवनमा प्रभाव पार्ने गरी जरो गाडि रहेका हुन्छन् । यस्तो संवेदनशील समयमा आफ्ना सन्ततिलाई सही शिक्षा–दीक्षा र संस्कार दिन नसक्दा वा नचाहँदा केवल एउटा सन्तति होइन समग्र समाज नै अपाङ्ग बन्दछ । सभ्य र समुन्नत समाजको अभियन्ता तपःपूत महामना ऋषि महर्षिहरूले मनुष्य जीवनको अनुपम रहस्य बुझेर नै जन्मदेखि मृत्यु पर्यन्तका संस्कारको प्रयोग गर्न दृढताका साथ उपदेश गरे । कायिक संस्कार र मानसिक संस्कारको गहीरो सम्बन्ध रहेकोले यी संस्कारको मनोविज्ञानसँग समेत घनिष्ठ सम्बन्ध छ । त्यसैले त सदाचारी र गुणी व्यक्तिको संगतलाई जीवनको सार भनिएको छ ।

सत्सङ्गः केशवे भक्तिर्गङ्गाम्भसि निमज्जनम् ।
असारे खलु संसारे त्रीणि साराणि भावयेत् ।

सदाचारी व्यक्तिहरूको सङ्गत गर्नाले बुद्धि निर्मल बन्दछ र तेजस्वी बन्दछ, सदाचारको प्रेरणा मिल्दछ । विवेकशील बुद्धि भएपछि व्यवहार पवित्र बन्दछ, मन प्रसन्न हुन्छ । त्यसकारण सज्जनहरूको सङ्गति गर्नुपर्दछ तर मूर्खसँग कहिल्यै सङ्गति गर्नुहुँदैन–

सद्भिरासीतसततं सद्भिः कुर्वीत सङ्गतिम् ।
सद्भिर्विवादं मैत्रीं च नासद्भिः किञ्चिदाचरेत् ।।

कुसंगीहरूको संसर्गले र आमाबुवाको आचार–विचार हीनताले बालकमा दुर्गुणहरू बढ्दै जान्छन् । तिनै दुर्गुणहरू पछि उसको जीवनपद्धति बन्न पुग्दछ । आजको समस्या पनि अभिभावकमा रहेको आचारहीनता र त्यसले सन्ततिमा पारेको प्रभाव हो ।

अतः आफ्ना संतति, समाज र भावी पुस्तालाई समृद्ध सभ्यता हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो । सामाजिक संस्कारको विकाससँगै व्यक्तिमा शारीरिक संस्कारको पनि आवश्यकता पर्दछ । समाजका हरेक पक्षसँग सम्बन्ध गाँस्न र त्यसलाई समुन्नतरूपमा पालना गर्न सामाजिक संस्कार हुनुपर्दछ । यावत् दैनिक आचार–विचार र व्यवहार सुसंस्कृत, शिष्ट र मर्यादित बनाउन संस्कारले मार्गदर्शन गर्छ ।

। इति ।

( स्वामी ध्रुव भागवत सन्यास अाश्रम एवम् गुरूकुल, पशुपति क्षेत्र राममन्दिरकाे व्यवस्थापक हुनुहुन्छ । उहाँले शुक्ल यजुर्वेदमा विद्यावारिधि गर्नु भएकाे छ ।)

Facebook Comments
Comments (0)
Add Comment