चन्द्रमामा गोली प्रहार !

विज्ञान क्ल्लास रुममा रोचक हुनुपर्ने जति रोचक हुन्न । ‘फिजिक्स’, ‘केमेस्ट्री’ का सूत्र रट्दैमा विज्ञान वर, पिपल चौतारीको भूत झैँ लाग्न थाल्छ । ल कति जनालाई ‘ग्लुकोज’ को ‘फर्मुला’ झट्टै भन्न आउँछ प्रयास गरौँ !

विज्ञान अति रोचक छ मेरा विद्यार्थी भाइबहिनी र साथीहरू ! तपाईहरूलाई मात्र होइन, अध्ययन सकेर आजीविकाको जद्दोजहदमा कार्यालयमा दिनभरि माथापच्ची गरिरहनुहुने समवयस्की साथीहरूलाई पनि विज्ञानले तुरुन्तैको समस्याबाट मुक्त गरी कल्पनाको नयाँ आयाममा पुर्‍याई मनोरञ्जन, ज्ञानवद्र्धन र तनावमुक्त गराउने क्षमता राख्दछ ।


ल एउटा कल्पना गरौँ । चन्द्र धरातलमा पहिलो पटक पाइला टेक्ने नील आर्मस्ट्रङ्ग र एल्ड्रिन बजमध्ये नीलले पहिला पाइला टेके । एल्ड्रिनलाई खपिसक्नु भएन । उनले ईष्र्या र रिसको झोंकमा नीललाई गोली हानिदिएको भए के हुन्थ्यो ? प्रश्न ‘हाइपोथेटिकल’ छ, के तपाइँलाई पढ्न अलिक रुचि जाग्यो ?

आशा मात्र होइन, मलाई पूर्ण विश्वास छ अब तपाईँ अगाडि नपढिकन बस्न सक्नुहुन्न ? तपाईको मष्तिकका लाखौँ ‘न्युरानस एक्टिभेट’ भइसके । कुनै पाठकले यदि अब अगाडि नपढ्ने दुस्साहस गर्छ भने उसको मष्तिष्कले यो प्रश्नलाई बिर्सन सक्दैन । अनेक चिन्तन–मननको प्रक्रिया आरम्भ हुन्छ । सम्भवतः एक सातासम्म उसको मस्तिष्कमा यही प्रश्नबारे विचार शृंखला घुमिरहन्छ ।

नील र एल्ड्रिनलाई चन्द्रमामा पठाउनुअघि, धेरै दिनदेखि नासाका अधिकारीबाहेक उनीहरूलाई कसैसँग भेटघाट गर्न दिइएकोे थिएन । यस्तो परिस्थितिमा यानमा बन्दूक लिएर जानु सम्भव हुन सक्दैन । पहिलो चन्द्र मिसनका लागि नासाले एक–एक ग्रामसम्मको हिसाब गरेको थियो । चन्द्रयात्रीले आफ्नो खुशीले केही पनि लैजाने अनुमति थिएन । यानमा जाने सबै सामग्री ‘स्क्यान’ गरेपछि मात्र यानमा राखिएका थिए । पानी, वाइन र कपसम्म ‘स्क्यान’ गरेपछि मात्र ‘लोड’ गरिएका थिए । यस्तो कडा निरीक्षणमा बन्दुक लैजान सम्भव नै थिएन ।

तर अर्को एउटा सम्भावना भने छ, चन्द्रयान ‘इगल’ मा बन्दुक हुने । नासाले नै आफ्नो कुनै प्रयोगको लागि चन्द्र धरातलमा बन्दुक पड्काएर ‘डाटा’ लिने ‘प्लान’ रहेको भए बन्दूक सहजै चन्द्र धरातलमा एल्ड्रिनसँग हुने सम्भावना हुन्छ ।

अब भने आफू पहिला ओर्लिन नपाएको झोंकमा एल्ड्रिनले बन्दुक प्रयोग गर्न सक्छन् । कल्पना गरौँ, नीलपछि एल्ड्रिन बन्दुक हातमा लिएर ओर्लिए, उनी रिसले मुर्मुरिएका छन् । ओर्लिनासाथ उनले नीललाई ताकेर ‘फायर’ गर्ने प्रयास गरे । यो के ? बन्दुकको ‘ट्रेगर’ थिच्न हातमा भएका ‘ग्लोब्स’ ले दिएन । अब ‘ट्रेगर’ नथिची कसरी ‘फायर’ होस् ? थाहा छ तपाईलाई पछिको अर्को चन्द्र मिसनमा एकजना ‘एस्ट्रोनाट’ ले आफूसँग ‘गोल्फ वाल’ र ‘गोल्फस्टिक’ लगेका थिए । वाललाई स्टिकले प्रहार गर्न खोज्दा ‘स्पेससुट’ का कारण उनले दुबै हातले ‘स्टिक’ समाउन सकेनन् र एक हातले ‘स्टिक’ समाएर गोल्फ वालमा प्रहार गरेका थिए ।

मानिलिउँ, एल्ड्रिनसँग सानो रिवाल्वर छ । येनकेन प्रकारेण उनले प्रहार गरे, आखिर यो काल्पनिक प्रसङ्ग न हो । ट्रेगर दवाउने असहजताले निशाना ठीकसँग लागेन । ‘बुलेट’ नीलको छेवैबाट गयो ।

यो के ? एल्ड्रिनको पछाडिपट्टिबाट आएको ‘बुलेट’ लागेर उनी लडे र उनको रामनाम सत्य भयो ?
कसरी हुन गयो यो ? जम्मा दुईजना भएको चन्द्र धरातलमा एल्ड्रिनलाई कसले गोली हान्यो ? सँगै गएका तेस्रो साथी माइकल कोलिन्स चन्द्र धरातलभन्दा धेरै मार्थि कोलम्बिया’ मा बसेर चन्द्र परिक्रमा गरिरहेका छन् ।

र, यति सबै भइसक्दा, एल्ड्रिनले गोली पड्काउँदा, बुलेट झण्डै आफूलाई छोएर गए पनि बिचरा नीललाई केही थाहा भएन । धेरै बेरपछि फर्केर हेर्दा पो एल्ड्रिनलाई चन्द्र सतहमा लडेको देखे । चन्द्र धरातलमा कुनै पनि वातावरण नभएकोले ‘साउण्ड’ ले ‘ट्राभल’ गर्दैन । केही आवाज हुन सक्दैन चन्द्र धरातलमा । यहाँसम्म कि तपाईले बोलेको पनि चन्द्र धरातलमा तपाईको साथीले सुन्न सक्दैन । ‘साउण्ड’ लाई ‘ट्राभल’ गर्न माध्यम आवश्यक हुन्छ, यो ‘लाइट’ जस्तै कुनै माध्यम नभई एक इन्च पनि गुड्दैन । तपाईँ चन्द्रमामा हुँदा जतिसुकै चट्याङ्ग परोस्, छुद्र पिण्ड खसुन्, तपाईँले कुनै आवाज सुन्नुहुन्न ।

एल्ड्रिनलाई गोली कसले हान्यो ? के कुनै न्यायशील ‘एलियन’ पो थियो कि त्यहाँ, जसले एल्ड्रिनले गरेको दुष्कर्म देख्नासाथ हिन्दी फिल्मका हिरो झै ‘डिसिजन अन स्पाँट’ लिँदै ठोकिदियो एल्ड्रिनलाई !?

होइन मित्र हो, अहिलेसम्म ‘एलियन’ को कल्पना मात्र छ मानवसँग । ‘एलियन’ को अस्तित्वबारे कुनै प्रमाण भेटिएको छैन । प्रश्न अझै यथावत् छ– एल्ड्रिनलाई गोली कसले हान्यो ?

वास्तवमा, एल्ड्रिन आफूले दागेको गोली लागेर नर्क वा स्वर्गतिर गएका हुन् ।
चन्द्रमामा कुनै वातावरण नभएकोले बन्दूकबाट निस्केको गोलीको गतिमा ह्रास आउँदैन, कुनै वस्तुसँग न ठोक्किएसम्म । अब निशाना चुकेकोले गोली पूुरै चन्द्र परिक्रमा गरी घुम्दै आएर एल्ड्रिनलाई पछाडिबाट लागेको हो ।

अब कल्पनाको एल्ड्रिनसँगै ‘हाइपोथेटिकल’ प्रश्नको पनि रामनाम सत्य हुन गयो । तर म त लेखक हो, कल्पनामा नील, एल्ड्रिन र प्रश्न जन्माउन सक्छु भने मरिसकेको प्रश्नलाई ब्युँताउन पनि त सक्छु । आफ्नै मष्तिष्कका दश लाख ‘न्युरानस’ लाई संजीवनी बुटी तयार गर्न लाएर प्रश्न फेरि ब्युँताउँछु कल्पनाको ‘बफर स्टाक’ छ मसँग ।

प्रश्न ब्युँतिसक्याे मानौं एल्ड्रिन ले चलाएको गोली निललाई लाग्यो । गोली ‘स्पेससूट’ मा प्वाल पर्दैमा नष्ट भएपनि वा शरीर छेडेर छिरे पनि दुबै अवस्थामा नीलको प्राणान्त निश्चित छ । ‘स्पेससूट’ मा प्वाल पर्दैमा पनि चन्द्र धरातलको ‘भैक्युमले’ नीललाई बाँच्न दिँदैन । नील मरे, एल्ड्रिन खुशी भए । रिस शान्त भएपछि उनले नासालाई खबर गरे । नासाले उनको कुकृत्यका लागि हालिवुड मुभीका नायक झैँ डिसिजन लिँदै माइकल कोलिन्सलाई केही घटनाक्रम नभनी पृथ्वीमा फर्किने आदेश दियो । कोलिन्स फर्किन्छन् । एल्ड्रिन ‘इगल’ मा भएको खाद्य सामाग्री र अक्सिजनको सहायताले केही दिन बाँच्छन् । केही दिनभित्र एल्ड्रिनले पनि मृत्युवरण गर्नुपर्छ । चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्तिको रेकर्ड मात्र होइन, चन्द्र धरातलमा मृत्यु हुने दोसो व्यक्तिको रेकर्ड पनि उनकै नाममा बन्छ ।

तर एल्ड्रिन भाग्यशाली पनि हुन सक्छन् । नासाका अधिकारीले चन्द्र मिसनका यात्रीद्वयसँग कुरा गर्न ह्वाइट हाउसमा पर्खिबसेका अमेरिकी पे्रसिडेन्ट निक्सनलाई (कुनै पनि डिसिजन लिनुभन्दा पहिला) सूचित गर्छन् ।

एल्ड्रिनबाट (चन्द्रमाबाट) सबैभन्दा पहिला गोली प्रकरणको समाचार पृथ्वीस्थित नियन्त्रण केन्द्रको ‘कैपकाम’ मा रहेका चाल्र्स डुकेले प्राप्त गर्छन् । चाल्र्सले आफूलाई ‘बैकअप’ गरिरहेका पाइलटद्वय जेम्स लाभेल र फ्रेड हैसेलाई सूचित गर्छन् । तीनैजनाले ‘फ्लाइट डाइरेक्टर्स’ क्लिफ चाल्र्सवर्थ, गेने क्रान्ज र ग्लेन लुनेलाई घटनाक्रमबाट अवगत गराउछन् । अब घटनाबारे नासाका प्रमुख ‘एडमिनिस्ट्रेटर’ थोमस ओटेन पैने (कार्यकाल २१ मार्च १९६९ देखि १५ सेप्टेम्बर १९७० सम्म) लाई सूचित गरिन्छ । पैनेले राष्ट्रपति निक्सनलाई फोन गरी घटना र अब के गर्नेबारे विमर्श गर्छन् । राष्ट्रपतिबाट ‘फालो प्रि प्लान, नट चेन्ज एनिथिंग’ भन्ने आदेश हुन्छ, साथै समस्त घटनाक्रम नासाभन्दा बाहिर प्रसारित नगर्ने निर्देश पनि हुन्छ ।
एल्ड्रिनले नीलको ‘बडी’ इगल छेवैसम्म त ल्याइपुर्‍याउछन् तर इगलमा राख्न सक्दैनन् । नासाले ‘बडी’ त्यही छाडी फर्कने निर्देश दिन्छ । एल्ड्रिन र कोलिन्स पूर्व प्लानबमोजिम पृथ्वीमा फर्किन्छन् ।

गोप्य अदालतमा एल्ड्रिनमाथि हत्याको मुद्दा चल्छ । हत्या कुनै पनि कानुन नभएको स्थानमा भएको र यानको ‘रजिस्ट्रेसन’ कही कतै नभएको, प्रत्यक्षदर्शी कुनै साक्षी नभएको, मृत शरीरबारे केही प्रमाण नभएको आदि कारणले अदालतलाई फैसला गर्न गाह्रो हुन्छ । र, अन्ततः मेरा काल्पनिक एल्ड्रिन अदालतबाट ‘बरी’ हुन्छन् ।

पाठकगण ! हिंसाको समर्थन कहिल्यै गर्नु हुँदैन । र, दण्डको प्रावधान हिँसालाई हतोत्साहित गर्नका निमित्त मानव समाजले विकसित गरेको हो । अदालतबाट त (अदालतको न्याय सम्पादन प्रक्रियाका लाचरपनाले) एल्ड्रिन सहजै उम्किन्छन् तर उनलाई सजाय दिन नसकेको खण्डमा यो ‘गसिप’ ले हिंसाको समर्थन गरेको स्थापित हुन जान्छ । लेखक यो किमार्थ हुन दिँदैन र तपाईँ पनि यस्तो जंगलराज मन पराउनु हुन्न । ल एल्ड्रिनलाई सजाय हुने बाटो निकालौँ । एल्ड्रिन अमेरिकी सैनिक हुन् । सेनाको आफ्नो कानून हुन्छ, सेनाले एल्ड्रिनको ‘कोर्टमार्सल’ गर्‍यो र अन्ततः एल्ड्रिन दण्डित भए ।

हिंसाको आदिकारण असहमति हो, असहमतिले हिंसासम्म पुर्‍याउनसक्छ । हिंसासम्म पुग्नुभन्दा पहिला असहमतिलाई वार्ताले समाधानमा लैजान सक्नुपर्छ । असहमति पनि प्रचण्ड ऊर्जा हो । ‘मून मिसन’ लाई ‘फेक’ वा ‘हाक्स’ भन्नेहरूप्रति मेरो असहमति भएकाले मैले असहमतिको ऊर्जालाई यो ‘गसिप’ ‘क्रियट’ गर्नमा लगाएँ। तपाईँ पनि असहमतिको दिशा परिवर्तन गरी रचनात्मकतामा रुपान्तरित गर्न सक्नुहुन्छ– अस्तु, पढेकोमा सबैलाई धन्यवाद !

(यो काल्पनिक लेख विकिपीडिया, कुओरा डटकम, भारतीय मित्र विजय सिंह ठकुराय र पत्रकार मोहन दाहालको सहयोग एवं प्रेरणामा तयार गरिएको हो । ज्ञनामित्र )

Facebook Comments
Comments (0)
Add Comment