प्रतिमामा पुनब्भव

‘तथागत’ को यस प्रतिमाले मभित्र अनेकौं अनुभूति, संवेग र प्रतिफलन उद्घाटित भए ।

एकएक गरी समस्त विचार श्रृंखला लिपिबद्ध गर्दैछु ।

यो ‘मथुराशैली’ को बुद्ध प्रतिमा हो, सारनाथको ‘ऋषिपत्तन मृगदाव’ को अनुकृति जस्तै ।

बुद्धका दस हस्तमुद्रा मध्ये सर्वप्रमुख ‘धर्मचक्र’ हस्तमुद्रा ! सम्बोधि पश्चात सर्वप्रथम जब बुद्धले सारनाथमा आर्यसत्यंको उपदेश दिए, उनी जुन मुद्रामा सर्वप्रथम जनसमूह समक्ष शास्ताका रुपमा प्रस्तुत भए ‘धर्मचक्र प्रवर्तन’को स्मृति स्वरुप त्यही मुद्रा ‘धर्मचक्र मुद्रा’का रुपमा स्थापित भयो ।

चित्रमा रहेको प्रतिमा खस्रो ढुंगामा उत्कीर्ण अद्भुत शिल्प हो । खुल्ला आकाशमा स्थापित भएकोले वर्षामा भीज्ने नै भयो । यसैले प्रतिमामा लेउ पनि उम्रियो । लेउमात्र होइन झारपात पनि प्रतिमाका चारैतिर उम्रेका छन, मानौ बुद्ध प्रतिमाको कंठसम्म पुगेर कंठहार बन्न चाहान्छन् ।

प्रतिमाको ‘धर्मचक्र मुद्रा’ले हठात् यस्तो भ्रम पनि झल्काउँछ, मानौ बुद्धको दाहिने हातले बुट्यानको पात टिप्ने उपक्रम गरिरहेको होस् ।

हामीसबैले प्रायः यस आशयका अनेकौं किंवन्दती सुनेका छौ, बुद्धले तप गर्दा उनका शरीरमा अनेकौ परजीवीले डेरा हाले र उनलाई यसको प्रतीतिसम्म भएन ।

मलाई त यो प्रतिमा हेर्नसाथ यस्तो विचार आयो, मानौ सृष्टिका शिल्पकारले बुद्धको ‘तपकालीन’ विग्रहलाई यहाँ पुर्नस्थापित गरिदिएको छ ।

‘शास्ता’ तपस्यामा रत हुँदा उनको हाड मासुको शरीरमा अनेकौं लहरा र बुट्यान चढने गर्छन ।

र, ‘शास्ता’ को विग्रहको पूजा उपासना नहुँदा पनि लेउ, बुट्यान, लहरा, झारपात उम्रिन्छन ।

ढुंगामा लेउ, मानाैं पद्ममा मणि । तिब्बतमा प्रचलित एउटा सुपरिचित बौद्ध रुपक छ, ‘ओम मणि पद्मे हुम’ । कमलमा अमूल्य रत्न मणि । कोमलता र कठोरताको संगम, क्षणभंगुर र शास्वतको सहचर्य, ओम मणि पद्मे हुम’

यस प्रतिमाको अवलोकनले मेरो मनमा एउटा शब्दले तीव्र संघात गर्छ, त्यो हो ‘पुनब्भव’ ।

बौद्ध दर्शनका आधारभूत परिभाषिक शब्दमध्ये एक शब्द हो यो शब्द ‘पुनब्भव’ । अन्य शब्दहरु जस्तै ‘अनित्य’, ‘अनात्म’, ‘अनत्ता’, ‘प्रतीत्यसमुत्पाद’, ‘आर्यसत्य’, ‘निर्वाण’, ‘धर्मचक्र’, ‘सम्बोधि’, ‘शून्यवाद’, ‘दुखवाद’, ‘महायान’, ‘माध्यमिक’ ‘पिटक’, ‘सुत्त’, ‘गाथा’, ‘पद’ आदि । त्यस्तै महत्वपूर्ण शब्द हो ‘पुनब्भव’ ।

‘पुनब्भव’ पालि भाषाको शब्द हो । संस्कृतको ‘पुनर्भव’ को तद्भवरुप ।

‘पुनर्भव’को अर्थ के ?

मानौ बुद्धको ‘धम्म’ ब्राह्मण परम्पराको मूलभूत धारणाको एउटा सबल र सतर्क प्रत्याखान थियो ।

‘पुनर्भव’ को औचित्य पुष्टि !
ब्राह्मणले भनेका थिए, ‘सत्ता छ’ । बुद्धले भने, ‘अनत्ता’ ।
ब्राह्मणले भनेका थिए, ‘नित्य छ’ । बुद्धले भने, ‘अनित्य’ ।
ब्राह्मणले भनेका थिए, ‘इश्वर छ’ । बुद्धले भने, ‘अनीश्वर’ ।
ब्राह्मणले भनेका थिए, ‘पुनर्जन्म छ’ । बुद्धले भने, ‘पुनब्भव’ ।

दार्शनिक परम्पराहरुमा बौद्ध दर्शन परम्परा अति सघन, अति सुक्ष्म, सुदूरगामी र स्तुत्यतुल्य मानिन्छ । यसको मूलमा बुद्ध जस्तो ‘शास्ता’ विराजमान छन् । उनै ‘शास्ता’ को अनुपम, अनिवर्चनीय सौन्दर्यले परिपूर्ण यो पूर्ण प्रतिमा ।

 

बडो रोचक र अनौठो सन्दर्भ छ ।

सनातन धर्मले आत्माको अस्तित्वमा विश्वास गर्छ,। ईश्वरको अस्तित्व स्वीकार गर्छ, नित्य सत्यको अवधारणा बोक्छ ।
जैन धर्मले आत्मालाई स्वीकार गर्छ, तर ईश्वरको अस्तित्व स्वीकार गर्दैन । आत्मालाई नित्य मान्छ ।

बौद्ध धर्मले आत्मा, ईश्वर र नित्य केहीमा पनि आस्था राख्दैन ।

त्यसो भए पुर्नजन्म के त ? कसरी हुन्छ ?? यदि आत्मा नै छैन भने, र शरीर मृत्युसँगै समाप्त हुन्छ भने, पुनर्जन्म कस्को ?
बुद्धले यसैलाई ‘पुनब्भव’ भनेका छन् ।

हिन्दु दर्शनअनुसार ‘आत्मा’को पुनर्जन्म हुन्छ । जैन दर्शन मतानुसार ‘जीव’ को पुनर्जन्म हुन्छ । यसैगरी बौद्ध दर्शन देशनानुसार ‘अनात्मा’को पुनर्जन्म हुन्छ ।

प्रश्न ‘अनात्म’ को पुनर्जन्म कसरी सम्भव हुन सक्छ ?

बुद्ध भन्छन, ‘आत्मा’ जस्तो केही छैन, नित्य तत्व जस्तो पनि केही हुन्न । ‘चेतना’ अनन्त बिन्दुको श्रृंखला हो । यसलाई नै धर्मकीर्तिले ‘चित्तबिन्दु’ भनेको छन । यी ‘चित्तबिन्दु’ को सातत्य छ । संस्कारले वशीभूत भइ ‘चित्तबिन्दु’ ले अर्काे रुप ग्रहण गर्छन । यही नै ‘पुनब्भव’ हो ।

दार्शनिक परम्पराहरुमा बौद्ध दर्शन परम्परा अति सघन, अति सुक्ष्म, सुदूरगामी र स्तुत्यतुल्य मानिन्छ । यसको मूलमा बुद्ध जस्तो ‘शास्ता’ विराजमान छन् । उनै ‘शास्ता’ को अनुपम, अनिवर्चनीय सौन्दर्यले परिपूर्ण यो पूर्ण प्रतिमा ।

ढुंगाको प्रतिमामा लेउको विस्तार भएको छ । मानौ ढुंगामा लेउको ‘पुनब्भव’ भइरहेको छ । अनवरत वर्षा भइ रहेमा यो सम्पूर्ण प्रस्तर प्रतिमा, यो सम्पूर्ण पाषाण शिल्प लेउ र लता बुट्यानले ढाकिने छ ।

तृणले, घाँसले, दु्रमले, दूर्वाले यस शिल्पलाई अगोचर बनाउने छन् ।

मानै बुद्धरुपको ‘पुनब्भव’ हुनेछ । किंवदन्ती अनुसार उनको एउटा अवतरण शेष नै छ । ‘मैत्रेय’ ले आउन बाँकी छ ।

ककेशियाका एकजना उपन्यासकारले आफ्नो कृतिको एउटा बुढो शिकारी पात्रबाट भन्न लाउँछन्– ‘मृत्यु उपरान्त केही हुँदैन, चिहानमा घाँस मात्र उम्रिन्छ’।

त्यस उपन्यासकारलाई थाहा रहेनछ, मृतकका शरीरमा लेउ पनि उम्रिन्छ ।

बुद्ध भएको भए उन्मीलित नेत्रले भन्थे – ‘अनिच्च’, ‘अनात्त’,‘दुक्ख’ !

 

र, हामीजस्तै मरणासन्न अवस्थामा पुगेको वर्षाले लेउरुपी पुष्पको पुष्पाञ्जली अर्पित गरी यी देवता प्रति आफ्नो अनुग्रह व्यक्त गर्दै अनन्त यात्राका लागि प्रस्थान गर्थ्यो ।
सब्बे धम्मा अनत्ता

(इन्दौर निवासी सुशोभित साहित्य जगत्मा सुपरिचित हस्ताक्षर हुनुहुन्छ । मूल हिन्दीमा लेखिएको यस आलेखलाई ज्ञानमित्रले नेपालीमा रूपान्तर गर्नुभएको हो ।)
Facebook Comments
Comments (0)
Add Comment