१८ औँ एशियाडः नेपालको एक मात्र रजत

इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा सहरमा भदौ २ गतेदेखि सञ्चालित १८ औँ खेल प्रतियोगिता आज सकिँदा नेपालले एक रजत पदकमा चित्त बुझाएर फर्किनुपरेको छ । १८७ नेपाली खेलाडीले इतिहासकै धेरै २९ खेलमा सहभागिता जनाए पनि केबल नयाँ खेल प्याराग्लाइडिङले रजक पदक दिलाएर पदक खडेरी हुनबाट नेपाललाई बचायो ।

नेपालले यसपल्ट पदकको आशा गरेका खेलहरू तेक्वान्दो, उसु, कराँते, बक्सिङ र प्याराग्लाइडिङ थिए । तर अरु कुनै पनि खेलमा नेपालले कास्य पदक समेत जित्न सकेन । कान्छा खेलाडी पोखराका १६ वर्षे युकेश गुरुङले प्याराग्लाइडिङको पुरुषतर्फ क्रसकन्ट्री विधामा नेपाललाई रजत पदक जिताएका हुन् । यसअघि दुई दशक पहिले सविता राजभण्डारीले तेक्वान्दो खेलमा नेपाललाई रजत पदक जिताएयता यो नै दोस्रो रजत पदक हो । नेपालले बाँकी कुनै पनि खेलमा कास्य पदक समेत जित्न सकेन । असाध्यै कमजोर प्रदर्शनका कारण आशा गरिएका कुनै खेलमा नेपालले पदक जित्न सकेन । मिनी ओलम्पिक समेत भनिने एसियाड प्रतियोगितामा एशियाका ४५ राष्ट्रका खेलाडीहरुले ४० खेलका विभिन्न ४६५ बिधामा प्रतिस्पर्धा गरेका थिए ।

एशियाली खेलकुद ‘एशियाड’ १८ औँ संस्करणसम्म आइपुग्दा नेपालले १ रजत सहित २२ कास्य पदक मात्र जितेको छ ।  ‘एशियाड’मा नेपाल सहभागी भएको तीन दशक नाघे पनि नेपाली खेलाडीको प्रदर्शन सधेँ कमजोर रहँदै अएको छ । कुनै समय नेपाली खेलाडीसँग अफगानिस्तान, थाइल्याण्ड, भारत लगायतका खेलाडीहरु खेल्न डराउँथे भने अहिले ती देशका खेलाडी देखेर नेपाली खेलाडी डराउँछन् भन्ने टिपणी नेपाली खेल क्षेत्रभित्रै हुन थालेको छ ।  पदकको आशा गरिएको मार्सल आर्टभित्रको तेक्वान्दो, बक्सिङ र कराँतेले कुनै पदक जित्न नसक्दा शर्मनाक अवस्था उत्पन्न भएको छ । ‘एशियाड’ इतिहासको १८ औँ संस्करणसम्म आइपुग्दा नेपालले पदक संख्या २४ पुर्‍याएको छ ।

यसपल्टको एशियाड खेलमा १ सय ३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी २ सय ८९ पदक जित्दै चीन पहिलो स्थानमा रह्यो भने दोस्रो स्थानमा रहेको जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्य गरि २ सय ५ पदक हात पार्‍यो । ४९ स्वर्ण ५८ रजत र ७० कास्यसहित १७७ पदक जितेर दक्षिण कोरिया तेस्रो भयो भने आयोजक इण्डोनेसिया ३१ स्वर्ण, २४ रजत र ४३ कास्यहसित ९८ पदक हात पार्दै चौथो स्थान जित्न सफल भएको छ ।

Facebook Comments
Comments (0)
Add Comment