सुपरिचित, सुललित रेडियो प्रस्तोता एवं साहित्यकार दाहाल यज्ञनिधिले २५ साउन, शुक्रबार महाप्रस्थान गर्नुभयो । महाप्रस्थानको क्षणमा उहाँलाई जान्ने र बुझ्ने सबैले सुलालित्य जदौ सम्झिए । एउटा निडर, सचेत, होनहार र अथक सङ्घर्षशील प्यारो प्रस्तोता/साहित्यकारलाई जदौ गरे ।
विक्रम संवत् २०१० मा खोटाङ जिल्लामा जन्मिएका दाहालले केटौले उमेरमा घरबाट भागी धरानको वेद विद्यालयमा अध्ययन गर्नुभयो । ब्राह्मण परिवारमा जन्मिएका दाहाल सानैदेखि कुरीति, अन्याय, शोषण र छुवाछुत विरूद्ध विद्रोही स्वभावका हुनुहुन्थ्यो । उहाँ २०३१ सालमा काठमाडौँ छिर्नुभयो र थप अध्ययन गर्न थाल्नुभयो । तर, आर्थिक अवस्था निम्छरो थियो । धेरै दुःख, कष्ट व्यहोर्नुपर्यो । अन्ततः शिक्षण पेशाबाट केही आर्थिक राहत मिले पनि आफ्नो प्रतिभा आम जनमानसमा देखाउने अवसर चाहिँ २०३४ सालमा रेडियो नेपाल छिरेपछि पाउनुभयो । ‘… साहित्य संसारको दैलो उघ्र्यो, दाहाल यज्ञनिधिको जदौ श्रोता!’ ओजपूर्ण स्वर, सुलालित्य एवं कवितात्मक धाराप्रवाह प्रस्तुति, गाउँघरका लोक शब्द र भाका रेडियोमा सुनेर सबै नेपालीले उहाँलाई आफ्नो ठाने । दलित वर्गले समकालीन समाजमा गर्ने अभिवादनको शब्द जदौ टिपेर उहाँले आफूलाई राजधानीमै रहे पनि उत्पीडनमा परेका वर्गको पक्षमा उभ्याउनुभएको थियो ।
त्यसो त वरिष्ठ पत्रकार मेरा मित्र रघु मैनाली र म रेडियो सगरमाथामा हुँदा दाहाल यज्ञनिधिले बेलाबेलामा हामीलाई सल्लाह र सुझाव दिएर गुन लगाउनुभएको थियो । एउटा साहित्यिक कार्यक्रममा मैले अन्तवार्ता लिने मौका पाएको थिएँ । त्यसबेला उहाँले आफ्ना जीवनका सबै रङ्गको वर्णन गर्नुभएको थियो । विद्रोही स्वभावका दाहालको पिताजीसँग समेत राम्रो सम्बन्ध हुन सकेन । काठमाडौँ आएपछिका दुुर्दिनको वर्णन गर्ने क्रममा उहाँले कैयन पटक बोरा ओढेर रात काट्नुपरेका र भोकै बस्नुपरेका दिन सम्झिनुभएको थियो । तत्कालीन शासकहरूले आफूलाई ठेगान लगाउन कुनै कसर बाँकी नराखेका र रेडियो नेपालबाट अन्याय भएका तीता क्षणहरू भावुक हुँदै पोख्नुभएको थियो ।
दाहाल यज्ञनिधिले त्यसो त केही समय रेडियो नेपालबाट हाम्रो संस्कृति कार्यक्रम पनि सञ्चालन गर्नुभयो । उहाँले लामो समय रेडियो नेपालमा काम गर्नुभए पनि रेडियो नेपालले उहाँलाई कहिल्यै पनि स्थायी बनाएन । सधैँ करारमै रहनुभयो । प्रजातन्त्र र नेपाली कांग्रेसका आन्दोलनहरूमा संलग्न हुँदा उहाँ रेडियो नेपालबाट खोसुवामा पनि पर्नुभयो । उहाँ नेपाली कांग्रेसको झण्डा बोकेर आन्दोलनमा खुलेर लाग्नुभएको थियो । फेरि बहाल पनि हुनुभयो ।
राजा, महाराजा र ठूला ठालूलाई उहाँ देख्न सक्नुहुन्नथ्यो । उनीहरूप्रति दाहाल यज्ञनिधिमा रोष थियो । तर निमुखा, गरिब र शोषणमा परेका वर्गका पक्षमा सधैँ आफूलाई उभ्याउनुभयो । गाउँघरमा बोलिने झर्रो भाषाको लालित्यपूर्ण धाराप्रवाह प्रस्तुतिले नै उहाँलाई आम नेपालीबीच लोकप्रिय बनायो । तर, सनातनी परम्परा विरोधी र अराजक भन्नेहरूको आलोचनाबाट उहाँ मुक्त भने हुनुहुन्नथ्यो ।
वि.सं. २०५७ साल फागुनमा मृगौलाले काम गर्न छाडेपछि रेडियो नेपालको साहित्य संसार कार्यक्रमबाट उहाँले विदा लिनुपर्यो । तर विभिन्न एफएम रेडियोमा उहाँले साहित्य सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहुनभयो । दाहाल यज्ञनिधिले सिंहदरबारको पूर्वपट्टि भद्रा घलेका सुँगुर चर्ने फाँटमा सानो घर बनाउनुभएको थियो । जसको नाम राख्नुभएको थियो- दाहालको दैलो । अहिले पनि दाहालको दैलो संयोगले परिसंवाद् डट कमको कार्यालको नजिकै छ । तर दाहालको दैलोमा उहाँ बस्न छोडेको निकै भइसकेको थियो । अढाइ तल्ले दाहालको दैलोको भुइँ तलामा अहिले एउटा फास्ट फूडले मान्छेहरूलाईै स्वागत गरिरहेको छ । अनि उहाँले नाम राखिदिएको नाम बिनाको नगर अनामनगर आज निकै घना बस्ती र व्यापारिक केन्द्र बनेको छ ।
दाहाल यज्ञनिधि चाहिँ अब मृत्युपछिको जीवन बाँचिरहनुभएको छ— त्रिभुवन विश्वविद्यालयलको शिक्षण अस्पताल महाराजगन्जको एनाटोमी सेक्सनमा विद्यार्थीहरूका लागि मानव शरीर विज्ञानको सग्लो दृष्टान्त बनेर । किनकि, उहाँको पार्थिव शरीर उहाँकै इच्छाअनुसार शिक्षण अस्पताललाई बुझाइसकिएको छ । त्यसो त उहाँ अजम्मरी स्वरमार्फत् धेरै पहिले नै अमर भइसक्नुभएको थियो । उहाँका साहित्यिक कृतिहरू र जीवनीमार्फत् उहाँ सधैँ पाठकका हृदयमा बसिरहनुहुनेछ । शिक्षण अस्पतालका छात्रछात्राले एनाटोमी सेक्सनमा, कृतिहरूका पाठकले पुस्तकमा र स्वरका पारखीले कानमा भेट्नासाथै उहाँलाई भन्नेछन्- जदौ दाहाल यज्ञनिधि ! आम नेपाली, पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन मिडिया र सामाजिक मिडियासँगै हामी पनि भन्छौँ— जदौ दाहाल यज्ञनिधि !
‘हर्मिताज’ अब इतिहासमा
त्यसो त बरिष्ठ कलाकार मनुजबाबु मिश्र पनि गए साता नै अस्ताउनुभयो । ८३ वर्षीय चित्रकार मिश्र २०४६ सालपछि एकान्तवास बस्दै आउनुभएको थियो । प्रमुख बिधा चित्रकारिता भए पनि मनुजबाबु मिश्रले गायन, अभिनयदेखि निबन्ध र उपन्यास लेखनमा पनि हात हाल्नुभएको थियो ।
उहाँको जीवनीमा आधारित ‘हर्मिताजः अढाई दशक गुफामा’ प्रकाशित छ । उच्च रक्तचापका कारण साउन २२ गते राती चाबहिलस्थित उहाँकै निवासमा निधन भएको थियो । एकान्त वास रुचाउने मनुजबाबु मिश्रले यत्रो लामो समय कसरी घरबाहिरै ननिस्कीकनै बिताउनुभयोरु आम मानिसको चासो थियो । कट्टर राजावादी छवि बनाएका मनुजबाबु मिश्र बहुदलीय व्यवस्थाप्रति वितृष्णा राख्नुहुन्थ्यो । राजाको सक्रिय शासन आएपछि मात्रै गुप्तवासबाट बाहिर आउने असामयिक कसमले नै उहाँलाई गुफामा कैद गरेको थियो । राजनीतिक विचारधारामा उहाँसँग विमति राख्नेहरूले पनि उहाँको कलाकारिताको भने प्रशंसा गर्ने गर्दछन् । त्यसो त समयको माग चिह्न नसक्ने कट्टरवादी भनेर उहाँलाई आलोचना गर्नेहरूको पनि ठूलो संख्या थियो र छ । तर, यसले उहाँलाई कुनै फरक पारेन । उहाँले ‘हर्मिताज’ बाट ब्रह्माण्डमा छरिन रुचाउनुभयो र त्यस्तै भयो पनि ।
प्रसिद्ध सञ्चारकर्मी (हाल साझा विवेकशील पार्टीका संयोजक) रबिन्द्र मिश्र र कलेज अफ मास कम्युनिकेसन्स एण्ड जर्नालिज्मकी संस्थापक प्रिन्सिपल डा. मन्जु मिश्र उहाँका नेपाली समाजमा कहलिएका सन्तान हुनुहुन्छ । भावपूर्ण विदाइ कलाकार मनुजबाबु मिश्र !