–प्रा. डा. भरत शर्मा, इन्जिनियर
प्रा.डा.भरत शर्मा पेशाले आर्किटेक्चरल इन्जिनियर हुनुहुन्छ । खुला स्थलका विषयमा विद्यावारिधि गर्नु भएका प्रा.डा. शर्मा ७५ वर्षको उमेरमा पनि त्रिभुवन विश्वविद्यालय, इन्जियिरिङ कलेज पुल्चोकमा प्राध्यापन गरिरहनुभएको छ । नेपाल सरकारको सहरी विकास विभागमा रहेर सहरी विकासका गुरुयोजना समेत पटकपटक बनाउनुभएका प्रा.डा. शर्मा सम्पदा र खुला स्थलका बारेमा वकालत गर्ने एक अभियन्ता हुुनुहुन्छ । हामीले उहाँसँग काठमाडौँको खुला स्थल र यससँग सम्वन्धित अन्य विषयमा लामो कुराकानी गरेका छौँ । प्रस्तुत छ, आफ्नो विषयमा पारङ्गत र स्पष्ट अडान राख्नु हुने प्रा. डा. भरत शर्मासंग गरिएको कुराकानीको मूल अंश ।
तपाईले जीवनको सक्रिय र सिर्जनशील समय शहरी विकास विभागमा बिताउनुभयो । शहरी विकासको गुरु योजना पनि बनाउनुभयो । यो विषयमा विज्ञता भएको व्यक्तित्वका नाताले भन्नुपर्दा काठमाडाँैबासीले खुला वातावरण र स्वच्छ हावा खाएर बाँच्न पाउने दिन अब सकिएका हुन् ?
प्रा. डा. भरत शर्मा: सिद्धियो नै भनेर भन्न म चाहन्न । समग्रमा हेर्दा जनस्तरको आचरण, कर्मचारीतन्त्रको आचरण, राजनीतिक नेतृत्वको आचरण र केन्द्र तथा स्थानीय सरकारमा बस्नेहरूको आचरण हेर्दा (जसले राजनीतिको बागडोर
आफू आशावादी छु भन्ने कुरा गर्नुभयो, काठमाडौ उपत्यकाको निर्माण प्रवृति र प्रक्रिया हेर्दा लगभग अब खाली ठाउँ छैन । हामीले पढेको र सुनेको १९९० सालको भूकम्पपछि घरहरू भत्केको मौका छोपी जुद्ध शमशेरले जुद्ध सड्क निर्माण गरेका थिए भन्ने छ । यसो हेर्दा लाग्छ, यस्तै कुनै दुर्घट्ना कुर्नुपर्छ कि अरु कुनै विकल्पहरू हाम्रा सामु छन् ?
प्रा. डा. भरत शर्मा: यहाँले जुद्ध शमशेर सम्झनुभयो । अहिले हेर्दा त जुद्ध शमशेर धेरै नै दुरदर्शी रहेछन् । वास्तवमा बजार क्षेत्रको रूपमा विकास गरे । सत्तामा बसेकाले आफ्नो अलिअलि रवाफ देखाउँछन् । त्यो शालिक बनाएर जुद्ध शमशेरले देखाएका थिए । त्यसैगरी सिंहदरवार पनि यो शक्ति हो भन्ने हिसावले निर्माण गरेको हुनुपर्छ । त्यसबेलाका शासकले अन्य नागरिकभन्दा फरक देखाउन केही न केही गतिविधि वा निर्माण गरेका हुन्थे नै । अहिले भुइँचालोको धेरै रटनाभटना भइरहेको छ । हामीले के कुरा ख्याल गर्नुपर्छ भने भुइँचालोले यो दिन र यो समय आउँछु भनेर बताउँदैन । यो भनेको एउटा प्राकृतिक प्रक्रिया हो । विश्वका धेरै शक्तिशाली राष्ट्रहरू भूकम्पको अगाडि धेरै नै निरीह भएका छन् भने हाम्रो देशको कुरा छोडौँ । तर हाम्रो सामाजिक र सांस्कृतिक सोच कस्तो थियो भने ए भुइँचालो त आउँदो रहेछ । भुइँचालोेले ध्वस्त पार्दोे रहेछ । यसवाट ठुलो धनजनको क्षति हुनजाँदो रहेछ । हाम्रा पुर्खाहरू धेरै नै आशावादी रहेछन् । हाम्रा पुर्खाहरू लड्थे अनि फेरि आफैँ खुट्टा टेकेर उठ्थे । आफू बस्ने घर भन्नुस् वा मन्दिर आफ्नै प्रविधि र आफ्नै सामग्रीमा निर्माण गर्थे ।
तर अहिलेको भूकम्प पछि हेर्नुभयो भने हामी प्राविधिकहरू (त्यसमा मलाई पनि लिन्छु, यद्यपि म कुनै पनि कार्यमा संलग्न थिइन) । सबैभन्दा अवसर (प्रिभिलेज) डाक्टर र इन्जिनियरले पाएको छ । आज पनि हाम्रो समाजमा डाक्टर र इन्जिनियरको प्रतिष्ठा छ। अहिलेको अवस्थालाई हेर्ने हो भने डाक्टर र इन्जिनियरले देशको नै शोषण गरिरहका छौँ । डाक्टर र इन्जिनियर भएपछि त सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने थियो । डाक्टरले विरामीको सेवा दिने, विस्तार गर्ने र इन्जिनियरले पूर्वाधार विकासमा ध्यान दिनुपर्ने थियो । यसरी देशलाई समृद्धि र आर्थिक रूपमा अगाडि ल्याउनुपर्ने थियो । हामी त त्यतातर्फ लागेका छैनौँ । हामी कहाँ लाग्यौं, जहाँ पैसाको खेल हुन्छ र ठूला प्रोजेक्टमा दौडिरहेका छौँ । डाक्टरसापहरूको ध्यान रिसर्च सेन्टर भनेर निजी हस्पिटल सञ्चालनमा नै बढी गइरहेको छ । डाक्टर र इन्जिनियर जो प्रिभेलेज बर्गले गरिव जनतालाई शोषण गरिरहेका छौँ । यो शब्द अलि कडा भयो होला तर यो शोषण नै हो ।
कसरी ?
प्रा. डा. भरत शर्माः त्यतिवेलाको सोच कस्तो थियो भन्दाखेरि सहरीकरणको कुरा गर्नुहुन्छ भन्ने अलग मान्यता रहेको हामी पाउँछौँ । मलाई धर्मको बारेमा धेरै ज्ञान छैन। हिन्दु भएर जन्मेँ त्यति मात्र हो । ईश्वर भन्ने कुरा छ, डराउनुपर्छ भन्ने मान्यता राख्दछु । त्यति मात्र हो । अहिले ठेलीका ठेली मापदण्डहरू बनेका छन् । त्यसको धज्जी उडाइरहेको हुन्छ । त्यसको कार्यान्वयन हुँदैन । आर्थिक रूपमा कमजोरलाई मात्र यो मापदण्ड लागू भएको छ । त्यो समयमा न सामाजिक मापदण्ड थियो न केही थियो ? समाजमा व्यक्ति–व्यक्तिमा संहिताबद्ध भएर बसेको थियो । त्यसबेला के भनिन्थ्यो पानीलाई फोहोर पार्नुहुँदैन पाप लाग्छ । खुला जग्गा हडपेर उपयोग गर्नुहुँदैन पाप लाग्छ । मन्दिरको गजुरभन्दा अग्लो घर बनाउन हुँदैन पाप लाग्छ । त्यसैले त्यसवेला तीनतलेभन्दा अग्ला घर बनेनन् । भूकम्पका हिसावले पनि त्यो त्यति राम्रो थियो भने वातावरणको हिसावले त्यो त्यति मनोरम थियो । यसरी समाज विकासक्रमलाई हेर्दा डिग्री प्राप्त नगरेका हाम्रा पुर्खाहरू विवेकशील कि विभिन्न विश्वविद्यालयबाट थोत्रा डिग्री प्राप्त गरेर भ्यागुतो झैँ फुलेर बस्नेको बढी योगदान ? गम्भीर प्रश्न उठेको छ । हाम्रो योगदान ती पुर्खाका अगाडि बिल्कूल नगन्य छ ।
जुन आशावादी भएको दावी गरिरहनु भएको छ, यहाँ त त्यस्तो देखिँदैन । जस्तो, काठमाडौँका बसपार्क, टुडिँखेलजस्ता ठाउँहरू राज्यसमेत लागेर सिध्याउने काम भइरहेको छ नि ?
प्रा. डा. भरत शर्मा: तपाईले फेरि मुटुको स्पन्दनलाई छुने काम गर्नुभयो । यो विषय मेरो वातावरण सम्बन्धी अध्ययनको विषय पनि पर्यो । ३०, ३५ वर्ष पहिला हार्डबर्ड विश्वविद्यालयमा छात्रवृति पाएर अध्ययन गर्न पाएको विषय पनि पर्यो । त्यसवेलादेखि नै मैले निरन्तर उठाउँदै आएको र विभिन्न ठाउँमा कार्यपत्र पनि प्रस्तुत गर्दै आइरहेको छु । ‘फास्ट डिस्अपेरिङ ओपन स्पेसेस इन काठमाडौँ’ अर्थात् ‘काठमाडौँमा दू्रत गतिमा हराउँदै गएको खुला स्थान’ भन्ने गरेको छु । तपाईले
हामीले ढल निकासको कुनै पनि समस्या नहुनुपर्ने ठाउँमा राम्रोसँग काम नगरिदिँदा ढलको समस्याको सामना गरिरहनु परेको छ । हाम्रो नालायकी र नाकामी पाराले गर्दा । हामीले पूर्वाधार निर्माण गर्दा र पाइपलाइनको नेटवर्किङ राम्रोसँग गरेनौँ । प्रकृतिले काठमाडौँ जस्तो ठाउँ दिएको छ । यो बंैकक जस्तो समथर भूभाग त होइन । नेपालगन्ज जस्तो केही नबग्ने त होइन नि । त्यसवेला मानिसको प्रकृतिसँग अनौठो खालको सम्बन्ध थियो । पानी पर्थ्याे । पानी कहाँ पर्थ्याे भन्दा जमिनमा पर्दथ्यो । जमिनमा परेको पानी जमिनले सोच्थ्यो । त्यो पानी बोटबिरुवाको लागि हुन्थ्यो र तल गएर पानी जम्मा हुन्थ्यो । माथिवाट बग्ने पानी पोखरीमा जम्मा हुन्थ्यो । ती पोखरीले रिजर्भवेरको काम गर्दथे । ती पोखरीहरू ढुङ्गे धाराहरूका स्रोत थिए । ढुङ्गे धारामा इन्द्र महाराजले धाराको टुटी जोडिदिएको होइन । १५/२० घरका लागि ती ढुङ्गे धाराहरू हुने गर्दथे । ढुङ्गे धाराहरूलाई पानीको स्रोत मात्र थियो भन्ने हो भने गलत हुन्छ । ती ढुङ्गे धाराहरू हाम्रो सामाजिक अन्तरक्रियाका स्थल पनि हुन्। विहानै छोरी, बुहारी, आमाहरू पानी लिन आउँदा कसकी बुहारी कस्ती, कसका छोरी–छोराको बिहे हुँदैछ थाहा पाउने वा कुनै समस्या भए छलफल गर्ने स्थल पनि थिए नि ? त्यस बेलाको अखवार वा सञ्चारको माध्यम त्यही थियो नि ।
यसलाई हामी पँधेरे संस्कार पनि भन्न सक्छौ ?
प्रा. डा. भरत शर्माः हो, ठीक भन्नुभयो । त्यो कम्युनिटी फोरम थियो । अन्र्तक्रिया गर्ने स्थल । सार्वजनिक स्थल थियो त्यो । जब दिउँसो घाम लाग्न थालेपछि बालबालिका डण्डीवियो खेल्ने र अन्य खेल खेल्ने गर्दथे, जब साँझ पर्न लाग्दथ्यो, समाजका बृद्ध मानिसहरू जम्मा हुने, पार्टीहरू निर्माण गर्ने र भजनकीर्तन गर्ने गर्दथे । यसरी सार्वजनिक स्थलहरूको प्रयोग भइरहको थियो । जव कि युरोप र अमेरिकामा त्यस्तो हुँदैन । हाम्रो टुँडिखेलको खुला स्थलको अन्तरसम्बन्ध बूढाहरूले घुम्ने मात्र होइन, बच्चाहरूले खेल्ने मात्र होइन । त्यसको अन्तरसम्बन्ध भनेको भद्रकालीसँग छ । भद्रकालीको मन्दिरमा नेवार समुदायहरू घण्टौँ पूजाआजा गरेर आएपछि बसेर प्रसाद ग्रहण गर्ने ठाउँ पनि हो । हेर्नुहोस् त त्यो अन्तरसम्बन्ध । त्यो अन्यत्र तपाईले पाउनुहुन्न । तपाईले अघि नै ९० सालको भूकम्पको कुरा गरिसक्नुभएको छ त्यस्ता प्राकृतिक विपत्तिमा आश्र्रय दिने ठाउँ त्यो टुँडिखेल हो।
तपाई हेर्नुस खुला स्थलहरूको महत्त्वको कुरा गर्नुहुन्छ भने नेवार समुदायहरूको बाक्लो बसोबास भएको ठाउँमा गएर हेर्नुभयो भने चोक चोकको व्यवस्था गरेको हुन्छ । एउटा चोक र अर्को चोकको घाम, पानी र हावाको अन्तर सम्बन्ध रहेको हुन्छ । चोकको वरिपरि आफन्तहरूका घरहरू निर्माण गरिएको हामी पाउँदछौ । यसरी खुला स्थल कब्जाका नयाँ तरिकाहरू पाइएको छ । खुला चोक वरिपरिका सबै घरजग्गा किन्ने, वीचको खुला स्थल सितैँमा आउने अनि त्यसलाई भूमाफियाले बिक्री वितरण गरेर खुला स्थलको अतिक्रमण गर्ने काम भइरहेको छ । हामी त्यस्ता ठाउँहरूमा गगनचुम्बी संरचना निर्माण गरिरहेका छौँ । सहरी वातावरणलाई ध्वस्त गरिरहेका छौँ र खुला स्थलहरू मासिरहेका छौँ । स्वच्छ पानी पाउने र स्वच्छ हावा पाउने ठाउँ खत्तम भयो र सामाजिक अन्तरक्रिया हुने ठाउँ खत्तम हुँदै गयो ।
वि.सं. २०३८/३९ सालतिर आर्किटेक्चरल इन्जिनियर एशोसियनको अध्यक्ष हुँदा करिव ८/१० पटक ‘फास्ट डिस्अपेरिङ ओपन स्पेसेस इन काठमाडौँ’ भन्ने अभियान नै सञ्चालन गरेको थिएँ । सोही बेला कमलपोखी मिचेर प्रहरी कार्यालय बन्दा बिरोध गरें । म त्यसवेला कर्मचारी थिएँ । तर म एउटा प्रविधिक र सचेत नागरिक भएको नाताले मैले ठूलै विरोध जनाएको थिएँ । पुलिसको ठाउँ हुनुहुँदैन भनेको होइन तर यसरी सम्पदा मासेर बनाउन हुँदैन भन्ने मेरो मान्यता हो । त्यति मात्र होइन, आर्मी र सरकारी कार्यालयको पनि ठाउँ हुनुपर्छ । तर जहाँ सार्वजनिक स्थल र खुला ठाउँ छ त्यहाँ घुसार्नुभएन भन्ने मेरो भनाइ हो । हेर्नुस् त पुलिस क्लबहरू कुनकुन ठाउँमा बनेका छन् ? अधिकांश त्यस्ता भवनहरू खुला स्थलहरूलाई अतिक्रमण गरेर निर्माण गरिएको छ । अञ्चलाधीश कार्यालय कहाँ बनेको थियो, पुलिसको कर्नर कहाँ बनेको छ । तपाईलाई अर्को संवेदनशील कुरा बताउँ, रत्नपार्क छेउमा एउटा सानो मस्जिद थियो । अहिले त्यहाँ ठूलो मस्जिद बनेको छ। त्यसवेला नगर विकास भन्ने थियो । ठूलो मस्जिद बनाउने प्रस्ताव नेपाली कांग्रसका नेता शेख इद्रीशबाट आयो । उनीहरूलाई बाहिरबाट पैसा आउने । एक दिन मेरो सिनियर मानिस नहुँदा म संयोगले बैठकमा जाँदा थाहा भयो– त्यो प्रस्ताव आयो । मैले त्यो मस्जिदको स्वरूप सम्पदाको हिसावले परिवर्तन गर्नु हँदैन भनेर विरोध गरेँ । म हिन्दू भएर मुस्लिमको विरोध गर्यो भनेर आरोप पनि लाग्न सक्थ्यो । तर त्यो होइन । प्रश्न कुन स्केलको बनायो भन्ने होइन । सानो स्केलको पनि महत्व हुन्छ । मस्जिदको बाहिर जुन व्यापारीक स्थलहरू निर्माण गर्नुभएको छ, यो गर्नुभएन भन्ने हो । त्यसवेला मेयर पि.एल. सिंह थिए । डाङडुङ पारेर त्यसलाई मैले पल्टाइदिएँ । पछि कृष्णप्रसाद भटट्राई प्रधानमन्त्रीदेखि मेयर सबै लागेर मलाई नबोलाई पुरानै प्रस्ताव अनुसारको संरचना निर्माण भएको छ । उहाँहरूले पुलिसलाई ठाउँ चाहिन्छ भन्दा मैले किन त्यही ठाउँमा प्रताप मल्लले प्रहरी चौकी नराखेका होलान् भनेर भनेको थिएँ ।
एक पटक मलाई राजा वीरेन्द्रबाट काम गर्ने प्रस्ताव आयो । म एउटो सानो कर्मचारीलाई कसरी आयो थाहा छ्रैन । हुन त राजा पनि हाडबर्ड विश्वविद्यालयमा पढेको र म पनि त्यही विश्वविद्यालयमा पढेको भएर बोलाइएको होला, त्यो त थाहा छैन । त्यसवेला नागार्जुन दरबारमा केही गरिदिनुपर्यो भन्ने प्रस्ताव आयो । मलाई प्राविधिक रूपमा जे गर्न हुँदैन भन्ने लाग्यो त्यो राजालाई पनि भनेँ । राजालाई मैले भने, म सरकारको मनासाय बुझेर काम गर्दिन । राजाले हुन्छ भन्नुभयो । केन्द्र शमशेरले बनाएको एउटा बंगला रहेछ । ‘के गरेको ? बाघलाई जन्जिरले कसेर बाघप्रति असम्बेदनशीलता देखाएको जस्तो भयो नि!’ भनेर मैले भनेँ । राजाले, ‘ए भरत जी, थाहा छ यो कसले बनाएको ?’ भनेर सोध्नुभयो । म यो जान्न इच्छुक छैन भनेर मैले भनेँ । ‘यो केन्द्रसम्सेर वा रानीसापको वुवाले बनाएको’ भनेर राजा वीरेन्द्रले भन्नुभयो । मैले भनेँ, ‘म त्यसबाट प्रभावित हुन आएको होइन । यो प्राविधिक रूपमा सही छ कि गलत भन्न मात्र आएको हुँ’। त्यहाँ म कस्तो डाक्टर भएँ भने विरामीको दुखाइको विवरण लिएर परीक्षण गरेर औषधी सिफारिस गर्ने । तर बिरामी आएर यो औषधी वा एन्टीबायोटिक लेखिदिनुस् भन्नुभयो भने घोक्राएर निकालिदिन्छु । डाक्टरले ओषधी दिने हो विरामीले होइन भन्ने हो । मैले इन्जिनियर भएर प्राविधिक सल्लाह दिने हो, मान्ने कि नमान्ने राजाको कुरा हो तर प्रविधिक कुरा जे हो, मैले त्यही भन्ने हो । मैले राजालाई पनि यो अनौठो कुरा भनेको थिएँ । पछि बोलाइएन ।
खुला ठाउँसँग जोडिएको अर्को कुरा खोलानाला छ, खोला मिचेर अनि कुलो बनायौं अनि खोलाले आफ्नो ठाउँमा बग्न खोज्दा प्रकृतिक प्रकोप भन्नुचाहि कति सान्दर्भिक छ ?
प्रा. डा. भरत शर्माः फेरि तपाईले मेरो अर्को मर्ममा छुनुभयो । खोलो मिचेर कुलो बनाएको त सत्य हो । दुनियाँभरको वस्ती विकास गर्ने ? सडक दौडाइदिने । हामी प्रकृतिको नियमलाई मिचेर अगाडि बढ्ने अनि प्राकतिक भन्नु सान्दर्भिक हुँदैन । खोलाको पनि आफनो नियम हुन्छ । सुख्खा याममा प्रवाह कम हुन्छ र वर्खा याममा बढी प्रबाह हुन्छ । खोला भनेको बढी प्रबाह भएको समयमा पानी बगेको क्षेत्र प्रबाह क्षेत्र हो भन्ने कुरा बुझन जरुरी छ । जव प्रकृतिलाई जुत्ता ठोक्नुहुन्छ नि प्रकितिले जब अफ्नो पन देखाउँछ, त्यसवेला निरिह नै हुने रहेछौँ । काठमाडौँका हिसावले नगरपिता विद्यासुन्दर प्रकृतिक सुन्दरता र खुला स्थल संरक्षणका हिसावले उहाँ फिट भए जस्तो मलाई लाग्दैन ।
तपाई ३५ वर्षसम्म सहरी विकास योजनामा रहनुभयो । प्रविधिक हिसावले ठूलै हिस्सा तपाईको वर्गको पनि छ । अरुहरूमा कर्मचारीतन्त्र, राजनीतिक नेतृत्व र जनता छन् । दोष चाहिँ कसको त ?
प्रा. डा. भरत शर्माः हामी कर्मचारी भएपछि मन्त्री र सचिवप्रति उत्तरदायी हुने होइन, जनताप्रति उत्तरदायी हुनुपर्ने हो । तर आफुलाई फाइदा हुन्छ भने जे गरे पनि हुन्छ भन्ने भावनाबाट यस्तो संस्कार विकास भयो । जसलाई म बाइसाइकल व्यक्तित्व भन्दछु । साइकल चढ्दा पेडलले तपाइलाई घुमाउँछ । पेडललाई फोहोरसोहोरको जुत्ता लगाएर ठोकिरहेका हुन्छौँ । हेण्डील समाएर टाउको निहुराएर हिड्नुहुन्छ । जसले तपाईलाई हिँडाइराखेको छ उसलाई लात मारिरहनुभएको छ । यसले द्वैध चरित्र प्रदर्शन गरिरहेको छ । कर्मचारीतन्त्र आफ्नो धर्ममा बस्न सकेन । बढुवा र पैसाको पछाडि दगु¥यो । आफ्नो जिम्मेवारी मन्त्री र सचिवलाई खुसी पार्नलाई मात्र होइन भन्ने कुरा बुझेनन् ।
यस्तै खुसी पार्ने प्रवृत्तिले गर्दा अघि बसपार्कको कुरा गर्नुभयो नि, भूकम्पको समयमा हजारौँ नागरिकलाई आश्र्रय लिएको ठाउँमा अहिले व्यापारिक ठाउँको लागि भवन विकास भइरहेको छ । कर्मचारीतन्त्र वा राजनीति माफियाको चङ्गुलमा परेर खुला ठाउँ अतिक्रमण गरेर भवनको लागि लिन पाइन्छ ? आर्मीले बढाउँदै बढाउँदै टुँडिखेल खत्तम गरिदियो । आर्मीलाई हेडक्वाटर चाहिन्छ । रङ्गशाला ठीक ठाउँमा निर्माण भइरहेको छैन । त्यहाँ त पोखरी थियो । त्यो पानी रिचार्ज भएर रानीपोखरीमा आउथ्यो । रंगशालामा लगानी बढाएको बढार्यै छ । आर्मीले भवन बनाएको बनायै छ । अर्को नाटक सुरु भएको छ बसपार्कमा काठमाडौँ भ्यू पार्क रे ! को भ्यू टावर ? यस्तो ठाउँमा यस्तो बद्मासी कुरा गर्ने ? मैले राष्ट्रपतिलाई पनि लेखेर दिएको थिएँ । भारत लगायतका ठाउँमा जनस्तरबाट लेखेर दिएको विषयलाई सम्बोधन गर्ने चलन छ । तर हामीकहाँ वास्त नै गरिँदैन । अहिले आर्मी मसँग रिसाइरहेको छ– ‘भरत शर्माले के बुझेको छ ? आर्मीले टुँडिखेललाई संरक्षण गरिरहेको छ’, भनेर बकबास कुरा गरिरखेको छ । कुनै न कुनै रूपमा हामी दोषी छौं भन्ने नै हो । खुला ठाउँको अतिक्रमण भइरहँदा टुलुटुलु हेरेर बस्नुले नगारिकले पनि गल्ती गरिरहको छ । मूकदर्शकको रोल ठिक भएन नि ।
हामी कहाँकहाँ चुक्यौँ ?
त्रुटि चाहिँ कहाँबाट भयो ?
प्रा. डा. भरत शर्माः मैले भने नि राजनीतिक नेताबाट, प्राविधिक, कर्मचारीतन्त्र र हामी नागरिकको तर्फबाट पनि त्रुटि भइरहेको छ । सानो देश भइकन यति संस्था र यति कानून भएको देश संसारमा पाउनुहुन्न । तर पनि केही हुँदैन । सबैभन्दा बढी सरकारी निकायका पदाधिकारीको आचरण सुधार हुनुपर्यो । यदि राम्रोसँग काम गर्न सकेको भए विश्वको सुन्दर सहर हुन सक्दथ्यो । म आशावदी नै छु । एकदिन सुधार हुन्छ ।
योजनाविद्हरू जसलाई भनिन्छ, उनीहरूले हावा, पानी र माटो मान्छेले निर्माण गर्न नसक्ने कुरा हो भन्ने स्वीकार नगरी योजना सारिएका हुन् कि अन्य केही कारण छ ? के ले काम गरिरहेको छ ?
प्रा. डा. भरत शर्माः होइन होइन । हृदय स्वच्छ भएर काम गरिरहेका छैनौँ । चित्त शुद्ध भएपछि त्यही विषयलाई तपाईले अर्कै किसिमले हेर्नुहुन्छ । यो त सबै नाटक मात्र खेलिरहेका छौँ योजनाविद्हरूले । वास्तविक धरातलमा योजना निर्माण भइरहेको छैन । पत्रकारिता क्षेत्रको कुरा गरौं न । म नागरिकले मेरो सही सूचना पाउने हक हो भने तपाईले सही सूचना दिने कर्तब्य पनि होला नि। तपाई नै छातीमा हात राखेर भन्नुहोस् कति मानिसले सही ढङ्गले भूमिका निर्वाह गरिराखेका छन् । पत्रकारिताले पनि निश्चित स्वार्थ समूहको पक्षमा लविङ् गरिरहेको छ । जब दैनिक अखवार लबिङमा लाग्छ भने तपाई के अपेक्षा राख्नुहुन्छ ? समग्रमा सबै क्षेत्र त्रुटिग्रस्त भएर गजेडी भइरेहका छाैँ ।
हामी सबै कालसँग डराउँछौ । वातावरण प्रदूषित हुँदा उसलाई मात्र हुन्छ भन्ने हुँदैन भने सबै हामीहरू किन सानो स्वार्थ बोकेर प्रकतिलाई ध्वस्त पार्न लागिरहेका छौ ?
प्रा. डा. भरत शर्माः हामी यस्तो ग्रसित भएका छौँ, प्रकृतिरूपी आमाको दूध होइन रगत चुसिराखेका छौँ ।
हामीलाई त्यति पनि हेक्का छैन त म अझै पीडित हुन्छु भन्ने ?
प्रा. डा. भरत शर्माः म तपाइर्लाई अझ भनौँ । म फेरि टुँडिखेलमा लैजन चाहन्छु । माधव नेपाल प्रधानमन्त्री । ८० मिटरको गणतन्त्र स्तम्भ शिलन्यास गर्नुभयो त्यहाँ । त्यसको विरोधमा भरत शर्मा लाग्यो । ल भन्नुस् त, अब केही नपाएर गणतन्त्र स्तम्भ त्यहाँ बनाउने । यदि गणतन्त्र स्तम्भ बनाउनु छ भने सही र मर्यादित ठाउँमा बनाउनु पर्यो नि भन्ने हो । त्यही ठाउँमा गणेशमानजीको शालिक राखिएको छ । यो उहाँलाई सम्मान गरिएको हो कि अपमान छुट्याउन गाह्रो छ । पृथ्वीनारायण शाहलाई ट्रफिक प्रहरी बनाएर राखिदिएको छ । विद्यालय वा विश्वविद्यालयको अलिकति जग्गा छ, सटरैसटर । अब त सटर कल्चर भयो । शैक्षिक वातावरण कसरी आउनसक्छ । घनाबस्तीको वीचमा अपार्टमेण्ट निर्माण अर्को बिकृति देखिएको छ । मन्दिरलाई विस्थापन गरेर अपार्टमेण्ट निर्माण भइरहेको छ । शुद्ध मनको कमी बाहेक केही देखिरहेको छैन ।
अर्को कुरा सहर भनेको के हो ? जो नगरपालिका घोषणा भएको छ, अहिले परिभाषा नै परिवर्तन भएको छ । सहरबासी जो नगरपालिकमा बस्छ, जुन नगरपालिका गाउँले नै गाउँले भरिएको किन नहोस् । नगरपालिका हुने बितिकै स्रोत परिचालन गर्ने कुरालाई ध्यान दिइयो न कि नागरिकको सेवा सुविधा दिने कुरा छ । अहिले सोचहरू र आचरणहरू बेलगामको घोडा भएका छन् । लिकमा हिँड्नुपर्ने रेलगाडी लिकमा हिँडेन भने के हुन्छ? हामीले घोषणा गरेको नगरपालिका साइनबोर्ड नगरपालिका हो कि होइन? यहाँ त सेतो लुगा लगाएर पकेट मार्ने काम भइरहेको छ ।
तपाईले शुरुमा नै आशावादी छु भन्नु भयो । सबै भद्रगोल भएर केही आशावादी हुने ठाउँ छैन । के आधारमा आशावादी हुने ?
प्रा. डा. भरत शर्माः आमनागरिक पनि कुम्भकर्णको निँद्राबाट ब्युँझनुपदर्छ । हामी आफ्नो र आफ्ना सन्ततिको कल्याण चाहने हो भने यो ओड्ने फालेर कामकर्तव्य गर्नुपर्यो । जब त्यो समूहले शंखनाद् गर्छ, तब आशावादी हुने ठाउँ हुन्छ । जो अहिले हुन सकिरहेको छैन । त्यो भएको दिन सूर्यको किरण देखिन थाल्छ । यसमा लेख्नेले लेख्नुपर्छ, बोल्नेले बोल्नुपर्छ । यसमा अनवरत रूपमा लागिरहनुपर्छ । एक दिन सर्वसाधारण उठ्छन्, उठ्नैपर्छ ।