धेरैभन्दा पनि गुणस्तरीय पर्यटक भित्र्याउनुपर्छ

सन्दर्भः नेपाल भ्रमण वर्ष २०२०

नेपालीहरू पहिले सुखी थिए । आफ्नै प्रकारले जीविकोपार्जन गरेर बसेका छन् । म २०४० पछि देखि नै नेपाली संस्कृति, पर्यटन, नेपाली पनप्रति सजग रहँदै आएको छु । के कति गर्न सकेँ, त्यो अर्को पाटो हो । हामीलाई पहिले कुनै विदेशी पर्यटक चाहिएका थिएनन् । नेपालले आफ्नो दक्षिणपट्टिको ढोका भारतमा अङ्ग्रेज रहुन्जेल ठूलो ढोका लगाएर त्यसमा डरलाग्दा जनावर छोडेर नेपालतिर छिर्न दिइनौँ । तर जब भारतबाट अङ्ग्रेज बेलायततिर लागे, भारतमा भारतीयहरूले नै शासन गर्न थाले, त्यसपछि मात्रै भारतका हिन्दुलाई हामी पनि यहाँ तीर्थाटन गर्न दिऊँ न त भनेर हामीले ढोका खोल्यौँ । उनीहरू आउँथे । घुम्थे र जान्थे ।

मिलिच्छे (अङ्ग्रेज) हरू पनि नेपाल आउन चाहे, मोहित भए । हामीले थोरै पैसामा उनीहरूलाई नेपाल भ्रमण गर्न दिन थाल्यौँ । थोरै पैसाले भने जति घुम्न, सित्तैँमा खान पाइने, बस्न पाइने भएपछि विदेशीहरूले छक्क परेर वर्णन गर्न थाले । केही सीमित आएका विदेशीहरूलाई हामीले केही लिएर भन्दा पनि उल्टै उपहार दिएर पठायौँ । उनीहरू पनि छक्क परे । ओहो, खर्चै नगरी घुम्न पाइने यो कस्तो देश हो भन्दै प्रचार गर्न थाले । उनीहरूले नेपालको सुन्दरताको वर्णन गरेर स्वर्ग नै भनेर लेखे । हामीलाई पनि स्वर्गैमा बसे जस्तो लाग्छ । यसरी नेपालको पर्यटन बिना आर्जनको उद्देश्यले अगाडि बढ्यो ।

विस्तारै केही पर्यटकको सङ्ख्या बढेपछि उनीहरूलाई व्यवस्थापन गर्नका लागि केही ट्रेकिङ, ट्राभल एजेन्सीहरू खुले । थोरै पैसा लिन थाले । अहिले पनि पर्यटकबाट हामीले खासै केही लिएका छैनौँ । तर अहिले सरकार हौसिएर भ्रमण वर्ष २०२० मनाउने र २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । तर यहाँ कस्तो उल्टो भएको छ भने विदेशीहरू यहाँ थोरै तिरेर खान्छन् र गाउँगाउँमा सित्तैँमा बस्छन् । सित्तैँमा हिमाल र प्राकृतिक सौन्दर्य अवलोकन गर्छन् । खानाको सामान्य पैसा तिरेपछि सबै सित्तैँमा । यस्तो पनि हुन्छ?

वास्तवमा पैसा नभएका बरु उल्टै दिनुपर्ने गरीका सस्ता पर्यटक नेपालमा आवश्यक छैनन् । बरु २० लाखको ठाउँमा पाँच लाख मात्रै पर्यटक भित्र्याउँ । तर, २० लाखले दिनेभन्दा बढी पैसा हामीलाई दिने पर्यटक भित्र्याउँ । उसले सुन्दर ठाउँमा पदयात्रा गरेको पैसा तिर्नुप¥यो नि ! उसले मनोहर हिमाल हेरेको पैसा तिर्नुपर्‍यो नि ! त्यो पनि निकै महँगो पैसा तिर्नुप¥यो । बरु, खाना सस्तैमा खुवाउँ न ! हामी त के गरिरहेका छौँ– यी शीर्षकमा त पैसै लिँदैनौँ । अझ, अलिकति खानाको पैसा तिरेर हिमालको काखमा सित्तैँमा सुतिरहेको छ पर्यटक ! उसले हिमालको काखमा सुतेको पैसा तिर्नुपर्‍यो नि ! के उसले उसको देशमा त्यो अवसर पाउँथ्यो ? पक्का पाउँदैनथ्यो तब त ऊ यहाँ आएको छ ।

तर हामीले खालि सङ्ख्या मात्रै हेरिरहेका छौँ । निम्नस्तरका निम्छरा विदेशी भित्र्याउनु भीँड मात्रै थुपार्नु हो । त्यसले हाम्रो देशले केही पाउँदैन । यो कुरा मैले बीसौँ वर्षदेखि उठाउँदै आएको छु तर यसमा कसैले ध्यान दिएकै छैन । बरु, यो कुरा भुटानले लागु ग¥यो । उसले अघि मैले भने जस्तै गरी पर्यटकीय र रमणीय स्थलको शुल्क महँगो लगाएको छ र पर्यटक पनि थोरै तर गुणस्तरयुक्त भित्र्याउँछ । देशलाई पैसा आयो । भीँड पनि भएन । यो मोडल वास्तवमा हामीले लागु गर्नु पर्ने हो ।

व्यवसाय गर्नेहरूलाई मान्छे राख्दा सम्पदाको मूल्य लिनुपर्छ भनेर सरकारले भन्नुपर्छ । भुटानले प्रतिव्यक्ति २५० डलर लिन्छ । हामीले पनि यसो गर्नुपर्छ । अन्नपूर्ण क्षेत्रमा भए यति, सगरमाथा क्षेत्रमा जाने भए यति, फलाना क्षेत्रमा जाने भए यति भनेर मूल्य तोक्नुपर्छ । सरकारले ६० र ४० को हिसाबले शुल्क तोक्नुपर्छ । उठेको पैसाको ६० प्रतिशत व्यवसायीलाई र सरकारलाई ४० प्रतिशत जानुपर्‍यो । त्यो पैसाबाट राज्यले पैदल यात्रा, विश्रामस्थल, सूचना केन्द्र, सहयोग केन्द्र, सहजता जस्ता सुविधा थप्नुपर्छ । राज्यको आम्दानी चाहिँ नबढ्ने, तर व्यक्तिको मात्रै आम्दानी बढेर हुन्न नि । म पनि त पर्यटन व्यवसायमा छु । मैले मेरो मात्रै आम्दानी बढाएर हुन्न । राज्यको पनि आम्दानी बढ्नु पर्छ ।
यसरी आउने आम्दानीबाट राज्यले स्थानीय संस्कृति, लोक सङ्गीत, लोक परम्परा र मौलिक पन जोगाउन लगानी गर्नुपर्छ । जस्तैः सगरमाथा ट्रेकिङ्गमा पर्यटक जाने सडकमा त शेर्पा संस्कृति, शैली र जनजीवन देख्न पाउनुप¥यो नि । पश्चिमा त्यस्तै कैयौँ संस्कृतियुक्त स्थलहरू छन् । राज्यले मापदण्ड र नीति मार्फत् यस्ता कुरामा हस्तक्षेप गर्नुपर्‍यो । मास्टर प्लान गर्नुप¥यो । यहीँ काठमाडौँ, पाटन र भक्तपुरका चौक र गल्लीलाई सांस्कृतिक हिसाबले सुरक्षित राख्न सकेको भए त यहाँ ८–१० दिन त काठमाडौँ उपत्यकामै पर्यटकले बिताउँछन् । तर यहाँ त त्यस्ता ठाउँ मासिइरहेका छन् ।

पर्यटकहरू आउने देशका हवाई सेवासँग हाम्रो सम्बन्ध हुनुप¥यो । नत्र नेपाली मात्रै बोकेर उड्ने गन्तब्यका हवाइजहाजले त पर्यटक ल्याउँदैनन् । पैसा भएका र खर्च गर्न सक्ने पर्यटक नेपाल आउने ठाउँबाट उडान हुनुपर्छ । यहाँको साँघुरो र क्षमता कम भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प के हुने?

१९९८ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सुरु भएको भ्रमण वर्षको लक्ष्य २०१७ मा मात्रै पूरा भयो । २०१७ मा मात्रै १० लाख पर्यटक त्रित्रिन सके । पर्यटकलाई यहाँ भित्र्याउन र अड्याउन त सांस्कृतिक स्थल र सम्पदाहरूको संरक्षण गर्नुप¥यो । धुवाँ, धुलो, फोहोर, प्रदूषण र प्लाष्टिकका झोला यहाँ रहेसम्म कुरूपता त रहन्छ नै । पहिले पनि २ स्ट्रोकका सवारी साधन, बिक्रम ट्याम्पो हटाउन र २० माइक्रोनसम्मका प्लाष्टिकका झोला हटाउन निकै आक्रमक हिसाबले म लागेको थिएँ । २०५४ देखि २०५७ सम्म काठमाडौँ उपत्यकामा प्रदूषण कम पनि भएको थियो । त्यस बेला मिडियाले पनि मलाई सहयोग गर्‍यो ।

तर अहिले फेरि हामी उस्तै अवस्थामा आइसकेका छौँ । पहिले लुफ्थान्साले युरोपेली पर्यटक लिएर आउँथ्यो । सन् १९९७ मा यसले ट्रान्जिटमा रहेको पाकिस्तानमा भएको समस्याले सेवा बन्द गर्‍यो । मैले अष्ट्रियन हवाई सेवासँग कुरा गरेर उसको उडान यहाँ गराएँ पनि । १० वर्षसम्म यसले युरोपेली पर्यटक भित्र्यायो पनि । तर माओवादी द्वन्द्वका कारण यसले पछि सेवा बन्द गर्‍यो । हामीलाई भारतीय र चिनियाँ पर्यटक भित्रेर मात्रै केही काम छैन । युरोपेली पर्यटक ल्याउन सक्नुपर्छ । अहिले नेपाल वायुसेवाले दुईवटा फराकिला बिमान ल्याएको छ । यो आशालाग्दो त छ तर युरोपेली युनियनले हाम्रो उडानलाई कालोसूचीमा राखेको छ । त्यसैले यसले गुणस्तरीय पर्यटक ल्याउन बाधा पुर्‍याएको  छ । अर्को कुरा, भारतीय र चिनीयाँ पर्यटक मात्रै भएर हामीलाई केही पनि आम्दानी हुन्न । भारतीयभन्दा अझै चिनियाँ पर्यटक झन कम गुणस्तरका छन् । चिनीयाँ धेरै भएको ठाउँमा त युरोपेलीहरू जान समेत रुचाउन्नन् । यतातिर पनि सन्तुलन मिलाउनुपर्छ ।
अहिले पनि हामीले पर्यटन क्षेत्रलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन गहिराइका साथ छलफल र बहस भइरहेको छैन । यस क्षेत्रमा सरकार, व्यवसायी र अन्य साझेदारहरूबीचमा व्यापक रूपमा छलफल आवश्यक छ ।

(पर्यटन उद्यमी बस्नेत लामो समयदेखि नेपाली संस्कृति, मौलिक पन र वातावरण संरक्षणमा लाग्दै आउनुभएको छ)

Facebook Comments
Comments (0)
Add Comment