मुगल बादशाहद्वारा गौहत्यामा प्रतिबन्ध

 

ईद–उल–अजाह पनि भनिने बकरीद पर्व दुनियाँका सबै इस्लाम धर्मका अनुयायीहरूले धुमधामका साथ मनाउने गर्छन् । यो अवसरमा मुस्लिम धर्मावलम्बी हज यात्रा गर्न मक्का जाने चलन छ । झण्डै चार हजार वर्ष पूर्व अब्राहमले कालो पत्थर स्थापित गरी मक्कालाई पवित्रस्थल बनाएका थिए ।

यहुदी र ईसाइ धर्म मान्नेहरू इब्राहिम (अब्राहम) को बलिदानको दिन इदजस्तै कुनै पर्व मान्दैनन् । यो परम्परा इस्लामले मात्र अपनायो । इस्लाम ईसा मसीह जन्मेको ६ सय वर्षपछि मात्र अस्तित्वमा आएको हो ।

यहुदीहरू र ईसाइहरूले आ–आफ्नै ढङ्गले इब्राहिमलाई सम्मान दिँदै आएका छन् । उनीहरू उनलाई धर्ममा पिता सरह सम्मान दिन्छन् ।

मानिसहरूलाई थाहा छ, भारत विभाजन हुनुभन्दा अघि यहाँका समृद्ध घरहरूमा बकरीदको अवसरमा ठूला जनावरको कुर्बानी दिइन्थ्यो । गरिबहरू पैसा जम्मा गरेर बाख्रा वा भेडाको कुर्बानी दिन्थे । त्यो समयमा बाख्रा र भेडाहरू उत्ति साह्रै महँगा थिएनन् ।

त्यो समयमा ठूला जनावरहरूको कुर्बानीमा प्रतिबन्ध थिएन । कुर्बानीका लागि गाई र भैंसी पनि छनोटमा पर्थे ।
अन्तिम, मुगल बादशाह बहादुर शाह जफरको शासनको अन्तिम वर्षमा उनले आफ्ना पूर्वज अकबरले जस्तै पूर्ण रूपमा गाईको कुर्बानीमा प्रतिबन्ध लगाएका थिए ।

गाउँहरूमा सो आदेशको पालन भए नभए पनि सन् १८५७ को विद्रोहभन्दा अघिका वर्षहरूमा साम्प्रदायिक सौहार्दता बलियो बनाउने उद्देश्यले सहरी इलाकामा सो प्रतिबन्ध कडाइका साथ लागू गरिएको थियो ।

सन् १८५७ को विद्रोहको तुफान उत्तर भारतमा उठ्नेवाला छ भन्ने अफवाह शायद, बादशाह जफरले सुनेको हुनुपर्छ । जनतामा यसबारे निकै चासो व्याप्त थियो ।

जामा मस्जिदका संरक्षक मुन्सी तुराब अलीका अनुसार हकीम अहसानुमुल्लाह खानले बादशाहलाई विद्रोहको वातावरण शान्त नरहेको चेतावनी दिएका थिए । उनका शब्द थिए, ‘जहाँपनाह, परिस्थिति अनुकूल छैन’ ।

मुगल बादशाहका छोरा र नातिको हत्यापश्चात लेफ्टिनेन्ट विलियम हड्सनले बादशाहका नातेदार मौलवी रजब अलीलाई दोषारोपण गरेका थिए । हड्सनको दावी थियो, २१ सेप्टेम्बर १८५७ मा बादशाह जफर हुमायुँुको स्मृतिस्थलमा उपस्थित रहेको सूचना मौलवी रजब अलीबाट प्राप्त भएको थियो ।

तर, अर्को इतिहासअनुसार, मौलवी र मुन्सीका वंशजले यो दावीलाई स्वीकार गरेनन् । र, जनावरको कुर्बानी दिने क्रम चली नै रह्यो ।
बादशाह जफरलाई बेलायती शासकले निर्वासनमा पठाएर दिल्लीको शासन एक पटक फेरि आफ्नो नियन्त्रणमा लिए ।
बकरीद पर्वमा उनका गुप्तचरहरूले उनलाई जानकारी दिए, धेरै धनी र सम्भ्रान्त मुस्लिम परिवारहरू सहरबाट गाउँतिर विस्थापित भएका छन् । र, तिनमा रोष व्याप्त छ ।

बेलायती शासकका गुप्तचरहरूले यो पनि प्रस्ताव अघि सारे, साम्प्रदायिक हिंसा रोक्नका लागि यस पटकको बकरीद पर्वमा भेडा र बाख्राको कुर्बानी गर्ने अनुमति मात्रै प्रदान गरियोस् ।

डा. नारायणी गुप्ता भन्नुहुन्छ, ‘महान शायर गालिबले पनि यसमा आपत्ति जनाएका थिए ।’
बकरीदको अवसरमा पहिलो पटक हाटबजारमा त्यति रौनक देखिएन । हुन त, पारसी र अन्य व्यवसायीका पसल झकिझकाउ नै थिए ।

उपलब्ध तत्कालीन दस्तावेजअनुसार यस पटक पर्व र उत्सवजस्तो उत्साह निजामुद्दीन, कुतुब मिनार र पुरानो किल्ला जस्ता केही क्षेत्रमा मात्र सीमित रह्यो ।

फतेहपुरी मस्जिदमा बकरीदको उत्सव
पञ्जाबी मुस्लिम बसावास गर्ने कटरा क्षेत्रलाई रेलवे स्टेसन बनाउनका लागि अधिग्रहण गरेर त्यहाँका मानिसलाई किसनगञ्जमा बसाइयो ।


हुन त, पशुका छाला र मासुका अधिकांश पसलहरू त्यसबेलासम्म दिल्ली वरिपरि नै केन्द्रित थिए ।
एउटा सम्भावना यो पनि छ, यसकारणले घरघरमा झनै बढी जनावर काटिए ।
सेठ चुन्नामल त्यसताकाका सबभन्दा धनी व्यापारी थिए । उनी कपडा व्यापारी थिए ।
यसै मौकामा पञ्जावका एक जना मुस्लिम व्यापारी कुर्बान अलीले खत्री थरका सेठ चुन्ना मलसँग फतेहपुरी मस्जिदमाथि आफ्नो अधिकार छाडिदिन निवेदन गरे । उनको आग्रह थियो, ‘मुस्लिम समुदायले पुनः बकरीद पर्व उमङ्गका साथ मनाउन सकून् ।’

कुर्बान अलीको आग्रहलाई सहर्ष स्वीकार गरी सेठ चुन्ना मल फतेहपुरी मस्जिदमाथिको आफ्नो एकाधिकार छाड्न तत्पर भए । तर, उनले कुर्बान अलीसँग वाचा गराए, ‘मस्जिदमा गाई काट्न हुन्न ।’ यसपछि मात्र सन् १८७७ मा आएर फतेहपुरी मस्जिदमा ईदको नमाज पुनः अदा गरियो ।

कुर्बान अली व्यापारिक नोक्सान र पारिवारिक कलहका कारणले धेरै दिन बाँच्न सकेनन् । उनका बारेमा जे जति जानकारी उपलब्ध छ, त्यो लिखित इतिहासभन्दा लोक इतिहासमै भेटिन्छ । यस लोक इतिहासलाई पुष्टि गर्ने दस्तावेज प्राप्त छैन । उनका बारेमा किंवदन्ती छ, ‘उनले आफ्नो नाम अनुसारको जीवन बाँचे ।’

हिन्दू–मुस्लिम तनाव
यसपछि सन् १८८० मा आएर जुन बेला हिन्दू–मुस्लिमबीच साम्प्रादायिक मुठभेड भयो, यसका फलस्वरूप किसनदास गुरवाला बागमा सधैं आयोजना हुने ईद मिलन समारोह बन्द भयो । पछि गएर दुवै पक्षका बीच शान्ति सौहार्दता कायम भएपछि पुनः पहिलाजस्तै यो उत्सव मनाउन थालियो ।

तर, फेरि ४० वर्षपछि सन् १९२० मा आएर दुवै पक्षबीच एक पटक पुनः साम्प्रदायिक सौहार्द खल्बलियो । जामिया मिलिया विश्वविद्यालयका संस्थापक हकीम अजमल खानले आफ्नो तर्फबाट सौहार्दता कायम गर्ने प्रयास गरे, तर अराजकतामा ओर्लिएका दुवै समूहले उनका प्रयास सफल हुन दिएनन् ।

सन् १९२६ मा त्यसबेलाका महान चिकित्सक हकीम अजमल खानको निधन भयो । धेरैको मान्यता थियो, हकीम साहेबको मृत्युको कारण उनको प्रतिष्ठामा पुगेको आघात नै थियो, जसलाई उनले सहन सकेनन् ।

पुनर्लेखन– एमडी कुलङ

स्रोत: बीबीसी हिन्दी सेवा

Facebook Comments
Comments (0)
Add Comment