अस्पतालमा बुद्ध

बुद्धसँग मेरो साइनो वा भावनात्मक लगाव आम नेपाली जति पनि छैन । अरु केही नगरे पनि आम नेपालीजनले बेलामौका ‘बुद्ध वाज बार्न इन नेपाल’ उद्घोष गरेर बुद्धसँग आफ्नो नाता समबन्ध नवीकरण गरेका हुन्छन् ।

मलाई लाग्छ, ‘बुद्ध वाज बार्न इन नेपाल’ नामक ‘नौलौ आर्यसत्य’ परिशीलन गर्ने अधिकांश नेपालीजन बुद्धका तत्कालीन सङ्घका सदस्य रहेका थिए होलान् र आजपर्यन्त उनीप्रतिको आफ्नो निष्ठा र सम्बन्ध अक्षुण्ण राख्दै आएका छन् ।
र म…. कथं कदाचित बुद्धको समयमा मानिस नै थिएँ भने, बुद्धसङ्घको ‘भिजिटर’ नभएर अजीत केशकम्बली, संजय बेलठ्ठीपुत्त, मक्खली गोसालक, पूर्ण कास्यप जस्ता अराजकतावादी खेमातिर आवतजावत गर्ने संशय आत्मा थिएँ होला ।
बुद्धको आफ्नो ‘देशना’ के थियो ? विज्ञानले ‘पास्ट’ मा बोलिएका आवाजलाई ‘कैच’ गर्ने प्रविधि विकसित नगरेसम्म यकीन हुन सम्भव हुन्न । विज्ञानलाई यो उपलब्धि हासिल गर्न सिद्धान्तः अप्ठेरो छैन, हो व्यवहारमा यो सम्भव हुन कति समय लाग्छ, यसको अनुमान गर्न सहज छैन ।

कुनै दिन यस्तो प्रविधि विकास भएमा बुद्ध, राम, कृष्ण आदिका ‘जे महावाणी हामी पढ्छौँ र साच्चै नै उनले के भनेका थिए’ को भेद बुझ्न समर्थ बन्नेछौँ ।

मलाई कुनै पनि ‘शास्ता’ को वाणी परिशुद्ध रूपमा रहिआएको लाग्दैन । समयक्रममा अनेकन ‘शासित’ हरुका मनोवेग पनि त्यहाँ मिस्सिए । बुद्ध र शंकराचार्यको हकमा त यस्तो प्रतीत हुन्छ, ‘मिलावटले मूललाई अधिकांशतः ओझेलमा पारीदियो ।’

कुनै पनि धर्म होस्, मेरा लागि तत्तत् समुदायको जीवन पद्धति हो । यसमा ठीक–बेठीकको प्रश्न झिक्नु आफ्नो समाजिक वर्चस्व कायम गर्नु मात्र हो । म हिन्दु जीवन पद्धति, शैली, व्यवहार र अचारविचार अन्तर्गत जीवन निर्वाह गर्छु । संसारमा अनेकौँ जीवन पद्धति छन् । मेरो कसैसँग न विरोध छ न प्रतिष्पर्धा ।

‘टेक्नीकली’ बुद्ध र उनका ‘फलोअर’, मुहम्मद र उनका ‘फलोअर’, लगायत तमाम धर्म संस्थापक र तिनका धर्मानुगामी एवम् ममा जम्मा ०.१० प्रतिशतको विभेद छ । बाँकी ९९.९० त एकरूपता छ । यो ०.१० प्रतिशतको ‘डीएनए’ अन्तर त मेरो आफ्नै वंश परम्परामा पनि विद्यमान छ । प्रकृतिले सारा मनुष्यलाई सर्वाधिक एकरूप बनाएको रहेछ । तपाईलाई आश्चर्य लाग्नसक्छ, पृथ्वीमा देखिने पूर्णरुपेण ‘कालो रङ्ग’ पनि ९६ प्रतिशत कालो मात्रै हुन्छ । र, सारा मनुष्य ९९.९० प्रतिशत एकरूप ।

मनुष्य–मनुष्यबीच वैमनस्यता प्रकृतिगत होइन रहेछ । यो हाम्रो ‘सोसल इन्जिनियरिङ’ कै कमाल हो । ममा ‘इनपुट’ गरिएका शिक्षा–दीक्षाकै प्रभाव हो कि कुनै मस्जिद वा चर्चको सामुबाट गुज्रिँदा मेरो अन्तर चेतनाले कुनै पनि प्रतिक्रिया व्यक्त गर्दैन तर एउटा मन्दिरको छेउबाट गुज्रिँदा अचेतनले पनि श्र्रद्धा नमनको हृदयाञ्जली अर्पित गर्छ ।

आलेखको प्रारम्भ बुद्ध चर्चाबाट गर्नुको प्रसङ्ग भर्खरै घटेको एउटा घटनाबाट अभिप्रेरित छ । कुपण्डोलस्थित ‘डायबिटिज, थायरायड एण्ड इण्डोक्रिनोलोजी केयर सेन्टर’ मा ‘डायबियटिज’ विशेषज्ञ डाक्टर सन्तोष शाक्यलाई भेट्न जाँदा पहिलो जम्काभेट नै तथागतको धातु प्रतिमासँग भयो । ‘रिसेप्सन’ को बायाँपट्टि ३ फिट जति अग्लो स्टेण्डमा अवस्थित प्रतिमाले मेरो ध्यान आकर्षण गर्यो । स्वर्ण आभामयी छविको पद्मासन स्थितिमा ध्यानमग्न उन्मीलित नयनको यो प्रतिमा आम नेपालीजनका लागि सामान्य नै हो । किनकि नेपाल धातुबाट बनाइने मूर्तिकलामा अग्रगण्य हो । पाटन, बौद्धनाथ, ठमेल लगायत पाँच तारे होटलमा रहेका अनेकौँ पसलमा तथागतका विभिन्न स्वरूप र मुद्राका यस्ता अनेकौँ प्रतिमा सजाइएर राखिएको हेर्न सकिन्छ ।

‘‘म ‘मेडिसिन बुद्ध’ हुँ । यहाँ आएका बिरामीजनलाई स्वास्थ्य प्रदान गर्न म अविरल करुणा प्रवाह गरिरहेको छु । यो ‘नोटिसबोर्ड’ ले व्यवधान दिइरहेछ । तिमी डाक्टरलाई भनेर यो ‘नोटिसबोर्ड’ लाई अन्तै व्यवस्थापन गर्न लगाऊ ।’’

 

अरु धर्मबारे त मलाई संज्ञान छैन तर हिन्दु र बौद्ध धर्ममा पसलमा राखेका मूर्ति ‘कलाकृति’ हुन्छन् तर जब प्रतिष्ठा गरी ती मध्ये कुनै मूर्तिको पूजन आरम्भ हुन्छ, त्यो प्रतिमा देव विग्रहमा प्रतिष्ठित हुन्छ ।

विडम्बना हेर्नुस, नेपाल र भारतको बौद्ध परम्पराबारे मलाई त्यति जानकारी छैन जति तिब्बती बौद्ध परम्पराबारे छ । गुरु रिम्पोछे मन्त्र, वज्रसत्व मन्त्र, बज्रयोगिनी मन्त्र, अवलोकितेश्वर मन्त्र, बोधिसत्व मन्त्र, तारा मन्त्र केही समय मेरा उपासना पद्धति रहे । तिब्वतियन योगीहरूका धेरै पुस्तक पनि पढे । दलाई लामा, अवलोकितेश्वर, वार्डो, काड्रो, रिम्पोछे, निङ्गमा, गेलुपा, लामा, काग्युपा, महामुद्रा, डोचेन आदि ‘तिब्बतियन बुद्धिज्म’ का प्रचलित पारिभाषिक शब्दावली हुन । ‘कालचक्र पूजन’ हिन्दु तान्त्रिक परम्परा र ‘तिब्बतियन बुद्धिष्ट’ परम्परामा उत्तिकै उच्च साधना पद्धति मानिन्छ ।

कहिलेकाहीँ मलाई लाग्छ, ‘पूज्य दलाई लामाको स्वदेशबाट निष्कासन निष्प्रयोजन होइन, आजको विश्वले बुद्धिज्मको सुभाष र आलोकको जुन महाप्रसाद पाएको छ, त्यसमा उनको निष्कासन महत्वपूर्ण कडी हो ।’ क्षमा गर्नुहोला पूज्य दलाई लामा, प्रकृतिको यो कृत्य तपाई र ‘तिब्बतियन बुद्धिज्म’ लाई संसारभरि चिनाउनका निमित्त थियो ।

बुद्धसँग मेरो परिचय निसन्देह ‘तिब्बतियन बुद्धिज्म’ को मार्फत्बाट भएको हो । यो परिचय नभएको भए ‘डायबिटिज केयर सेन्टर’ को ‘रिसेप्सन’ छेउ रहेको समाधिस्थ बुद्ध प्रतिमाले मलाई किन गुहाथ्र्यो !

उपरोक्त्त वाक्यमा दम्भ झल्किए पनि क्षमा गर्नुहोला पाठक गण किनकि डाक्टर सन्तोष शाक्यले मलाई क्षमा मात्रै होइन मप्रति आभार नै व्यक्त गर्नुभयो ।

लेखमा रहेको ‘नोटिसबोर्ड’ को जुन फोटो तपाईहरुले हेर्नुभयो ।

‘केयर सेन्टर’ का कुनै कर्मचारीले बुद्ध प्रतिमा छेकिने गरी यो ‘नोटिसबोर्ड’ राखिदिए । प्रतिमा ओझेलमा पर्न गयो । मलाई लाग्यो प्रतिमा मसँग भनिरहेको छ, ‘‘म ‘मेडिसिन बुद्ध’ हुँ । यहाँ आएका बिरामीजनलाई स्वास्थ्य प्रदान गर्न म अविरल करुणा प्रवाह गरिरहेको छु । यो ‘नोटिसबोर्ड’ ले व्यवधान दिइरहेछ । तिमी डाक्टरलाई भनेर यो ‘नोटिसबोर्ड’ लाई अन्तै व्यवस्थापन गर्न लगाऊ ।’’

म हठी हुँ भने मलाई लागेको रोग मभन्दा कम्ती हुनु मेरै शानको खिलाफत हुन जान्छ । ‘डायबिटिज’ कम्ती भएको   रहेनछ । फास्टिङमा १५० र पीपी २१० यथावत रहेको रिपोर्ट डाक्टरको टेबुलमा थियो । नयाँ औषधी दिएर डाक्टरले १५ दिनमा पुनः भेट्न भन्नुभयो । उहाँको भनाइ थियो, यसपटक मेरो हठ (नयाँ औषधी) तपाईको हठमाथि विजयश्र्री प्राप्त गर्छ ।

अन्तमा मैले बुद्ध प्रतिमाले भनेको निवेदन गरेँ डाक्टर सन्तोषसँग, ‘‘डा. साहेब, या त प्रतिमालाई विस्थापित गर्नुस् या त्यो ‘नोटिसबोर्ड’ अन्यत्र सार्नुस् ।

साँच्चै यस ‘केयर सेन्टर’ को व्यवस्थापन लोभलाग्दो छ । यति शिष्ट नर्स, ‘रिसेप्सनिष्ट’ र चुस्त व्यवस्थापन मैले अन्यत्र कतै देखेको छैन । तपाईहरुलाई विश्वास गर्न गाह्रो होला, तेस्रो तल्लाबाट ‘नेक्स्ट अप्वाइटमेन्ट’ को मिति बुझेर दोस्रो तल्लामा रहेको ‘रिसेप्सन’ छेउ आइपुग्दा (मलाई पाँच मिनेट लाग्यो होला) । बुद्ध प्रतिमाले झण्डै ‘थम्सअप’ गरेर मलाई धन्यवाद    दियो ।

Facebook Comments
Comments (0)
Add Comment