लोकगीतको सङ्कलन, गायन तथा अनुसन्धानमा क्रियाशील वरिष्ठ लोकगायक कृष्ण गुरुङले गण्डकी क्षेत्रका गाउँबस्तीमा गुञ्जने पुराना १२ वटा पुराना लोकगीत काठमाडौँमा प्रस्तुत गर्नुभयो । राष्ट्रिय सांस्कृतिक संस्थानद्वारा राष्ट्रिय नाचघरमा आयोजित सुर-साधना कार्यक्रममा उहाँले ती गीत प्रस्तुत गर्नुभएको हो ।
उहाँले कार्यक्रममा मूलतः गण्डकी क्षेत्रमा प्रचलित मौलिक लोकभाकाहरू प्रस्तुत गर्नुभयो । यस क्रममा प्रचलित गुरुङ भाषाको गीत पनि प्रस्तुत गाउनुभयो ।
निकै भावुक मुद्रा रहनुभएका गुरुङले आफू जन्मेहुर्केको लमजुङ-दुराडाँडाको रोदीघर र त्यहाँको सामाजिक जमघटले जन्माएको साङ्गीतिक माहोलबाट आफू लोकगीतप्रति अनुरक्त हुँदै यो अवस्थामा आइपुगेको बताउनुभयो ।
पुराना गीतहरू गाइरहँदा आफूले पुराना साथीसंगी र गाउँघरलाई सम्झिएको प्रसंग अघि सार्दै आफू उमेर ६० वर्ष पुगेपछि फेरि एकल प्रस्तुतिमा जुट्ने पनि बताउनुभयो ।
कार्यक्रममा बोल्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, डा. गणेशमान गुरुङ, गायक नारायण रायमाझी, वाद्यवादक खड्क बुढा तथा तमु कलाकार संघका अध्यक्ष राजु गुरुङले मौलिक लोकभाकाहरूको संरक्षण र सम्बर्धन कृष्ण गुरुङले खेल्नुभएको रचनात्मक भूमिकाबारे मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।
लोकगीतको क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै गुरुङ समुदाय, कलाकार र सुभेच्छुकहरूले उहाँलाई फूल र पगरीले अभिनन्दन गरेका थिए ।
बाँसुरी वादनमासमेत ख्याति कमाउनुभएका गुरुङका देऊ रुमाल फूल भरेर…, चिनिनँ मैले सत्ते रामाराम…, लालुपाते रङ…, हातैमा देऊ नानी रुमाल…, बुट्टे चोली…, खो पाते…, आदि जनजिब्रो उच्चारण भइरहने गीतहरू हुन् ।